वाम राजनीतिमा नयाँ ‘डिपार्चर’ : RajdhaniDaily.com


ललितपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली वाम राजनीतिक परिदृश्यमा मौलिक राजनीतिक कार्यक्रमको प्रस्ताव अघि सारेका छन् । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी लोकतान्त्रिक चरित्रसहित नेतृत्व गर्ने मौलिक कार्यक्रम जनताको बहुदलीय जनवादमा टेकेर नेतृत्वमा उदाएका ओलीले दोस्रो कार्यकाल पूरा गरेसँगै कम्युनिस्ट आन्दोलनमा मौलिक कार्यक्रम प्रस्ताव गरेका हुन् ।

एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा ‘नेपाली विशेषताको समाजवाद’लाई मौलिक कार्यक्रमका रूपमा अगाडि सारिएको छ । ओलीको यो प्रस्ताव पहिलोपटक एमाले विधान महाधिवेशनमार्फत राजनीतिक वृत्तमा ‘फ्लोर’ भएको छ । विधान महाधिवेशनमा पेस हुने विधानको मस्यौदा पारित गर्न ६ साउनमा बसेको केन्द्रीय कमिटीमा मौखिक राजनीतिक प्रस्ताव पेस गरेका अध्यक्ष ओलीले त्यसपछिको लामो ‘आचोलना र गृहकार्य’पछि ‘नेपाली विशेषताको समाजवाद’को नयाँ कार्यक्रमलाई कम्युनिस्ट आन्दोलनको प्रस्थानबिन्दुका रूपमा अघि सार्न प्रस्ताव गरेका हुन् ।

‘जबज’ टेकेर नेपाली विशेषताको समाजवाद

तथापि, उनले यसको विस्तृत खाका भने राजनीतिक प्रतिवेदनमा समावेश गरेका छैनन् । नेपाली राजनीतिमा महत्वाकांक्षी र अडान राख्नसक्ने नेताको छवि बनाउँदै गरेका ओलीले महाधिवेशनमार्फत अप्रत्याशित रूपमा पेस गरेजस्तो देखिएको राजनीतिक प्रस्तावले सर्वस्वीकृत रूपमा सैद्धान्तिक आवरण पाउला–नपाउला आगामी दिनको राजनीतिक परिदृश्यले देखाउने नै छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न कालखण्डमा तत्कालीन नेतृत्वले तात्कालीन कार्यक्रमका रूपमा मौलिक विचार प्रस्ताव गरे पनि पाँचौं महाधिवेशनदेखि हालसम्म माक्र्सवाद लेनिनवादलाई सिद्धान्त र जनताको बहुदलीय जनवादलाई ‘मार्गदर्शक विचार’का रूपमा मान्दै आएको छ ।

ओलीले राजनीतिक प्रतिवेदनमार्फत पेस गरेको यो नयाँ कार्यक्रम ‘जबज’कै परिस्कृत रूप हो या नयाँ विचार हो भन्ने विषयमा विधान महाधिवेशनमा बहस हुने नै छ । ओलीको प्रस्ताव पारित भएमा एमालेमा ‘जबज’ कि ओलीले अघि सारेको ‘नेपाली विशेषताको समाजवाद’ भन्ने बहस वाम राजनीतिक वृत्तमा चल्ने देखिएको छ ।

नेपाली राजनीतिमा लामो समय टिकेको मौलिक विचारधारा बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवाद हो । प्रजातान्त्रिक समाजवादलाई नेपाली कांग्रेसले सिद्धान्तकै रूपमा अनुसरण गरिरहेको छ । बीपीको प्रजातान्त्रिक समाजवादपछि कम्युनिस्ट आन्दोलनमा लामो समय र धेरै नेता कार्यकर्ताले पछ्याएको विचार तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद नै हो ।

तत्कालीन कार्यक्रमका रूपमा ल्याइएको जबजलाई एमाले र एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीले आजका दिनसम्म अनुसरण गरिरहेको छ । अझ जबजको ‘पेटेन्ट’ कसले लिने भन्नेसम्मका बहस हुँदै आएका छन् । यसबीचमा सशस्त्र विद्रोह हु ँदै शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रले प्रचण्डपथको आफ्नै मौलिक मार्ग अघि सारे पनि त्यो पथ माओवादी स्वयंले अघि बढाउन सकेको छैन । यससहित ओलीले दोस्रो विधान महाधिवेशनमा पेस गरेको नेपाली विशेषताको समाजवादको अवधारणा नेपाली माटोमा जन्मिन खोजेको नयाँ ‘राजनीतिक विचारधारा’ भनेर एमाले नेताहरूले नै दाबी गरेका छन् ।

एमाले नेताहरूले यो दाबी गरे पनि यसअघि नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्यले ‘समाजवादका लागि राष्ट्रिय प्रजातान्त्र’को मौलिक अवधारणा पेस गरेका थिए । प्रजातन्त्र मानेर प्रतिस्पर्धात्मक विधिमा अरूको अस्तित्वलाई मान्नुपर्ने अमात्यले ल्याएको विचारधाराकै जगमा आजका कम्युनिस्टहरूले बहुदलीय प्रतिस्पर्धामा भाग लिइरहेको समेत राजनीतिक विश्लेषकहरू बताउँछन् ।

उनले अघि सारेको यस विचारलाई तत्कालीन समयका क्रान्तिकारी कम्युनिस्टहरूले ‘दक्षिणपन्थी’ संज्ञा दिँदै पुष्पलाल श्रेष्ठले २०२५ सालमा बेग्लै विचार प्रस्तुत गरेका थिए । ‘नेपाली कम्युनिस्ट आन्दोलनको मूल बाटो’ नामक दस्तावेजमा ‘नौलो जनवाद’को वकालत गर्दै गणतन्त्रको लाइन अघि सारेका श्रेष्ठलाई नै पछिल्लो समयमा कम्युनिस्टहरूले साझा नेता मानिरहेका छन् । पुष्पलालले अघि सारेको कार्यक्रममा ‘तीन स’ (सिद्धान्त, संगठन र संघर्ष)सहित मौलिक कार्यक्रमलाई जोड दिइएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशनमा मोहनविक्रम सिंहले पनि बेग्लै विचारधारा प्रस्तुत गरेका थिए । मोहनविक्रमले अघि सारेकै विचारबाट मोहन वैद्य, रूपलाल विश्वकर्मा, निर्मल लामा, प्रचण्ड, नारायणकाजी श्रेष्ठहरूको नेतृत्व विकास भएको थियो । गणतन्त्रका लागि दीर्घकालीन जनयुद्ध या सहरी जनविद्रोहजस्ता भिन्न मतलाई फरक वैचारिक धारका रूपमा बहस गर्र्ने कम्युनिस्टहरूको इतिहासलाई लामो समय भुलेको राजनीतिक परिदृश्यले ओलीले अघि सारेको मौलिक विचारले संस्थापनकै निरन्तरताका रूपमा जबजलाई नै परिस्कृत गर्छ या भिन्न र मौलिक विचारका रूपमा परिचय निर्माण गर्छ भन्ने प्रश्न गोदावरीमा जुटेका एमाले विधान महाधिवेशन प्रतिनिधि र आमराजनीतिकर्मीमा छ ।

२०३२ सालमा कम्युनिस्ट घटकहरूको कोअर्डिनेसन केन्द्रले गणतन्त्रको साझा लाइनको सैद्धान्तिक अवधारणा अघि सारेको थियो । नेकपा एमालेमा तत्कालीन कोअर्डिनेसन केन्द्र (कोके)का संस्थापकमध्ये तीन जना नेता छन् । कोकेका तीन नेतामध्ये ओलीले मौलिक विचार अघि सारेका छन् भने ईश्वर पोखरेल जबजकै पक्षमा छन् । नेकपा एमालेको पाँचौ ं महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’लाई मौलिक कार्यक्रमका रूपमा पारित गरेको थियो । तर, त्यसबेला सीपी मैनाली, झलनाथ खनाल, वामदेव गौतम, मोहनचन्द्र अधिकारीलगायतका नेताले ‘नौलो जनवाद’ कार्यक्रमका रूपमा अघि सारेका थिए ।

एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादमा प्रतिस्पर्धात्मक, जनमुखी र पारदर्शी आर्थिक नीति अवलम्बन गर्ने व्याख्या छ । विधान महाधिवेशनमा अध्यक्ष ओलीले अघि सारेको नेपाली विशेषताको समाजवादको मुख्य विशेषतामा नयाँ प्रगतिशील उत्पादनको सम्बन्धको विकासमा सहयोग, उत्पादक शक्तिको विकास, श्रमजीवी वर्गलाई आर्थिक न्याय र सुखद जीवनयापनको सुनिश्चितता, आर्थिक उत्पादनको प्रचुरता, समन्यायिक वितरण, सहकारिताको प्रयोग पर्यावरणको रक्षा, श्रमलाई प्रोत्साहन तथा उन्नयन, नवप्रवर्तन र आवश्यकताअनुरूप ग्रहण गर्दै तीव्र आर्थिक विकास सुनिश्चित गरिने प्रस्ताव छ । नेपाली समाजको विशेषताका रूपमा रहेको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा सामञ्जस्यका साथ अगाडि बढाइने ओलीको दस्तावेजमा उल्लेख छ । ‘एकरूपतामा एकता होइन, विविधतामा एकतालाई प्रवर्धन गरिनेछ,’ ओलीको प्रस्तावमा भनिएको छ ।

ओलीले नेपाली विशेषताको समाजवादको अनिवार्य कार्यभारमा राष्ट्रिय हितको रक्षा, राष्ट्रिय स्वाभिमान, पहिचान र स्वाधीनताको रक्षा तथा विकास भनेर नवीन व्याख्या गरेका छन् । उनले नेपाली विशेषताको समाजवादको एक मुख्य आधार ‘परिपूर्ण लोकतन्त्र’ भन्दै लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात गर्ने उल्लेख गरेका छन् ।

‘संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनजस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुनेछन्,’ ओलीले अघि सारेको विचारमा भनिएको छ, ‘दलहरूको बीचको प्रतिस्पर्धा सुनिश्चित गरिनेछ, जनताको अभिमतबाट मात्रै शासन सञ्चालन गर्ने, अनिर्वाचित सत्ता नहुने कुराको प्रत्याभूति गरिनेछ ।’

के छ नेपाली विशेषताको समाजवादमा ?
ओलीले आफ्नो प्रस्तावमा राज्यनियन्त्रित समाजवाद र सर्वहारा अधिनायकत्वका नाममा असफलसिद्ध भइसकेको ढाँचाको धङधङी भन्दै कट्टर कम्युनिस्टहरूको आलोचना गरेका छन् । ओलीले भनेका छन्– ‘हाम्रो समाजवाद सोभियत संघ र त्यसलाई अन्धानुकरण गरेर आमरूपमा पूर्वसमाजवादी देशहरूमा लागू गरिएको ‘सोभियत मोडेल’को समाजवाद होइन ।’ नवउदारवाद र पुँजीवादलाई समेत आलोचना गर्दै ‘प्रजातान्त्रिक समाजवाद’का पक्षधरहरूसँग असमान सम्पत्ति सम्बन्धको विकल्प, श्रमजीवी वर्गको साँचो मुक्ति र समाजवाद रक्षाको बाटा के हो ? भन्दै उनले प्रश्न सोधेका छन् ।

आफूले अगाडि सारेको नेपाली विशेषताको समाजवादको औचित्य पुष्टि गर्दै ओलीले दाबी गरेका छन्– ‘हाम्रो सन्दर्भमा समाजवादी प्रणाली मूलतः लोककल्याणकारी चरित्रको, खुला, प्रतिस्पर्धी एवं आर्थिक–सामाजिक न्याय र समानतालाई आत्मसात् गरेको अर्थ राजनीतिक प्रणाली हो ।’

गरिबीको अन्त्य र हरेक सार्वजनिक क्षेत्रको प्रभावकारी भूमिकामा राज्यको कर्तव्य हुने बताउँदै निजी क्षेत्र र सहकारी तथा सामूहिक अर्थतन्त्रले पनि नागरिकलाई मानवोचित र मर्यादापूर्ण जीवनको प्रत्याभूति दिलाउन गरेको कामलाई संस्थागत गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली विशेषताको समाजवादको एउटा महत्वपूर्ण राजनीतिक पक्ष परिपूर्ण लोकतन्त्र भएकामा जोड दिएका छन् । यसले लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतालाई आत्मसात् गर्ने बताउँदै संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार शक्ति पृथकीकरण र आवधिक निर्वाचनजस्ता विषयहरू राज्य सञ्चालनका अभिन्न विषय हुने बताइएको छ । उनले दलहरूबीचको प्रतिस्पर्धा सुनिश्चित गर्दै लोकतन्त्रको समाजवादी मोडलमा स्तरीकृत गरेका छन् ।

(Visited 39 times, 1 visits today)





Source link

Leave a Comment