जनाब बेला-बेला मलाई मौसमी रोजगारी दिन्छ ।
बेतनका रूपमा एकदुई प्याला कफी वा एकदुई बोतल बियर पियाउँछ ।
यो सिलसिला चल्न थालेको डेढ दशकजति भएछ ।
जनाब लेखक, अनुवादक, अध्यापक र स्तम्भकार हो । सर्वोपरितः मेरो प्रिय साथी हो । हामी एकअर्कालाई जनाब भनेर सम्बोधन गर्छौं। हिन्दी फिल्ममा गाव–तकियामा अडेस लागेर समदिरा मुजराको आनन्द लिइरहेको कुनै रइस पात्रको छवि तपाईंको दिमागमा उत्रियो भने माफी चाहन्छु । यो फगत सम्बोधन हो ।
गएको डिसेम्बर १७ मा उसले ह्वाट्सएप गर्यो : ‘परिवारका ६ जना सदस्यसँगै एउटा गाजाली कविको एकै चिहान भयो । उसको ब्लगको लिंक पठाएको छु । उसका दुई, तीनोटा कविता अनुवाद गर है ।’ तर, यसपालि कफी र बियरको कुनै शपथबद्ध नजराना थिएन ।
सायद जनाब मर्मान्त पीडामा थियो । उसमा दुनियाँभरिका प्रतिरोधी आन्दोलन र साहित्यमा गहिरो र प्रेमपूर्ण लगाव छ । तिनमा उसको दक्खल छ । र, ऊ दुःखी हुन अभिशप्त छ । दक्खल (निपुणता) हुनेलाई नै त दक्खल (चोट) पर्छ । किनभने, हरेक हप्ता उत्तरी/दक्षिणी दुइटै गोलार्धका कुनै न कुनै भूखण्डमा कोही न कोही आन्दोलनकारी, कोही न कोही अभियानी, कोही न कोही विद्रोही; सत्ता र शक्तिका हातबाट विहत भइरहेकै हुन्छन् ।
सन् २०१४ मा पनि जनाबले मलाई प्यालेस्टाइनी कवि महमुद दार्विशका ५० वटा कविता प्रिन्ट गरेर दिएको थियो, पाण्डुलिपि बनाएर– नेपालीमा अनुवादार्थ । उसले किताबको नाम पनि जुराइसकेको थियो– ‘प्रोजेक्ट प्रतिरोध’ । मैले तत्काल काम पनि सुरु गरेको थिएँ । तर, जागिरको चाप र दाल–भातको दबाबबीच (अनि आलस्य लबालब त छँदैथियो) ‘प्रोजेक्ट प्रतिरोध’ कुनै सरकारी योजना झैं थन्कियो । उता, जनाब पनि त जिन्दगीका लठबज्रता र भद्रगोल्याइँको गोलचक्करमा फसेको थियो ।
यद्यपि, उसको ‘दार्विशको अनुवाद के भयो’ को सोधनी र मेरो ‘भ्याएको छैन’ को प्राचीन बहानाबाजीको दोहोरी चलिरहेकै छ । जब–जब अमनदस्यु/ध्वंसनपिपासु इजरायल निर्धो प्यालेस्टाइनमाथि बर्बर हमला गर्छ, जनाब मलाई ‘प्रोजेक्ट प्रतिरोध’ सम्झाउँछ । म भने मिर्जा गालिबको एक शेर ह्वाट्सएप गरेर भागिदिन्छु : ‘फिक्र–ए–दुनिया में सर खपाता हूँ, मैं कहाँ और ये वबाल कहाँ !’
तर, यसपालि भने गालिबको काव्यात्मक उडनतस्तरीमा बसेर उम्किने सुविधा मलाई उपलब्ध थिएन । मेरो बचाउमा खुद मिर्जा बेग असदुल्लाह खान नै प्रकट भए पनि जनाबबाट मेरो ज्यान जोगिन सम्भव थिएन । ‘यत्रो नरसंहार विरुद्ध यो तिम्रो भावनात्मक कारबाही हुनेछ । छिटो अनुवाद गर । नत्र म घनघोर रिसाउनेछु’ उसको करिब–करिब यही मजबुनको सन्देश ‘खतरनाक’ अंग्रेजीमा प्राप्त भएपछि म अनुवाद उद्यममा लागें । लोसे पारामै सही !
जनाबलाई नेपाली बौद्धिकजगत उज्ज्वल प्रसाईका नामले चिन्छ ।
०००
र, यसरी मैले प्यालेस्टाइनी कवि, प्राध्यापक, लेखक रेफात अलारिरको संसारमा प्रवेश गरें ।
मैले उनको नामै सुनेको थिइनँ ।
उनको ब्लग ‘इन गाजा, माई गाजा !’ मा हप्तौं भौंतारिइरहें, हराइरहें । गुगलको नौका चढेर अनगिन्ती वेबसाइटको मुकाम पुगें । जहाँ पुगे पनि, उही त्रासदी, उही वेदना । गाजाका गल्ली–गल्ली, कुना–कुनामा व्याप्त बारुदको गन्ध, यातनाको चीत्कार, मृत्युको दुन्दुभि, सर्वदाको दुर्भिक्ष, अनन्त जलतिर्खा, बंगाली गायक कबिर सुमनले गाए जस्तो ‘दस फुट बाई दस फुट’ मा संकुचित जिन्दगी, अनि सर्वकालीन हाहाकार… ।
म त बागबजारका गल्लीतिर डुलिहिंड्ने, रमिहिंड्ने मान्छे ! जहाँ चियापसल छन्, भट्टी छन्, कोरियालीदेखि अरबीसम्म भाषा पढाउने इन्स्टिच्युट छन्, मानवतस्करीका श्वेत र वैधानिक निकाय (अर्थात् कन्सल्ट्यान्सी) छन्, एकथरी कम्युनिस्ट दुम्सीहरूका साँघुरा अखडा छन् (जहाँ दुर्गन्ध र काँडाशिवाय केही पनि पाइँदैन) । तर, जे छन्, रमाइलै छन्, मज्जाकै छन् । कहाँ गाजाका गल्ली, कहाँ बागबजारका गल्ली !
तर, गाजाको गल्लीमा सर्वाेपरितः गाजाली छन् । दुःखको प्रलय, रगतको आहाल र आँसुको भेलमा पनि गाजालीहरूसँग प्रतिरोधी चेतना र बाँच्ने उत्कट चाहना छ । बाँच्ने उत्कट चाहनालाई म जिजीविषा भन्न सक्थें । तर, यस शब्दको थोत्रोपन र अधिक तथा गलत प्रयोगले मलाई यो शब्दसँगै वितृष्णा छ ।
गाजाली कवि रेफातको जेथापुँजी भन्नु नै जम्माजम्मी यही एउटा प्रतिरोधी चेतना थियो ।
प्रतिरोधी चेतना हरेक प्यालेस्टाइनी नागरिकको कुल जेथापुँजी हो । ती आफ्नै मातृभूमिमा होऊन्, युरोपमा होऊन्, अमेरिकामा होऊन् वा जहाँसुकै होऊन्; तिनको प्रतिरोधी चेतनाले कमाल देखाइहाल्छ, त्यो विस्फोट भइहाल्छ ।
जस्तो कि, सन् २०१८ मे २२ मा घोर दक्षिणपन्थी कूटनीतिज्ञ (अर्थात् कुत्सित ‘दाउपेच विशारद’) तथा संयुक्त राष्ट्रसंघका लागि तत्कालीन अमेरिकी राजदूत निक्की हेली ह्युजटन विश्वविद्यालयमा प्रवचनार्थ उपस्थित थिइन् । तिनले बोल्दाबोल्दै केही प्यालेस्टाइनी–अमेरिकी विद्यार्थीले होहल्ला सुरु गरे ।
हो-हल्ला काव्यात्मक थियो :
निक्की निक्की क्यान्ट यू सी
यू आर अन ए किलिङ स्प्री
हेली हेली यू क्यान्ट हाइड
यू साइन्ड अफ अन जिनोसाइड
निक्की हेली यू विल सी
प्यालेस्टाइन विल बी फ्री ।
हेर्दा खासै दमदार कलात्मकता या शब्दक्रीडा नदेखिए पनि यी पंक्तिले बोकेका बेजोड, वजनदार विद्रोह र प्रतिरोधको पर्यावरण हराउला भन्ने भयले मैले यिनलाई नेपालीमा भाषान्तर गर्न चाहिनँ । सर्वाधिक अनूदित कवि पाब्लो नेरुदा भन्थे, “अनुवादमा मेरो कविताको अर्थ त व्यक्त हुन्छ, तर कविताको पर्यावरण भने व्यक्त हुँदैन ।”
ती साहसी विद्यार्थीको ‘हुटिङ’ को बदला निक्कीले हालसालै लिइन्, ठ्याक्कै ६ वर्ष ६ दिनपछि । अस्ति भर्खर, मे २८ मा हत्या दुर्व्यसनी देशलाई बर्बरोत्तर बन्न प्रेरणा र ढाडस दिन इजरायल पुगेकी उनले गाजामा बर्साउन ठिक्क पारिएका रकेटहरूमध्ये एउटाको ढाडमा लेखिन्, ‘फिनिस देम’ (यस क्रूरतम सन्देशलाई पनि म नेपालीमा ल्याउँदिनँ) ।
साथमा, निक्कीले ‘लभ्स’ क्रियाको सट्टा पानपाते मुटु कोर्दै लेखेकी छिन् : ‘अमेरिका ‘पानको पात’ इजरायल अल्वेज ।’
(निक्की हेली, म्या’म, योर एक्सिलेन्सी ! तपाईंसँग विनिमय गर्नका लागि मसँग आक्रोशको कुनै ‘करेन्सी’ छैन । तर, एउटा कोसेली छ । सन् २०१४ मा पनि इजरायलले प्यालेस्टाइनमाथि हमला गरेको थियो । त्यतिबेला एक गाजाली नागरिकले भनेका थिए, “आज राति म मरें भने मेरा एक–एक अंग आवश्यक परेका व्यक्तिहरूलाई दान दिनू । मेरो माझी औंला चाहिं अरब संसारका नेताहरूलाई दिनू ।” ठडिएको माझी औंला अभद्रता, अशिष्टता, मैथुन, अपमान आदिको प्रतीक हो । पहिलो शताब्दीतिर मेडिटरानियन संसारमा यो दुष्टको खराब नजरलाई अन्यत्र मोड्न प्रयोग गरिने संकेत थियो ।
योर एक्सिलेन्सी ! तपाईंलाई म बागबजारको गल्लीबाट ती दुःखी गाजालीको भव्यतम आक्रोशको कोसेली टक्य्राउँछु ।)
०००
वेबसाइटदेखि वेबसाइटसम्म हप्तौं भौंतारिएपछि मैले रेफात अलारिरलाई अलिकति चिनें । अनि आफैंसँग पनि तुलना गरें । कसैलाई चिन्नका लागि तुलना एउटा औजार हुन सक्छ । उमेरका हिसाबले उनी मभन्दा तीन वर्ष कान्छा रहेछन् (पंक्तिकार २०३३ सालको पैदावार हो) । उमेरबाहेक उनीसँग तुलनालायक मसँग केही रहेनछ । गएको ६ डिसेम्बरमा इजरायली हवाई हमलामा परेर सपरिवार हत्या गरिएका उनीसँग अब मसँग तुलनाहेतु उमेर पनि बाँकी रहेन ।
रेफात गाजाको इस्लामिक विश्वविद्यालयका प्राध्यापक थिए । विश्वसाहित्य पढाउँथे । शेक्सपियर पढाउँथे । जोन डोन उनका सबैभन्दा प्रिय कवि थिए । सन् २०१४ मा उनले गाजामा ‘वी आर नट नम्बर्स’ नामक संस्था सहसंस्थापना गरेका थिए । संस्थाको मूल ध्येय युवा प्यालेस्टाइनी लेखक/कविलाई संसारभरि छरिएका प्यालेस्टाइनी दिग्गज लेखकहरूसँग जोड्नु र तीद्वारा प्रशिक्षित गर्नु थियो । उनले गरेको सबैभन्दा महत्त्वपूर्ण काम थियो, ‘गाजा राइट्स ब्याक’ कथासंग्रहको सम्पादन । किताबको लक्ष्य थियो, गाजाको कथा संसारलाई सुनाउनु ।
उनका विद्यार्थी लेखक जेहाद अबुसालिमले आफ्नो शोक लेखमा भनेका छन्, “अंग्रेजी भाषा रेफातका लागि मुक्तिको औजार थियो, गाजाको युगौं पुरानो घेराबन्दी नाघ्ने माध्यम थियो । इजरायलका पर्खाल अनि बौद्धिक, प्राज्ञिक र सांस्कृतिक नाकाबन्दी तोड्ने साधन थियो ।”
गाजामा बसे पनि उनी संसारभरि छरिएर रहेका प्यालेस्टाइनी लेखक/विद्यार्थीसँग जोडिएका थिए । उनका हितचिन्तकले गाजा छाड्न उनलाई बिन्ती गरेका थिए । तर, उनले मानेनन् । उनलाई केले गाजामै रोकिराख्यो त ?
सायद स्ट्रबेरीको मायाले ।
एक विद्यार्थीले रेफातको स्मृतिमा लेखेका छन्, उनलाई स्ट्रबेरी असाध्यै मन पर्थ्यो । तिनै विद्यार्थीसँग उनले भनेका थिए, “म गाजा छाड्दिनँ । मलाई इजरायली सिपाहीहरू पक्रिन आए भने तिनका मुखमा कलम फ्याँक्नेछु ।”
०००
अब म उनको काव्यजगतमा प्रवेश गर्छु । उनले आफ्नो ब्लगमा राखेका कविताहरू अनुवाद गर्न मलाई हप्तौं लाग्यो ।
यसै पनि अनुवाद गाह्रो काम हो । अझै कविताको अनुवाद दोब्बर, तेब्बर गाह्रो काम हो ।
अनुवादका सन्दर्भमा मेरो निजी सिद्धान्त छ ।
‘रेसम–खद्दर–खाक्सी सिद्धान्त’ ।
कसैको रचना भनेको रेसम हो । त्यसको अनुवाद गर्दा— सकिन्छ रेसमलाई रेसमै रहन दिनू । सकिन्न, खद्दरसम्म बनाउनू । तर, कदापि खाक्सी नबनाउनू ।
(सिद्धान्तकै कुरा गर्दा अब एउटा जम्पकट : पाटन क्याम्पसमा पढाउने मित्र विष्णु ज्ञवाली एमफिल गर्ने क्रममा सिद्धान्तको संकटमा पर्दा रहेछन् । सरलाई टर्म पेपर बुझायो, “यसमा तपाईंले के सिद्धान्त प्रयोग गर्नुभा छ” भन्ने प्रश्न आइहाल्ने ? हत्तु भएर एक दिन सोही सन्दर्भमा उनले भनिदिएछन्, “मैले यसमा जथाभावी सिद्धान्त लगाएको छु ।”
‘त्यो भनेको के हो ?’ सिंगो क्लास र सर विस्मित भएछन् ।
“त्यो भनेको ‘जनतामा थाती रहेका भावनाहरूको विश्लेषण’ सिद्धान्त ।
सिंगो क्लास हप्तौंसम्म हाँसेछ ।)
त, म रेफातलाई अनुवाद गर्न थालें ।
उनका शब्दहरूसँग यात्रा गर्दा यशस्वी प्यालेस्टाइनी कवि महमुद दार्विशका केही पंक्ति झलझली सम्झिरहें :
कविता सधैं अपूर्ण हुन्छ
पुतलीहरूले यसलाई पूर्ण बनाउँछन्
०००
कठिन समयमा कविता
चिहानघारीको सुन्दर फूल हो ।
रेफातका कविता पनि चिहानघारीका सुन्दर फूल हुन् ।
मरणोपरान्त उनलाई अचाक्ली प्रसिद्धि दिलाउने एउटा कविता छ, ‘मर्नैपर्छ भने मैले’ । सन् २०११ मा प्रकाशित यो कविता उनले गएको नोभेम्बर १ मा आफ्नो ट्वीटर खाताको सिरानमा सिउरिएका थिए । मानौं, उनलाई मृत्युको पूर्वाभास भएको थियो । कवितामा उनको इच्छा छ, आफू मरेपछि आफ्नो नामको चंगा उडाइयोस् । नभन्दै उनको मृत्युपछि, संसारका थुप्रै शहरमा चंगाकार प्लेकार्ड लिएर हजारौं मानिस सडकमा उत्रिए । र, सेता चंगामा थिए, रेफातका हरिया शब्द ।
उनको सबैभन्दा शक्तिशाली कविता चाहिं ‘म तिमी हुँ’ हो । यसमा उनी उत्पीडकलाई ऐना हेर्न आग्रह गर्छन् । अहिलेको ‘म’ र ७० वर्षअघिको ‘तिमी’ जुम्ल्याहा हौं भन्छन् । नाजीहरूले संसार खाएको बेलाका कुख्यात अस्विचलगायत बन्दी शिविरमा भोकप्यास र भयत्रासले छटपटाइरहेका यहुदीहरूसँग आजका प्यालेस्टाइनीको वेदनाको साइनो जोड्न खोजेका छन् ।
अर्काे एउटा सुन्दर कविता छ, ‘जैतुनको रूख’ । यसै पनि थुप्रै प्यालेस्टाइनी कविहरूको साझा विम्ब हो, जैतुन ।
कविताले उहिलेकहिले संयुक्त राष्ट्रसंघमा यासेर अराफातले गरेको भाषण सम्झाउँछ । उनले भनेका थिए, “आज म एक हातमा जैतुनको हाँगो र अर्काे हातमा मुक्तियोद्धाको बन्दुक बोकेर आएको छु । मेरो हातबाट जैतुनको हाँगो खस्न नदिनुस् । म दोहोर्याउँछु— मेरो हातबाट जैतुनको हाँगो खस्न नदिनुस् ।” (हेर्नुहोस्, सुजित मैनालीे अनुवादकृत किताब ‘भाषण’)
बरा अराफात ! उनको जैतुनको हाँगोको कसैले पर्वाह गरेन ।
रेफातको अर्काे बलियो कविता छ, ‘जब म झुक्छु’ । सन् २०१२ मा तीन महिनासम्म इजरायली झ्यालखानामा भोक हड्ताल गरेका प्यालेस्टाइनी फुटबलर महमुद अल–सार्सकप्रति समर्पित यस कवितामा सिक्रीबद्ध म पात्र भित्तासँग बात मार्छ र जेलरको आँखामा देखिने भयमा आनन्दित हुन्छ ।
०००
रेफात ‘जथाभावी’ बाँचे ।
प्यालेस्टाइनी ‘जनतामा थाती रहेका भावनाहरूको विश्लेषण’ गर्दै बाँचे ।
र, क्या सानदार बाँचे !
अन्त्यमा, रेफातको ब्लगमा उपलब्ध सन् २०११–१२ मा प्रकाशित उनका केही कविता ः
१. म तिमी हुँ
दुई पाइला सार : एक, दुई
ऐना हेर !
हेर, त्रासदी हेर !
तिम्रो एम–सिक्सटिन बन्दुकको कुन्दाले
मेरो गालाको हड्डीमा छोडेको पहेंलो छाप हेर !
स्वस्तिक झैं फैलिएर मेरो अनुहारभरि नागबेली परेको
गोली आकारको खत हेर !
हेर, मेरो वेदना हेर !
आँखाबाट बगिरहेको वेदना
नाकका पोराबाट तप्किरहेको वेदना
कानको जाली छेडिरहेको वेदना
म वेदनाको बाढीमा फसेको छु ।
सत्तरी चानचुन वर्षअघि
तिमी पनि त
यस्तै हालतमा थियौ ।
म खासमा तिमी हुँ
तिमी नै त हुँ ।
म तिम्रो विगत हुँ
तिम्रो वर्तमान र तिम्रो भविष्यमाथि
मडारिइरहेको तिम्रो विगत ।
म जुझिरहेको छु, जसरी जुझेका थियौ तिमी
म लडिरहेको छु, जसरी लडेका थियौ तिमी
म प्रतिरोध गरिरहेको छु, जसरी गरेका थियौ तिमीले ।
र, एक पलका लागि
म तिम्रो हठलाई आदर्श मान्नेछु ।
मेरा रगताम्य जोर आँखाका बीचमा
बन्दुकको नाल तेर्स्याएर उभिने
तिमी नै होइनौ ?
एक । दुई ।
दुई पाइला सारेर ऐनासम्मुख पर ।
त्यही बन्दुक, त्यही गोली
जसले तिम्रा बालाई मारेको थियो
जसले तिम्री आमालाई मारेको थियो
उही, दुरुस्त उही बन्दुक
उही, दुरुस्त उही गोली
आज
तिमीद्वारा
मविरुद्ध
प्रयोग भइरहेको छ ।
यो गोलीको हेक्का राख, यो बन्दुकको हेक्का राख
सुँघिहेर, यसमा तिम्रो र मेरो रगतको गन्ध छ
यसमा मेरो वर्तमान र तिम्रो विगत छ
यसमा मेरो वर्तमान छ
तिम्रो भविष्य छ
त्यसैले त तिमी र म जुम्ल्याहा हौं—
जीवनका उही पदचिह्न
उही हतियार
उही यन्त्रणा
हत्याराको सामुन्ने पर्दा देखा पर्ने
उही मुखाभिव्यक्ति
उही, सबथोक उही
बस्, तिम्रा हकमा फरक यत्ति छ—
पीडित पश्चगामी हुँदै फेरिएको छ पीडकमा
सुन, कान खोलेर सुन !
म तिमी हुँ
तर, म आजको तिमी कदापि होइन ।
म तिमीलाई घृणा गर्दिनँ
म त तिमीलाई मद्दत गर्न चाहन्छु
मलाई घृणा गर्न र मार्नबाट रोक्नका निम्ति
मद्दत गर्न चाहन्छु ।
सुन !
तिम्रो मेसिनगनको ध्वनिले
बहिरो बनाइसक्यो तिमीलाई
मेरो रगतको गन्धभन्दा चर्काे छ
तिम्रो बारुदको गन्ध
बन्दुकबाट निस्कने झिल्काहरूले
मेरा मुखाभिव्यक्तिलाई बनाएका छन् विरुप
एकै पलका निम्ति भए पनि
कृपया, गोली दाग्न छोड
बस्, तिमीले आँखा बन्द गरे पुग्छ
(अचेल हेर्नुले
हाम्रो मुटुलाई अन्धो बनाउँछ)
आँखा बन्द गर, बेस्मारी बन्द गर
कि
मनका आँखामा हेर्न सक तिमी ।
त्यसपछि ऐना हेर ।
एक । दुई ।
म तिमी हुँ ।
म तिम्रो विगत हुँ ।
र, मेरो हत्या गरेर
तिमी
तिम्रै हत्या गरिरहेका छौ ।
२. मर्नैपर्छ भने मैले
मर्नैपर्छ भने मैले
तिमी बाँच्नुपर्छ
मेरो कथा भन्न तिमी बाँच्नुपर्छ
मेरा चिजबिज बेच्न तिमी बाँच्नुपर्छ
एक टुक्रो कपडा र दुईचार रोल धागो
किन्न तिमी बाँच्नुपर्छ
अँ साँच्ची… सेतो कपडा किन्नू
र, लामो पुच्छर गाँसेर चङ्गा बनाउनू
स्वर्गतिर हेर्दै
बाउको प्रतीक्षा गरिरहेको
गाजाको कुनै बच्चाले
टाढैबाट देखोस्
त्यो चंगा
तिमीले बनाएको मेरो चंगा
माथि–माथि उडिरहेको चंगा
उसका बाउ दनदनाउँदा आगोका लप्काहरू बीचबाट
गायब भएका थिए
उनले कसैसँग बिदा मागेनन्
आफ्नै शरीरसँग, आफैंसँग पनि बिदा नमागी
बेपत्ता भए उनी
बाउको प्रतीक्षा गरिरहेको
त्यस बच्चाले
जब देख्नेछ त्यो चंगा
सोच्नेछ एक पललाई भए पनि
त्यहाँ छ देवदूत एउटा
जो प्रेम बोकेर फर्किरहेको छ
मर्नु नै छ भने मैले
मेरो मृत्युले ल्याओस् आशा एउटा
मेरो मृत्यु बनोस् कहानी एउटा ।
३. पर्खालपारि
“त्यहाँ”— हजुरआमा देखाउँछिन् चोरऔंलाले
त्यहाँ उनको त्रिपाले छाप्रो थियो
त्यो उनको घर थियो
हजुरआमाको एउटा बाख्रा थियो, एउटा ऊँट थियो
उनीसँग केही थान कृषि औजार थिए
अनि एउटा हजारी थियो
एउटा बगैंचा थियो
दुई सयजति बोटबिरुवा थिए
उनको एउटा सन्तान थियो
अर्काे सन्तान थियो, अनि अर्काे, अनि अर्काे
०००
“त्यहाँ के त्यहाँ, त्यहाँ मेरो घर थियो”—
उनी जिद्दी गर्छिन्
पर्खाल यति अग्लो छ
म देख्न सक्दिनँ
हल्ला यति चर्काे छ
म सुन्न सक्दिनँ
बारुदको गन्ध यति व्याप्त छ
म अरू केही सुँघ्न सक्दिनँ
०००
तर, म निर्धक्क भन्न सक्छु
मलाई हजुरआमाप्रति कुनै संशय छैन
जो थिइन्
जो अझै छिन्
र, सदा रहनेछिन्
उनमा माटोको सुवास छ
उनी माटो झैं मुस्कुराउँछिन्
र, झरीले छुँदा
माटोले झैं झिम्काउँछिन् आँखा ।
०००
उनको घर छ एउटा
त्रिपाले छाप्रो नै सही
उनीसँग घरको साँचो छ
स्मृति छ
आशा छ
र, छन् दुई सय सन्तति ।
०००
छनलाई हजुरआमा यहाँ छिन्
तर, उनको आत्मा
पर्खालपारि छ ।
४. जब झुक्छु म : महमुद अल–सार्सकप्रति
कारागारका भित्ताहरू
मसँग बात मार्छन्, साउती गर्छन्
ती मलाई तिनको कथा सुनाउँछन्
जो यहाँ कैद थिए
यहाँ अशक्तहरू थिए
यहाँ वृद्धहरू थिए
बच्चाहरू थिए
महिला थिए
उनीहरू यहाँ थिए
तर, अहिले त्यहाँ छन्
०००
जेलमा म भित्ताहरूसँग बात मार्छु
ती मसँग बात मार्छन्
ती भन्छन्, एक दिन म यहाँबाट हिंड्नेछु
एक दिन मेरा नेलहरू खोल्न
जेलर झुक्नेछ मेरो पाउमा
कारण जरूरी छैन
तर, ऊ झुक्नेछ जरूर ।
०००
जेलमा म
भविष्यको मिहिन चित्र कोर्छु
भित्ताको अर्काेपट्टि
जेलर बस्छ
(फलामे बारका पछाडि)
जब ऊ मतिर फर्केर
हेर्छ मेरा आँखामा
उच्चाटको लहर दौडिन्छ उसको अनुहारमा
र, हाईकाढ्छ ऊ
म उसलाई हेर्दछु र हाँस्दछु
ऊ गला सफा गर्छ
आँखा झिमझिम गर्छ
र, ओठ चलाउँछ
म यसो हिंड्छु
र, ऊतिर पिठ्यूँ फर्काउँछु
भित्तातिर हेरेर आँखा झिम्काउँदै
म फेरि मुस्कुराउँछु
भित्ता भन्छ मलाई—
“कुरा बुझ्यौ नि ?”
“बुझें”— म भन्छु
र, झुक्छु अलिकति
अनि झट्कार्छु सिक्री
जेलरको अनुहारको भाव
र, उसको आँखाको भय देखेर
आह्लादित हुन्छु
०००
कालकोठरीभित्र
म पनि झुक्छु
तर, म
विजय प्राप्त गर्न झुक्छु ।
५. जैतुनको रूख
कुट, अझै बेस्कन कुट मलाई
बर्साऊ लट्ठी ममाथि
कुल्च मेरा पातहरू
बुटले ङ्याक मेरा हाँगाबिंगा
सदा तिमी यस्तै त गरिरहेका छौ
म सहन्छु कुटपिट
अपमानको विष पनि पिउँछु
तर, मलाई नलैजाऊ अन्यत्र
नचोर मलाई
म जलें भने पनि
यहीं जल्न चाहन्छु
यहींको माटोमा मिल्न चाहन्छु
०००
मेरो आवाज सुन्न सके
सायद महसुस गर्ने थियौ मेरो पीडा
तर, यो तिम्रो भूमि होइन
तिमी यहाँका होइनौ
तिमी जान्दैनौ, जान्दै जान्दैनौ—
कसरी छुनुपर्छ मलाई
कति हल्कासँग निचोर्नुपर्छ मलाई
कसरी अँगालो हाल्नुपर्छ मलाई
कसरी झार्नुपर्छ मेरो जीउबाट धुलो
तिमी जान्दैनौ—
म पाकिसकें कि काँचै छु
मलाई कहिले पानी चाहिन्छ
र, कहिले चाहिंदैन
तिमी जान्दैनौ—
कसरी टिप्नुपर्छ मलाई
जसरी टिप्दछन् उनीहरू
०००
तिम्रो गन्ध र तिम्रा गह्रुँगा बुट
तिमीले पिठ्यूँमा बोकेको धातु
र, तिम्रा धातुका डन्डीहरू !
हरे, लट्ठीको सट्टा धातुको डन्डीले
यो दुनियाँमा जैतुन कसले झार्छ ?
०००
तर, म हल्किन्छु पुनः
तिमी मलाई बुझ्दैनौ
बुझ्थ्यौ भने
प्रथमतः तिमी यहाँ हुँदैनथ्यौ
०००
तिमी आउँछौ र जान्छौ
म तिमीलाई सालमा एकदुई बाजी देख्छु
तिमी कि लट्ठी लिएर आउँछौ
कि आगोको लप्का
तिमी आएपछि म वर्षदिनै रोएर बस्छु
तर, एक दिन
मेरा हाँगाहरू हुर्कनेछन् ।
000