लाज छोप्ने नाममा कति सहने घरभित्रको अत्याचार ?

लाज छोप्ने नाममा कति सहने घरभित्रको अत्याचार ?


म आज वर्षौंसम्म लाजले नभनेको आफ्नै कथा भन्दैछु । लाज पितृसत्ताले महिलामाथि भिराएको शासनको एक हतियार हो । कुनै दण्ड–सजाय नदिएर पनि शासन गर्न सकिने सजिलो हतियार हो यो । जसलाई हामी महिलाले अनुशासित भएर पालना गरिराखेका छौं ।

छोरीहरूलाई सानै उमेरमा विवाह गर्ने चलन थियो । जुन कुरा मैले पनि भोगें । त्यो पनि १४ वर्षको उमेरमा । जाजरकोटबाट १४ वर्षमा विवाह गरेर म जुम्ला आएँ । जुम्लामा मेरो कोही थिएन । थियो त त्यही विवाह गरेर ल्याउने लक्का जवान श्रीमान् ।

अहिले सम्झिंदा मसँग सुरुमा नै यो समाजले अन्याय गर्‍यो । म १४ वर्षमा खेल्ने उमेरको बच्चालाई विवाह गरेर ल्याइएको थियो । त्यसको प्रतिवाद गर्ने मसँग चेत पनि थिएन । मलाई ठिक–बेठिक बताउने अरू कोही पनि थिएनन् । चुपचाप सहेर बस्नु पर्‍यो ।

मैले विस्तारै यही समाजसँग घुलमिल हुन र समाजले थोपरेका मान्यता स्वीकारें । यो समाजले ममाथि १४ वर्षको कलिलो उमेरमा गरेको अन्यायको कहीं कतै न्याय पाउने अवस्था थिएन । अझ श्रीमान्ले मलाई पीडामाथि पीडा दिंदा पनि समाजले उल्टो सहनुपर्छ भनेर सिकायो ।

समाजले अहिले पनि मैले सहन नसकेका पीडा देखेन । उल्टो ती पीडा पनि सहनुपर्ने सुझाव दियो । समाजमा रूपान्तरणको बहस गर्नेहरू पनि महिलाले अलि–अलि हिंसा त सहनुपर्छ भन्न थाले । सहनुको कारण उही थियो– महिलामाथि लादिएको लाजको हतियार । घरभित्रको कुरा बाहिर भनिहाल्नुहुन्न ।

महिलाले लाजको घुम्टो ओढेर आत्महत्या गरेका दैनिक घटनासँग यो समाज मुख फर्काएर हिंड्छ । तर महिलालाई लाज मान भन्न छोड्दैन । आज पनि मैले पत्रकारका रूपमा श्रीमान्ले श्रीमतीको हत्या गरेका घटनाका समाचार लेख्नुपर्छ । पुरुषले दिएको यातना सहन नसकेर महिलाले आत्महत्या गरेका घटना लेख्नुपर्छ । अब त सोध्न मन लाग्छ– मेरो कथा चाहिं कसले लेखिदिन्छ ? त्यही भएर म आज आफैं आफ्नो कथा भन्दैछु ।

पुरुषले दोस्रो बिहे गर्दा संसार नै बदलियो जस्तो गरी हौसला दिने समाजले महिला न्याय खोज्न जाँदा लाजको हतियार देखाएर चुप बस्न बाध्य बनाउँछ । यसको म एक प्रतिनिधि पात्र हुँ । पेशा–व्यवसायमा हिंड्दा अनेक मान्छे भेटिन्छन् । कोही छोटो समयमा नै छुट्छन् । कति याद हुन्छन् कति हुन्नन् ।

संयोगले भोलि कसैसँग भेट हुन्छ थाहा हुँदैन । कोही चाहेर भेट हुन्छन्, कोही नचाहँदा नचाहँदै भेटिन्छन । केही साथीहरू राम्रा हुन्छन् । कोही साथीहरू खासै नजिक नभएर नै छुट्टिन्छन् । कसैको आगमनले संसार नै बदलियो जस्तो लाग्ने । जिन्दगी जति अघि बढ्छ नि अतीत त्यति टाढा गएको जस्तो लाग्दो रहेछ ।

हामी जुन पितृसत्तात्मक समाजमा हुर्किएका हौं, त्यही समाजको सोचाइलाई हेर्ने हो भने आफैं केही सोच्न सकिरहेकी छैन । जान्दाजान्दै पनि प्रतिवाद गर्न सकिरहेकी छैन । जब घर गएर आफूले आफैंलाई नियाल्छु र सोच्न थाल्छु तब मलाई श्रीमान्ले गरिरहेको अपमान, मानसिक र शारीरिक पीडाले छटपटी हुन्छ

विगतका ती दिन सम्झिंदा मन नै कस्तो–कस्तो हुन्छ । १४ वर्षको उमेरमा नयाँ सम्बन्ध, नयाँ नाता, नयाँ ठाउँ, नयाँ परिवेश सबै नयाँ भयो । कैयौं रात अनिंदो बिताएँ, कैयौं दिन भोकै बिताएँ । सुनाउने ठाउँ थिएन ।

जे थियो सबै त्यही नातामा थियो । तर त्यही नाताले दिएका मानसिक र शारीरिक पीडाका कथाले जीवन नै भरियो । कति दुःख, पीडा सहें भनेर लेखेर साध्य छैनन् । एउटा श्रीमान्को नाता र साथ थियो त्यो पनि अहिले आएर छुट्यो ।

दुःख सहेर पनि मैले उसलाई अन्तिम पटक माफी दिएँ । तर त्यही माफी मेरो लागि थप पीडा बनेर आयो । जुन अब पनि कति सहनु । दुई छोरा–छोरी छन् । उनहरूको संसार म हुँ । मेरो संसार उनीहरू हुन् ।

पुरुषको लागि ती सन्तानहरू केही हुँदा रहेनछन् । जे मन लाग्यो त्यही गर्दा रहेछन् । अझै त्यही श्रीमान्ले र समाजले महिला माथि लाजको कुरा उठाएर सहन बाध्य बनाउँछ । म जस्ता हजारौं महिला बाँच्न बाध्य छन् । म चाहिं अति भएर यो बाध्यताको बन्धन तोड्न तयार भएकी हुँ ।

जुम्ला बजार, मान्छेहरूको बाक्लो आवतजावत हुन्छ । हरेक मानिस हतारमा छन् । यहाँ कसैलाई फुर्सद छैन । यहीं बस्छु म पनि । कर्मथलो बनाएकी छु– यही हतार–हतार हिंड्ने बजारलाई । धेरै सम्झना, कैयौं भोगाइ, अनिंदा रात, भोका दिन, कसैले देख्छन् कि भनेर एकान्तमा बसेर आँसु झारेकी छु ।

तर पनि सन्तान र समाजको लागि हाँसेकी छु । आफ्ना हजारौं दुःख पीडा लुकाएर पत्रकारका रूपमा अरूको दुःख, पीडा र अन्यायमा परेका कथा लेखेकी छु । सकेसम्म अन्यायमा परेकालाई न्याय दिलाउन पनि सहयोग गरेकी छु ।

कैयौंलाई बाँच्न साहस दिएकी छु । केहीको भरोसा बनेर उभिएकी छु । कसैको लागि न्यायको धिपधिपे उज्यालो बन्ने कोसिस गरेकी छु । तर मेरो लागि सबै कुरा म आफैं हुनु परेको वर्षौं भयो । अझ कति हुनुपर्ने हो थाहा छैन ।

अहिले १४ वर्षको छोरा र १२ वर्षकी छोरी छन् । जुन समयमा विवाह भयो, त्यो अन्जानमा भयो । त्यो सम्बन्ध अहिले समाप्त भइसकेको छ । १६ वर्षसम्मको यो सम्बन्ध न त सहज रूपमा अगाडि बढेको थियो न उसले मलाई प्रश्न गर्ने कहीं कतै खोट भेटेको थियो ।

१४ वर्षकी नाबालिका विवाह गरेर ल्याउँदा ऊ २३ वर्षको थियो । तर आज उसले मलाई मेरो पेशासँग जोडेर कुरा काट्छ । उसलाई दुनियाँले चिन्ने श्रीमती उसलाई चाहिंदैन अनि मेरो पत्रकारिताको पेशा पनि स्वीकार्दैन । यसरी बालकैमा खोसिएका मेरा खुसी त्यसपछि कहिल्यै फर्केनन् ।

जाजरकोट जिल्लाको तत्कालीन टालेगाउँ गाविसमा जन्मिएर सामान्य गाउँले जीवनमा जन्मे–हुर्केकी म जिउनको लागि ठूला सपना केही पनि थिएनन् । तर बिहान–बेलुका घाँस–दाउरा गरेर दाजु–भाउजूको काममा सघाएरै पढें । आठ कक्षा पास गरें । अरूकै लहलहैमा लागेर बिहे भयो ।

१४ वर्षको उमेरमै किताब र कापी थन्क्याएर वैवाहिक बन्धनमा बाँधिएँ । ठीक के बेठीक के थाहा नै थिएन । थोरै धेरै किताबी ज्ञान थियो । अन्तरजातीय बिहे भएकाले माइती पक्षबाट स्वीकार भएन । जब म १५ वर्षकी भएँ अनि आमा बनें ।

माइतीमा अभावमा हुर्केको भएर होला रंगीन सपनाहरू पनि कहिल्यै देखिनँ बरू बिहेपछिको आफ्नो जीवन राम्रो बनाउने सोच बनाएँ । बिहे गरेर ल्याएको श्रीमान्ले हरेक दुःख–सुखमा साथ दिन्छ भन्ने लाग्थ्यो । सानो घरलाई मायाको महल बनाउँला भन्ने सोचेर घरधन्दा गर्नतिर लागें । जब म १७ वर्षकी पुगें अनि दोस्रो सन्तानको रूपमा छोरी जन्मिई ।

श्रीमान्ले दिएको ‘विना गल्तीका तल्लो स्तरका गाली र यातना’ सम्झेर अहिले पनि मलाई सारै मन दुखेर आउँछ । ‘जब मनभरी यस्ता पीडा भरिंदा रुने ठाउँ कतै हुँदैन सिरकले मुख छोपेर रुनुको पीडा मलाई मात्रै थाहा छ

मेरा श्रीमान् जीप ड्राइभर थिए । अहिले पनि त्यही पेशामा छन् । सुरुका वर्षमा म गाउँ बस्थें उनी जहाँ गाडी लिएर जान्थे त्यहीं बस्थे । जब म श्रीमान् सँगै कोठा लिएर बस्ने निधो गरें त्यसपछि उनले मसँग राम्रो व्यवहार कहिल्यै गरेनन् । उनले मलाई श्रीमतीको रूपमा भन्दा पनि मलाई काम गर्ने, खाना पकाउने, लुगा धुने कामदारको रूपमा व्यवहार गरियो ।

जुम्लाको सिजा भेगकी एउटी युवतीसँग उनको सम्बन्ध रहेछ । उनले बिहे गरेको छैन भनेर उससँग सम्बन्ध राखेछन् । एक दिन माइती गाउँमा मलाई पढाउने शिक्षकसँग फोन गर्न उनको मोबाइल मागें । बिहे गरेर उनीसँग आएको ५ वर्ष जति भइसकेको थियो । तर मेरा उहाँ शिक्षक बाहेक अरू माइतीका दाइ-भाइ कसैसँग फोनमा कुराकानी हुँदैनथ्यो ।

उनले सिम निकालेर मोबाइल छोडेर गएछन् । त्यस दिन फोन गर्न पाइनँ । फेरि साँझ खेरि म बस्ने कोठामा आए अनि मैले भनें, तपाइँले सिमकार्ड निकालेर किन मोबाइल दिनुभयो । उसले जवाफ फर्काउँदै भन्यो ए, मैले बिर्सेछु, भोलि छोडिदिन्छु भनेर ।

भोलिपल्ट मोबाइलमा ६ रुपैयाँ भएको सिम कार्ड छोडेर गाडी चलाउन गए । अनि मैले मेरो माइती गाउँको शिक्षकसँग फोन गरें । फोनमा ‘म दिलमाया’ भन्ने बित्तिकै पैसा सकिएर फोन काटियो । त्यसपछि उतैबाट शिक्षकले फोन गर्नुभयो, सन्चो–बिसन्चो सोध्नुभयो ।

मैले पनि सोधें, फोन संवाद सकियो । साँझ मेरो श्रीमान् फर्केपछि मलाई ६ रुपैयाँ सकिदिएको भनेर तथानाम गाली गर्‍यो । म त्यो समयमा सात दिनकी सुत्केरी थिएँ । श्रीमान्ले ६ रुपैयाँ सकिंदा दिएको गालीले ममा आत्मनिर्भर हुने सोच आयो ।

त्यो समयमा अति नै पीडा भयो । त्यसपछि मलाई लाग्यो श्रीमान्को भर पर्नुहुँदैन । अनि म साढे एक वर्षकी छोरी हुर्काउँदै सामुदायिक रेडियोमा काम गर्न सुरु गरें । रेडियो मार्फत महिला हिंसाका कुरा उठान गर्न सुरु गरें । समाजमा हुने सामाजिक विकृति जस्ता कुरा लेख्न र बोल्न थालें ।

कामदारको रूपमा कोठामा राखिएकी मलाई यसरी लेखेको र बोलेको मेरो श्रीमान्लाई पनि मन परेन । विस्तारै मलाई उनले गरेको बेवास्ताले मलाई पनि दिक्क लाग्न थाल्यो । महिलाप्रतिको विभेदका लागि परिवार मात्रै नभएर समाज पनि विभेदपूर्ण छ भन्ने कुरा मैले भोग्दै आएँ ।

अहिले म आफैंभित्र मुस्कुराउन थालेकी छु । बिहेअघिका साना–साना सपनाहरू सबै चकनाचूर भए । अब म मेरा दुई बच्चाको लागि केही सपना देख्न थालेकी छु । म एक्लो हुँदा पनि आफैंभित्र छुट्टै संसार देख्न थालेकी छु ।

म पत्रकारिता गर्दछु । महिला माथि हुने यस्ता दुर्व्यवहार र हिंसाका धेरै समाचार लेख्ने पनि गरेकी छु । तर, आफैंले त्यस्तो व्यवहार भोग्नुपर्दा भने सामाजिक मर्यादा सहित आफैं बोल्ने पेशामा भएर पनि के बोलिरहनु भन्ने सोच आउने रहेछ ।

हामी जुन पितृसत्तात्मक समाजमा हुर्किएका हौं, त्यही समाजको सोचाइलाई हेर्ने हो भने आफैं केही सोच्न सकिरहेकी छैन । जान्दाजान्दै पनि प्रतिवाद गर्न सकिरहेकी छैन । जब घर गएर आफूले आफैंलाई नियाल्छु र सोच्न थाल्छु तब मलाई श्रीमान्ले गरिरहेको अपमान, मानसिक र शारीरिक पीडाले छटपटी हुन्छ ।

मलाई लाग्छ, यहाँका धेरै महिलाले कुनै न कुनै हिंसा भोगेका छन् । तर, उनीहरू यो विषयमा बोल्दैनन् । यो समाज यस्तै हो भनेर यस्तो गम्भीर विषयलाई सजिलै भुल्ने कोसिस गर्छन् । यो सबै सामाजिक परम्परा तथा पितृसत्तात्मक सोचले बाँधिएकाले हामी महिला त्यस्ता व्यवहारलाई नजरअन्दाज गरिरहेका हुन्छौं । परिवारको कुरा बाहिर ल्याउनुहुन्न भन्ने लाजले लुकाइरहेका छौं ।

श्रीमान्ले दिएको ‘विना गल्तीका तल्लो स्तरका गाली र यातना’ सम्झेर अहिले पनि मलाई सारै मन दुखेर आउँछ । ‘जब मनभरी यस्ता पीडा भरिंदा रुने ठाउँ कतै हुँदैन सिरकले मुख छोपेर रुनुको पीडा मलाई मात्रै थाहा छ ।

त्यसबेला मेरा कोखबाट जन्मिएकी छोरीको याद आउँछ । एक मनले सोच्छु छोरी जन्माउनु गलत पो थियो कि, भोलि गएर उसले पनि मैले जस्तो दुःख भोग्नुपर्ने हो कि ? भन्न मन लाग्छ– भगवान् छोरी मान्छेलाई अरू केही देऊ या नदेऊ गुनासो छैन, तर असल श्रीमान् देऊ नत्र जिन्दगी नर्कमा बित्छ । मेरो भोगाइले नै भन्छ-महिलाले शारीरिक र मानसिक रूपमा घरेलु हिंसा कतिसम्म सहनुपर्छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School