‘कबड्डी’को बीके होस् वा ‘जारी’को मंगलसिंह वा ‘डिग्री माइला’को बखते; विजय बराल सहायक र कमेडी भूमिकामा जमेका कलाकार हुन् । सिनेमा र नाटकमा डेढ दशक बिताएका विजयले अनलाइनखबरसँग दिलै खोलेर गरेको कुराकानी :
हिजोआज
१.आफ्नो पेशा सम्बद्ध बाहेक पछिल्लो समय कुन कुरामा बढी समय गइरहेको छ ?
अचेल घरायसी कुरामा नै बढी समय गइरहेको छ । १३ महिनाको छोरो छ, उसकै सेवामा धेरै समय व्यतीत भइरहेको छ ।
२. हिजोआजको कुन समाचार वा घटनाले खुशी हुनुभयो ?
आजकल नेपाली क्रिकेटले जसरी अन्तर्राष्ट्रियस्तरमा देशको नाम बनाइरहेको, त्यसले खुशी बनाइरहेको छ । म खेल पनि हेर्छु, नियम थाहा छ । कहिलेकाहीं हामी–हामी खेलिन्छ पनि । हाम्रो फिल्म र नाटकले पनि केही मात्रामा देशलाई चिनाएको छ, अहिले खेलले धेरै चिनिन थालेको देखेर खुशी लाग्छ ।
३. अहिले के कुराले दिक्क बनाइरहेको छ ?
उही त हो नि-राजनीति । मोबाइलमा राजनीतिका समाचार फुत्तफुत्त आउँछन्, गतिला केही हुँदैनन् । देशमा सधैं अस्थिरता भइरहेको, सरकार परिवर्तनका समाचार सुनेर दिक्क लाग्छ ।
४. अबका योजना के छन् ?
आफ्नै क्षेत्रमा केही गर्ने भन्ने योजना छ । यो वर्ष दुइटा नाटक खेल्ने योजना छ । गज्जब–गज्जबका सिनेमामा काम गर्ने र भने जस्तो भयो भने दुई–तीन महिनाको अभिनय सम्बन्धी कोर्स पढ्न कतै जाने पनि योजना छ ।
५. आजका मितिमा तपाईंको जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ?
१७ वर्ष मण्डला थिएटरमा रहँदा परिवार बिर्सेजस्तो भएको रहेछ । पछिल्लो समय परिवारको महत्व महसुस भइरहेको छ । अहिले बच्चा भएपछि होला; परिवार पो सबभन्दा महत्वपूर्ण रैछ, भन्ने लाग्न थालेको छ ।
६. अचेल तपाईंलाई रोचक लागेको विषय के छ ? के कुरातर्फ रुचि बढिरहेको छ ? कुन कुराको पढाइ वा कुनै व्यक्तिको काम ?
अभिनयका मेथडहरू, एक्टरहरूमा आइरहेको परिवर्तन र सिनेमामा प्रयोग गरिने फरक शैली रोचक लागिरहेको छ । फरक–फरक कलाकारहरूको काम गर्ने प्रोसेस हेर्न पनि मलाई रोचक लाग्छ । पहिलेचाहिं अभिनय बाहेक अरू कुरा केही लाग्दैनथ्यो, अचेलचाहिं खिचाइ र सम्पादनमा पनि रुचि जागिरहेको छ । म आफैं मोबाइलमा भिजुअल खिचेर सम्पादन पनि गर्छु । कस्तो भयो भनेर हेर्छु ।
७. अहिलेको नेपाली समाजको सबभन्दा राम्रो र नराम्रो पक्ष के जस्तो लाग्छ ?
हजुरआमाले मलाई सर्लाहीको लालबन्दीमा टाटीले बेरेको, माटो र गोबरले पोतेको हलमा राजेश हमालको ‘सिमाना’ फिल्म हेर्न लिएर जानुभएको थियो । रिलहरू झरिरहेको देखेको थिएँ, त्यसको सम्झना छ । फिल्ममा के थियो भन्ने केही सम्झना छैन
राम्रो र नराम्रो छुट्याउन त मलाई खासै आउँदैन । केही नयाँ कुरालाई छिट्टै स्वीकार गर्ने राम्रो र केही कुराको भने गहिराइमा नपुगी, लहलहैका भरमा विचार निर्माण गर्ने पक्ष नराम्रो छ । आफ्नो विचार नभए जसरी अरूको लहलहैमा बहकिने बढी भइरा’छ जस्तो लाग्छ ।
८. पत्रपत्रिका र अनलाइन कत्तिको हेर्नुहुन्छ ? आजको पत्रकारिता तपाईंलाई कस्तो लागिरहेको छ ?
शनिवार चाहिं पहिलेदेखि नै पत्रिका ल्याएर पढ्ने बानी छ । अरू दिन त अनलाइन र मोबाइलमै समाचार हेर्छु । अहिलेको पत्रकारिता कतै मोडियो कि, कसैका पछि लाग्यो कि, विचारमा पनि अडिग नभएको व्यक्ति वा समूहका पछि मोडिइरहेको हो कि जस्तो लाग्छ । ठीक हो कि होइन भन्ने छुट्याउन नसक्नु मेरो कमजोरी पनि हुनसक्छ ।
९. इतिहासमा फर्किएर आफूले गरेको कुनै काम फेरि गर्न पाए वा सुधार गर्न पाए कुन कामलाई सुधार गर्नुहुन्थ्यो ?
म गएर अभिनय पढ्ने थिएँ । सबभन्दा महत्वपूर्ण पढाइरहेछ भन्ने बल्ल बुझ्दैछु । कलेजको मात्रै पढाइले नहुने रहेछ । अभिनय नै पनि पढ्नुपर्ने रहेछ भन्ने लाग्दैन ।
१०. आउँदा पुस्तालाई सोचेर आजको पुस्ताले नगरी नहुने काम के हो ?
हामीले समाजमा नकारात्मकता बढी फैलाइरहेका छौं । यसलाई कम गरेर सकारात्मक बन्न सिकाउने । आउने पुस्तालाई जीवन धेरै जटिल होइन, सहज र सजिलो छ भन्ने बनाउनुपर्छ ।
किताब
१. पढ्ने बानी कसरी बस्यो ? कि बानी नै बसेन ?
अहिले त किताबभन्दा स्क्रिप्ट नै बढी पढिन्छ । पहिले किताब पनि पढियो । मण्डला थिएटरमा बस्दाखेरी पढियो । मोबाइल आएपछि किताब पढ्ने समय घट्यो ।
२. पढ्न मनपर्ने विधा ? किन पढ्न मनपर्छ ?
कथा र उपन्यास । मैले देखे भोगेको समाजका कथा भएका लेखाइ मन पर्छ । पढ्नुपर्ने चाहिं इतिहास, संस्कृति र भाषा हो । म फिक्सनतिरै बढी लागें, त्यसमा कमजोरी भयो ।
३. सबभन्दा मन परेको वा प्रभाव पारेको पुस्तक ?
उपेन्द्र सुब्बाका कविता र सुब्बाकै कथा संग्रह ‘लाटो पहाड’ मलाई मन परेको पुस्तक हो । एकदमै सरल भाषामा लेखिएकाले पढ्न सहज भएर पनि मनपर्यो होला ।
४. निकै चर्चा भए पनि तपाईंलाई निराश बनाएको पुस्तक ?
चर्चा भएका त म झन् पढ्दिनँ । धेरै चर्चा भएकालाई विस्तारै पढ्ने भनेर राख्छु । पढेर खासै निराश भइएको छैन ।
५. पुस्तकहरू ज्ञानको प्रसारका लागि लेखिन्छन् कि ज्ञानमाथि नियन्त्रणका लागि ?
पुस्तक व्यक्तिगत विचारले लेखिने भएकाले ज्ञानलाई नियन्त्रण गर्न त नहोला । आफ्नो विचार प्रसारकै लागि लेखिन्छन् होला ।
६. नेपालमा के कस्तो विषयमा पुस्तक लेखिनुपर्छ ?
चलचित्र र नाटक सम्बन्धी पुस्तक बढी आइदिउन् जस्तो लाग्छ । अरू विधामा लेखिएकै छ । बच्चाका लागि पनि अलि धेरै लेखियोस् जस्तो लाग्छ ।
७. तपाईंका प्रिय लेखकहरू ?
उपेन्द्र सुब्बा, राजन मुकारुङ र विप्लव प्रतीक । उहाँहरूलाई नजिकबाट चिनेको, हेरेको भएर पनि प्रिय हुनुहुन्छ ।
८. कलाकार बन्न चाहनेले पढ्नुपर्ने पुस्तक ?
नेपालीमा खासै किताब पाइँदैन, विदेशीकै पढ्ने हो । किताब पढ्नुभन्दा पहिले समाज बुझ्ने, नेपाल घुम्ने, समुदायको मनोविज्ञान बुझ्ने र आफैंलाई अवलोकन गर्ने गर्दा राम्रो हुन्छ होला ।
अभिनेतामा इरफान खान, दयाहाङ राई र सौगात मल्ल मनपर्छ । फिल्ममेकरमा निश्चल बस्नेत र रामबाबु गुरुङ
९. एक दिन बिताउन पाए कुन लेखक वा पात्रसँग बिताउनुहुन्थ्यो ?
कवि/लेखक विप्लव प्रतीकको विन्दासपन देखेर उहाँसँग समय बिताउन मन छ । उहाँको उमेर र जीवनशैलीको कन्ट्रास्ट मलाई रोचक लाग्छ । उहाँको जीवन उहाँलाई नै कस्तो लाग्छ भन्ने त फेरि उहाँलाई नै थाहा होला ।
सिनेमा
१.पहिलोचोटि फिल्म हेर्दाको सम्झना कस्तो छ ?
हजुरआमाले मलाई सर्लाहीको लालबन्दीमा टाटीले बेरेको, माटो र गोबरले पोतेको हलमा राजेश हमालको ‘सिमाना’ फिल्म हेर्न लिएर जानुभएको थियो । रिलहरू झरिरहेको देखेको थिएँ, त्यसको सम्झना छ । फिल्ममा के थियो भन्ने केही सम्झना छैन ।
२. साह्रै मन परेका फिल्म ?
नेपालीमा ‘बलिदान’ । विदेशीमा ड्यानियल डे लुईसले अभिनय गरेको ‘माइ लेफ्ट फुट’ । इन्डियामा इरफान खानले खेलेका सबै फिल्म । इरफान र नाना पाटेकरले खेलेका सबैजसो फिल्म मन पर्छन् । मैले प्रायः फिल्ममा कलाकारको अभिनयमै ध्यान दिने गर्छु ।
३. चर्चा सुनेका तर हेर्दा खासै नलागेका कुनै फिल्म छन् ?
त्यस्ता त धेरै छन् । नामै भन्यो भने त मार्लान् फेरि ! कतिले प्रिमियरमा बोलाउँछन् । हेर्यो, मन पर्दैन । भन्न मिलेन । मेरो विचारमा कुनै पनि फिल्म झुरैचाहिं हुँदैन । त्यसमा धेरैको मिहिनेत लागेको हुन्छ । मलाई मन नपरेको हुनसक्छ भन्ने हिसाबले लिन्छु म ।
४. फिल्म हेर्दाको कुनै विशेष स्मृति ?
खासै स्मृति छैनन् । प्रत्येक सिनेमा सँग कुनै न कुनै स्मृति त जोडिएका हुन्छन्, पछि छुट्दै जान्छन् । इरफान खानलाई गुरुकुलको डाँडामा देखेकाले पनि होला, उनी मनपर्ने अभिनेता भएकाले पनि होला, उनको अन्तिम फिल्मका संवादहरूले चाहिं मलाई निकै छोए ।
५. मन पर्ने कलाकार वा फिल्ममेकर ?
अभिनेतामा इरफान खान, दयाहाङ राई र सौगात मल्ल । फिल्ममेकरमा निश्चल बस्नेत र रामबाबु गुरुङ ।
६. नेपालमा कस्ता फिल्म बनुन् जस्तो लाग्छ ?
हामी इरानी फिल्म हेर्छौं । त्यसको शैलीको एउटा पहिचान छ । इन्डियामा बंगाली लगायत भाषाका फिल्ममा जुन सरल शैलीमा कथा भन्ने छ, हाम्रोमा त्यसको कमी भए जस्तो लाग्छ । हाम्रोमा कथा छ, पटकथा त्यस्तो भइरा’छैन जस्तो लाग्छ । लगानीको पनि समस्या होला । आफ्नो शैली बनाउने फिल्म बनोस् भन्ने लाग्छ ।
७. सिनेमाले मानिसलाई यथार्थसँग साक्षात्कार गराएको ठिक कि एकछिन भए पनि अर्कै संसारमा पुर्याएको ?
दुइटै आवश्यक छ । म फिल्म हेर्दा दुइटै अपेक्षा गर्छु । एक छिन यथार्थ पनि देखाओस्, एकछिन अर्कै दुनियाँमा लैजाओस् जस्तो लाग्छ ।
८. एक दिन बिताउनुपर्दा कुन फिल्मको कुन पात्र रोज्नुहुन्थ्यो ?
‘लूट’ को हाकु काले । यस्ता विन्दास पात्र मलाई मन पर्छ । आफ्नो त्यस्तो नेचर नभएकाले पनि यसप्रति रुचि जागेको होला ।
खाना
१.नियमित खानाको रुटिन कस्तो छ ? खानाको कत्तिको सौखिन हुनुहुन्छ ?
खानाको सौखिन नै हुँ । मैले एकैचोटि ३० वटा ससेजसम्म खाएको छु । मलाई जंक फुड बढी मनपर्दोरहेछ । चिकेन र पोर्क मनपर्छ । अरू मासु खासै मनपर्दैन । पछिल्लो समयचाहिं वजन घटाउनका लागि भोजन कम गर्दैछु । प्रोटिनको मात्रा बढाउने र कार्बोहाइड्रेड घटाउने खाना खाँदैछु ।
२. सबभन्दा मनपर्ने खाना ?
झोलिलो भन्दा पनि मलाई सुक्खा नै मनपर्छ । चिकेन र पोर्क बढी मनपर्छ ।
३. खाएको सबभन्दा मिठो परिकार ?
दिनको चार-पाँच घण्टा मोबाइलमा जान्छ । अचेल त अफलाइन भएर सुत्यो बिहान ६ बजे आफैं टुङ्ग गरेर म्यासेज आउँछ । प्रायः त्यही म्यासेजले ब्युँझिन्छु । अनि त के म्यासेज आयो भनेर हेर्यो, दिन त्यसैबाट सुरु हुन्छ !
हालै सिंगापुरमा खाएको हटपट । आफूलाई मन परेका कुरा आफैंले छानेर बनाउन दिने परिकार हुँदोरहेछ । सबै मिसिएको यो परिकार निकै मनपर्यो । अर्कोचाहिं युकेमा खाएको फिस एन्ड चिप्स पनि मनपर्यो, यताको भन्दा त अर्कै हुँदोरै’छ ।
४. आजसम्म खाएको सबभन्दा नमिठो परिकार ?
एउटा सुप खाएको थिएँ । विदेशमा हो, दयाहाङ दाइहरूले साह्रै हेल्दी भनेर खाएको थिएँ । त्योचाहिं साह्रै नमिठो थियो ।
५. तपाईंलाई पकाउन आउने मिठो परिकार ?
म सबै कुरा मिठो पकाउँछु । मासुचाहिं जुनसुकै पनि विशेष बनाउँछु भन्ने मलाई लाग्छ । खानेले पनि भन्छन् । पहिले त मलाई मिठो पकाउँछ भनेर खान बोलाउने नै गरिन्थ्यो ।
६. संसारमा लडाईं खानाका लागि छ कि ? लड्नका लागि खाना जम्मा गर्नलाई छ ?
खासमा त लडाईं खानैका लागि छ । आर्थिक रूपमा कमजोरले खानैका लागि लडेको छ । दोस्रो फेजमा चाहिं खाना जम्मा गर्ने होला ।
७. भान्साबाट कुनै समाजबारे कत्तिको थाहा पाउन सकिन्छ ?
भान्सा एकदम व्यवस्थित, सफा र सानदार छ भने व्यक्तिको व्यक्तित्व त्यहीं थाहा हुन्छ । कटिङमा फिनिसिङ भएको र मिठो पकाउने मान्छे राम्रो एक्टर हुन्छ भन्ने पनि गरिन्छ । भोजनालय र शौचालयबाट कुनै पनि समाज र घरको कुरा बुझिन्छ । घरमा पाहुना आउँदैछ भन्यो भने हामी अहिले पनि किचेन र ट्वाइलेट सफा गर्छौं नि !
राजनीति
१. नेपालको राजनीतिलाई एक वाक्यमा भन्नुपर्दा ?
अरूबाट नियन्त्रित भएर बढी चलखेल भयो ।
२. हाम्रो राजनीतिको मुख्य समस्या के देख्नुहुन्छ ?
आफ्नै विचार नहुुनु । एउटा संस्थाको त विचार हुन्छ, देशको हुनुपर्दैन ? त्यो नहुनु नै समस्या हो ।
३. नेताहरूको एउटा गुण वा चरित्र सुधार्न मिल्ने भए के सुधार्नुहुन्थ्यो ?
भ्रष्टाचारप्रति कत्ति मन नजाने र आफ्नै विचारमा प्रष्ट भएर काम गर्ने बनाइदिन्थें ।
४. मनपरेका वा प्रभाव पारेका नेता/राजनीतिज्ञ ? सबभन्दा कमसल लागेका नेता ?
प्रभाव समय अनुसार परिवर्तन हुँदोरहेछ । त्यसैले एकैजना भन्ने छैन । राम्रो, नराम्रो परिस्थितिले पनि बनाउँदोरहेछ, कुनै परिस्थितिमा खत्तम लागे पनि पछि परिवर्तन हुन सक्दोरहेछ । त्यसैले यही भन्ने छैन ।
५. मानौं तपाईं प्रधानमन्त्री हुनुभयो, सबभन्दा पहिला के काम गर्नुहुन्थ्यो ?
सबैभन्दा पहिला म मिटिङ राखेर सबै क्षेत्रका विज्ञ ल्याएर मज्जाले कुरा गरेर रोडम्याप बनाउँथें । दीर्घकालीन भिजन बनाउँथें । कम्तीमा १० वर्षको भए पनि बनाउँथें । सत्तामा आउनासाथ कसलाई हटाउने, कसलाई नियुक्त गर्ने भन्नेमा लाग्ने थिइनँ ।
६. एक दिन बिताउनुपर्यो भने नेपालको/संसारको कुन नेता छान्नुहुन्छ ?
चीनका राष्ट्रपति सी चिनपिङ वा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन जस्तो कुनै शक्तिशाली देशका नेता छान्थें । तिनले आफ्नो देश कसरी बनाइरहेका छन्, के–के गरेका छन् भनेर बुझ्ने मौका पाइन्थ्यो कि !
सामाजिक सञ्जाल
१. दिनको कति घण्टा मोबाइल र सञ्जालमा बिताउनुहुन्छ ? बढी चलाउने कुन ?
चार-पाँच घण्टा मोबाइलमा जान्छ । त्यसमा तीन घण्टाजति सामाजिक सञ्जालमा बिताउँछु । बढी चाहिं फेसबुक र युट्युब हेर्छु ।
२. बिहान उठ्नासाथ र राति सुत्ने बेला फोन हेर्ने बानी छ कि छैन ?
छ नि ! त्यही त छ समस्या । एकछिन भए पनि अपडेट लिऊँ भन्ने हुन्छ । अचेल त अफलाइन भएर सुत्यो बिहान ६ बजे आफैं टुङ्ग गरेर म्यासेज आउँछ । प्रायः त्यही यासेजले ब्युँझिन्छु । अनि त के म्यासेज आयो भनेर हेर्यो, दिन त्यसैबाट सुरु हुन्छ !
३. सञ्जालको राम्रो र नराम्रो पक्ष के लाग्छ ?
दुवै पक्ष छ । राम्रो चाहिं यसले विश्वमा के भइरहेको छ भन्ने जानकारी गराउँछ । नराम्रो चाहिं यसमै विश्वास गरेर बस्यो भने गलत सूचना लिइन्छ । एन्जाइटी, डिप्रेसन बढाउने काम पनि गरिरहेछ जस्तो लाग्छ, मान्छेहरूलाई । त्यही भएर सुटिङमा एक घण्टाभन्दा बढी चलाउँदिनँ, फोन अफ गरेर राखिदिन्छु ।
४. सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता र वैकल्पिक सूचना सञ्जालको काम बढी गरेको छ कि गलत सूचना फैलाउने र मान्छेलाई भुलाउने काम बढी गरिरहेको छ ?
दुइटै काम गरिरहेको छ । ७०–३० जस्तो लाग्छ । सूचना दिए पनि यसको आधिकारिकता र विश्वसनीयता छैन । हेरेर होला त नि भनेर पत्याइन्छ तर पनि त्यो गलत रहेछ भन्ने थाहा हुन्छ ।
५. सामाजिक सञ्जालले किताब र पत्रपत्रिकालाई विस्थापित गरिरहेको छ वा गर्नेछ भन्ने गरिन्छ । त्यस्तो लाग्छ ?
लाग्दैन । किताब पढ्नेले अहिले पनि पढ्छन् । होटल, रेस्टुरेन्टतिर जाँदा मान्छे पत्रिका पढेर बसेको अहिले पनि देख्छु । अबको केही समयपछि पढ्ने मान्छे नै बढी हुन्छन् जस्तो लाग्छ । बरु, उल्टो हुन्छ होला ।
पेशा/व्यवसाय
१. कलाकार हुनुको कामको सबभन्दा राम्रो र नराम्रो कुरा के छ ?
आफ्नो अनुहार अरूले चिनुन् भनेर लागेकाले अरूले चिन्दाखेरी रमाइलो लाग्छ । व्यक्तिगत जीवन र समय हुँदैन, त्यो नराम्रो लाग्छ । हाम्रो पनि त मूड हुन्छ, त्यस अनुसार चल्न पाइँदैन ।
२. कुन समयमा तपाईंलाई म कलाकार नै बन्छु भन्ने लाग्यो ?
८ कक्षामा पढ्दाखेरी । म स्कुलमा क्यारिकेचर र कमेडी डान्स गर्थें । साथीहरूले तँ त कलाकार बन्छस् भनेपछि मैले अब कलाकार नै बन्छु भन्ने निर्णय गरें ।
३. कलाकार नबनेको भए के बन्नुहुन्थ्यो होला ?
म अहिले बैंकमा जागिर खाइरहेको हुन्थें होला । मेरो पढाइको विषय त्यही हो ।
४. तपाईंको कोही रोलमोडल छ ?
एउटा समयमा नारद खतिवडा हुनुहुन्थ्यो । उहाँ मेरो घर नजिकैको दाइ । उहाँलाई देखेर नै म उहाँ जस्तै बन्छु भनेर हिंडेको हो । अहिले त यही भन्ने छैन । अब अरूलाई हेरेर हुँदैन, म स्वयं नै बन्नलाई के गर्नुपर्छ भनेर तयारीमा लागेको छु ।