ललितपुर–२ नेवाः पहिचानको ‘लालकिल्ला’ जोगाउने र खोस्ने प्रतिस्पर्धा : RajdhaniDaily.com


ललितपुर । प्रतिनिधिसभा निर्वाचनको इतिहासमै नेवाः समुदायबाट मात्रै प्रतिनिधि पाइरहेको ललितपुर क्षेत्र नम्बर–२ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेकपा एमालेबाट २०७९ सालको निर्वाचनमा विजयी भएका प्रेमबहादुर महर्जन उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट प्र ेमकृष्ण महर्जन तथा रास्वपाबाट निवर्तमान सञ्चारमन्त्री जगदीश खरेल मैदानमा छन् ।

राप्रपाका उम्मेदवार रघुबरराज थापा र उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारको पनि उस्तै चर्चा रहँदा मतदाताले नेवा नेतृत्वको पहिचान तथा राजनीतिक विरासतलाई समेत छलफलमा ल्याएका छन् । जेनजी आन्दोलनपछिको सरकारका सञ्चारमन्त्री भएका जगदीश खरेल मन्त्रीबाट राजीनामा दिएर उम्मेदवार भएपछि नयाँको चर्चा पनि उस्तै तातेको छ ।

२०४८ सालको आम निर्वाचनमा क्षेत्र विभाजन भएपछिका निर्वाचनबाट निरन्तर नेवाः समुदायको नेतृत्व रहेको ललितपुरको यो एकमात्र निर्वाचन क्षेत्र भएकाले नेवाः समुदायको निर्णायक मत हुने गरेको पाइएको छ । यस क्षेत्रमा वामपन्थी पार्टीहरूले निरन्तर जितेका कारण ‘लालकिल्ला’ मानिएकोमा २०७० सालमा एकपटक नेपाली कांग्रेसले खोस्न सफल भएको थियो ।

आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट खोस्न नेपाली कांग्रेसले ‘१२ वर्षमा खोलो फर्कन्छ’ भन्दै कार्यकर्ता तथा जनतामा उत्साह भरिरहेको छ । २०४८ को निर्वाचनदेखि २०७९ सम्म नै प्रायः वामपन्थी पार्टीहरूले चुनाव जितेकोमा कम्युनिस्ट र कांग्रेसलाई नभएर यसपटक नयाँलाई भन्दै खरेलले आक्रामक चुनावी प्रचार बढाएका छन् ।

खरेलले चुनावी प्रचारका क्रममा ४५ वर्षदेखि पुराना पार्टीका हनुमान भएको भन्दै मतदातासँग चर्को सवालजवाफ गरेको भिडियोसमेत केही दिनअघि भाइरल भएको थियो । २०४८ को निर्वाचनमा सिद्धिलाल सिंहले नेकपा एमालेबाट उम्मेदवार भई विजयी हासिल गरेका थिए । सिंहले खसेको मतको ६१ दशमलव १६ प्रतिशत मत पाएका थिए ।

२०४६ को परिवर्तनपछिको सरकारमा नेपाली कांग्रेसबाट मन्त्री भएका मार्शलजुलुम शाक्य र नेपाल कम्युनिस्ट पार्टीका तेस्रो महाधिवेशनका महासचिव तथा तथा नेकपा अमात्य समूहका प्रमुख तुलसीलाल अमात्यलाई पराजित गरेका थिए । त्यतिबेला पाटनको प्रतिष्ठा बनाउने गरी भएको सिद्धिलालको जीतलाई देशैभर कम्युनिस्ट नेताको जीतको गौरवको रूपमा हेरिएको थियो ।

नेपाली कम्युनिस्टको पेकिङ मानिने पाटनको गौरवमय जित निकालेका सिद्धिलालको अगाडि सबै नेताहरू नतमस्तक हुन्थे । समयको सप्को फेरियो । २०५१ सालमा मध्यावधि निर्वाचन भयो । २०५१ को निर्वाचनमा पनि सिद्धिलाल सिंहले चुनाव जिते । मत प्रतिशतमा केही गिरावट आयो । सिंहले ५५ दशमलव ४६ प्रतिशत अर्थात् २३ हजार ५ सय ६२ मत पाए ।

उनीसँग त्यतिबेला नेपाली कांग्रेसका चन्द्र महर्जनले १२ हजार ४६ मत पाएका थिए भने राप्रपाका हरिप्रसाद पौडेलले ३ हजार ७ सय ६१ मत पाएका थिए । यतिबेला नेकपा अमात्य समूह नेकपा एमालेमा एकीकृत भइसकेको थियो । २०५४ मा नेकपा एमाले विभाजन पनि भएको र २०५६ को निर्वाचनमा भने सिद्धिलाल सिंहलाई नेकपा एमालेका कृष्णलाल महर्जनले पराजित गरे ।

कृष्णलालले १६ हजार १ सय ६९ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका जगतराज शाक्य १४ हजार ८ सय ७८ मत ल्याएर दोस्रो भए भने सामान्य प्रशासन मन्त्री भएका अघिल्ला निर्वाचनहरूका चुनावी हिरो मानिएका सिंह मन्त्रीको सान सौकातसहित निर्वाचनमा जाँदा तेस्रो भए ।

२०४८, २०५१ र २०५६ मा लगातार चुनाव जितेको एमालेलाई २०६४ को संविधानसभा निर्वाचनमा २९ वर्षका राजकाजी महर्जनले १७ हजार ८८ मत ल्याएर शर्मनाक पराजित गरी तेस्रो बनाइदिए । २०६४ मा नेपाली कांगेसका चन्द्र महर्जनले १६ हजार ३ सय ९२ मत ल्याएर दोस्रो तथा नेकपा एमालेका सिद्धिलाल सिंह ११ हजार ३ सय ३५ मत ल्याएर तेस्रो भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले इतिहासकै पहिलो ऐतिहासिक विजयको खाता खोल्यो । चन्द्र महर्जनले चुनाव जिते भने दोस्रोमा नेकपा एमालेका कृष्णलाल महर्जन र नेकपा माओवादीबाट उम्मेदवार भएका सरोजसिंह डंगोल तेस्रो भएका थिए ।

२०७४ को निर्वाचनमा बाम एकता गर्ने निर्णयसँगै नेकपा एमालेका तर्फबाट कृष्णलाल महर्जनले पुनः चुनाव जिते । महर्जनसँग नेपाली कांग्रेसका चन्द्र महर्जन पराजित भए । २०७९ सालमा नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै नेपाली कांग्रेस, एमालेबाट विभाजित भएर निर्माण भएको नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा मिलेर बाम लोकतान्त्रिक गठबन्धन बन्यो । लगातार २०५१, २०५६ र २०७४ मा चुनाव जितेका महर्जनलाई बाम लोकतान्त्रिक गठबन्धनले उम्मेदवार बनायो तर नेकपा एमालेले गठबन्धनका उम्मेदवारको झन्डै दोब्बर मत ल्याएर विजय हासिल गरे ।

१५ हजार २५ मत ल्याएर प्र ेमबहादुर महर्जनले विजय हासिल गर्दै गर्दा दोस्रोमा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८ हजार ८ सय ८६ मत ल्याएका थिए भने रास्वपाका बुद्धरत्न महर्जनले ८ हजार ८ सय ६६ मत ल्याएर तेस्रो भएका थिए । बाम लोकतान्त्रिक गठबन्धनका महर्जन भने चौथो भएका थिए । राप्रपाका रघुवरराज थापाले ६ हजार ६ सय ४६ मत ल्याएका थिए ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल तथा उम्मेदवार चुनावी मैदानमा जाँदै गर्दा मतदाताले भने आफूहरूको सशक्त आवाज सदनमा सुनिनुपर्ने र विकासका सवालमा संघीय सरकारको ध्यान ललितपुर क्षेत्र नम्बर–२ मा पर्नुपर्ने आवाजलाई चर्को बनाएका छन् ।

मतदाताको मागअनुसार नै प्रतिबद्धता जनाउँदै मैदानमा उत्रिएका उम्मेदवारले विकासका प्र तिबद्धतासँगै ललितपुर क्षेत्र नम्बर–२ लाई सांस्कृतिक सहर बनाउनेदेखि कला नगरी र भाषिक र सांस्कृतिक पहिचानको केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् । जातीय पहिचान निर्णायक हुने देखेरै उम्मेदवारी दर्ता गर्ने दिनमा रास्वपाका उम्मेदवार खरेलले नेवाः पोसाकमा गएर उम्मेदवारी दिएका थिए भने पाटनको प्रमुख चोकहरूमा नेवाःबाट अभिवादन गर्दै भोट मागिरहेका छन् ।

ललितपुर क्षेत्र नम्बर–२ मा सांगठानिक मतका प्रभावका हिसाबले नेकपा एमाले र नेपाली कांग्रेस नै प्रतिस्पर्धी देखिएका छन् भने राष्ट्रिय माहौलका हिसाबले रास्वपा थपिएको मतदाताहरू बताउँछन् । यस क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट राजेन्द्र अमात्य उम्मेदवार रहेका छन् । ललितपुर क्षेत्र नम्बर–२ बाट सम्पदा अभियन्ता राजाराम तण्डुकार उज्यालो नेपाल पार्टीबाट उम्मेदवार भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापा उम्मेदवार रहेका छन् । थापाले अघिल्लो निर्वाचनमा पनि ६ हजार ६ सय ४६ मत ल्याएका थिए । आसन्न निर्वाचनमा जनता समाजवादी पार्टीबाट रीहीणी कस्ती उम्मेदवार रहेकी छन् भने नेमकिपाबाट चिरीमैया महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कृष्ण महर्जन उम्मेदवार रहेका छन् । नेकपा संयुक्तबाट रमेश आचार्य, श्रम संस्कृति पार्टीबाट सरोज राइ, नेकपा (माओवादी) बाट अष्टराज बज्राचार्य सहित २३ उम्मेदवार चुनावी मैदानमा छन् ।

ललितपुर क्षेत्र नम्बर–२ मा आसन्न निर्वाचनका लागि ८९ हजार ८२ मतदाता रहेका छन् जसमा ४८.६ प्रतिशत पुरुष र ५१.४ प्रतिशत महिला मतदाता रहेका छन् । सबैभन्दा बढी ४१ प्रतिशत मतदाता ४१ देखि ६० वर्ष उमेर समूहका रहेको यस क्षेत्रमा १८ देखि २५ वर्ष उमेर समूहका ६ प्रतिशत, २६ देखि ४० वर्ष उमेर समूहका २६ प्रतिशत र ६० वर्ष माथिका २५ प्रतिशत मतदाता रहेका छन् ।

अन्तरिम सरकारमा मन्त्री, चुनावमा पराजित
ललितपुर क्षेत्र नम्बर–२ को परिचय अन्तरिम सरकारमा मन्त्री पाउने क्षेत्रको रूपमा यसअघि पनि बनिसकेको छ । २०४७ को राजनीतिक परिवर्तनपछिको अन्तरिम सरकारमा मार्शलजुलुम शाक्य मन्त्री रहेका थिए । नेपाली कांग्रेसको प्रभावशाली नेताको रूपमा रहेका मन्त्री शाक्य भूगोलमा निकै रवाफिलो मन्त्रीको परिचय बनाएका थिए ।

रवाफिलो मन्त्रीको परिचय दिँदै चुनावी मैदानमा उत्रिएका शाक्यलाई नेकपा एमालेका सिद्धिलाल सिंहले मन्त्री शाक्यभन्दा ५ गुणा बढी मत ल्याएर विजय हासिल गरेका थिए । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री राजीनामा गरेर उम्मेदवार भएका छन् । राजीनामा गरेर चुनावी मैदानमा उत्रिएका खरेलले स्थानीयसँग सवालजवाफ गरेको भिडियो ‘भाइरल’ भएपछि स्थानीयले मार्शलजुलुमसँग समेत दाँजेर हेर्न थालेका छन् ।

(Visited 29 times, 1 visits today)





Source link

Leave a Comment