प्रकाशित मिति : माघ ५, २०८१ शनिबार
अमेरिकाको राजधानी वासिङ्टन डीसीका सडकमा हजारौं प्रदर्शनकारीहरूले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन ।
ट्रम्पको सपथ ग्रहणको दुई दिनअघि आयोजित यो प्रदर्शनमा अधिकांश महिला सहभागी थिए । ‘पिपुल्स मार्च’ नाम दिइएको यो आन्दोलन सन् २०१७ यता हरेक वर्ष आयोजित हुँदै आएको छ ।
यस वर्षको मार्च विभिन्न समूहहरूको सहकार्यमा आयोजना गरिएको थियो । जसले आफ्नो उद्देश्यलाई ‘ट्रम्पवाद’को सामना गर्नु भनेर परिभाषित गरेको छ ।
वासिङ्टन डीसीसँगै न्यूयोर्क सिटी र सिएटलजस्ता अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए। यो मार्च ट्रम्पको राजधानी आगमनसँग मेल खाएको थियो । जहाँ उनले सोमबार हुने आफ्नो सपथ ग्रहणअघि केही कार्यक्रमहरूमा भाग लिनेछन् ।
तर, यसपटकको पिपुल्स मार्चमा अघिल्ला वर्षहरूको तुलनामा कम संख्यामा मानिसहरू सहभागी भए । आयोजकहरूले ५० हजार जनाको अपेक्षा गरेका थिए । तर करिब ५ हजार जनामात्रै सहभागी भए।
आयोजकहरूका अनुसार यो मार्चले विभिन्न मुद्दा.आधारित रुचिहरू बोकेका समूहहरूको सहकार्यमा ट्रम्पको विरोध गर्न र विगतका सफलताहरूबाट प्रेरणा लिन खोजेको हो ।
शनिबार वासिङ्टन मोनुमेन्टमा थोरै संख्यामा ट्रम्प समर्थकहरू पनि देखिएका थिए ।
पिपुल्स मार्च पहिलो पटक सन् २०१७ मा ट्रम्पले हिलारी क्लिन्टनलाई पराजित गरेपछि आयोजित गरिएको थियो । ट्रम्पको पहिलो सपथ ग्रहणको भोलिपल्ट लाखौं महिलाहरूले प्रदर्शन गरेका थिए ।
यो आन्दोलन वासिङ्टन डीसीबाट बाहिरसमेत फैलिएको थियो । जहाँ महिलाहरूले ट्रम्पविरुद्धका सन्देशसहितका बोर्ड बोकेर प्रदर्शन गरेका थिए ।