प्रकाशित मिति : माघ २४, २०८२ शनिबार

अमेरिकाको प्रमुख सञ्चार माध्यम वाशिङ्टन पोस्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विलियम लुइस पदबाट हट्ने भएका छन्। संस्थामा कार्यरत ठूलो सङ्ख्याका कर्मचारीहरूलाई हटाएको केही दिनपछि उनले राजीनामा दिने निर्णय गरेका हुन्।
विलियम लुइसले अहिले पद छोड्नु उपयुक्त समय भएको बताएका छन्। कर्मचारीहरूलाई पठाइएको र अनलाइनमा सार्वजनिक भएको सन्देशमा उनले पत्रिकाको भविष्य सुरक्षित गर्न “कठिन निर्णयहरू” लिनुपरेको उल्लेख गरेका छन्।
बुधबार वाशिङ्टन पोस्टले आफ्ना कुल कर्मचारीको एक तिहाइ कटौती गर्ने घोषणा गरेको थियो। यससँगै खेलकुद र अन्तर्राष्ट्रिय समाचार कभरेजलाई समेत उल्लेख्य रूपमा घटाइएको छ। यो निर्णयको धेरै पत्रकारहरूले कडा आलोचना गरेका छन्। पत्रिकाका अर्बपति मालिक जेफ बेजोसको पनि यो कदमपछि आलोचना भएको छ। यद्यपि, कार्यकारी सम्पादक म्याट मरेले यी कटौतीले संस्थालाई “स्थायित्व” दिने दाबी गरेका छन्।
पत्रिकामा गत वर्ष मुख्य वित्तीय अधिकृत (सीएफओ) का रूपमा नियुक्त भएका जेफ डी’ओनोफ्रियोले अब कार्यवाहक प्रकाशक तथा सीईओको जिम्मेवारी सम्हाल्ने वाशिङ्टन पोस्टले जनाएको छ।
यसअघि ‘डाउ जोन्स’का प्रमुख कार्यकारी र ‘वाल स्ट्रिट जर्नल’का प्रकाशक रहिसकेका विलियम लुइसलाई सन् २०२३ मा वाशिङ्टन पोस्टको नेतृत्व सुम्पिएको थियो। पत्रिकाको बढ्दो आर्थिक घाटा कम गर्ने प्रयासका क्रममा उनले पाठक र कर्मचारी दुवैतर्फबाट निरन्तर आलोचना खेप्दै आएका थिए।
ठूलो सङ्ख्यामा कर्मचारी हटाएपछि वाशिङ्टन डीसीस्थित मुख्यालय अगाडि सयौँ मानिसले विरोध प्रदर्शन गरेका थिए। पत्रिकाको सम्पूर्ण मध्यपूर्व संवाददाता टोली र कीभमा आधारित युक्रेन संवाददातासमेत हटाइने कर्मचारीको सूचीमा परेका छन्।
अमेजनका संस्थापक जेफ बेजोसले सन् २०१३ मा वाशिङ्टन पोस्ट खरिद गरेका थिए। सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनअघि उनले दशकौँदेखि चल्दै आएको परम्परा तोड्दै पत्रिकाले कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेका थिए।
सन् १९७० को दशकदेखि अधिकांश निर्वाचनमा उम्मेदवारलाई समर्थन गर्दै आएको यो पत्रिकाले प्रायः डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई समर्थन गर्थ्यो। तटस्थ बस्ने निर्णयको व्यापक आलोचना भयो, जसका कारण दशौँ हजार पाठकहरूले पत्रिकाको सदस्यता रद्द गरेका थिए।