प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार
अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसन
अमेरिकी प्रतिनिधि सभाका सभामुख माइक जोनसनले राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोलाई युक्रेन युद्ध अन्त्य गर्न दिएको ५० दिने समयसीमा सकिएपछि मात्र कंग्रेसले रूसमाथि प्रतिबन्धको विषयमा निर्णय गर्नु उपयुक्त हुने बताएका छन् ।।
मंगलबार एक पत्रकार सम्मेलनमा सभामुख जोनसनले भने, “हामी रूसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल गर्दै थियौं। तर ह्वाइट हाउसले दिएको ५० दिनको समयसीमा पूरा नहुँदासम्म राष्ट्रपति, रक्षा मन्त्रालय, पेन्टागन लगायत सम्बन्धित निकायलाई आफ्नो काम गर्ने अवसर दिनुपर्छ।”
अहिले अमेरिकी सिनेटमा ८५ जना सांसदहरूले समर्थन गरेको एक प्रस्ताव पेश गरिएको छ, जसले रूसको तेल, ग्यास, युरेनियम तथा अन्य निर्यात किन्ने देशहरूमा ५०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने प्रावधान समेटिएको छ।
चीन र भारतजस्ता देशहरूले रूसको ऊर्जा व्यापारको झण्डै ७० प्रतिशत हिस्सा ओगटेका छन्, जसले युद्धमा आर्थिक सहायता पुर्याइरहेको अमेरिकी सांसदहरूको भनाइ छ।
तर, रिपब्लिकन नेताहरूले भने ट्रम्पको समर्थनबिना कुनै पनि प्रतिबन्धसम्बन्धी विधेयक संसदमा पेस नगरिने स्पष्ट पारेका छन्। राष्ट्रपति ट्रम्पले जुलाई १४ मा रूस र उसका तेल खरिदकर्ता देशहरूलाई कडा प्रतिबन्धको चेतावनी दिएका थिए तर मस्कोलाई युद्धविरामको प्रस्तावमा सहमत हुन ५० दिनको समय दिएका छन्।
सभामुख जोनसनले युद्ध अन्त्यको आवश्यकता औंल्याउँदै भने, “हामी त्यहाँ शान्ति चाहन्छौं। यो युद्ध धेरै लामो समयदेखि चलिरहेको छ। धेरै निर्दोष मानिसहरूको ज्यान गइरहेको छ। हामी अमेरिकाले अझ गहिरो रूपमा संलग्न होस् भन्ने चाहँदैनौं।”