वाह ! क्या फिगर


‘वाह् ! क्या फिगर छ यार !’ लगभग १५ वर्षीय ठिटो हुँदो हो, उसले आफ्नो साथीलाई चुरोटको सर्को तान्दै आफूभन्दा दोब्बर उमेरकी महिलालाई हिंड्दै गरेको देखेर भनेको वाक्य थियो, यो । म त्यतै नजिकै भएकोले टक्क सुन्ने मौका मिल्यो । उनीहरू भन्दा पछाडि भएकोले होला उनीहरूको शब्दको प्रहारले म जोगिन सफल भएँ । यो सुन्दै गर्दा म बाटोमा थिएँ, दिउँसोको समय थियो । म भएको ठाउँदेखि घर पुग्न लगभग १५–१६ मिनेट लाग्दो हो । तर यो बीच, मेरो मन र मस्तिष्कमा वर्षाैंदेखिका घटना छताछुल्ल भएर आए ।

मैले त्यो चुरोटको धुवाँभित्र हराउँदै गरेका केटाहरूमा मेरै भाइलाई देखें अनि उनीहरूको शब्दको तीरले छिया–छिया भएर भर्खरै त्यही बाटो हिंडेकी महिलामा आफ्नो प्रतिबिम्ब । कस्तो मन चसक्क भएर आयो । केवल कल्पना मात्र गर्दा पनि मलाई निकै पीडा भयो । सर्वप्रथम त पीडा यो कारणले भयो कि भाइले यति कलिलो उमेरदेखि चुरोटको लत बसायो, उसलाई के थाहा त्यो चुरोट आफू जलेर आफू त सकिंदैछ तर साथमा आफूलाई तान्ने मान्छेलाई पनि सकाउँदैछ । दोस्रो अनि सबैभन्दा बढी पीडा किन भयो भने आफ्नै भाइले आफूलाई आफ्नो शरीरको अंगलाई लिएर यस्तो केही भनेको थियो जो अकल्पनीय थियो, मेरा अनि म जस्ता सबै दिदीबहिनीहरूका लागि । हुनत यो कल्पना मात्र थियो तर पनि मन कटक्क भयो । अझै आफ्नै जीवनमा घटेका वास्तविक घटनाहरूको त लेखाजोखा हुन बाँकी नै थियो ।

दिमाग न हो; कहिले फुत्त यता त कैले फुत्त उता कुदेर पुगिहाल्छ । यो एक घटनाले मलाई मेरो कक्षा ९ मा डोर्‍याएर लगेको थियो । म कक्षा ९ मा पढ्थें, परीक्षाको समय थियो अनि त्यो परीक्षा हल थियो । सबै विद्यार्थीले भरिभराउ थियो हल । हलमा सर पनि हुनुहुन्थ्यो । आफ्नै सुरमा परीक्षा दिइरहेकी म, मैले थप कापी माग्न सरलाई ‘सर’ भन्दै पेपरतर्फ इशारा गरें । आज ६ वर्ष बितिसक्दा पनि त्यो घटना भनौं वा दुर्घटना मेरो मानसपटलमा श्याम–श्वेत सिनेमा जसरी झलझली आइरहन्छ । सरको त्यो हेराइ अनि त्यसले मेरो जीवनमा छोडेको असरलाई कसरी वर्णन गरौं । त्यो बेला आफु डेक्समा बस्नुभएको थियो उहाँ । मलाई त्यहीं गएर थप कापी लिनु भन्दै इशारा गर्नुभयो । म पनि सरले भने जस्तै गरें । तर म यो कुरादेखि अन्जान थिएँ कि ममाथि अब कुन बज्रपात हुँदैछ । उहाँले पेपर त दिनुभयो तर बदलामा मेरो ढाडमा जसरी हात राख्नुभयो त्यसले मेरो जीवनभरको निम्ति डर, त्रास एवं हरेक पुरुषहरू प्रतिको घृणाभाव पनि दिनुभयो ।

बाबा सानैदेखि जागिरको सिलसिलामा घर बाहिर नै रहनुभएकोले मेरो जीवनमा सबैभन्दा नजिकको पुरुष भनेकै मलाई पढाउने मेरा गुरुबाहरू हुनुहुन्थ्यो । उहाँहरू जस्तो देखिनुहुन्थ्यो म बच्चीलाई लाग्थ्यो पुरुष भनेको यस्तै हुन्छन् । त्यसैले त्यो घृणा पुरुष जात माथि नै थियो, त्यो घृणा त्यो आफ्नो बाबा भन्दा बढी उमेरको मान्छेबाट पनि म सुरक्षित छैन भन्ने तितो यथार्थ माथि पनि थियो, त्यो घृणा म स्त्री भएकै कारण यो सबै सहनुपर्छ भन्ने कुरादेखि पनि थियो ।

म सानी थिएँ, मलाई कसैले सिकाएको थिएन ‘गुड टच र ब्याड टच’ बारे । शायद त्यो बेला पनि अहिलेको जस्तो भएको भए, थाहा पाउँथें होला अनि भन्न सक्थें होला । उति बेला बोल्न सकिनँ तर त्यो क्षण आफ्नो आँखा अगाडि आउँदा मेरो ज्यान अझै पनि सिरिङ्ग हुन्छ । आफैंसँग घिन लाग्छ, बिर्सिन नसक्ने त्यो स्पर्श कहालीलाग्दो, घिनलाग्दो अनि भयानक थियो । उहाँ अझै पनि यतै कतै हुनुहुन्छ संयोग मिले यो पढ्ने असुभ अवसर पनि पाउनुहोला । ‘सर तपार्इंलाई जीवनभर भुल्ने छैन !’

मेरो शरीर चाहे छोपियोस् चाहे देखियोस्, म मोटी हुँ वा पातली, काली हुँ वा गोरी, बालक हुँ वा वृद्ध म एक स्त्री भएकै कारणले गर्दा मेरो शरीरलाई जसरी यी गिद्धे नजरले हेर्छन् र जो पनि मेरा शरीरसँग सम्बन्धित शब्दको प्रहार गर्छन् तिनीहरू न हिजो सुध्रिएका थिए न भोलि सुध्रिने छन्

एक दिन म मेरी आमासँग बसमा यात्रा गर्दै थिएँ । म कति वर्षकी थिएँ मलाई ठ्याक्कै याद त छैन तर जे होस् म ११ मा पढ्थें । बस यात्रुहरूले खचाखच भरिएको हुनाले हामी दुवै जना सहित धेरै यात्रुहरू उभिएका थियौं । तिनै यात्रुहरूको भीडमा उभिएको थियो मेरो अर्को डरलाग्दो अनि तितो जीवनको घटना । म उभिएको ठ्याक्कै पछाडिपट्टि एउटा उमेरले मभन्दा ठूलो दाह्री फुलिसकेको पुरुष थियो । मैले बसको बार समाएर उभिएकी थिएँ । मेरो पछाडिपट्टि त्यही अधबैंसे पुरुष मेरो शरीरमा असजिलो तरिकाले टाँसिंदै थियो ।

मलाई यो निकै अप्ठ्यारोे, कष्टकर लाग्यो, मलाई के के लाग्यो शब्दमा भन्न सक्दिनँ । सायद यो जस्ताको त्यस्तै बुझाउन पनि सक्दिनँ । ‘आमा मलाई असहज भयो हेर्नुस् न यो मान्छेले के के गर्दैछ’ मैले मेरी आमालाई भनें । आमाले प्रत्युत्तरमा त्यो पुरुषतिर फर्केर भन्नुभयो, ‘नानीलाई अप्ठ्यारो भयो अलि पर उभिनु न ।’ तर पनि त्यो मानिसको न सोच बदलियो न त हर्कत नै । त्यो पल मेरो मनमा कुन आँधीबेहरी आएको थियो त्यो त मलाई मात्र थाहा छ । त्यो पल मलाई म कति विवश लागेको थियो त्यो पनि मलाई थाहा छ, याद छ । शायद त्यो दिन मैले मेरो डरमाथि जीत हासिल गर्नको निम्ति पहिलो कदम चालेकी पनि हुँ जस्तो मलाई लाग्छ ।

त्यो पल म बसबाट झर्ने बेला मैले त्यो पुरुषको खुट्टा आफ्नो खुट्टाले बेस्सरी टेकेकी थिएँ, उसले ‘ऐया’ पनि भनेको आवाज मेरो कानमा पुगेको मलाई याद छ । त्यो सुनेर मलाई साँच्चै कस्तो लागेको थियो भने म बाटोमा हिंडिरहेको बेला जसले पनि मलाई असहज हुने तरिकाले हेर्छन् भने ती सबैलाई पनि म त्यस्तै गर्न पाए हुन्थ्यो नि !

अहिले यी घटनाहरू सम्झिंदा कस्तो लाग्छ भने यी घटना त प्रतिनिधि घटना मात्र पनि भन्न मिल्दैन त्यति गहिरा भोगाइहरू हाम्रा बहिनी, दिदी, आमा अथवा हरेक नारीले भोग्नु परेको छ । केही भनौं भने के भनौं ! देखिने गरी के नै भएको छ र ! घाउ देखाउँ भने कसलाई देखाउँ ! देखिने घाउ फेरि लागेकै कहाँ छ र ? केही नहुँदासम्म केही भएकै हुँदैन केही भएपछि भन्नलाई ज्यान बाँकी रहन्न ।

महिलाको ‘फिगर’ भनेर जुन अलि उठेको छाती र पिठ्यूँमा हेरेर नानाथरी भन्ने मानिसहरू किन बुझ्दैनन् होला यो एउटा कुरा, तिनीहरूले भन्ने गरेको ‘फिगर’ महिला भएको कारणले हरेक स्त्रीमा हुने प्रकृतिको देन हो । ती हरेक पुरुष जसले एक स्त्रीलाई हेरेर ‘वाह् ! क्या फिगर !’ भनेर भने अथवा यो सोच राखे, उनीहरूको आफ्नै दिदीबहिनी अथवा जो सुकैलाई पनि त अर्को कुनै परपुरुषले हेरेर मुख मिठ्याएर ओठ पड्काएर भन्दो हो, ‘वाह ! क्या फिगर !’

कम्मरको हड्डी सामान्यतः पुरुषको तुलनामा महिलाको ठूलो हुन्छ किनकि महिलाको शारीरिक बनावट नै यस प्रकार बनेको हुन्छ कि त्यो हड्डी यति ठूलो होस् त्यहाँ बच्चा आनन्दले बस्न सकोस् । अझ स्तन भनेको त साक्षात् अमृत हो त्यही स्तनपान गरेर त हरेक पुरुषलाई एक आमाले सिञ्चेकी हुन्छिन् ।

लुगाले छोपिएको मेरो शरीरलाई समेत घुरेर हेर्ने ती गिद्धे नजरहरूबाट जोगाउन हाम्रो समाजले भन्ने गरेको एउटा वाक्य छ– ‘यस्तो टिमिक्क परेको लुगा लगाएर हिंडेपछि कसले बाँकी छोड्छ त ?’ म मोटी हँुदा पनि हेर्ने ती गिद्धे नजरहरू थिए र म पातली हुँदा पनि हेर्ने ती गिद्धे नजरहरू छन् । म दिदी भए पनि आमा भए पनि हेर्ने ती गिद्धे नजरहरू छन् अझै म स्त्री मात्र हुँदा कसरी ती गिद्धे नजरहरूबाट सुरक्षित छु होला र ? मेरा नजिककाले त मलाई गिद्धे नजरले हेरे म पराइदेखि कसरी सुरक्षित छु होला र ?

मेरो शरीर चाहे छोपियोस् चाहे देखियोस्, म मोटी हुँ वा पातली, काली हुँ वा गोरी, बालक हुँ वा वृद्ध म एक स्त्री भएकै कारणले गर्दा मेरो शरीरलाई जसरी यी गिद्धे नजरले हेर्छन् र जो पनि मेरा शरीरसँग सम्बन्धित शब्दको प्रहार गर्छन् तिनीहरू न हिजो सुध्रिएका थिए न भोलि सुध्रिने छन् । यो सुध्रिनका निम्ति पुरुषले महिलालाई कापीका पानामा होइन आफ्नो वास्तविक जीवनमा सम्मान दिनुपर्छ ।

यो सत्र मिनेटको दूरी आज केही कम लागेन, वर्षौंका घटना आँखा अगाडि नाचिरहे । घर पुग्नै लागेकी थिएँ कसैले पछाडिबाट मलाई भन्यो ‘वाह् ! क्या फिगर !’ पछाडि फर्केर पनि हेर्न मन लागेन । के हेर्ने ? त्यहाँ आजको नयाँ मान्छे छ र हेर्नु ? के अनौठो घटना घट्यो र हेर्नु ?

के भन्ने गरिन्छ भने हाम्रो अवचेतन दिमागले जे गराउँछ अथवा हामी धेरै समय जे सोचिरहेछौं हामी त्यही बन्छौं । त्यसो हो भने सोचौं त एउटा बलात्कारीको अवचेतन दिमागमा के चलिरहेको थियो होला ? के बलात्कार कुनै मानिसले गर्छ ? अथवा कुनै सोचले गर्छ ?

यति भनिरहँदा यस्तो पनि होइन कि मैले जीवनमा असल पुरुष देखेकै छैन । मैले खराब भन्दा धेरै असल पुरुषहरू देखेकी छु । मैले एक स्त्री भएकै कारण अपमान भन्दा बढी सम्मान पाएकी छु । मलाई म स्त्री हुनुमा गर्व छ । तर एउटा मात्र मानिस खराब निस्कियो भने कसैको जीवन नर्क बन्न केही बेरै लाग्दैन । हामी असल हुँदाहुँदै पनि कतै हाम्रा नानीहरू हजारौं असलहरूको भीडमा लुकेर बसेका यस्ता केही गिद्धहरूको नजरमा परेका त छैनन् !





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School