नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको छानविन गर्न बनेको संसदीय उप–समितिले हावादारी प्रतिवेदन बनाएको आरोप लगाएका छन्।
महानिर्देशक अधिकारीले मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन गरेर संसदको सार्वजनिक लेखा समितिले बनाएको सो उप–समितिले मनगढन्ते रूपमा हावादारी प्रतिवेदन बनाएको टिप्पणी गरेका हुन्।
सो उप–समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १५ अर्ब भ्रष्टाचार भएको आरोप लगाएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उप–समितिले विमानस्थल निर्माणको लागत १५ अर्बबाट बढाएर २२ अर्ब पुर्याएको, विमानस्थलको रन–वे दबाएको, रन–वे पुनर्निर्माणमा विमानस्थलकै माटो प्रयोग गरे पनि बाहिरबाट माटो ल्याएको बिल बनाएको, विमानस्थलभित्र हवाई इन्धन डिपो आफैंले बनाउनुपर्नेमा नबनाएको, रिठ्ठेपानी डाँडा आवश्यकताभन्दा बढी काटेर भ्रष्टाचार गरेको आरोप लगाएको छ। साथै उसले विमानस्थल निर्माणमा भ्रष्टाचार भएको देखिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने र दोषीलाई कानूनी कारवाही गर्नुपर्ने भनेको छ।
समितिले दिएको प्रतिवेदनलाई हावादारीको संज्ञा दिएका क्यानका महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आफूले एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्न सरकार र छानविन उप–समितिलाई चुनौति दिए। न्याय नै मार्नेगरी प्रतिवेदन बनाएको आरोप लगाउँदै उनले भने, ‘सरकारले जे–जे गर भने त्यो–त्यो गरेर काम सक्दा अभियुक्त भएर सिफारिस हुन्छ? यो कस्तो न्याय हो?’
महानिर्देशक अधिकारीले छानविन उप–समितिले लगाएको भ्रष्टाचारको बुँदाबुँदाको खण्डन गरे। उनले पूर्वाधार (आईटम) थपिनु, मुद्रास्फीतिको रकम जोडिनु र गुणस्तर थपिँदा विमानस्थल निर्माणको लागत बढेको बताए। पोखराको विमानस्थलमा पहिलेको टेन्डरमा नभएको बोर्डिङ ब्रिज थपिएको, रन–वे र ट्याक्सी–वेको कालोपत्रेमा गुणस्तर थपिएको तथा पाँच वर्षको मुद्रास्फीतिसमेत जोडेर एकमुष्ट रकम २२ अर्ब पुर्याइएको उनको दाबी छ।
नेपालका अन्य सबै एयरपोर्टमा अलकत्र लगाउँदा फ्लेक्सिबल पेमेन्ट प्रयोग गरिन्थ्यो, उनले भने, ‘तर हामीले त्यसको सट्टा ३४ सेन्टिमिटर कंक्रिट सिमेन्ट गर्यौं।’ पोखराको भौगोलिक अवस्था र पानीको कारणले कंक्रिट सिमेन्ट गरेको उनको भनाइ छ। ५० वर्षसम्म रन–वेको मेन्टेनेन्स गर्नुपर्ने नभएर सो गरिएको उनले बताए। साथै २०१४ देखि २०१९ सम्मको मुद्रास्फीतिलाई सम्बोधन गर्नेगरी सम्झौता गर्दा पैसा थप्ने निर्णयअनुसार लागत बढेको उनले बताए।
महानिर्देशक अधिकारीले पुल्चोक इन्जिनियरिङ कलेजलेसमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिपीआरअनुसारको लागत ठीक हो भनेर प्रमाणित गरेको उनको दाबी छ। हामीले कसलाई विश्वास गर्ने? उनले भने, ‘कलेजले हामीलाई पूर्वाधार र गुणस्तरअनुसारको लागत ठीक छ भनेर प्रमाणित गरेको छ।’
महानिर्देशक अधिकारीले उप–समितिले प्रतिवेदनमा औंल्याएको रन–वे धसिएको र माटो काटेर बेचेको विषयको खण्डन गरे। रन–वे काटेर होचो बनाइएको होइन, बरु अग्लो बनाइएको छ, उनले भने, ‘रन–वे धसिएको भए कहाँ छ धसिएको? स्थानीयले पनि पत्याउँदैन। कहीँकतै काटेकै छैन, जमिन काट्यो भनेर लेखिएको छ। झन् माथि उठाइएको छ। यसको जवाफ कसरी दिऊँ म?’ मूल रोडबाट विमानस्थल हुँदै बोर्डिङ ब्रिजदेखि जहाजसम्म पुग्नेगरी मिलाउनु बाध्यता भएको र यो उप–समितिले बुझ्दै नबुझी लेखेको उनको दाबी छ।
त्यस्तै, विमानस्थलभित्र हवाई इन्धन डिपो संसारमा कहीँ पनि निर्माण कम्पनीले नबनाउने उनले दाबी गरे। त्यही डिपो आयल निगमलाई बनाउन दिएको विषयलाईसमेत भ्रष्टाचार भनिनु अज्ञानताबाहेक केही नभएको उनले बताए। उनले रिठ्ठेपानी डाँडा कटान गर्ने विषयमा पनि भ्रष्टाचार देख्नु उदेकलाग्दो भएको बताए। सरकारले नै डाँडा काट्न वर्षेनी बजेट विनियोजन गरेको, डाँडा कटानका लागि इआइए गर्न लगाएको र खर्च गर्ने अनुमति दिएको विषयलाई भ्रष्टाचार भनेर लेख्नु हास्यास्पद भएको उनको टिप्पणी छ।
महानिर्देशक अधिकारीले करको विषय भने महालेखाले नै बेरुजु भनेको बताए। त्यसलाई मिलाउन भनेकाले अहिले नियमित कसरी गर्ने भन्नेमा आफूहरू रहेको बताउँदै उनले भने, ‘तर बेरुजुलाई भ्रष्टाचार भनेर लेखिएको छ, बेरुजु कहाँ भ्रष्टाचार हुन्छ? त्यही पनि महालेखाले भनेपछि अरूले भन्न जरुरी छ?’ कर दोहोरो देखिएकाले बेरुजु भनेकाले त्यसलाई मिलाउने प्रक्रियामा जाने उनको भनाइ छ।
महानिर्देशक अधिकारीले विमानस्थलमा भ्रष्टाचार भएको भए तीन जना इन्जिनियर राखेर छानविन गर्न लगाउन चुनौति दिए। २२ अर्बको काम भएको छ कि छैन छानविन गरौं, उनले भने, ‘रकमअनुसारको पूर्वाधार र गुणस्तर कायम छ कि छैन त्यो छानविन गरौं।’
महानिर्देशक अधिकारीले उप–समितिले जबरजस्ती विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भनेर हल्ला फैलाएको गुनासो गरे। भ्रष्टाचारमा संलग्न नभएको मान्छेलाई जबरजस्ती नाम हालिन्छ, हाल्न लगाइन्छ र प्रचारबाजी गरिन्छ, उनले भने, ‘के लोकतन्त्र, मौलिक हक, वाक् स्वतन्त्रता निषेध हो नेपालमा? कि कसैको लेपमा, कसैको आवरणमा, कुनै उप–समितिको नाममा गलत काम हुन्छ। बिना प्रमाण लेखिन्छ र लेखाइन्छ भने हामी काम गर्ने मान्छेको सुरक्षा कसले गर्छ?’ उनले यसरी नै विकासको काम गर्नेलाई बदनाम गर्ने हो भने भविष्यमा विकास कसरी हुन्छ भनेर प्रश्न गरे। र भने, ‘यस्तै हो भने सन्ततिले कसरी सुरक्षित महसुस गर्लान्?’
इपिएस मोडलमा अहिले बनेको यो विमानस्थल ६० अर्बमा पनि नबन्ने दाबी गर्दै उनले सस्तोमा बनाउँदा पनि आलोचना गरेकोप्रति दुखेसो गरे। पोखरामा विमानस्थल बन्दा गर्व गर्नुपर्ने कुरा हो, उनले भने, ‘यसको भव्यता, सुविधासम्पन्न टर्मिनल भवन छ, रन–वे ५० वर्ष केही हुँदैन। बोर्डिङ ब्रिज छ। यसमा त खुशी मनाउनुपर्ने हो।’
महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा जनताको ट्याक्स खर्च गरेको भनेर भ्रम फैलाएकोसमेत दाबी गरे। विमानस्थलमा जनताको ट्याक्स एक पैसा पनि खर्च गरेको छैन, उनले भने, ‘एयरपोर्ट चल्ने भनेको प्यासेन्जर सर्भिस चार्जबाट हो। यो संसारभरको नियम हो। तर यसलाई जनताको ट्याक्स भन्न मिल्दैन। नचढेको मान्छेलाई लिएको हो र? चढेकोले त सेवा लिएवापत तिरेको रकम हो। कसले ट्याक्स तिर्छ?’
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लोन तिर्न समस्या नभएको दाबी गरे। हालसम्म दुई किस्ता तिरिसकेको बताउँदै उनले भने, ‘बाँकी १३ किस्ता तिर्न बाँकी छ। त्यो पनि हामी तिर्छौं, तिर्नलाई समस्या छैन।’ पोखराबाट पहिले ४ लाख प्यासेन्जर उड्ने गरेकोमा अहिले बढेर वार्षिक ११ लाख पुगेकोले यो सफलतातर्फ उन्मुख भएको उनको दाबी छ।
महानिर्देशक अधिकारीले पहिले विमानस्थल निर्माणमा राम्रो काम गरेको भन्दै चाइनिज कम्पनी सिएमसिलाई सम्मान गर्ने मान्छे नै अहिले भ्रष्टाचार भयो भन्दै कराइरहेको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेप्रति व्यङ्ग्य गरे। आलेको नाम नलिई उनले भने, ‘जो मान्छे अहिले कराइरहेको छ नि! त्यो मान्छेले नै आएर राम्रो काम गरेको भन्दै प्रमाणपत्र दिएको होइन? उसैको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय होइनन्।’
प्रकाशित: ३ भाद्र २०८२ २०:४० मंगलबार
.jpg?ssl=1)