प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार

सन् २०१४ मा पूर्वी युक्रेनमा युद्ध सुरु हुँदा ओलेना बिलोझेर्स्का र उनका श्रीमान् सन्तान जन्माउने योजनामा थिए। तर, युद्ध चर्किएपछि उनीहरू दुवैले मातृभूमि रक्षाका लागि लडाइँमा सहभागी हुने निर्णय गरे र सन्तानको सपनालाई थाती राखे।
जब ओलेना सेनाबाट फर्किइन्, उनी ४१ वर्षकी भइसकेकी थिइन्। चिकित्सकहरूले उनलाई स्वाभाविक रूपमा गर्भधारण हुने सम्भावना अत्यन्त न्यून रहेको बताए।
युद्ध चौथो वर्षतर्फ उन्मुख हुँदै गर्दा युक्रेनले गम्भीर जनसांख्यिक संकट व्यहोर्दैछ। मोर्चामा भइरहेको मानवीय क्षति, लाखौँ नागरिकको वैदेशिक पलायन र अनिश्चितताका कारण सन्तान जन्माउन डराएका दम्पतीहरूले गर्दा जन्मदर तीव्र रूपमा घटिरहेको छ।
प्रमुख जनसांख्यिक विज्ञ एल्ला लिबानोभाका अनुसार, युद्ध सुरु भएयता युक्रेनले करिब एक करोड मानिस गुमाइसकेको छ। यसमा युद्धमा ज्यान गुमाउने, विदेश पलायन हुने र रुसी नियन्त्रणमा रहेका क्षेत्रका नागरिकहरू समावेश छन्। “यो विनाशकारी अवस्था हो,” उनले भनिन्, “मानिसबिना कुनै पनि देश टिक्न सक्दैन।”
युद्धले लाखौँ महिलाको मातृत्वको सपना अधुरै बनाएको छ। ओलेनालाई आफ्नो अण्डाणुबाट सन्तान हुने सम्भावना ५ प्रतिशतभन्दा कम रहेको बताइएको थियो। उनले कठिन उपचारपछि प्राप्त भएको एउटै मात्र भ्रूणलाई राजधानीस्थित ‘नादिया’ प्रजनन केन्द्रको शीतभण्डार मा सुरक्षित राखिन्।
२०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेपछि उनी पुनः मोर्चामा फर्किनुपर्यो। उनले युद्धभूमिबाटै अस्पताललाई फोन गरेर आफ्नो भ्रूणको सुरक्षाबारे सोधपुछ गरिरहिन्। प्रजनन विशेषज्ञहरूका अनुसार युद्धको तनावले गर्दा सैनिकहरूमा शुक्रकीट र अण्डाणुको गुणस्तरमा ह्रास आउने र गर्भपतनको जोखिम बढ्ने समस्या देखिएको छ।
युद्धले हजारौँ महिलालाई विधवा बनाएको छ। इरिना इभानोभाका श्रीमान् (लडाकु विमान चालक) को सन् २०२५ अप्रिलमा निधन भयो। आफू गर्भवती भएको खबर उनले श्रीमान्लाई सुनाउनै पाइनन्। पछि जन्मिएकी छोरीको नाम उनले पहिले नै तय गरिएको ‘युस्तिना’ राखिन्।
युक्रेनले आधिकारिक तथ्याङ्क गोप्य राखे पनि अनुमानित एक लाखभन्दा बढी सैनिकको ज्यान गइसकेको छ। अधिकांश मृतकहरू सन्तान उत्पादन गर्ने उमेर समूहका भएकाले देश बिस्तारै ‘विधवा र टुहुराको मुलुक’ बन्दै गएको छ।
ओलेना बिलोझेर्स्का ४५ वर्षको उमेरमा युद्ध र पारिवारिक जिम्मेवारीबाट केही समयका लागि मुक्त भइन्। तीन वर्षदेखि सुरक्षित राखिएको भ्रूण प्रत्यारोपण गरिएपछि अन्ततः ४६ वर्षको उमेरमा उनले छोरा जन्माइन्। छोराको नाम पाभ्लुस बोहदान राखियो, जसको अर्थ ‘ईश्वरको उपहार’ हुन्छ।
राजधानीको ठिहीमा आफ्नो शिशुलाई काखमा बोकेर हिँडिरहेकी ओलेनाको आँखामा छुट्टै सन्तोष देखिन्छ। उनी भन्छिन्, “जब ऊ मुस्कुराउँछ, म आफ्ना सारा पीडा बिर्सिन्छु।”
युद्धले युक्रेनलाई जनशक्तिको संकटमा धकेले पनि ओलेना जस्ता केही आमाहरूका लागि नयाँ जीवनको सुरुवात नै आशाको अन्तिम किरण बनेको छ।