लागुऔषधको कुलतमा मधेस


यही जेठ १७ गते बर्दिबासबाट गौशालातर्फ गइरहेको नेपाली नम्बर प्लेटको इभी कार जाँच गर्दा प्रहरीले प्लास्टिकका आठवटा पोकामा शंकास्पद वस्तु बरामद गर्‍यो। बा ०१–०३० च ७८०५ नम्बरको सेतो रङको इभी कारबाट बरामद पोकाभित्र ४० किलोग्राम गाँजा थियो। कारभित्र कालो झोला, जेब्रा झोला र डिकीमा समेत सेतो प्लास्टिकले बेरेको खरानी रङको प्लास्टिकको डोरीले बाँधी लुकाईछिपाई राखेको उक्त गाँजासहित प्रहरीले महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३१ वर्षीय रंगलाल  सेङ्तानलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको महोत्तरी प्रहरीले जनाएको छ।

यसैगरी गत बुधबार राति बर्दिबासबाट जलेश्वरतर्फ आउँदै गरेको प्र २–०२–००१ प ६६६२ नम्बरको मोटरसाइकलमा राखिएको २० किलो गाँजासहित बर्दिबास–१३ का ४६ वर्षीय शिवनारायण चौधरी र मनराशिस्वा नगरपालिका–१० का ४० वर्षीय अजमैरी खातुनलाई प्रहरीले पक्राउ गर्‍यो।

त्यस्तै प्रहरीले बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वस्तिक हस्पिटलअगाडि पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको बा११च ३४९४ नम्बरको सेतो रङको स्कार्पियोबाट ३० पोकामा एक सय ५८ किलो गाँजासहित सर्लाही हरिवन–५ का ३५ वर्षीय लालबाबु साह र हरिवन–३ बुद्धचोकका २१ वर्षीय अभिषेक परियारलाई पक्राउ गर्‍यो।

काठमाडौंसँग जोड्ने छोटो दुरीको बिपी राजमार्ग सञ्चालन भएपछि गुल्जार बन्दै गएको महोत्तरीको बर्दिबास पनि गाँजा तस्करका लागि सुरक्षित अखडा बनेको छ। तस्करको यो अखडालाई भत्काउन प्रहरीले नियन्त्रण अभियान थालेको छ। त्यसअन्तर्गत पछिल्ला केही सातादेखि दैनिकजसो गाँजासहित कारोबारी पक्राउ पर्न थालेका छन्। चुरे क्षेत्रमा उत्पादन भएको गाँजा बर्दिबास आसपासमा भण्डारण गरी भारततर्फ तस्करी हुँदै आएको सूचना पछ्याउँदै प्रहरीले नियन्त्रण अभियान सुरु गरेपछि तस्कर सञ्जालमा हलचल मच्चिएको छ।

बर्दिबासबाट गौशाला, रामगोपालपुर र जलेश्वर नाकाबाट भारततर्फ गाँजा लिएर जाँदै गरेको स्कार्पियो, दुई कार र मोटरसाइकलसहित ठुलो परिणामको गाँजा महोत्तरी प्रहरीले दुई साताभित्रै नियन्त्रणमा लिएको तथ्यांक छ।

एक साताअघि दोलखा बैदेश्वरी गाउँपालिका–६ का २६ वर्षीय दीपक दाहाललाई महोत्तरीको रामगोपालपुर नगरपालिका–५ मा पर्ने बर्दिबास–जलेश्वर सडकखण्डको रामगोपालपुर चोकमा बिएसी ८७३९ नम्बरको कारको डिक्कीबाट एक सय सात किलो नौ सय ग्राम गाँजासहित महोत्तरी प्रहरीले नियन्त्रणमा लियो।

गत बुधबार सप्तरीको बलान बिहुल गाउँपालिका–२ दिघियाबाट सप्तरी प्रहरीले ताला लागेको एक घरबाट प्रहरीले १६ वटा बोरामा प्याकिङ गरिएको करिब ४ सय किलोग्राम गाँजा फेला पार्‍यो। गत महिना इलाका प्रहरी कार्यालय निजगढ बाराले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको थियो।

निजगढ नगरपालिकाका–४ मौरी खोलाबाट प्रतिबन्धित लागुऔषध खरिद–बिक्री गरिरहेको अवस्थामा मकवानपुरको बकैया गाउँपालिका–६ भालु खोलाका विजय योञ्जन, बाराको निजगढ नगरपालिका–१० चौकीटोलका प्रेम वाइबा, धनबहादुर थिङ, ज्ञानबहादुर घलान अमृत दुलाललाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ। उनीहरूका साथबाट प्रतिबन्धित लागुऔषध ट्रमाडोल पाँच सय ६५ थान र डेभोक्सिन–दस ४६ थान एन्टिकोफ ४३ थान बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै बारा प्रहरीले लागुऔषध गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। गाँजासहित पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२२ चक्री टोलका बुद्ध घलान, जितपुर सिमरा उपमहानगरपालिका–८ का नन्दकिशोर सहनी, वीरबहादुर डम्बा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमटीका सोमलाल पाख्रिन रहेको बारा प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज पर्साको संयुक्त रूपमा खटिएको टोलीले ती चार जनालाई एक सय ५० किलो गाँजासहित पक्राउ गरेको थियो।

गत जेठ १ गते महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट अगाडिबाट लागुऔषधसहित दुई जना पक्राउ परेका थिए।

बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१५६ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार सिरहा नगरपालिका–७ का २० वर्षीय दुर्गेश यादव र सर्लाही बलरा नगरपालिका–४ घर भई हाल जिल्ला सिन्धुलीको कमलामाई नगरपालिका–८ बस्दै आएका २७ वर्षीय चलाख भन्ने धर्मेन्द्र साहलाई लागुऔषधसहित पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ।

यादव र साहको शरीरको तलासी गर्दा निजले लगाएको कालो रङको पाइन्टको दाहिने खल्तीबाट सूर्य चुरोटको खाली बट्टामा फिका हरियो रङको प्लास्टिकमा बेरेर राखेको ७.७६ ग्राम प्रतिबन्धित लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको प्रहरीले जनाएको छ।

सिरहाबाट पनि ठुलो परिमाणमा लागुऔषध र एक कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरहा प्रहरीले लहान नगरपालिकाको छुट्टाछुट्टै स्थानबाट मंगलबार लागुऔषध र एक कारोबारीलाई नियन्त्रणमा लिएको हो। सिरहा प्रहरीले लहान नगरपालिका–४ कुमाल टोलमा मोटरसाइकलमा राखिएको एक बोरा खोलेर हेदार्दा अनरेक्स नामक एक सय ९३ वटा बोतल लागुऔषध बरामद भयो।

लागुऔषध र मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि यसका धनी लहान नगरपालिका–१९ का २२ वर्षीय मोहम्मद नसरूल रहेको खुल्यो। त्यसपछि उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

सूचनाका आधारमा मोटरसाइकल पछ्याउँदा नसरूल मोटरसाइकल बाटोमै छाडी भागेका थिए। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदी भन्छन्, ‘मधेसमा सुरक्षा चुनौतीमध्ये लागुऔषध प्रमुख हो। नियन्त्रणका लागि यस प्रदेशका आठवटै जिल्लाका प्रहरीलाई विशेष निर्देशन दिइएको छ। पछिल्लो समय मधेसका प्रत्येक जिल्लामा लागुऔषधसहित पक्राउ पर्नेको संख्या बढ्नुमा प्रहरीको सक्रियता कारक हो।

बरामद लागुऔषध

प्रहरीका अनुसार मधेस प्रदेशमा दैनिक औसत दुई जनाभन्दा बढी लागुऔषधसहित पक्राउ पर्ने गरेका छन्। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुुसार आर्थिक वर्ष २०७९÷८० मा एक हजार तीन सय चार व्यक्ति लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

 २०८०/८१ मा भने एक हजार एक सय आठ व्यक्ति लागुऔषधसहित पक्राउ परेका छन्। २०८१/८२ को वैशाखसम्म भने ६ सय ५८ जना लागुऔषधसहित पक्राउ परेको प्रहरीको तथ्यांक छ। पक्राउ परेकाहरू प्रायः ३० वर्षमुनिका छन्। उनीहरूबाट गाँजा, चरेस, ब्राउन सुगर, अफिम, हिरोइनलगायत बरामद भएको छ।

चालु आर्थिक वर्षको वैशाखसम्म १० महिनामा प्रहरीले आठवटा जिल्लाबाट १३ हजार पाँच सय ६९ किलो गाँजा, एक सय ८४ किलो २४ सय ५४ ग्राम चरेस, दुई हजार दुई सय ६४ ग्राम हेरोइन, १९ ग्राम ९९९ मिलिग्राम ब्राउन सुगर, तीन लाख २१ हजार ७३ ट्याबलेट, तीन हजार नौ सय २४ बोतल र २२ हजार पाँच सय २५ इन्जेक्सन बरामद गरेको प्रहरीको तथ्यांकमा छ।

खुला सीमाका करण भारतबाट शरीरका विभिन्न भागमा लुकाएर, मोटरसाइकलको ट्यांकी तथा खाद्यान्नको बोरामा लुकाएर समेत लागुऔषध ल्याउने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।

लागुऔषधको लत

चिकित्सकको प्रेस्क्रिप्सनबिना बिक्री गर्न नपाइने मनोद्दिपक औषधिहरू बढी मुनाफाको लोभमा सीमापारिका औषधि बिक्रेताले गर्दा वारि ल्याउने गर्दा दुव्र्यसनीको बिगबिगी बढ्दै गएको सप्तरीको बेल्हीमा भेटिएका सुजित यादवले बताए। ‘सीमावर्ती क्षेत्रमा भने नेपाली प्रयोगकर्ताले भारतीय बजारबाट सजिलै यस्ता औषधि किनेर ल्याउँछन्,’ उनले भने, ‘प्रहरीको आँखा छलेर सेवनकर्ताहरू दिनहुँजसो वारिपारि गर्छन्।’

खराब संगत, पारिवारिक किचलो र डिप्रेसन, अभिभावकको निगरानी नहुनुको फाइदा उठाउँदै कुलतमा फस्ने युवा/किशोरको संख्या बढिरहेको सीमावर्ती सप्तरी रामपुर मलहनीयाका ७५ वर्षीय वीरबल यादव बताउँछन्। ‘छोराछोरी लागुऔषधको कुलतमा लागेको जान्दाजान्दै बेइज्जत हुने डरले कतिपय अभिभावक चुप बस्छन्,’ उनले भने, ‘पछि उसको चालचलन थेग्न नसक्ने अवस्था आएपछि प्रहरीलाई केही दिन थुनिदिन भन्दै गुहार लगाउँछन्। यतिले पनि नसुध्रे छोराछोरीलाई सुधार केन्द्र पुर्‍याउँछन्।’

अहिले गाउँघरमा युवा तथा किशोरहरू आफन्तको सम्पर्कभन्दा टाढा बस्न रुचाउँछन्। ‘एक्लै झोक्रिएर बस्ने, झर्किएर बोल्नेलगायत लक्षण कुलतमा फसेका युवाहरूमा हुन्छन्,’ वीरबल भन्छन्, ‘अहिले गाउँघर लागुऔषधको दलदलमा भासिँदै गएको छ। यस्ता व्यक्तिलाई यसबाट छुटकारा दिलाउन कानुनी कारबाही मात्रले सम्भव नरहेको उनको भनाइ छ। सबैभन्दा पहिले उनीहरूको समस्या पहिचान गर्नु जरुरी छ। यसको कानुनीसँगै मनोपरामर्शात्मक उपचार पनि अवश्यक रहेको उनी बताउँछन्।

अहिले कक्षा १० का बालबालिका तथा किशोरकिशोरकिशोरी पनि लागुऔषधको लतमा फसेको पाइएको छ। सानै उमेरमा लागुऔषधको दुर्व्यसनमा फस्नुका पछाडि उनीहरूको संगत मात्रै मुख्य कारण देखिन्न, कतिपय अवस्थामा अभिभावकको कमजोरीले र साथीभाइको लहैलहैमा दुव्र्यसनको दलदलमा फसिरहेको देखिन्छ।

मधेस प्रदेशमा लामो समय काम गरेका डिआइजी चतुर्वेदीले पछिल्ला वर्षमा मधेसमा लागुऔषध ओसारपसार र सेवन बढ्दै गएको बताए। ‘सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिन्छ,’ उनले भने, ‘यसका लागि स्वयं अभिभावक र समाज पनि सचेत र चनाखो बन्नु जरुरी छ।’

मधेस प्रदेश प्रहरी कार्यालयले ‘एन्टी ड्रग क्याम्पेन’ समेत चलाएको छ। अहिले पर्सा, सर्लाही, सप्तरीलगायत जिल्लामा अप्रेसन नै सञ्चालन गरिएको छ। लागुऔषधविरुद्ध आठ वटै जिल्लामा अभियान नै सञ्चालनमा रहेको डिआइजी चतुर्वेदीले बताए।

‘गाँजा र मनोउद्दिपक पदार्थ नियन्त्रणका लागि मधेस प्रदेशको आठै जिल्लामा अप्रेसन तीव्र पारिएको छ,’ उनले नागरिकसँग भने, ‘लागुऔषध नियन्त्रणमा प्रहरी एक्लैले भन्दा पनि सामूहिक सहयोग आवश्यक छ। समुदाय, समाजको सहयोग लिएर लागुऔषधको प्रयोग र कारोबारलाई निमिट्यान्न पार्ने गरी अभियान चलाउँछौं।’

लागुऔषध नियन्त्रणका लागि विद्यालयहरूमा लागुऔषधविरुद्ध सचेतना कक्षासमेत सञ्चालन गरिएको डिआइजी चतुर्वेदीले बताए। ‘प्रहरीले मात्रै लागुऔषध नियन्त्रण गर्न सक्छ भन्ने भाष्यलाई सामूहिक प्रयासबाट मात्र नियन्त्रण सम्भव छ भन्ने बनाउन आवश्यक छ,’ डिआइजी चतुर्वेदी भन्छन्, ‘सरकार, समाज र घर परिवार सबै मिलेर मात्र लागुऔषध नियन्त्रण सम्भव छ। हामी यसै अभियानमा लागिपरेका छौं।’

कसिलो सञ्जाल

मधेस प्रदेशका आठवटै जिल्लाको सिमानाका सामान्य रूपमा खुला भएको अवस्थामा दैनिक यहाँबाट पारि पुगेर लागुऔषध बोकेर फर्किनेको संख्या बढी छ। लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर मधेस प्रदेशमा निष्फिक्री चलाइरहेको कारोबार अहिले मधेस प्रदेश प्रहरी कार्यालयको सक्रियताले बिथोलिन पुगेको छ। भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषध यहाँबाट विभिन्न ठाउँमा पुग्ने गरेको प्रहरी अनुसन्धानबाट देखिन्छ।

भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पुर्‍याउन नसक्ने सुरक्षा निकायको सीमित जनशक्ति भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायत कारणले मधेस प्रदेश लागुऔषध कारोबारीको अखडा बन्दै आएको छ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामार्फत पहाडी जिल्ला र राजधानीलगायत धेरै सहरमा लागुऔषध ओसारपसार हुने गरेको प्रहरी स्रोतको भनाइ छ। मधेस प्रदेशसभामा लागुऔषधको फैलिँदो सञ्जाल र यसले मधेसी समाजमा पारिरहेको प्रभावबारे मधेस प्रदेशसभामा सांसदहरू पटकपटक उठाउँछन्।

भर्खरै सांसद राजकुमार गुप्ताले लागुऔषधले मधेसी समाज दलदलमा भासिँदै गएकोप्रति ध्यानाकर्षण गराएका थिए। लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबिचको मुख्य ट्रान्जिट मधेस प्रदेशका सीमावर्ती सहरहरू हुँदै आएका छन्।

सहज बाटो र कारोबार

पछिल्लो समय गाउँगाउँमा सडक र सवारीको पहुँच बढेको छ। गाउँघर सहरजस्तो बजारीकरण भएसँगै लागुऔषधको जालो पनि फैलँदो छ। सीमावर्ती गाउँदेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण मधेसका युवापुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फसिरहेका छन्। लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।

प्रकाशित: २४ जेष्ठ २०८२ ०८:१० शनिबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School