लोडसेडिङको नियोजित भ्रम


बजारमा लोडसेडिङ भयो भनी जबर्जस्ती हल्ला चलाउने प्रयास भइरहेको छ। कुनै प्राविधिक कारणले झ्याप्प बत्ती गयो कि लोडसेडिङ भयो भनी हल्ला सुरु हुन्छ। विद्युत् प्रसारण लाइनदेखि अन्य धेरै प्राविधिक कुरा नबुझी एक्कासि लोडसेडिङका नाममा विद्युत् प्राधिकरणका जिम्मेवार कर्मचारीदेखि प्रधानमन्त्रीसम्मलाई गाली गरिन्छ।

यसरी गाली खानेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा यो लेखक पहिलो नम्बरमै आउँछ। मसँगै प्राधिकरणको नेतृत्व पनि यो सूचीमा पर्छन्। यसरी सामाजिक सञ्जालमा झुटा प्रचार चलिरहँदा सरकारले भने मंगलबार मध्यरातदेखि भारतमा १५० मेगावाट विद्युत् बिक्री (निर्यात) थालेको छ।

सरकारले भारतमा निर्यात गर्नुको मतलव नेपालमा लोडसेडिङ हैन विद्युत् धेरै भयो भन्ने कुरा सहजैरूपमा बुझ्न सकिन्छ। नेपालमै विद्युत् पुगेको छैन भने भारतमा निर्यात गर्न सक्ने अवस्था आउँदैनथ्यो। त्यसैले सामाजिक सञ्जालमा चलाइएको लोडसेडिङ ‘प्रायोजित हल्ला’ मात्र हो। व्यवहारतः लोडसेडिङ हैन, हामीसँग पर्याप्त मात्रामा विजुली उत्पादन भएको छ।

पछिल्ला दिनहरूमा लगातार वर्षा भएको र नदीहरूको बहावमा वृद्धिसँगै जलविद्युत् उत्पादनमा पनि वृद्धि भएको छ। त्यसैले सामाजिक सञ्जाल हेरेर हैन, वास्तविकता र तथ्यांक हेरेर सरकारको आलोचना गर्नु उचित हुनेछ। विद्युत् आपूर्तिमा कहीँ कतै प्राविधिक समस्या छ र कतै हामीबाट कमजोर हुन्छ भने त्यस्तो सूचना उपलब्ध गराउन पनि आग्रह गर्छु। अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी भारततर्फ निर्यात सुरु भएको हो।

भारतबाट ३५० मेगावाट विद्युत् आयात भइरहेको अवस्थामा वर्षा सुरु भएसँगै उत्पादन बढेकाले आयात रोकेर निर्यात सुरु गरिएको छ। आयात गरिरहेको नेपालले भारतलाई निर्यात गर्न थालेको कुराले यस्ता हल्ला निराधार र प्रायोजित हुन् भन्ने प्रष्ट हुन धेरै पर्खन पर्दैन। हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत् पुग्नेगरी आपूर्ति भइरहेको छ।

पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्नु गम्भीर आपत्तिजनक कुरा हो। मैले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि विद्युत्को संकट समाधान गर्ने एउटै उद्देश्य लिएर काम थालेको थिएँ। हामीले बंगलादेशको बजार पाएका छौँ भने विस्तारै हामी भारतमा निर्यात बढाउँदै लैजाने पथमा काम गरिरहका छौँ।

नेपालका लागि भारतको ठूलो बजार अवसर हो। यसबाट हामी धेरै फाइदा लिन सक्छौँ। तर यो फाइदा लिने पक्षमा काम गर्दा नियोजित भ्रम फैलाउने अभियान चलाइने गरेको छ। यो विकासको बाधक हो। काम गर्ने मन्त्रीहरूलाई हौसला दिनुको साटो गलत आरोप लगाउन अनि हतोत्साही गर्ने पुरानै परम्परा हो।  

विदेशमा रहेका केही व्यक्तिले रातको समयमा पटकपटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेका अनुभवसमेत मैले मन्त्री भएपछि लिन पाए। विदेशमा रहेको व्यक्तिले नेपालमा बत्ती किन गयो र यसको प्राविधिक समस्याबारे कसरी जानकारी पाउन सक्छ? त्यस्ता कुराको कुनै तथ्य हुँदैन। आरोप लगाउनकै लागि त जे पनि लगाउन सकिन्छ तर त्यो वास्तविकतामा आधारित हुँदैन।

अहिले सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ र बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मत सम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिने जस्ता विभिन्न प्राविधिक कारण समस्या देखिएका कारणले पनि कहिलेकाहीँ जान्छ। पाँच मिनेट बत्ती जानेबित्तिकै नाम नै काडेर सामाजिक सञ्जालमा लेख्दैमा सभ्य नागरिक भइँदैन।

कहिले अचम्म लाग्छ, विदेशबाट राति १२ बजे पनि फोन आउँछ, त्यो पनि बारम्बार एउटै नम्बरबाट। बत्ती गयो भन्ने गुनासो गर्छन्। यसरी आउने गुनासो सही नै होला भनेर हामी चेक गर्छौँ तर तर सो स्थानमा जाँच गर्दा बत्ती नै नगएकोसम्मका रेकर्ड पाइन्छ। अनि थाहा हुन्छ कि केही व्यक्ति नियोजितरूपमा नै बदनाम गराउन लागेका छन्।

बत्ती नियमित रहेको तर नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले कहीँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको धेरै भएको छ। अहिले पनि यही अभ्यास चलिरहेको छ। लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि छैन। म ढुक्कका साथ विद्युत् प्रयोग गर्न सबै नागरिकमा अनुरोध गर्छु।

हामीसँग अहिले विद्युत् उत्पादन आवश्यकताभन्दा बढी छ। त्यसैले निर्यात भइरहेको छ। यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो। विगतका वर्षहरूमा पनि वर्षको सात सय घण्टासम्म विभिन्न प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायीरूपमा अवरूद्ध हुने गरेको थियो। कहिले हावाहुरीले पोल ढल्ने, कहिले मर्मतकै क्रममा लाइन काटिने, कहिले मानवीय त्रुटिका कारण पनि विद्युत् अवरुद्ध हुने गरेको छ तर प्राधिकरणले सम्भव भएसम्म छिटोभन्दा छिटो गुनासो सम्बोधन गर्ने गरेको छ।

आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्ररूपमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना मेरो छ। सामाजिक सञ्जालमा यथार्थ विपरीत सूचना फैलाउन हुदैन। जनतलाई सही सूचना दिने कर्तव्य सबैको हो। जनताले पनि प्रमाणसहितको जानकारीमा विश्वास गर्ने बानी गर्नुपर्छ। हल्ला होइन, तथ्यमा विश्वास गर्नूस्। हामी उत्पादन बढाउँदै छौँ, आपूर्ति सन्तुलनमा छ र लोडसेडिङको कुनै खतरा छैन।

‘ब्याकअप’को अवस्था

नेपालमा विद्युत् उत्पादनको ब्याकअप वर्षायाममा राम्रो छ। पछिल्लो आठ÷दस वर्षभित्रै निजी क्षेत्रको सहभागितामा ३५ सय मेगावाट विद्युत् उत्पादन भएको छ। अहिले बनाउन सक्ने परियोजनाबारे अध्ययन भइसकेका छन्, पूर्वाधार तयार छन्। यी निर्माणाधीन आयोजनाहरूमा बाटोघाटो पुगिसकेको छ। अब चारदेखि पाँच वर्षमा ती आयोजना निर्माण भइसक्छन्। ठूला ठूला आयोजनालाई छ/सात वर्ष लाग्ला, अन्यथा चार वर्षभित्र आयोजना सम्पन्न हुने परिस्थिति देखिएको छ। यो हाम्रो समृद्धितिरको यात्रा हो।

हिजो किन ढिलासुस्ती भयो भन्ने कुरा मन्त्रालयले पहिचान गरेर समाधान पनि गरिरहेको छ। हामीले यसका लागि ८१ बुँदे मार्गचित्र पनि सार्वजनिक गरेर काम गरेका छौँ। जुन मार्गचित्रले सबै कुरा प्रष्टरूपमा उल्लेख गरेको छ। अबको केही वर्षमा हामी भारतसहित विश्वका अन्य बजारमा विद्युत् निर्यात गर्ने छौँ।

मार्गचित्रमा यसरी काम गर्न सकिन्छ भनेर विधि पनि तयार गरेका छौँ। लगानीको पक्ष स्वपुँजी, जनतालाई सहभागी गराउने, निजी क्षेत्र र अन्तर्राष्ट्रिय जगत्लाई पनि आह्वान गरेर यो क्षेत्रको विकास गर्न सकिन्छ भनेर हामीले त्यसमा प्रष्ट उल्लेख गरेका छौँ। यो लक्ष्य प्राप्ति गर्दै गर्दा समृद्ध हुने बाटोतिर नेपाल अग्रसर हुनेछ। अनि आफ्नो बजेट आफ्नै कमाइबाट बनाउने स्थितिमा नेपाल पुग्नेछ। यो अवस्थामा हामी समृद्ध नेपाली हुँदै सुखी नेपालीमा परिणत हुने छौँ।

हामीलाई पूर्णरूपले आत्मनिर्भर हुन एक/दुई वर्ष समय लाग्न सक्छ। वर्षायाममा जति निर्यात गरेका छौँ, सुक्खा मौसममा त्योभन्दा कम आयात गरेका छौँ। यसले पनि केही सन्तुलन गरेको छ। दीर्घकालीन समाधान होस् भनेर हामी जलाशययुक्त आयोजना बढाउन गइरहेका छौँ। मन्त्रालयको प्राथमिकता पनि यसमा छ। त्यस्तै ऊर्जा सुरक्षालाई ध्यानमा राखेर पनि मन्त्रालयले काम गरिरहेको छ।

भारतसहित अन्य देशको बजारका बारेमा सरकारले काम गरिरहेको छ। विद्युत्को समस्या समाधान गर्न नै माघको अन्तिम साता ‘इन्डिया इनर्जी विक २०२५’ मा भाग लिएको थिएँ। भारतीय पक्षबाट नेपाल भ्रमण गरी विद्युत्मा सहकार्य गर्न र नेपालको विकासमा साझेदार बन्ने प्रतिबद्धता व्यक्त भएको छ। यो नेपालको ऊर्जा विकासका लागि निकै ठूलो उपलब्धि हो।

सबैभन्दा ठूलो र लामो समयदेखि अल्झेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढाउनेबारेमा सहमति भएर प्रगतिका केही संकेतसमेत देखिन थालेका छन्। यसलाई प्रधानमन्त्रीस्तरीय बैठकबाट अन्तिम टुङ्गो लगाउनेबारे महत्त्वपूर्ण छलफल भएको छ। नेपालसँग भएका ठूला आयोजना सम्पन्न गर्नेबारे छलफल भएको छ। यसले नेपालको ऊर्जा विकासमा एक नयाँ आसा सिर्जना गरेको छ।

नेपाल र भारतबीच अन्तर्देशीय प्रसारण लाइन निर्माणको मोडालिटीबारे दुई देशबीच छलफल चलिरहेको छ। ऊर्जा विकास मार्गचित्र–२०८१ ले राखेको २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न उक्त सहमति कोसे ढुङ्गा सावित हुनेछ। उक्त सहमति मुलुक र ऊर्जा क्षेत्रका लागि ठुलो उपलब्धि हो।

हामीले १० वर्षभित्र भारतमा १० हजार र बङ्गलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने भनिरहेका छौँ। त्यसका लागि आवश्यक पर्ने प्रसारण लाइन निर्माणका लागि महत्त्वपूर्ण सहमति भएको छ। सहमति भएको प्रसारण लाइन निर्माण हुँदा हामी भारत र बङ्गलादेशमा १७/१८ हजार मेगावाट विद्युत् निर्यात गर्न सक्छौँ।

बङ्गलादेशका ऊर्जा मन्त्रीसँग पनि महत्त्वपूर्ण भेटघाट र छलफल भयो। हामीले जुन उद्देश्यका साथ बङ्गलादेशसँग पनि विद्युत् व्यापार गरेका हौँ, त्यसलाई अगाडि बढाउने सङ्केत मिलेको छ। चाँडै नै यसले पनि मूर्त रूप लिन्छ। नेपालले भारतको सहयोग लिएर काम गर्नुपर्ने भएकाले बङ्गलादेशतर्फ पनि प्रसारण लाइन बनाउने विषयमा छलफल अगाडि बढेको छ।

– लेखक ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री हुन्।

प्रकाशित: १४ जेष्ठ २०८२ ०८:५५ बुधबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School