लोकतन्त्रको जग बसालेर गए शास्त्री


छौ वीर पार्थ तिमी केवल कर्मपात्र,

इच्छा नराख फलको गर कर्म मात्र।

जे हुन्छ होस् पर सार समस्त राग,

संकल्पको हृदयमा न परोस दाग।

द्वापर युगमा जन्मेका भगवान् श्रीकृष्णले कुरुक्षेत्रको लडाइँमा नभाग्न भन्दै कर्म मात्र गर, फलको आशा नराख भनी आफ्ना प्रिय सखा अर्जुनलाई दिएको दिव्य उपदेश हो यो श्लोक। नेपालको समृद्धि, लोककल्याणकारी राज्य स्थापनाका लागि आफू आठ वर्ष कारागार व्यतीत गर्दा र लामो समयसम्म प्रवासमा रहँदा पनि समाजवादका शिखर व्यक्तित्व बिपी कोइरालाले आफ्ना सयौं अनुयायीमध्येका एक ढुण्डीराज शास्त्रीलाई सुनाएको लोकतान्त्रिक मन्त्र पनि यस्तै थियो।

आज यस धर्तीमा न बिपी जीवित छन्, न उनका अनुयायी ढुण्डीराज। केवल महामनाको चिन्तन र दर्शन मात्र बाँकी छ। यो चिन्तन कसले अनुशरण गरेका छन् छैनन्, लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका लाखौं नेता–कार्यकर्तालाई अवगत होला र केहीलाई छ पनि।

नेपाली समाजलाई अँध्यारोबाट उज्यालोतर्फ उन्मुख गराउन त्यसबेलाका महामनाहरूले निकै कुर्बानी गरे। कामेश्वर, कुशेश्वर, लीला, ठगी, क्याप्टेन यज्ञबहादुर थापा, भीमदत्त पन्तलगायतले जीवनको आहुति दिए। निर्दलीय पञ्चायती व्यवस्थाले गरेको बर्बर आतङ्कलाई सम्झँदा मुटु भक्कानिएर आउछ अहिले पनि। वर्तमानको नयाँ पुस्तालाई इतिहासका ती कठिन दिनको सही मूल्याङ्कन गराउन नसक्नु त्यस बेलाको आन्दोलनको अगुवाइ गरेको नेपाली कांग्रेस र वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको कमजोरी होइन? आफैंमा अनुत्तरित प्रश्न हो यो। २०५१ सालपछि ढुण्डीराज शास्त्री मन्त्री पदमा रहँदा पनि यिनै प्रश्नको घेरामा हुनुहुन्थ्यो। उहाँको निधनपछि लोकतन्त्रप्रतिको विश्वासका केही आधार देखा परे तापनि पूर्ण रूपमा पछिल्ला पिँढीका युवा विश्वस्त हुन सकिरहेका छैनन्।

ढुण्डीराज शास्त्री आफ्ना समकक्षी भीमबहादुर तामाङ, शेख इन्द्रिस, रामबाबु प्रसाईं ‘खनुपरुदे’, केबी गुरुङ, लेखनाथ न्यौपाने आदिका प्रिय साथी हुनुहुन्थ्यो। समाजवादबारे गहन अध्ययन र व्यावहारिक नेता हुनुहुन्थ्यो भनी सम्झनुहुन्छ लेखनाथ न्यौपाने। साँच्ची नै उदार समाजवाद, प्रजातान्त्रिक समाजवाद अनि राष्ट्र र राष्ट्रियताबारे शास्त्री नवपिँढीलाई घण्टौंसम्म व्याख्या विश्लेषण गर्न सक्नुहुन्थ्यो। सो कुरा लोकतन्त्रका पक्षमा लामो सङ्घर्ष गरेका कैयौं आशा लाग्दा तर देशको सेवा गर्ने मौका नपाएका धेरैलाई थाहा छ। राष्ट्रवादी नेता बिपीको विचारलाई अनुशरण गरिरहेका शास्त्री पनि समाजवादको मूल मन्त्र भनेकै देशभित्र रहेका विभिन्न वर्ग, समुदाय, जातजातिका मानिसको जीविकोपार्जनका लागि गरिने सरल कर्म हो भन्ने विचार राख्थे। मानिसबिनाको राष्ट्र खोक्रो हुन्छ, राष्ट्रबिनाको समाजवाद पनि अधुरो हुन्छ भन्ने शास्त्रीको मान्यता थियो। ‘नेपाल लोकतान्त्रिक समाजवाद फस्टाउन सक्ने दक्षिण एसियाकै नमुना मुलुक हो तर यसमा बाह्य मुलुकको दृष्टि र राजतन्त्रको हुकुमी शैली फेरिनुपर्छ,’ पञ्चायतकालमा शास्त्रीको कथन थियो। ‘नेता फेरिँदैमा समाज फेरिने होइन, शरीरको लुगा फेरिएजस्तै होइन समाजवाद। उसको समग्र व्यवहार फेरिनु, समाजप्रति गम्भीर भएर उत्तरदायित्व बहन गर्नु नै समाजवादको सरल परिभाषा हो,’ उहाँको भनाइ थियो।

हाम्रो समाज बहुलवादी भएकाले हिमाली क्षेत्रका शेर्पा र जनकपुरमा बसोबास गर्ने मैथिली समुदायबिचको दुरीको जीवनस्तरलाई राज्यले भिन्न शैलीले परिभाषा गर्नु र सोहीअनुसार कामको जिम्मेवारी नागरिकलाई दिन सक्नु नै समाजवाद हो। नेपाल कृषिप्रधान देश भएकाले राष्ट्रिय योजना आयोगको भित्तामा किसान र एक हल गोरु जोतिराखेको तस्बिर देखाउनुमा बिपीको वास्तविक समाजवादको सजीव परिभाषा हो भन्ने विचार उहाँले राख्नुहुन्थ्यो।

सादा जीवनशैली उच्च विचारका धनी शास्त्री २०१७ सालको जनघाती कदमपछि निर्वासित हुनुभयो। भारतको गोरखपुरमा झन्डै ८ वर्ष निर्वासित जीवन बिताउन बाध्य हुनुभयो। त्यहाँ उहाँ शिक्षण पेसामा पनि संलग्न हुनुभयो। त्यही बेला बनारसमा ‘प्रजातान्त्रिक समाजवादी युवा लिग’ नामक संघको चुनाव भएको थियो। जसमा अध्यक्ष पदमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी नेत्री शैलजा आचार्य विजयी हुनुभयो। पराजित भए तापनि उहाँले कार्यसमितिमा ढुण्डीराज शास्त्रीलाई समावेश गर्नुभएको थियो। त्यो संस्था विशुद्ध रूपमा नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि खोलिएको राजनीतिक संस्था भएको पूर्वमन्त्री चिरञ्जीवी वाग्ले बताउनुहुन्छ। प्रजातान्त्रिक आन्दोलनका पुराना योद्धा एवं २००४ सालको राणा विरोधी आन्दोलनका लागि स्थापना गरिएको ‘जयतु संस्कृतम्’ आन्दोलनका अगुवा स्व. काशीनाथ गौतम जन्मेको जिल्ला अर्घाखाचीमा ढुण्डीराज शास्त्रीको जन्म भएको थियो।

२०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएपछि २०४८ सालको राष्ट्रिय चुनावमा नेपाली कांग्रेसले एकमना सरकार सञ्चालन गर्ने मौका पायो। गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। आन्तरिक कलहका कारण कोइरालाले आफ्नै मन्त्रीमण्डलका ६ जना मन्त्रीलाई निष्काशन गर्नुभयो। जुन कदम उहाँ र देशका लागि घातक थियो।

यसरी निष्काशनमा पर्नुभएका तत्कालीन मन्त्रीमा ढुण्डीराज शास्त्री पनि हुनुहुन्थ्यो। उहाँले उद्योग मन्त्रीको पद सम्हाल्नुभएको थियो। अन्य निष्काशनमा पर्ने मन्त्रीहरूमा चिरञ्जीवी वाग्ले, गोपालमान श्रेष्ठ, वासु रिसाल, शेख इन्द्रिस र तारानाथ रानाभाट हुनुहुन्थ्यो। तत्कालीन सरकारको नीति तथा कार्यक्रम असफल गराउन छत्तिस जना सांसदको भूल थियो भने मध्यावधि निर्वाचन घोषणा गर्नु तत्कालीन प्रधानमन्त्री कोइरालाको ज्यादै ठुलो गल्ती थियो। कोइरालाको उक्त राजनीतिक कदमको ढुण्डीराज शास्त्रीलगायतका केही कांग्रेसी नेताले विरोध गरेका थिए। देशको राजनीतिक अस्थिरता त्यहींबाट सुरु भयो। ढुण्डीराज शास्त्री, जगन्नाथ आचार्य, रामहरि जोशीलगायतका काग्रेसका पाका नेताले एकै स्वरमा भन्नुहुन्थ्यो– अब देश पचास वर्षपछि धकेलियो। २०५२ साल फाल्गुनबाट देशमा विद्रोही माओवादीले चालिस बुँदे माग राखी सशस्त्र आन्दोलनको घोषणा गर्‍यो। त्यसबेला शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ भारत सरकारको निमन्त्रणामा दिल्ली भ्रमणको तयारीमा हुनुहुन्थ्यो। ‘शेरबहादुर जी, यो भ्रमणको मिति पछि सार्नुहोस्, अविलम्ब विद्रोही माओवादीसँग वार्ता गर्नुहोस्, हामी तपाईंको साथमा छौं। यदि तुरुन्तै वार्ता भएन भने राष्ट्रमा दुर्घटना निम्तन सक्छ’ भनी अर्ती र भरोसा दिनेमध्ये अग्रपंक्तिमा हुनुहुन्थ्यो शास्त्री। हुन पनि त्यस्तै भयो।

सुझबुझ र इमान्दारी थियो शास्त्रीमा। आफू मन्त्री पदमा रहँदा कहींकतै सरकारी ढुकुटीको दुरूपयोग नहोस् भनी सतर्क रहने उहाँ दुईपटक सांसद र नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि बन्नुभयो। आफू पदमा रहँदा सम्भ्रान्त वर्गभन्दा मध्यमवर्ग र निम्नवर्गका नागरिकसँग उहाँको उठबस बढी हुन्थ्यो। दैलेखका कांग्रेसी नेता गणेश खड्काका दृष्टिकोणमा उहाँ स्व. काशीनाथ गौतमपछि अत्यधिक रुचाइएका नेताको कोटीमा पर्नुहुन्थ्यो। आज कांग्रेसमा समर्पित व्यक्तिहरू तीर्थराम डंगोल, गणेश खड्का पनि हामी माझ हुनु हुन्न।

२०८२ वैशाख ११ गते स्व. जगन्नाथ आचार्यको १०२ औं जन्मजयन्ती भक्तपुरमा मनाइयो। जसमा प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र विशिष्ठ अतिथिमा ढुण्डीराज शास्त्री हुनुहुन्थ्यो। उहाँकै सिफारिस र मध्यपुर ठिमी नगरपालिकाका पूर्वमेयर एवं केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठको आग्रहमा मैले लोकतान्त्रिक देउडागीत गाएँ। खुसी हुँदै शास्त्रीले आफूसँगै राखेर देउडा गीतको अर्थ खोज्नुभयो। जाने जति अथ्र्याएँ। आफ्नो वासस्थान भक्तपुरमा भेट गर्न आउनुहोला भन्नुभयो। जवाफमा हजुर र मनमोहन भट्टराईसँग बस्ने धोको छ मेरो भनेँ। स्व. जगन्नाथ दाइका जेठा छोरा विनोद आचार्यले ‘शास्त्रीज्यूबाट हामीले सुन्नुपर्ने इतिहासका कुरा धेरै नै छन्। डाडामाथिको जुन कुन बेला के हुन्छ भन्ने अवस्था छैन। भावी पिँढीका लागि इतिहास लेखिनुपर्छ। पुराना पिँढीमा उहाँ जिउँदो दस्ताबेज हो। उहाँका पुराना क्रान्ति, शान्ति र भविष्यमा आइपर्ने धेरै कुरा सुन्न बाँकी छ, भेटौं’ भन्नुभएको थियो। २०४६ सालपछिको नेपाली कांग्रेसको इतिहासको किताब प्रकाशनको तयारीमा शास्त्री हुनुहुन्थ्यो। उहाँको हात समातेर मञ्चबाट बाहिरियौं। मृत्यु बडो गजबको हुँदो रहेछ। हुन त संघर्षै संघर्षले थिल्लिएको वृद्ध ज्यानको भरोसा पनि हुँदैन। उहाँलाई भेट गर्न नपाउँदा, अर्ती उपदेश सुन्न नपाउँदा पछुतो लागिरहेछ। देशकै ठुलो र पुरानो राजनीतिक पार्टी नेपाली कांग्रेसले पुराना नेताका बोलीको अडियो, भिडियो क्यासेटको सङ्ग्रह राख्नु जरुरी छ। बिपी, गणेशमान, किसुनजीका बोलीको क्यासेट बचाई राख्नु जति जरुरी छ, त्यस बेलाका दोस्रो पिँढीका नेताको पनि उत्तिकै महत्त्व छ।

इतिहासले मानिसलाई जन्माउँछ, वर्तमानले कर्म गर्न सिकाउँछ, भविष्यले लेखाजोखा गराउँछ। नेपाली कांग्रेसमा वर्तमानमा तीन थरी वर्ग देखापरेका छन्। सम्भ्रान्त वर्ग, जसलाई समाजवाद केवल उठान गर्ने नारा मात्र बनेको छ। मध्यम वर्ग, जसले अधिकांश पुराना नेताको आचरण उतार्न चाहन्छन्। तेस्रो वर्ग, जुन आफैंमा सही मार्ग निर्देश नपाउँदा दिग्भ्रमित देखिन्छन्। तेस्रो वर्गको बाहुल्य समाजमा बढी देखा परे तापनि सम्भ्रान्त वर्गले थिचेर राखेको छ। यसरी समाजवाद राष्ट्रमा फस्टाउँदैन। वितृष्णा जागेर किंकर्तव्यविमूढ हुने कारण नै यही हो। समाज विभाजित हुने प्रमुख कारण पनि यही हो। स्व. ढुण्डिराज शास्त्री यी तीनै वर्गलाई लोकतान्त्रिक समाजवादतर्फ उन्मुख गराउन चाहन्थे तर सपना अपूरो रह्यो। केवल राजनीतिक दललाई होइन, समाजलाई क्षति पुग्यो।

आजको लेखमा स्व. ढुण्डीराज शास्त्रीको पारिवारिक पृष्ठभूमि र शिक्षाबारे उल्लेख नगरी कलम रोकेँ। अलबिदा प्रखर समाजवादी चिन्तक शास्त्री! 

प्रकाशित: १४ असार २०८२ ०५:५२ शनिबार





Source link

Leave a Comment