प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार

मार्चको भिसा बुलेटिनअनुसार रोजगारमा आधारित सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ। मार्चमा रोजगारमा आधारित तेस्रो श्रेणीमा १ अक्टोबर २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरूले दूतावासहरूमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन् भने अमेरिकाभित्र हुनेहरूको सन्दर्भमा १५ जनवरी २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा ग्रिनकार्ड आवेदन दिन सक्नेछन्।
यो श्रेणीमा फेब्रुअरीको तुलनामा भिसा अन्तर्वार्ता पाउने मितिमा मार्चमा ४ महिनाको अग्रता कायम भएको छ भने ग्रिनकार्ड फाइल गर्ने मितिमा साढे ३ महिनाको अग्रता देखिएको छ। जसका कारण उल्लेखित प्राथमिकता मितिभन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरी स्वीकृत भइसकेकाहरूले अमेरिकाभित्र भएमा मार्चमा ग्रिनकार्ड फाइल गर्न र बाहिर भएमा भिसा अन्तर्वार्ताको मिति पाउन सक्नेछन्।
त्यस्तै रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति मार्चमा पनि अघिल्ला महिनाजस्तै करेन्ट नै रहेको छ। मार्चमा अमेरिकाभित्र रहेका व्यक्तिहरूले पहिलो श्रेणीको आवेदन आई–१४० सँगै ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन् भने अमेरिकाबाहिर रहेका व्यक्तिहरूले पनि भिसा करेन्ट रहँदासम्म कुर्नु पर्दैन।
रोजगारमा आधारित दोस्रो श्रेणीको ग्रिनकार्ड फाइल गर्ने मिति मार्चमा लामो समयपछि पहिलोपटक करेन्ट भएको छ। अमेरिकाभित्र रहेका व्यक्तिहरूले दोस्रो श्रेणीको आवेदन आई–१४० सँगै ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर रहेका व्यक्तिहरूका लागि भिसा अन्तर्वार्ता पाउने मितिमा पनि साढे ६ महिनाको अग्रता कायम भएको छ। १५ अक्टोबर २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्।
तेस्रो श्रेणी (अनस्किल्ड) कामदारहरूको हकमा पनि ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ। २२ जुन २०२२ मा लेबर सर्टिफिकेशन फाइल गरेका र स्वीकृत भइसकेकाहरूले मार्चमा ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन्, जुन झन्डै ७ महिनाको अग्रता हो। अमेरिकाबाहिर रहेका व्यक्तिहरूका सन्दर्भमा १ नोभेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरी स्वीकृत भइसकेकाहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्, जुन २ महिनाको अग्रता हो।
विशेष आप्रवासी चौथो श्रेणीमा पनि ग्रिनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ। १ जनवरी २०२३ अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा ग्रिनकार्ड आवेदन आई–४८५ फाइल गर्न सक्नेछन्, जुन झन्डै २१ महिनाको अग्रता हो।
अमेरिकाबाहिर रहेका व्यक्तिहरूका लागि १५ जुलाई २०२१ अगाडि प्राथमिकता मिति भएकाहरूले मार्चमा भिसा अन्तर्वार्ता पाउन सक्नेछन्, जुन झन्डै साढे ७ महिनाको अग्रता हो। धार्मिक कामदारका सन्दर्भमा पनि मार्चमा सोही मितिहरू कायम छन्। फेब्रुअरीमा भने यो श्रेणीमा भिसा उपलब्ध थिएन। पाँचौँ श्रेणी मार्चमा पनि करेन्ट नै रहेको छ।
जनवरी २१ देखि लागु हुनेगरी अमेरिकाको विदेश मन्त्रालयले नेपाल लगायतका ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तरवार्ता लगायतका सबै प्रकृया पूरा भएतापनि भिसा भने जारी गरिएको छैन । जसका कारण सबै प्रकृया पूरा भएकाहरु समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन् । जनवरी २१ भन्दा अगाडि भिसा पाइसकेकाहरुलाई भने अमेरिका आउन रोक लगाइएको छैन ।