वसन्त बागमा सिर्जना फूल


एउटा उत्सवमा शुक्रबार सहभागी थिएँ। खाना खाने बेलामा केही अपरिचितसँगै टेबलमा बसेँ। ती आपसमा गफिइरहेका थिए।

‘यो देशमा केही हुँदैन,’ निराश पुरुषले भने।

‘तपाई यो देशमै बस्नुहुन्न के कुरा भयो र?’ उनकै छेउ बसेकी महिलाले जवाफ दिइन्।

ती पुरुष अस्ट्रेलियातिर अलि धेरै बस्ने र नेपालमा बेलाबेलामा आउने हुन् भन्ने बुझ्न बेर लागेन।

‘हुन त म सानैदेखि गलत देशमा जन्मिएँ भन्ने ठान्ने मान्छे हुँ,’ ती मानिसले मनको कुरा गरे, ‘म यहाँ कहिल्यै खुसी हुन सकिनँ।’

संघीयता तिनलाई मन परेको छैन। उमेर पनि निकै भइसकेको देखिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वित्तीय संघीयताका निम्ति दिने भनिएको दुई करोड अमेरिकी डलर (करिब दुई अर्ब ७५ करोड रुपियाँ) रोकिएकोमा खुसी हुँदै भने, ‘बल्ल यो देश बन्छ।’

ट्रम्पले ‘फ्रड’ (ठग) भनेको सन्दर्भ उल्लेख गर्दै यो नेपाललाई नै भनेको भन्ने निष्कर्ष उनको थियो। ट्रम्पले आफ्नै मुलुकले विभिन्न देशमा सञ्चालन गरिरहेको अमेरिकी सहयोग नियोग (युएसएड) लाई ‘फ्रड’ भनेका भए पनि केहीले यो हामीलाई नै भनेको भन्ने अर्थ लगाएर व्याख्या गरिरहेका छन्।

विदेशीले सहयोग रोक्लान् वा नरोक्लान् त्यो तिनको विषय भयो। बदलिँदो विश्व राजनीतिले मुलुकहरूलाई ‘एड’ (अनुदान) भन्दा पनि ‘ट्रेड’ (व्यापार) उन्मुख गराइरहेको छ। बिस्तारै आफूलाई कसरी सक्षम बनाउने र बजारमा टिक्ने भन्ने दबाब सबैलाई परिरहेको छ। देशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच र समझदारी सबैमा आइरहेको छ।

कतैबाट अनुदान आएन भने देश बन्छ भन्ने भाष्य निर्माणमा एकथरी लागिरहेका छन्। देशमा आएको धेरैजसो रकम भने अधिकारमुखी आन्दोलनका निम्ति खर्च भयो भन्ने चिन्ता अर्काथरीलाई छ। विदेशीको पैसा आएकैले यहाँ अधिकार माग्ने निस्केका ठान्ने बुझक्कडहरूको पनि कमी छैन। कसैकसैलाई यो देश विगतमा स्वर्ग थियो अहिले भने बस्नै नसकिने जस्तो भएको छ।

प्रायः हामी समाचारकक्षमा कैयन् विषयमा छलफल गर्छौँ। हालै एउटा यस्तै कुराकानीका क्रममा हाम्रो निष्कर्ष थियो– हिजो विदेशीले बनाइदिएको बाँसबारी छाला जुत्ता कारखाना बेचेर खाए भनिरहेका छन्। के सरकारले जुत्ता बनाएर बस्छ? सरकारको काम कैयन् व्यक्तिलाई जुत्ता बनाउने कारखाना खोल्न सक्ने बनाउनु हो।

त्यस्ता कारखानाले रोजगारी सिर्जना गर्छन्। त्यसैको परिणामस्वरूप अहिले नेपाल जुत्ता बनाउँदैन मात्र, विदेशमा निर्यात पनि गर्छ। बाँसबारीकै भर परेको भए अहिले जुत्ता बनाउने नाममा मुलुकले त्यसको घाटा बेहोर्दै ठिक्क हुने थियो। बरु अहिले त्यहाँ जुत्ता सिलाइँदैन तर बन्द मुटु भने खोल्ने र सिलाउने काम हुन्छ।

जुत्ताको प्रसंग आउँदा फेरि एकपटक हामीले छलफल ग¥यौँ। हामीमध्ये कतिजनाले बाल्यकालमा जुत्ता लगाउन पाएका थिएनौँ। नेकपा (एकीकृत समाजवादी) नेता रामकुमारी झाक्रीले केटाकेटीमा जुत्ता लगाउन नपाएको प्रसंग कतै उल्लेख गरेकी छन्। तर त्यो कुरा नपत्याउने वा तिनले गफ लगाएको ठान्ने धेरै छन् सामाजिक सञ्जालतिर।

रामकुमारीले भनेको सत्य हो। हामीमध्ये धेरैले स्कुल जाँदा जुत्ता लगाएका थिएनौँ। हामीले थाहा पाएकै बेला पनि जुत्ता भनेको केही सीमित व्यक्तिले घरेलु स्तरमा गाउँमै निश्चित समुदायले बनाइदिएपछि मात्र लगाउने वस्तु थियो। जुत्ता लगाउन पाउने भाग्यमानी धेरै कम थिए। दसैँका बेला एकजोर लुगा लगाउन पनि कैयन् दिन कुरेर बस्नुपथ्र्यो। एकपटक सत्यमोहन जोशीले सुनाएका थिए– हामी केटाकेटी हुँदा दसैँमा नयाँ लुगा सिलाउन नभ्याएपछि काँधमा नयाँ कपडा राखेर डुल्थ्यौँ।

केही दशकअघिसम्मको कुरा हो, मानिस मट्टितेल, नून, मसला र अन्य चाहिने सामान किनेर फर्किन साता दिनसम्म पैदल हिँड्थे। बिजुली बलेको देखेर आश्चर्य हुने र परबाट बस होइन, कुदेरै घर आएको देख्नेहरू अझै हाम्रैबीचमा छन्। केही भएन भन्दाभन्दै देशका ७७ जिल्लामा गाडी पुगिसकेको छ। यसरी बनेको बाटोलाई गुणस्तरीय बनाउने जिम्मा भने अहिलेकै मानिसको हो।

यो देशमा केही हुँदैन भन्दाभन्दै पनि मानिस अवसरको खोजीमा हिँडिरहेका छन्। विदेशी भूमिमा गएर कमाएर पनि तिनैले ल्याएर गरिबी निवारण पनि गरिरहेका छन्। यो देशमा केही भएन भन्नेहरू तिनै छन् जो अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि विकसित मुलुकमा पुगेका छन्। कतिपयलाई नेपालमा बसिन्छ भन्ने पनि लाग्दैन। तैपनि उमेर पुग्दै गएपछि देशको मायाले ओतप्रोत भएर फर्कनेहरूको कमी छैन।

केही हुँदैन भन्दाभन्दै पनि दुग्धजन्य पदार्थ, मासु, चिया, जिंकसिट, केबल वायर आदि नेपालले उत्पादन गरिरहेको छ। कतिपय यस्ता वस्तु विदेश जान थालेका छन्। गाउँघरमा बसेर गरिने सामान्य वस्तुलाई पनि ब्रान्डिङ गरेर बेच्न थालिएको छ।

हिजो राजाका बेलामा कत्रो प्रगति र सुख शान्ति थियो भन्नेहरूले विगतबारे चाँडै बिर्सिसके जस्तो लाग्छ। बिजुलीको उत्पादन बढाउँदै गएको छ। त्यति मात्र होइन, यसलाई निर्यात गर्ने अवस्थामा मुलुक पुगिसकेको छ।

सबैभन्दा महत्त्वपूर्ण पक्ष लोकतन्त्रमा नागरिकले खुलेर कुरा गर्न सक्छ। कसैले केही भन्ला कि वा बोलेबापत कारबाही होला कि भन्ने सोच्नु पर्दैन। लोकतन्त्र नै यस्तो व्यवस्था हो जसका विरुद्ध आन्दोलन गर्न पनि पाइन्छ। यति हो, आन्दोलन मुलुकको संविधानले दिएको अधिकारको सीमाभित्र बस्नुपर्ने हुन्छ।

केचाहिँ ढुक्कै भन्न सकिन्छ भने नेपाल दक्षिण एसियामा सबैभन्दा बढी स्वतन्त्रता देश मुलुक हो। यहाँ कम्तीमा लेखेकै कारण जेल जानुपरेको छैन। यति हो, कानुनले दण्डनीय मानेका काम गर्दा भने कुरा बेग्लै हो। सडकको बलमा सत्ता कब्जा गर्न हिँडेपछि भने जनआन्दोलनले निर्मित संविधानको रक्षाका निम्ति लोकतन्त्रका पक्षधरहरू अगाडि आउनु स्वाभाविक हुन्छ।

जुन मुलुकमा राष्ट्रपतिको समेत आलोचना गर्न पाइन्छ। कसैलाई संविधानमाथि राखिएको छैन। तर, बोल्न चाहनेले बोलिरहेकै छन्। सिंहदरबारमा आगो लगाइन्छ भन्ने मेयरलाई सरकारले कारबाही गरेको छैन। ‘टुकुचामा गाड्ने’ धम्की दिँदा पनि सरकारले कारबाही गरिहाल्दैन। यति हो, मुखले जे भने पनि पाइएको छ।

हातमा राँको बोकेर सिंहरदबार जलाउन गएका दिन त कसैले कसैलाई छाड्दैन। तथापि, लोकतन्त्रको सुन्दर पक्ष भनेको संवादबाटै समस्याको समाधान हो। त्यो भने गर्न सकिन्छ। चैत १५ गते राजधानी काठमाडौँको तीनकुनेमा गरे जस्तो आतंकपूर्ण कार्यलाई भने सहन गर्न सजिलो हुँदैन। हिजो पनि यस्तै गरिएको थियो भन्न पाइन्छ। सबैभन्दा उच्चतम स्तरको शासन व्यवस्था लोकतन्त्र भइसकेपछि त्यसलाई ढालेर फेरि कुनै व्यक्तिविशेषको नागरिक बन्न भने  स्वीकार्य हुँदैन।

शनिबार बिहानै म फेरि घुम्न निस्किएँ। वसन्तले जताततै पालुवा हालिरहेको थियो। फूल फुलिरहेका थिए। एक बुबा पिठ्युँमा सन्तान बोकेर उकालो चढ्दै थिए। बुबाको पछिपछि  सानी छोरीलाई आमाले टुकुटुकु हिँडाउँदै केही सिकाइरहेकी थिइन्।

‘ल भन त ट्रि शब्द कुन अक्षरबाट सुरु हुन्छ?’ प्रश्नको जवाफ दिन सानी छोरीलाई कठिनाइ भइरहेको थियो। आमा तिनलाई उत्साहित तुल्याउँदै थिइन्।

आखिर फूल फुल्न छाडेको छैन। कसैलाई यो देशमा जन्मिनुमै दुःख छ। कसैलाई यो देश खत्तम भएकोबाहेक अरू केही देखा पर्दैन। तैपनि कसैले भोलिका नागरिकलाई यसरी सिकाउँदै आशाको सन्देश दिइरहेका छन्। मनमनै सोचेँ– फेरि वसन्त आएको छ। फेरि फुलिरहेको फूल र यो फुल्न खोज्दै गरेको जीवन उस्तै होइन र?

प्रकाशित: ३१ चैत्र २०८१ ०७:१८ आइतबार





Source link

Leave a Comment