२९ माघ, तनहुँ (दमौली) । तनहुँ दमौली बजारमा एउटा चोक छ, भोर्लेटार चोक । दमौलीको पृथ्वीरार्गबाट लमजुङको भोर्लेटारतर्फ छिर्ने चोकनेरै राखिएका गाडीबाट झरेर सहयोगीले चिच्याउँछन्, ‘काठमाडौं, काठमाडौं–जाने हो ?’
अलि माथितिर मानिसहरू चर्चा गरिरहेका छन्, कसलाई पठाउने त यसपाली, काठमाडौं ? पृथ्वीराजमार्ग हुँदै यही चोकलाई छिचोलेर दैनिक सयौं काठमाडौंको यात्रा तय गर्छन्, त्यसतर्फ मानिसहरुको खास चासो होइन । चासो त अबको चुनावमा कसलाई चुनेर काठमाडौं पठाउँदा यहाँका जनताले सुविधा पाउलान् भन्ने हो ।
जनताबाट चुनिएर यही बाटो भएर गएका रामचन्द्र पौडेल राष्ट्रपति भए । त्यसपछि चुनेर पठाएका प्रतिनिधि फर्किएर गाउँसहर नआउँदै चुनाव आइहाल्यो । फेरि उसैगरी भोट माग्दैछन् र मान्छेहरु चर्चा गर्दैछन्–यसपाली कसलाई भोट हाल्ने त ?
फागुन २१ हुने चुनावको मिति नजिकिए पनि दमौली बजार गर्माइसकेको छैन । चिया पसल, बसस्टप, २–४ जना मान्छे उभिएर चर्चा गरिरहेका भेटिए पनि चुनावी गर्मी चढिसकेको छैन । घरदैलो, चुनावी सभा तय भइसकेको छैन, उसैगरी तनहुँ–१ ले कसलाई चुनेर पठाउने स्पष्ट संकेत गरिसकेको छैन ।
तनहुँ–१ को चुनावी चर्चा र मतादाताको माहोल अलि भिन्न छ । २०७९ मंसिरको चुनावपछि अन्त दोस्रो पटक मत हाल्दैछन् भने तनहुँ–१ ले तेस्रो पटक ।
रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा देशको अर्थमन्त्री भन्दै मत मागेर स्वर्णिम वाग्लेलाई जिताएर पठायो । २०८४ सम्मका लागि ढुक्क भनेर भनेर पठाएका प्रतिनिधि र दलहरु २०८२ मै भोट माग्दै गाउँ फर्किएका छन् ।
भदौ २३ र २४ गतेपछि भएको जेनजी आन्दोलनबाट सिर्जित फागुन २१ को चुनावमा उम्मेदवारहरू फेरि गाउँसहर आइपुगेका छन् ।
तनहुँ–१ को उपनिर्वाचनबाट जितेर गएर राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णिम वाग्ले नै फेरि उम्मेदवार बनेर आएका छन् ।
अघिल्लोपाली नै अर्थमन्त्रीको नारा लागेको यो क्षेत्रमा रास्वपा सभापति रवि लामिछानेले अबको अर्थमन्त्रीका रुपमा बजेटको तयारी गर्न भनेपछि त्यही एजेण्डासहित निर्वाचन क्षेत्र छिरेका छन् ।
नेपाली कांग्रेसबाट अघिल्लो चुनावमा हार बेहोरेका नेता गोविन्द भट्टराई उम्मेदवार छन् । विशेष महाधिवेशनबाट बदलिएर आएको भनिएको गगनकुमार थापा नेतृत्वले पनि उनै गोविन्दलाई टिकट दिएको छ ।
गगनले अघिल्लो चुनावमै तनहुँ–१ मा आएर मन्त्री बनाउँछु भनेकाले अब कांग्रेसकै सरकार बनाउने र त्यसमा गोविन्द मन्त्री बन्ने एजेण्डा अगाडि सारिएको छ ।
नेकपा एमालेबाट संघीय मन्त्री बनेकी भगवती न्यौपानेलाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएर गाउँ पठाएका छन् । न्यौपाने एमाले र आफ्नै राजनीतिक प्रतिष्ठाका लागि भन्नै चुनाव जित्ने दाबी गर्दै मैदानमा उत्रिएकी छन् ।

नेपाली कम्युनिष्ट पार्टीले एमाले हुँदै एकीकृत समाजवादीबाट पछिल्लो एकतामा जोडिएका नेता विद्यानाथ ढकाललाई उम्मेदवार बनाएको छ ।
कांग्रेसबाटै कारबाही परेपछि पार्टीका पूर्वप्रभावशाली नेता, पूर्वमन्त्री गोविन्दराज जोशी समूहबाट उनका छोरा दीपकराज जोशी चुनावी मैदानमा छन् । राप्रपा, उज्यालो नेपालजस्ता पार्टीहरु पनि मत तान्ने कसरतमा छन् ।
यसपटक झनै पेचिलो र प्रतिस्पर्धामा बन्दै गरेको तनहुँ–१ मा राष्ट्रपति रामचन्द्रकै रस्तीबस्तीका मतदाता चाहिँ के भन्छन् त ?
भार्लेटारचोक हुँदै बैरेनी, कलेस्ती, रिस्ती खोला र बाहुनडाँडा आसपासका मतदाताहरुले आफ्ना कुरा राखेका छन् । चुनावी रुझानले जमिन छोइनसकेका बताएका मतादाताले राष्ट्रपति पौडेल, यसक्षेत्रको समस्या र भावी सपनाहरु भने सुनाएकन छन् ।
राष्ट्रपति पौडेलका बालसखा बैरनीका जंगबहादुर श्रेष्ठ जीवनमा दुई पटक भावुक बने । पहिलो पटक, बाहुनपोखराबाट कागती ल्याएर दमौलीमा बेच्दै राजनीतिमा होमिएका रामचन्द्र जब राष्ट्रपति बने ।
दोस्रो पटक देशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ७६ जनाको ज्यान लिँदै देश तहसनहस जब पौडेलले संविधान जोगाएको थाहा पाए ।

बाहुनपोखराबाट दमौली आउ–जाउ गरेका बाखसखा पौडेलले राजनीति थालेदेखि भोगेको कठिनाइ उनले नजिकबाट देखे । कांग्रेसबाट पटक पटक जितेर सांसद, मन्त्री भएका रामचन्द्र जब राष्ट्रपति बने, श्रेष्ठका आँखाबाट आँसु नै झरे ।
‘बाहुन पोखराबाट कागती ल्याएर बेच्थे । उनले कांग्रेसको राजनीति थाले पनि जन्मजात कांग्रेस, उनलाई नजिकबाट भोगेँ,’ ७९ वर्षीय श्रेष्ठले सुनाए, ‘तिनै पौडेल राष्ट्रपति बन्दा टिभी हेरेर ती दिन सम्झें । आफूलाई सम्हाल्नै सकिनँ आँसु नै झरे ।’
पौडेलको राजनीतिले न्याय पाए अनि तनहुँले राष्ट्रपति पायो भन्ने श्रेष्ठलाई लाग्यो । श्रेष्ठले राजनीतिक यात्रामा धेरै कठिनाइ भोगेको देखेका थिए । तिनै बालसखा राष्ट्रपति पदमा पुगेको देख्दा श्रेष्ठ पनि भावुक बने ।
अहिले तिनै पौडेलले देशको संविधान जोगाएर फेरि चुनाव हुने वातावरण बनाएको सुनेपछि श्रेष्ठ खुसी सुनिए । ‘मान्छेहरुले पौडेलले केही गरेनन् भन्थे । गाउँ, जिल्लामा उनले धेरै गर्न सकेनन् होला तर गर्दै नगरेका होइनन्,’ श्रेष्ठले भने, ‘उनले देश नै हेर्नुपथ्र्यो । अब उनले गर्न नसकेको काम जसले गर्न सक्छ, उनैलाई भोट देलान् ।’
बैरेनी हुँदै कलेस्ती बजार छेऊको एक घरको पिँडीमा विष्णु गुरुङ, सम्झना श्रेष्ठसहित ३ जना पिँडीमा बसेर कुराकानी गर्दै थिए । प्रत्येक चुनावले उनीहरुलाई पनि आशा बोकेर ल्याउँछ तर त्यो आशा लामो टिकेको छैन ।
कलेस्तीमा पनि सिँचाइको अभावले धेरै खेती गर्न नपाएको दुखेसो उनीहरुको छ । सिँचाइ नहुँदा लगाएको खेतीले खानमात्रै पुग्छ तर बिक्री गर्न पुग्दैन ।
मादी नदीबाट पानी तानेर फाँटमा सिँचाइ गर्ने एजेण्डा चुनावमा उठिरहन्छ तर सेलाउँछ । उत्पादन, रोजगारी र गाउँमै शिक्षा–स्वाथ्य राम्रो भइदिए हुन्थ्यो भन्ने उनीहरुलाई लाग्छ ।

त्यहीँबाट जितेर गएका राष्ट्रपति भए यसअघि पनि उनी मन्त्री पनि भए । त्योभन्दा अघि गोविन्दराज जोशी पनि मन्त्री भएकै हुन्, केही गरे पनि हुनन् तर आफ्ना समस्या उस्तै रहेको उनीहरुले सुनाए ।
फेरि चुनावमा भावी मन्त्रीको नारा लगिरहेको छ तर उनीहरुको आश कसले पूरा गरिदेला एकीन गर्न सकिरहेका छैनन् ।
‘घरमा आमा छोरा छौं, छोरी पोखरामा नर्सको काम गर्छिन् । श्रीमान १५ वर्षदेखि विदेशमा हुनुहुन्छ,’ विष्णुले सुनाइन्, ‘छोरा पनि विदेशै जाने होला ।’ यहीँ रोजगार भइदिए, सँगै त बस्न पाइन्थ्यो भन्ने उनलाई लागेको छ ।
चुनाव नजिकिँदै जाँदा राष्ट्रपति पौडेलको क्षेत्रमा हुन नसकेका कामका चर्चा पनि भइरहेकै छन् । मादी नदी किनारमै भएर पनि सिँचाइ नहुँदा जमिन सुख्खा हुँदाको दुख पनि गाउँलेसँग छन् ।
दमौलीदेखि लमजुङको दुईपिप्ले, भोर्लेटारतर्फको सडक ५० काे दशकअघि नै बनेकाे हो । ब्यासमार्ग नाम दिइएको यही सडकको सत्रसय पाताल भन्ने ठाउँबाट राष्ट्रपति रामचन्द्र पौडेलको गाउँ बाहुलपोखरा, पुलिमर्याङमा जाने सडकको ट्रयाक खुलेको पनि झण्डै ३ दशक पुगिसक्यो ।

लमजुङ र तनहुँको सीमा हुँदै बग्ने रिस्ती खोलाले किनारै किनार जाने यो सडक प्रत्येक चुनावमा एजेण्डा बन्छ तर आसपासका नागरिकका कथा भने बदलिएको छैन । रिस्ती वारी बाहुनपोखरा पारी सूर्यपाल टक्सार ।
जिता सातधारे, बगुवा कुन्छा र रम्घा दुईपिप्लेबीचको उपत्यकामा बहने रिस्ती खोलाको वारी–पारीको दु:ख भने फरक फरक छ ।
लमजुङतिरबाट भोर्लेटार, कुन्छा हुँदै बाहुनपोखरातिर जोडिने सडक पक्की भइसक्यो तर राष्ट्रपति पौडेलको गाउँतर्फ सहिद कालिका मार्ग पनि पक्की नहुँदा मतदाताको मन पनि खिन्न बनाएको छ ।
पौडेल पटक पटक मन्त्री र राष्ट्रपति बने पनि यो सडक नबन्दा प्रत्येक पटक चुनावमा यो विषय उठ्ने गरेको छ । अहिले पनि २० करोड रुपैयाँ लगातमा विभिन्न खण्डमा सडकको काम भइरहेको ब्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने बताउँछन् ।
सोतीवेशीका वासुदेव सोतीले भने अन्याय महसुस गरेका छन् । ‘राष्ट्रपतिको गाउँ बाहुनपोखराका मान्छे लमजुङ हुँदै पक्की सडक जान्छन् । हामी वरैका मान्छे यही बाटो हिँड्नुपर्छ । यस्तो अन्याय गरिएको छ कि बीचमा छोडेर काम भइरहेको छ,’ सोतीले भने, ‘पटक पटक जिताइयो, मन्त्री, राष्ट्रपति बने । तर, हाम्रो दु:ख उस्तै हुन् ।’

देशमा भ्रस्टाचार धेरै भयो, नेताहरुले पश्चाताप गरुन् भनेर देशमा जेनजी आन्दोलन भएको सोतीले बुझेका छन् । देशको राजनीति नयाँ मोडमा पुगेको उनी बताउँछन् ।
बाहुनखरामा राचमन्द्रको घर जीर्ण र एक पाखोमात्रै बाँकी छ । सांसद मन्त्री हुँदै राष्ट्रपतिसम्म पुगेका पौडेलले राजनीतिमा लागेर गाउँ छाडे । धेरै गाउँलेले असुविधाका कारण गाउँ छाडेका छन् । बाहुनडाँडामा पौडेलको सुझबुझकै कारण देशमा सविधान जोगाएर चुनावमा गएको र अब जित्ने उम्मेदवारको सुझबुझले गाउँवासीको आशा पनि जोगाइदिए हुन्थ्यो भन्ने उनीहरुलाई लागेको छ ।
‘चुनावका लागि कोही अहिलेसम्म भोट माग्न आएको छैन, पौडेलको गाउँ भनेर पनि हो कि !’ राष्ट्रपतिका पुर्ख्यौली घरका छिमेकी कृष्णचन्द्र पौडेलले भने, ‘यसअघि जिताएका गाउँ फर्केर आएनन् । योजना पारेनन् । अब फेरि चुनाव आएको छ । जनताले हिसाब राखेका छन् ।’
भूकम्पले भत्काएर एउटामात्रै कोठा बाँकी रहेको रामचन्द्र गाउँ फर्किन पुर्ख्यौली घरजग्गालाई तारबार लगाइरहेका छन् । राष्ट्रपति रामचन्द्रको गाउँ बाहुनपोखरी पुग्दा धेरै मतादाताले ठूला सपना सुनाएनन्, सडकसँगै शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर खोजेका छन् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
