प्रकाशित मिति : पुस २८, २०८२ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी फेब्रुअरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित तेश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ । फेब्रुअरीमा रोजगारमा आधारित तेश्रो श्रेणीमा १ जुन २०२३ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले फेब्रुअरीमा दूतावासहरुमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् भने अमेरिकाभित्र हुनेहरुका सन्दर्भम १ अक्टोबर २०२३ भन्दा अगाडि प्राथमिकता मिति हुनेहरुले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन दिनसक्नेछन् ।
यो श्रेणीमा जनवरीको तुलनामा भिसा अन्तरवार्ता पाउने मितिमा फेब्रुअरीमा १ महिना १ साताभन्दा बढीको अग्रता कायम भएको छ भने ग्रिनकार्ड फाइल गर्ने मितिमा ३ महिनाको अग्रता कायम भएको छ । जसका कारण उल्लेखित प्राथमिकता मितिभन्दा अगाडि लेबर सर्टिफिकेशन फाइल गरेका र स्वीकृत भइसकेकाहरुले फेब्रुअरीमा अमेरिकाभित्रै भएमा ग्रिनकार्ड फाइल गर्न र बाहिर भएमा भिसा अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।
त्यस्तै रोजगारमा पहिलो श्रेणीको ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति फेब्रुअरीमा पनि अघिल्ला महिनाहरुमा जस्तै करेन्ट नै रहेको छ। फेब्रुअरी महिनामा पनि अमेरिकाभित्रै रहेकाहरूको हकमा पहिलो श्रेणीको आवेदन आई १४० सँगै ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सकिने भएको छ भने अमेरिकाबाहिर रहेकाहरूले भिसा करेन्ट रहदासम्म कुर्नु पर्दैन। यद्यपि दूतावासहरूमा रहेको भिसा ब्याकलगका कारण अमेरिकाबाहिर रहेकाहरूलाई आप्रवासी भिसा अन्तर्वार्ताका लागि भने लामो समय लाग्न सक्छ।
रोजगारमा आधारित दोश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति फेब्रुअरीमा टसमस भएको छैन । १ अप्रिल २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले फेब्रुअरीमा विदेशमा हुनेले आप्रवासी भिसा अन्तरवार्ता प्राप्त गर्न सक्नेछन् भने १५ अक्टोबर २०२४ भन्दा अगाडि प्राथमिकता मिति भएका अमेरिकाभित्र हुनेले फेब्रुअरीमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नसक्नेछन् । जनवरीमा पनि यही मिति नै कायम थियो ।
तेश्रो श्रेणी अनस्किल्ड कामदारहरूको हकमा पनि ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मिति फेब्रुअरीमा हलचल भएको छैन । १ डिसेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा फेब्रुअरी महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ सेप्टेम्बर २०२१ अगाडि लेबर सर्टिफिकेशन फाइल गरेकाहरूले लेबर सर्टिफिकेशन स्वीकृत भइसकेको भएमा फेब्रुअरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् ।
विशेष आप्रवासी चौथो श्रेणीको हकमा पनि ग्रीनकार्ड फाइल गर्ने मिति र आप्रवासी भिसा पाउने मितिमा हलचल भएको छैन । १५ मार्च २०२१ अगाडि प्राथमिकता मिति हुनेहरुले फेब्रुअरी महिनामा ग्रीनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्नेछन्। अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा १ जनवरी २०२१ अगाडि प्राथमिकता मिति भएकाहरुले फेब्रुअरीमा भिसा अन्तरवार्ता पाउन सक्नेछन् । धार्मिक कामदारका सन्दर्भमा फेब्रुअरीमा भिसा उपलब्ध छैन ।