वातावरणीय अधिकार नै मानव अधिकार


वातावरणीय अधिकार अब मानव अधिकारका रूपमा स्थापित भएको छ। मानव अधिकार प्रत्येक मानिसको जन्मसिद्ध र अपरिहार्य अधिकार हो किनकि यो उसलाई मानव हुनुको आधारमा प्राप्त हुन्छ। बिना कुनै भेदभाव र व्यवधान प्राप्त यो अधिकारको उपभोग उसले सुरक्षित, स्वच्छ र स्वस्थ वातावरणमा मात्र गर्न सम्भव हुन्छ। यो भनिरहनुपर्दैन कि प्रदूषित, जोखिमपूर्ण र अस्वस्थ वातावरणमा हाम्रो जीवन र मानव अधिकारको पनि उल्लंघन हुन्छ। मानव अधिकारको सम्पूर्ण उपभोग र स्वस्थ वातावरणबिचको यही घनिष्ठ सम्बन्धले वातावरणीय अधिकारलाई मानव अधिकारका रूपमा व्याख्या गरिएको हो।

सन् २०२२ जुलाई २८ मा संयुक्त राष्ट्रसंघीय महासभाले वातावरण र मानव अधिकारसम्बन्धी प्रस्ताव पारित गर्दै पृथ्वीमा रहेका सबै मानिसलाई स्वस्थ वातावरणको अधिकार रहेको घोषणा ग¥यो। यो ऐतिहासिक घोषणा विभिन्न सरोकारवालाहरूको दशकौं लामो प्रयासबाट प्राप्त परिणाम हो। त्यसो त यसबीच विश्वका एक सयभन्दा बढी राष्ट्रले वातावरणीय अधिकारलाई आफ्नो संविधानमा उचित स्थान दिएर यसको महत्ता उजागर गरिसकेका छन्।

नेपालको संविधानमा पनि स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई नागरिकको मौलिक अधिकारका रूपमा अंकित गरिएको छ। हाम्रो संविधानको धारा ३० मा यससम्बन्धी दुईवटा बुँदा प्रस्ट लेखिएका छन्, ‘प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ, वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ।’

सन् १९४८ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट पारित मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रमा ३० धारा छन्। धारा ३ र २३ ले क्रमशः मानिसको जिउने अधिकार र गुणस्तरीय जीवनको पैरवी गर्छ। कैयन् वर्षसम्म मानिसले फोहोर–मैला, धुवाँ–धुलो र प्रदूषणलाई आफ्नो नियति ठानिरहेका थिए। मोटरगाडी र रेलबाट निस्किरहेको धुवाँले उनीहरू निसासिन्थे, कलकारखाना उद्योगधन्दाबाट मिल्काइएको फोहोर पानी उनीहरूकै नदीनालामा जथाभावी फालिन्थे, तर बोल्ने साहस हुन्नथ्यो। मानव अधिकार घोषणापत्रले उसको दमित वातावरणीय चेतनालाई पनि जागृत गरिदियो।

यसको सटिक उदाहरण जापानको ‘मिनामाता ब्यो’ हो। ‘मिनामाता ब्यो’ एकप्रकारको दर्दनाक स्नायुसम्बन्धी रोग हो, जसका कारण सुरुमा मानिसका हातखुट्टा नचल्ने र पछि पक्षाघात भई मृत्युसमेत हुन सक्छ।

सर्वप्रथम यो रोग सन् १९५६ मा जापानको क्युसुस्थित मिनामाता सहरकी एउटी पाँच वर्षीया बालिकामा देखापरेको थियो। यो नयाँ र अनौठो प्रकारको रोग थियो। अनुसन्धानले देखायो कि यसको एकमात्र कारण पारो (मर्करी) रहेछ, जसको स्रोत भनेको त्यही सहरमा रहेको चिसो कर्पोरेसन थियो। सन् १९०८ देखि सञ्चालन आइरहेको चिसोले कारखानाबाट निस्केको सारा खराब पानी नजिकै रहेको समुद्रमा फाल्न गरिन्थ्यो, जसका कारण थुप्रै माछा र जलचरहरूमाथि घातक असर पुगिरहेको थियो। यो असर खाद्य शृंखला हुँदै उपभोक्ता मानिससम्म पुग्यो।

सन् १९२६ र १९४३ चिसो कारखानालाई स्थानीय माछापालन सहकारीहरूले हर्जाना पनि तिराएको थिए। तर स्थिति सुध्रिएन। हजारौं मानिस यसबाट बिरामी परे, कैयन्को मृत्यु भयो। स्थानीयवासी र समर्थक नागरिकहरूको आन्दोलन राजधानी टोक्योसम्म पुग्यो। समस्या समाधान भएन। सन् १९६९ मा अदालतमा मुद्दा चल्यो। चार वर्षको लामो बहस, विरोध र नागरिक एक्यबद्धतापछि पीडितले न्याय पाए।

जतिबेला जापानमा कारखानाबाट निष्कासित प्रदूषणयुक्त पानीविरुद्ध नागरिक आन्दोलित थिए, युरोपतिर लन्डन सहरमा ‘स्मोग’ले लाखौं मानिसको स्वास्थ्यमा असर पु¥याइरहेको थियो, जसका कारण सन् १९५२ एकै वर्ष त्यहाँ चार हजार मानिसको ज्यान गएको थियो। ‘स्मोग’ धुवाँ र कुहिरोको सम्मिश्रण हो।

सन् १९५६ मा नागरिक समाजको दबाबमा बेलायतले एउटा कानुन ल्यायो। ‘स्वच्छ वायु ऐन’ नामक उक्त कानुनले १२ वर्षपछि पूर्णता पायो। त्यस्तै संयुक्त राज्य अमेरिकामा पानीसम्बन्धी पुरानो कानुनलाई संशोधन गरी ‘स्वच्छ जल ऐन, २०७२’ लागु भयो। यसअघि सन् १९७० अप्रिल २२ का दिन त्यहाँ पृथ्वीको वातावरण जोगाउन भनी दुई करोडभन्दा बढी मानिस सडकमा आएका थिए। यो अविस्मरणीय हातेमालोलाई आज पर्यन्त पृथ्वी दिवसका रूपमा हरेक वर्ष संसारभरि मनाइन्छ। मानव अधिकार घोषणापत्रले बालेको चेतनाको दियोले यसरी वातावरणीय अधिकारलाई विश्वव्यापी जनअभियानका रूप दिलाएको देखिन्छ।

वातावारणीय अधिकारको पहिचान गर्न हाम्रो वातावारणमा देखापरेका समस्या पहिल्याउनुपर्ने हुन्छ। वातावरण आफैंमा विहंगम विषय हो। सरल भाषामा भन्दा हाम्रो सेरेफेरो नै वातावरण हो, जसभित्र मानिसको वरिपरि रहेका सबै सजीव र निर्जीव वस्तुलाई समेट्न सकिन्छ। प्रथम दृष्टिमा वातावरणले प्राकृतिक वातावरणलाई जनाउँछ, यद्यपि यो मात्र वातावरण होइन।

प्राकृतिक वातावरणले प्रकृतिमा पाइने सबै सजीव र निर्जीव तŒव÷वस्तु तथा तिनीहरूको भौतिक र जैविक अवयवलाई जनाउँछ, जसले जीव वा जीवको समूहलाई प्रभाव पार्ने रासायनिक एवं ऊर्जासहितको अन्तक्र्रियात्मक प्रणाली निर्माण गर्छ।

प्रकृतिमा मानिसको अभ्युदयपछि वातावरण अब प्राकृतिक मात्र भएन, तिनले रूपान्तरण गरेर बनेका निर्मित वातावरण पनि बनेको छ। मानव बस्ती, खेतबारी, जलाशय, नहर, सडक आदि यसका उदाहरण हुन्। निर्मित वातावरणमा मानिसले आफ्नो सुविधा अनुकूल भूबनोटलाई आधारभूत रूपमा रूपान्तरण गरेको हुन्छ। यस्तो भनिन्छ, मानिस नपुगेको अब पृथ्वीको कुनै स्थान छैन।

मानिस प्रकृतिको एक सदस्य हो। तर उसैका कारण प्राकृतिक वातावरणमा खलल पुगेको छ। जसले गर्दा दिनानुदिन समस्यामाथि थप समस्या आइपरेको छ। अहिले हामीले भोगिरहेका वातावरणीय समस्याहरू जस्तै जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको विनाश, फोहोर–मैलाको थुप्रो आदिको सूची निकै लामो हुन सक्छ।

केही वर्षयता वैज्ञानिकहरूले वैश्विक रूपमा हाम्रा वातावरणीय समस्या र तिनको अवस्थाबारे विश्लेषण गर्न वातावरणका नौवटा लक्ष्मण रेखा (प्लानेटरी बाउन्डरिज) कोरेका छन्, जुन यसप्रकार छन् ः जलवायु परिवर्तन र विश्व तापमान वृद्धि, कृत्रिम पदार्थहरू (जस्तै माइक्रोप्लास्टिक, हार्मोन अवरोधक, आणविक फोहोर आदि), स्ट्राटोस्फेरिक ओजोन क्षय, वायुमण्डलीय एयरोसोल लोडिङ, महासागर अम्लीकरण, भूरासायनिक प्रवाहहरूको रूपान्तरण, सफा पानीको समस्या, भूमि प्रणाली परिवर्तन र जीवमण्डलीय अखण्डता र जैविक विविधताको ह्रास। सन् २०२३ सम्म आइपुग्दा यी मध्ये ६ वटा लक्ष्मण रेखा हामीले नाघिसकेका रहेछौं।

वातावरणमा देखा परेका समस्याले अन्ततः मानव अधिकार हनन हुन पुग्छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम (युनेप) का अनुसार वातावरणसित सम्बन्धित मानव अधिकारलाई सारभूत रूपमा तीन वर्गमा राख्न सकिन्छः नागरिक तथा राजनीतिक अधिकार, आर्थिक तथा सामाजिक अधिकार र सांस्कृतिक अधिकार। मानव अधिकार परिषद् (युएनएचआरसी) को विशेष प्रतिवेदकले जलवायु परिवर्तनबाट पर्ने मानव अधिकारमा पनि यी विषयहरू समावेश छन्। नेपालको संविधानले यी अधिकारलाई यथोचित सम्बोधन गरेको छ।

मानव अधिकारको प्रसङ्ग धेरै अर्थमा राजनीति र राजनीतिक परिवेशसित जोडिएको देखिन्छ। हामीमध्ये धेरैलाई यस्तै आभास हुन्छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ।

यो पुस्तक नेपालको मानव अधिकारसम्बन्धी देशमा भए गरेका प्रमुख गतिविधि र अधिकार हननका घटनाहरूको एक वार्षिक अभिलेख र सन्दर्भग्रन्थ पनि हो। अहिलेसम्मका संस्करणहरूमा यसले मानव अधिकारसम्बन्धी विषय जस्तै निर्वाचन, संघीयता र मानव अधिकारसित प्रत्यक्ष सरोकार राख्ने निकायहरूका समाचार र देशका विभिन्न स्थानहरूमा भएका मानव अधिकारको हनन, हत्या–हिंसा, यातना, भेदभावजस्ता विषयको तथ्यांकसहित सूचनाहरू प्रकाशित गर्दै आएको थियो। यो वर्षको प्रकाशनमा वातावारणीय अधिकार र तिनको अवस्था पनि समावेश गरेर पुस्तकले नयाँ आयाम थपेको छ।

वातावरणीय अधिकार समेटेर प्रकाशित पहिलो संस्करणमा मानव अधिकार वर्ष पुस्तकले मौलिक अधिकारहरूको आलोकमा चार वटा विधाअन्तर्गत ११ वटा वातावरणीय समस्याहरूको पहिचान गरेको छः जीवनको अधिकार (विस्थापन, पहिरो, वन डढेलो, बाढी÷ग्लफ), स्वास्थ्यको अधिकार (तापलहर, वायु प्रदूषण, कीटनाशक औषधिको प्रभाव), खाद्य सुरक्षाको अधिकार (कृषि उत्पादन, खाद्य आपूर्तिको मात्रा) र खाने पानी तथा सरसफाइको अधिकार (खाने पानीको अभाव, फोहोर–मैला)।

यीमध्ये पहिलो प्रयासमा सात वटा समस्या र तीसित सम्बन्धित कारकहरूको तथ्यांक संकलन गरेको छ ः बसाइँसराइ, वायु प्रदूषणका स्रोतहरू (इँटा भट्टा, सिमेन्ट कारखाना), विषालु च्याउ सेवन, खाने पानीको वितरण र सार्वजनिक शौचालय।

नेपालमा विद्यमान वातावरणीय समस्या विभिन्न समुदाय र मञ्चबाट उठान हुँदै आएको छ। यी समस्याहरूलाई मानव अधिकार हननको आलोकबाट प्रस्तुत भएबाट यसले नागरिकलाई थप जागृत गर्नु साथै यो समस्या समाधाननिम्ति सहयोगी हुने कुरामा दुई मत हुने छैन।

–भुजु नास्टका प्राज्ञ हुन्।

प्रकाशित: ७ फाल्गुन २०८१ ०७:१८ बुधबार





Source link

Leave a Comment