रास्वपाको असाधारण छलाङ


नेपालको राजनीतिक इतिहासमा स्थापित दललाई एकै पटक चुनौती दिएर मूलधारको राजनीतिमा प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चार वर्षअघि मात्रै स्थापना भएको हो। २०७९ असार ७ गते भएको रास्वपा निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो। यसले प्रतिनिधिसभा निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ सात सिट जितेको थियो। रास्वपाले समानुपातिकसहित २१ सिटका साथ संघीय संसद्मा प्रभावकारी उपस्थिति जनाएको थियो।

उक्त निर्वाचनमा रास्वपालाई ‘नयाँ पार्टीको प्रारम्भिक उत्साह’ भन्दै सामान्य घटनाका रूपमा हेरिएको थियो तर चार वर्षको छोटो अन्तरालमै यो पार्टीले नेपाली राजनीतिमा एउटा असाधारण छलाङ मारेको छ। यसपटक प्रत्यक्षतर्फका १६५ सिटमध्ये आइतबार रातिसम्म १२२ सिट जित्दै रास्वपा मुलुकको सबैभन्दा ठुलो दल बनेको छ। केही सिटमा अग्रता कायम रहेकाले अन्तिम नतिजा आउँदा सिट संख्या अझ बढ्ने देखिन्छ। समानुपातिक मतमा पनि रास्वपाले लोभलाग्दो अग्रता लिएको छ। त्यसले गर्दा संसद्मा दुई तिहाइ (१८४) को नजिक पुग्ने अवस्था देखिएको छ। रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकतर्फ ५० भन्दा बढी सिट ल्याउने आकलन गरिएको छ। यो परिणाम विगतको जस्तो केवल चुनावी जित मात्र होइन, नेपाली मतदाताले पुराना दलप्रति व्यक्त गरेको असन्तुष्टि र नयाँ विकल्पप्रतिको भरोसाको प्रतिविम्ब पनि हो । रास्वपाको यो असाधारण उभारको केन्द्रमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको जुगलबन्दी प्रमुख रहेको छ।

पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका लामिछानेले छोटो समयमै ठुलो जनसमर्थन जुटाएका थिए। पुराना दलले ३२ वर्षसम्म भ्रष्टाचार गरेको र भ्रष्टाचारको अनुसन्धान गर्न खोज्दा आफूहरूलाई दुःख दिएको विषयलाई यो चुनावमा मुख्य अजेन्डा बनाएर उनी अघि बढेका थिए। भ्रष्टाचारविरुद्धको कडा आवाज, प्रशासनिक सुधारको प्रतिबद्धता र वैकल्पिक राजनीतिक संस्कारको वकालतलगायत विषयले धेरै मतदातालाई आकर्षित गरेको देखिन्छ । निर्वाचन अभियानका क्रममा उनले देशका विभिन्न क्षेत्र पुग्दा युवादेखि ज्येष्ठ नागरिकसम्मको भिड देखिन्थ्यो। त्यो भिडले रास्वपाप्रति आशा र भरोसा राखेको पाइन्थ्यो।

अबकी बार बालेन सरकार

रास्वपाको लोकप्रियता धेरै उचाइमा पुर्‍याउने अर्को महत्त्वपूर्ण घटना थियो, काठमाडौंका निवर्तमान मेयर बालेन्द्र शाहको पार्टीमा आगमन। काठमाडौं महानगरपालिकाको नेतृत्व सम्हाल्दा उनले देखाएको दृढता र साहसले उनलाई राष्ट्रिय स्तरको लोकप्रिय व्यक्तित्व बनाएको थियो। जब बालेन्द्रले रास्वपामा औपचारिक रूपमा प्रवेश गरे, धेरै विश्लेषकले त्यसलाई नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत माने। लामिछानेको संगठनात्मक क्षमता र बालेनको व्यक्तिगत क्रेज मिल्दा पार्टीले अप्रत्याशित उडान लियो।

निर्वाचन अभियानमा जहाँजहाँ यी दुई नेता सँगै देखिए, त्यहाँ ठुलो भिड जम्मा भयो। युवा मतदाताहरू विशेष रूपमा उत्साहित देखिन्थे। रास्वपाले यस पटक प्राप्त गरेको परिणामले धेरैलाई अचम्ममा पारेको छ। ठुला र पुराना मानिएका दलका शीर्ष नेताहरूलाई मात्र होइन, दलीय नेताहरूलाई पराजित गर्दै रास्वपाका उम्मेदवारहरू विजयी भएका छन्। ‘अबकी बार बालेन सरकार’ भन्ने नाराले देशव्यापी महत्त्व लियो। त्यसले गर्दा नै उभार आएको देखिन्छ।

बालेन्द्रले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै गृह जिल्लमा करिब ५० हजारको मतान्तरले चुनावमा हराएर देशविदेशमा चर्चा कमाएका छन्। थोरै तर सटीक बोल्ने उनको कलाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनता मोहित बने। त्यसकारण देशभरिका विभिन्न निर्वाचन क्षेत्रमा पार्टीले उल्लेखनीय सफलता हासिल गरेको हो। पहिले असम्भवजस्तो लाग्ने ठाउँहरूमा पनि रास्वपाले जित निकालेको छ।

कतिपय क्षेत्रमा त परम्परागत राजनीतिक दलहरूको बलियो आधारसमेत भत्किएको देखिन्छ। यो परिणामले एउटा स्पष्ट सन्देश दिएको छ। नेपाली मतदाताले आमूल परिवर्तन चाहिरहेका छन्। रास्वपाले हराएका स्थापित शीर्ष नेताहरूमा केपी शर्मा ओली, शंकर पोखरेल, गगन थापा  नारायणकाजी श्रेष्ठ, प्रदीप यादव, प्रदीप पौडेल, राजेन्द्र महतो, उपेन्द्र यादव, महेन्द्र राय यादव, सिके राउत, विमलेन्द्र निधिलगायत थुप्रै छन्।

लामो समयदेखि सत्ता सञ्चालन गर्दै आएका दलप्रति धेरै नागरिक निराश थिए । भ्रष्टाचार, विकासको सुस्त गति, आन्तरिक गुटबन्दी र जनतासँगको दुरीलगायतका कारणले पुराना दलप्रतिको विश्वास कमजोर हुँदै गएको थियो। त्यसैबिच रास्वपाले आफूलाई ‘नयाँ विकल्प का रूपमा प्रस्तुत गर्‍यो। पार्टीका उम्मेदवारहरू प्रायः नयाँ अनुहार थिए। इन्जिनियर, चिकित्सक, युवा व्यवसायी, सामाजिक अभियन्तालगायत थिए। यो नयाँपनले धेरै मतदातालाई आकर्षित गरेको देखिन्छ । विशेष गरी युवा पुस्ताले रास्वपालाई उत्साहका साथ समर्थन गरेको विश्लेषण भइरहेको छ।

रास्वपाको अर्को विशेषता भनेको यसको देशव्यापी समर्थन हो । नेपालका धेरै दल क्षेत्रीय रूपमा बलिया हुन्छन् । कुनै दल पहाडमा बलियो हुन्छ कुनै मधेसमा। कुनै विशेष समुदायमा पनि बलियो हुन्छ तर रास्वपाको समर्थन भने लगभग सबै भूगोलमा फैलिएको देखिन्छ। हिमाल, पहाड र तराईका मतदाताले समान रूपमा पार्टीलाई समर्थन गरेको परिणामले देखाएको छ। यसले रास्वपालाई केवल ‘सहरी पार्टी’ वा ‘युवाको पार्टी’ भन्ने धारणालाई पनि चुनौती दिएको छ तर ठुलो जनमतसँगै रास्वपाको काँधमा ठुलो जिम्मेवारी पनि आएको छ। रास्वपाले अहिले प्राप्त गरेको समर्थन केवल उत्साहको परिणाम होइन, यो आम नेपाली जनताको अपेक्षाको संकेत पनि हो। मतदाताले पुराना दलबाट निराश भएर नयाँ विकल्प रोजेका छन् । अब त्यो भरोसालाई कायम राख्नु रास्वपाको सबैभन्दा ठुलो चुनौती हुनेछ । संसद्मा ठुलो शक्ति हासिल गरेपछि पार्टीले नीति निर्माण, सुशासन र विकासका क्षेत्रमा स्पष्ट परिणाम देखाउनुपर्ने अपेक्षा बढेको छ। यदि त्यो सम्भव भयो भने नेपाली राजनीतिमा नयाँ अध्याय सुरु हुन सक्छ

नयाँ पार्टीले सत्ता सम्हाल्दा उसले पुराना गल्तीहरू दोहोराउँछ कि नयाँ मानक स्थापित गर्छ भन्ने प्रश्न उठेको छ। पार्टी नेतृत्वले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई आफ्नो मुख्य अजेन्डा बनाएको छ। अब ती अजेन्डा व्यवहारमा कत्तिको कार्यान्वयन हुन्छ भन्ने कुरा हेर्न बाँकी छ।

मत गणना अन्तिम चरणमा

निर्वाचन भएकै दिन बिहीबार रातिबाट सुरु भएको मतगणना अझै जारी छ। प्रत्यक्षतर्फका १६५ सिटमध्ये १५९ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। आइतबार रातिसम्म रास्वपाले १२२ सिट जित्दा तीन वटामा अग्रता लिइरहेको छ । कांग्रेसले १७ सिटमा जित निकालेको छ भने एउटामा अगाडि बढिरहेको छ। एमालेले आठ सिट आफ्नो पक्षमा पार्दा एक सिटमा अग्रता कायम गरिरहेको छ । सात स्थानमा जित निकालेको नेकपाले एक ठाउँमा अग्रता बनाएको छ। श्रम संस्कृति तीन र राप्रपा एक सिटमा विजयी भएका छन् । स्वतन्त्रबाट म्याग्दीमा महावीर पुनले जितेका छन्।

समानुपातिकतर्फको मतगणना पनि तीव्र रूपमा अगाडि बढिरहेको छ। समानुपातिकमा पनि रास्वपा अगाडि छ। त्यसपछि क्रमशः कांग्रेस, एमाले, नेकपा र राप्रपा छन्। श्रम संस्कृति पार्टी पनि समानुपातिकमा थ्रेससहोल्ड कटाउन संघर्षरत देखिन्छ। प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नेले कुल सदर मतको ३ प्रतिशत कटाएको खण्डमा मात्र राष्ट्रिय दलको मान्यता पाउने कानुनी व्यवस्था छ । थ्रेसहोल्ड कटाउन कति मत चाहिने भन्ने टुंगो लाग्न बाँकी छ।      

प्रकाशित: २५ फाल्गुन २०८२ ०८:३७ सोमबार





Source link

Leave a Comment