सरकारले सिँचाइतर्फ ६ वटा आयोजनालाई राष्ट्रिय गौरवको आयोजना मानेको छ तर ती सबै आयोजनाहरूको प्रगति भने सुस्त छ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले भने आफ्नो प्राथमिकता अब राष्ट्रिय गौरवको सिँचाइ आयोजनाहरूको प्रगति बढाउन केन्द्रित हुने बताएका छन्। केही दिनअघि मात्र उनी विभागको नेतृत्वमा आएका छन्।
उनले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति तीव्र गतिमा अघि बढाउन अब मेरो ध्यान केन्द्रित हुने छ। भेरी बबइ सिँचाइ आयोजनाको काम दुई वर्षभित्रै सक्छौं। रानी जमरा सिँचाइ आयोजनाको तेस्रो चरणको काम सुरु भएको छ। दुई चरणको काम सकिएको छ। अन्य आयोजनाहरूमा कसरी भौतिक प्रगति अघि बढाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीर भएका छौं।’
विभागका एक उच्च कर्मचारीले राष्ट्रिय आयोजनाहरूको प्रगति सुस्त हुनुमा ६ वटा कारण औंल्याएका छन्। उनले भने, ‘पहिलो कुरा कर्मचारी तथा आयोजना प्रमुखहरूको सरुवा छिटोछिटो हुने गरेको छ । राजनीतिक अस्थिरता छ। मन्त्री फेरिने वित्तिकै अथवा मन्त्री परिवर्तन नभए पनि विभागका महानिर्देशक, आयोजना प्रमुख तथा अन्य कर्मचारीहरू अनवरत तवरले परिवर्तन गर्ने गरिएको छ। यसले काममा अवरोध गर्छ। काम गरिरहेका कर्मचारीमा निराशा ल्याउँछ।’
उनका अनुसार विद्यमान नियम, कानुन विशेष गरी वन कानुनको विषय राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजनाहरूको सन्दर्भमा एकनास प्रयोग हुनुपर्छ। ‘राष्ट्रिय गौरव भन्ने वित्तिकै जग्गा प्राप्ति, वन नियम लगायत अन्य कानुन र प्रक्रियामा केही छिटो छरितो (फास्ट ट्र्याक) मा हुने व्यवस्था हुनुपर्छ तर त्यस्तो हुन सकेको छैन। भन्नलाई मात्र राष्ट्रिय गौरवको आयोजना भन्ने गरिएको छ। यस्ता आयोजनामा विशेष व्यवस्था केही छैन’, उनले भने।
राष्ट्रिय गौरवका आयोजनाहरूमा ठेकेदारहरूले काममा ढिला सुस्ती गरेकाले पनि अपेक्षाकृत प्रगति हुन नसकेको हो। ठेकेदारहरूले तीन सिफ्टमा काम गराउनुपर्नेमा एक सिफ्टमा काम गराउने गर्छन्। ठेक्का लिने तर काम गराउन ढिला सुस्ती गर्ने प्रवृत्तिले प्रगति अघि बढ्न नसकेको विभागका कर्मचारीहरू बताउँछन्।
विभागका अर्का एक कर्मचारीका अनुसार राष्ट्रिय गौरवका आयोजना भन्ने गरे पनि प्रत्येक वर्ष प्रत्येक आयोजनाका लागि अर्थबाट स्रोत सहमति लिनुपर्छ। एकै पटक स्रोत सहमति लिएमा राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति अघि बढ्ने ती कर्मचारीको बुझाइ छ।
यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरूमा एकै पटक मास्टर प्लान (गुरु आयोजना) स्वीकृत भए भौतिक प्रगति प्रभावकारी हुने ती कर्मचारीको भनाइ छ। उनका अनुसार अहिले राष्ट्रिय गौरवका आयोजनाको मास्टर प्लान एकै पटक स्वीकृत हुने गरेको छैन। यस्तो प्रवृत्तिमा केही परिवर्तन हुन आवश्यक छ।
सिक्टा सिँचाइ आयोजना
आर्थिक वर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य लिइएको यस आयोजनाले ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ। यस आयोजनाको आर्थिक वर्ष २०८१/८२ सम्म भौतिक उपलब्धि ४२.२३ प्रतिशत पुगेको छ। २०८१ को फागुनसम्म पुलसहितको ३१७ मिटर लामो व्यारेज, ४५.२५ किमी लामो पश्चिम मूल नहर तथा पूर्वी मूल नहरको ५३.५ किमीमध्ये करिब ३७ किमि निर्माण काम पूरा भएको छ।
विभागका अनुसार यस आयोजनाअन्तर्गत हाल परुवा बाँध निर्माणकार्य पूरा भएको छ। नहरबाट सिँचाइ सम्भव नहुने ठाउँमा लिफ्टबाट सिँचाइ गरिने भएको छ। हाल उक्त काम पूरा हुने चरणमा छ।
हाल पश्चिम मूल नहरमा सामान्य मर्मत सम्भार गरी सहज रूपले पानी सञ्चालन भएको छ। यसैगरी पुरानो डुन्डुबा सिँचाइ प्रणालीसमेतबाट गरी करिब १७ हजार हेक्टर र पूर्वतर्फ करिब चार हजार हेक्टर गरी कुल २१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको छ।
रानी जमरा कुलरिया सिँचाइ आयोजना
आर्थिक वर्ष २०६५/६६ मा यस आयोजनाको सबै काम पूरा गर्ने लक्ष्य लिइएको थियो। यस आयोजनाले ३८ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुयाउने भएको छ। आर्थिक वर्ष २०८१/८२ मा यसको प्रगति ७४.७६ प्रतिशत पुगेको छ।
मूल नहरमा गेट जडानको काम तथा १४ किलोमिटर लामो लम्की शाखा नहर परीक्षण कार्य सम्पन्न भइसकेको छ। यसैगरी विद्युत् गृह निर्माण तथा ६ किमि प्रसारण लाइन सम्पन्न भइसकेको छ। यस आयोजनाबाट ४.७१ मेगावाटको जलविद्युत् उत्पादन भएको छ। साथै कृषि ग्रामीण सडकअन्तर्गत एक सय २० किमि सडक स्तरोन्नतिको काम तथा पथरैया नदीमा तीन वटा पुल निर्माणको काम पूरा भएको छ।
भेरी बबई बहुउद्देश्यीय आयोजना
यो आयोजना आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यस आयोजनाबाट सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका ११ चिप्लेस्थित भेरी नदीबाट १२.२ किमी लामो सुरुङ मार्फत ४० घनमिटर प्रतिसेकेन्ड पानी भेरीगंगा नगरपालिका ५ हुँदै बहने बबई नदीमा खसाल्ने लक्ष्य राखिएको छ। यो आयोजना सम्पन्न भएपछि ४६.८ मेघावाट विद्युत्समेत उत्पादन हुने बताइएको छ।
यसबाहेक बबई नदीमा उपलब्ध हुने थप पानीबाट तथा बर्दियास्थित बबई आयोजनाको बाँधको उपयोग गर्दै बर्दिया र अन्य जिल्लामा करिब ५१ हजार हेक्टर भूमिमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ। आव २०८१/८२ मा यस आयोजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ।
महाकाली सिँचाइ आयोजना
आर्थिक वर्ष २०६३/६४ बाट सुरु भएको यो आयोजना आव २०७७/७८ मा दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०८२÷८३ सम्म पहिलो चरण र आर्थिक वर्ष २०८२/८३ देखि आर्थिक वर्ष २०८७/८८ दोस्रो चरण सम्पन्न गर्ने लक्ष्य रहेको छ।
आव २०८१/८२ मा यस आयोजनाको भौतिक प्रगति २६.६० प्रतिशत पुगेको छ। २०८१ फागुनसम्म मूल तथा शाखा नहर निर्माण गर्न १०५ हेक्टर जग्गा अधिग्रहण भइसकेको छ। यसैगरी मूल नहर ३० किमि र शाखा नहर करिब १२ किमि निर्माणको काम पूरा भइसकेको छ।
सुनकोसी मरिन बहुउद्देश्यीय आयोजना
आर्थिक वर्ष २०७६/७७ मा सुरु भई आर्थिक वर्ष २०८५/८६ सम्ममा यस आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको मुख्य उद्देश्य बागमती सिँचाइ योजनाअन्तर्गत ४५ हजार ६ सय हेक्टर सिञ्चित क्षेत्र र बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाको कृषियोग्य जमिनमा गरी एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने रहेको छ। साथै, बहुउद्देश्यीय आयोजनाको रूपमा रहेको यस आयोजनाबाट ३१.०७ मेगावाट जलविद्युत् उत्पादन गर्ने उद्देश्यसमेत राखिएको छ। आव २०८१/८२ मा यस आयोजनाको भौतिक प्रगति ३६.८३ प्रतिशत मात्र पुगेको छ।
यस आयोजना अन्तर्गत हालसम्म रामेछाप र सिन्धुली जिल्लाको डुबानमा पर्ने जग्गामध्ये ४६.६१ हेक्टर जमिनको मुआब्जा वितरण भएको छ। यसैगरी मेसिनबाट १३.३.कि.मि. सुरुङ निर्माणको कार्य पूरा भइसकेको छ।
बबई सिँचाइ आयोजना
आव २०४५/४६ मा यस आयोजनाको निर्माण कार्य सुरु भएको थियो। आव २०८२/८३ मा यस आयोजनाको सबै काम पूरा गर्ने लक्ष्य राखिएको छ। यस आयोजनाबाट बर्दिया जिल्लाको ३६ हजार हेक्टर (पूर्वतर्फ २१ हजार हेक्टर तथाा पश्चिमतर्फ १५ हजार हेक्टर) कृषियोग्य जग्गामा बाह्रै महिना सिँचाइ सुविधा पुयाउने लक्ष्य रहेको छ।
यस आयोजनाबाट कृषि उत्पादन, उत्पादकत्व तथा रोजगारी वृद्धि हुने निश्चित छ। यस आयोजनाको कुल सिञ्चित ३६ हजार हेक्टर जग्गामध्ये हालसम्म पूर्वतर्फ १७ हजार हेक्टर र पश्चिमतर्फ नौहजार हेक्टर गरी २६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगिसकेको छ। आव २०८१/८२ मा यसको भौतिक प्रगति ८२.२७ प्रतिशत पुगेको विभागको भनाइ छ।
प्रकाशित: १ भाद्र २०८२ ०९:०२ आइतबार
