लोकतन्त्रमै जन्मिएका नवसामन्तहरू : RajdhaniDaily.com



लोकतन्त्र विश्वमै लोकप्रिय कसरी भयो ? लोकतान्त्रिक व्यवस्थाको मुख्य विशेषताहरू के हुन् ? नेपालीले यही व्यवस्था किन रोजे ? यस्ता सवालको जवाफ अहिले सबै नेपालीले दिन सक्छन् । नेपाली समाजमा लोकतन्त्रको सैद्धान्तिक व्यख्याको जरुरतै छैन । तर, पछिल्लो समयमा यही लोकप्रिय लोकतान्त्रिक व्यवस्थाउपरै प्रश्न उठ्न थालेको छ । यसै प्रसंगमा हामी सबैले बुझ्नुपर्ने मुख्य कुरा के हो भने उठेको प्रश्न व्यवस्थाविरुद्धकै हो वा लोकतान्त्रिक राज्य सञ्चालक नेताविरुद्धको हो ? यो यकिन नगरी आफ्नो प्रतिक्रिया दिनु उत्तम हुँदैन । अहिले सर्वसाधारण नेपालीहरूले यही सवालको प्रतिक्रियात्मक जवाफ पनि व्यवहारबाटै दिन थालेका छन् ।

लोकतान्त्रिक नेताकै अलोकतान्त्रिक स्वेच्छाचारी व्यवहारले अहिले लोकतन्त्रसम्बद्ध सवाल उठाइरहेको छ । वास्तवमा व्यवस्था साधन मात्र हो । सञ्चालककै स्वच्छ मानसिकता र पारदर्शी कल्याणकारी कार्यले नै व्यवस्थालाई साध्यमा परिणत गराउने हो । यसर्थ, कुनै पनि व्यवस्था आफैंमा सफल हुँदैन भन्ने कुरा राजनीतिक इतिहासले नै बताउँदै ल्याएकै छ । राष्ट्रिय स्तरका प्रभावशाली दलकै शीर्षस्थ नेताको स्वेच्छाचारी कार्यशैली र व्यवहार सामन्तवादतर्फ उन्मुख भैरहेको छ । त्यसको दृष्टान्त प्रस्तुत गर्नुपहिले सामन्तीको उत्पत्ति र सामन्तवादीको चरित्र एवं कामकार्यका ’boutमा चर्चा गर्नु उपयुक्त हुन्छ । किनकि सामन्तवादकै परिभाषाले नेपालका उच्चस्तरीय राजनीतिक नेताको कामकार्य सामन्तवादतर्फ उन्मुख हो होइन ? आफैं बताउँछ ।

सामान्य अर्थमा सामन्तबाट सञ्चालित हुने शासन व्यवस्था, नीति र सिद्धान्तलाई सामन्तवाद भनिन्छ । यसलाई अर्को नामबाट सामन्तद्वारा सञ्चालित तन्त्र पनि भनिन्छ । सामन्ततन्त्र सञ्चालन गर्ने व्यक्ति वा समूह नै सामन्तवादी हुन् । उनीहरू सामन्तवादकै अनुयायी हुन्छन् । सामन्तीको उत्पत्ति विश्वमा कहिले कसरी भयो ? उनीहरूले सामन्तवादी नीतिको अवलम्बन कसरी गर्दै आए ? तथा सामन्तको मुख्य विशेषता के हुन् ? भन्ने कुरा उल्लेख नगरिए आलेख नै अधुरो हुन सक्छ । यसर्थ, सर्वप्रथम यसैको ऐतिहासिक पृष्ठभूमिलाई हेरौं । सामन्त त्यस्ता व्यक्ति हुन जसले राज्यबाट बकस वा बिर्ताको रूपमा जमिन प्राप्त गर्छन् । जमिनदार वा मुखियाको रूपमा परिचित हुन्छन् । गरिब किसानलाई आफ्नो जमिन जोताई लाभ लिन्छन्, विपन्नलाई शोषण गर्छन् । यस्तै, सामन्तद्वारा सञ्चालित शासन व्यवस्था वा तन्त्रलाई सामन्तवाद भनिन्छ ।

राष्ट्रप्रमुख नै सामन्त हुन् वा सामन्तको उत्पत्ति राजा–महाराजाबाटै भएको हो ? भन्ने कुरामा कतिपयलाई भ्रम हुन सक्छ । सामन्तीको उत्पत्ति गराउने अनुकूल वातावरण भने राजा–महाराजाहरूले नै बनाइदिएका हुन् । स्मरण रहोस्, सन् ४०० पछि वा आजभन्दा करिब २ हजार वर्षपहिले नै तत्कालीन राजा, महाराजा वा सम्राट्ले प्रतिस्पर्धात्मक रूपमै राज्य विस्तार गर्थे । यस क्रममा कसैको मुलुक ठूलो र कसैको सानो हुनु स्वाभाविक थियो । ठूलो राज्य वा साम्राज्यका राजाले आफ्नै राज्यको भौगोलिक क्षेत्रलाई समानुपातिक ढंगले देखभाल गर्न सक्दैनथे । सहज ढंगले राज्य सञ्चालन गर्ने गराउने क्रममा सम्राट्हरूले राज्यलाई विभिन्न खण्डमा विभाजित गराई आफ्नो आदेश कार्यान्वयन गराई सञ्चालन गर्ने जिम्मा सरदारलाई प्रदान गरे । तोकिएको क्षेत्रको राज्य प्रशासन चलाउने दायित्व सरदारकै हुन्थ्यो तर राज्यको स्वामी भने राजा नै हुन्थे ।

क्षेत्र, क्षेत्रमा खटाइएका सरदारहरू राजा–महाराजको मुख्य प्रशासनिक सहयोगी मानिन्थे । ठूलो भौगोलिक क्षेत्रमा खटिएकोलाई ठूलो सरदार र सानो क्षेत्रमा खटिनेलाई सानो सरदार भनिन्थ्यो । आफ्नो कार्यक्षेत्रभित्रका सबै बासिन्दासँग सरदार नजिक हुन्थे । राजा–महाराजहरू पनि सरदारकै विश्वासमा राज्य सञ्चालन गर्थे र राजाले देखभाल गर्न सरदारलाई दिएकै जमिन कृषकलाई जोताई त्यसको आम्दानी सरदारहरूले नै लिन्थे । यिनै सरदारहरूले क्रमशः आफ्नो शक्ति विस्तार गर्दै गएर सामन्तको रूप धारणा गर्न थाले । यो सन् ४७६ अर्थात् करिब १९५० वर्षपहिलेको सामन्तको जन्म भएको ऐतिहासिक तत्व हो ।

यही साल वा सन् ४७६ मा रोम साम्राज्यको पतन भएपछि सो विशाल साम्राज्यअन्तर्गतकै सामन्तहरू आआफ्नो राज्यमा अझै शक्तिशाली बन्दै गए । त्यसपछि युरोपियन क्षेत्रमै सामन्तहरू विस्तारित हुँदै गए । यसको करिब ४ सय वर्षपछि वा सन् ८१४ मा तत्कालीन फ्रान्सका सम्राट् सार्लभाको निधन भएपछि पुनः विशाल फ्रान्स साम्राज्य नै टुक्राटुक्रामा विभाजित भयो । यसको लगत्तै पूरा युरोपभरि नै सामन्तीहरू फैलिए, सामन्तवादले पनि मौलाउने अवसर पायो । युरोपियन मुलुकमा सन् १३३७ सम्म सामन्तवाद मौलाएर रह्यो । तर, सोभन्दा पहिले नै इस्लाम र इसाई दुई धर्मावलम्बी सामन्तहरूबीच देखा परेको धार्मिक मतान्तरले युरोपमा सन् १०९६ मा धर्मयुद्धको बीजारोपण ग¥यो । दुई समूहबीचको यो धर्मयुद्ध सन् १२९२ सम्म करिब २ सय वर्ष नै चल्यो आफ्नै इस्लाम र इसाई पुर्खाले प्रारम्भ गरेको धर्मयुद्धलाई उनीहरूकै पाँचौं पुस्तासम्मका सन्ततिहरूले निरन्तर लडेका थिए ।

धर्मयुद्धमा असंख्य सामन्त मारिएपछि सामन्तवाद पतनको बाटातर्फ लाग्दै आयो । यसको लगत्तै वा सन् १३३७ देखि १४५३ सम्म पुनः बेलायत र फ्रान्सका सामन्तबीच नै सयवर्षीय युद्ध भएपछि त युरोपियन भूमिबाटै सामन्तहरू लोप हुँदै गए । यसपछि नै सर्वसाधारण जनता, कृषक र राजाहरूमा राष्ट्रिय भावना जागृत हुँदै आएपछि सामन्तवादको अन्त्य भएको थियो । सामन्तवादको मुख्य विशेषता कस्तो थियो, यसतर्फ पनि संक्षिप्त चर्चा गरौं । सामन्तहरूले राजाबाट राज्यको ठूलो भौगोलिक क्षेत्र नै प्राप्त गर्थे । भूमि प्राप्त गरेबापत राजालाई आवश्यक पर्दा सैनिक सहयोग गर्ने, प्रशासनिक कार्यमा सहयोग पु¥याउने तथा राजाको छोरो जन्मँदा, राजपरिवारमा कसैको विवाह हुँदा र राज्यारोहणजस्तो विशेष अवसरमा सामन्तहरूले राजालाई यथेस्ट सहयोग गर्नुपथ्र्यो । सामन्तले आफ्नो क्षेत्रको शासन आफैं चालाउँथे । अदालत र ऐन कानुन आफैं बनाउँथे । सामन्तको मौखिक आदेश नै क्रमशः कानुन बन्दै गयो ।

पहिलेका सामन्तले त राज्य प्रशासनलाई आफ्नै स्वार्थमा प्रयोग गर्थे तर अहिलेका सामन्तले सहयोगी र आफन्तकै हितमा समेत राज्य संयन्त्रको दुरुपयोग गरिरहेका छन् । उल्लिखित कार्यशैली र विशेषता नेपालका सत्तासीन सामन्तमा भएको नेपालीले नै अनुभूति गरेका छन्

ठूला सामन्तले राजाप्रति, साना सामन्तले ठूला सामन्तप्रति र अर्धदास किसानले साना सामन्तप्रति वफादारी बन्ने प्रचलन सामन्तवादी समाजमा थियो । समाजको स्वरूप पनि पिरामिड शैलीको हुन्थ्यो । राष्ट्रप्रमुख राजा–महाराजाहरू हुन्थे । त्यसपछिको दोस्रो तहमा ठूला सामन्त र ठूला पादरी हुन्थे । यसैगरी, तेस्रो तहमा साना सामन्त र साना पादरीहरू पर्थे । सबैभन्दा तल अर्धदास किसानहरू पर्थे । अर्धदास किसानहरू रातदिन परिश्रम गर्दा पनि दयनीय जीवन गुजार्न बाध्य हुन्थे । किसानहरू शोषित पीडित थिए । कर्म र भाग्यले नै मानिसलाई धनी र गरिब बनाउँछ भन्ने प्रचलन समाजमा थियो । हरेक व्यक्तिले आफूभन्दा ठूलाको सेवा, सम्मान र आदर गर्दै उनीहरूको आज्ञापालन गर्नुपथ्र्याे । सामन्तवादी समाज दुई समूहमा विभाजित हुन्थ्यो । पहिलो समूहमा सुखी–सम्पन्न व्यक्ति हुन्थे, उनीहरूको दिनचर्या नै मनोरञ्जन गर्ने, मोजमस्ती गर्ने र आनन्दित सुविधाभोगी जीवन बिताउने हुन्थ्यो । यो समूहमा राजा, राजपरिवार, ठूला सामन्त, ठूला पादरी तथा साना सामन्त र साना पादरीहरू पर्थे । दोस्रो समूहमा समाजको विपन्न जनता र अर्धदास किसानहरू पर्थे जो विपन्न कष्टकर जीवन बिताउन विवश हुन्थे । यसरी, सामन्तवादी समाज शोषक र शोषित दुई वर्गमा विभाजित हुन्थ्यो ।

भूमि जोतभोग गरेबापत किसानले प्रदान गर्ने अम्दानी सम्भ्रान्त वर्गको प्रमुख आम्दानीको स्रोत हुन्थ्यो । व्यापार व्यवसाय त्यतिखेर आम्दानीको स्रोत बनिसकेको थिएन । कृषकले कमाएको जमिन सामन्तले बिक्री गरे कृषक पनि सँगै बेचिन्थे । कृषकहरू सामन्तकै जमिनमा जन्मन्थे, हुर्कन्थे र त्यही मर्थे । सामन्तले खोजेको बेलामा जुनसुकै समयमा पनि कृषकले हाजिर हुनुपथ्र्याे । कृषक मात्र होइन, सामान्य जनता पनि सामन्तलाई बुझाउनुपर्ने करको बोझले थलिएका हुन्थे । यही प्रकृतिले उकुसमुकुस भई सञ्चालन हुँदै आएको सामन्तवादी समाजमा ठूला र साना सामन्तबीच क्रमशः अन्तरविरोध र प्रतिस्पर्धा बढ्दै गयो । किसानहरू पनि जागरुक हुँदै आए । शोषित पीडितहरू पनि वर्गविद्रोह गर्न थाले । सयवर्षे धर्मयुद्धले पनि समाजलाई जागरुक गरायो । मुद्रा प्रचलनमा क्रमशः सुधार हुँदै आयो, व्यापार व्यावसायमा अभिवृद्धि भयो तथा राजा–महाराजाहरू आफैंमा शक्तिशाली बन्दै आएपछि नै सन् १४५३ मा सयवर्षे युद्ध समाप्त भएसँगै करिब हजार वर्ष सञ्चालित हुँदै आएको सामन्तवादको अन्त्य भयो ।

अब आलेखको शीर्षकतर्फ केन्द्रित बनौं । नेपालमा १६ वर्षपहिले नै लोकतन्त्र स्थापित भएको विदितै छ । लोकतन्त्रले १६ वर्षको अवधिमा मुलुक र मुलुकवासीको आधारभूत आवश्यकता पूरा गर्न सकेन तर राज्य सञ्चालक नेतालाई भने सुखी र सम्भ्रान्त बनायो । लोकतन्त्रले नै नेतालाई नजरका लोकतान्त्रिक, व्यवहारका सामन्तवादी बन्ने अवसर प्रदान ग¥यो । देश र जनताको जीवनस्तर सुधार्न होइन आफ्नै जीवनस्तर र हैसियत सुधार्न नेताले लोकतन्त्रलाई प्रयोग गरेको पुष्टि भयो । यही आशय प्रमाणित गर्न माथि उल्लिखित हजार वर्षपहिलेको सामन्तवादी युगका सामन्तको र अहिलेको नेपालका लोकतान्त्रिक नेताको कार्यशैली र व्यवहारलाई हामीले तुलनात्मक रूपमा हेर्नुपर्ने हुन्छ ।

सामन्तवादी युगमा राजा–महाराजाहरू राष्ट्र प्रमुख त हुन्थे तर शासन सञ्चालन सामन्तले नै गर्थे । अहिले नेपालमा राष्ट्रप्रमुख त राष्ट्रपति छन् तर राज्य प्रशासन भने जनताले छानेका राष्ट्रपतिले नियुक्ति गरेकै कार्यकारी प्रमुख प्रधानमन्त्रीले सञ्चालन गर्छन् । हजार वर्षअघि राजाअन्तर्गतका ठूला र साना सामन्त र पादरीले राज्य सञ्चालित गर्थे । अहिले हाम्रो मुलुकमा पनि राष्ट्रपतिकै संरक्षकत्वमा उनीमातहतकै ठूला सामन्तको ठाउँमा कार्यकारी प्रधानमन्त्रीले, मझौला सामन्तको रूपमा प्रदेश सरकार र साना सामन्तको रूपमा स्थानीय सरकारका पदाधिकारीबाटै राज्य सञ्चालित हुँदै आएको छ । राज्य सञ्चालक सामन्तहरूले जनता र अर्धदास कृषकलाई शोषण गरेर आफू लाभान्वित हुन्थे । त्यही प्रवृत्ति संघीय सत्तादेखि स्थानीय तहसम्मको सत्ता सञ्चालकमा देखिँदै आएको छ, जुन सामन्तवादी युगसँग मिल्दो छ ।

हजार वर्षपहिलेका सामन्तहरू सोझै सामन्तको रूपमा उत्पन्न भएका थिएनन्, उनीहरू प्रारम्भमा राजाद्वारा नियुक्त पदीय सरदार मात्र थिए । पछि क्रमशः राज्यशक्ति हातमा लिँदै सामन्तमा परिणत भएका थिए । अहिलेका नवसामन्तहरू पनि पदीय रूपमा प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्री र पालिका प्रमुख, उपप्रमुखकै पद दुरुपयोग गर्दै क्रमशः व्यवहारका सामन्त बन्न पुगेका छन् । कालान्तरका सामन्तले राजालाई राष्ट्रप्रमुखमै सीमित गराएर राजकीय अधिकार हत्याएका थिए । अहिलेका नवसामन्तले पनि राष्ट्रपतिलाई राष्ट्रप्रमुखमै सीमित गराएर सत्ता र शक्ति कब्जा गर्दै आएका छन् । पहिलेका सामन्त आफ्नै हितअनुकूल कानुन बनाउँथे मौखिक आदेश नै कानुन ठान्थे, अहिलेका नवसामन्त पनि आफ्नो मात्र होइन, आफन्त र सहयोगीकै हितमा कानुन बनाई मुलुकमा लुट मचाइरहेका छन् । कालान्तरका सामन्त उनीहरूका परिवार तथा सहयोगीहरू कानुनभन्दा माथिको मानिन्थ्यो, अहिलेको लोकतन्त्रमा जन्मिएका नवसामन्त पनि उही प्रवृत्तिका छन् ।

यसैगरी, पहिलेका सामन्तले लाभ असुल्न परिवारका सदस्यलाई अगुवा बनाउँथे, अहिलेका नवसामन्त परिवारका सदस्यलाई मात्र होइन अझै एक कदम अगाडि बढी आसेपासे र चाकडीदारलाई नै लाभ हत्याउन खटाउँछन् । पलिहेका सामन्त राजपरिवारको नाम बेचेर आकस्मिक लाभ लिन्थे, अहिलेका सामन्त दलको नाम बेचेर लाभ लिन्छन् । पहिलेका सामन्तको आदेश नमान्ने जोसुकैले पनि दण्डित बन्नुपथ्र्यो । अहिलेका सामन्तको आदेश मात्र होइन, लोकतान्त्रिक अधिकार प्रयोग गर्ने सहकर्मीलाई समेत शत्रु ठानी कारबाही गर्छन् । पहिलेका सामन्तको लाभबाहेक जनताको जीवनस्तरमा कुनै सरोकार हुँदैनथ्यो । अहिलेका सामन्त पनि सोही प्रवृत्तिका छन् । पहिलेका सामन्तले वर्गीय विभेदलाई बढावा दिन्थे, अहिलेका नवसामन्तले त वर्गीय विभेदलाई नै संस्थागत बनाएर वैदेशिक सहयोग नै हत्याउँदै आएका छन् । पहिलेका सामन्तले त राज्य प्रशासनलाई आफ्नै स्वार्थमा प्रयोग गर्थे तर अहिलेका सामन्तले सहयोगी र आफन्तकै हितमा समेत राज्य संयन्त्रको दुरुपयोग गरिरहेका छन् । उल्लिखित कार्यशैली र विशेषता नेपालका सत्तासीन सामन्तमा भएको नेपालीले नै अनुभूति गरेका छन् । अब पाठक महानुभावहरू आफैं भन्नुहोस् १६ वर्षे लोकतान्त्रिक कालमा जन्मी, हुर्किई, बयोवृद्ध पनि भइसकेका सत्तासीन एवं पूर्वलोकतान्त्रिक सत्ता सञ्चालकहरू युगानुकूलै उत्पन्न भएका नवसामन्त हुन् होइनन् ?

The post लोकतन्त्रमै जन्मिएका नवसामन्तहरू appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….



Source link

Leave a Comment