विद्यालय शिक्षाका दुई महत्वपूर्ण परीक्षा एसईई र कक्षा १२ को नतिजाले हाम्रो देशको शिक्षाको अवस्थालाई फेरि एकपटक चित्रित गरेको छ । एसईईमा सामेल भएकामध्ये झन्डै आधा विद्यार्थी ननग्रेडेड भए अर्थात् ३५ प्रतिशतभन्दा कम अंक प्राप्त गरी माथिल्लो कक्षामा प्रवेश पाउन अयोग्य ठहरिए । कक्षा १२ को नतिजामा भने केही सुधार देखिए तापनि प्रचारयोग्य भने भएन । एसईईमा अधिकांश विद्यार्थी अंग्रेजी, गणित र विज्ञानमा असफल भए भने कक्षा १२ को नतिजामा पनि अधिकांश विद्यार्थी लेखा, अंग्रेजी, गणित र सामाजिकमा असफल देखिए । दुवै तहका परीक्षाका नतिजाले शिक्षाविद्देखि लिएर कक्षा कोठामा प्रवेश गर्ने शिक्षकसमेतलाई तरंगित बनाएको छ । यी दुवै नतिजाले हाम्रो शैक्षिक व्यवस्थापन, पठनपाठनका तौरतरिका, अनुगमन, मूल्यांकन एवं इमानदारितामाथि फेरि पनि प्रश्न उठाएको छ ।
परीक्षाको नतिजाले सबैभन्दा धेरै गाली र ताली शिक्षकले खेप्नुप¥यो । समाजको तल्लो तहदेखि जनप्रतिनिधिसम्मले शिक्षकको क्षमतामाथि प्रश्न उठाएको पाइयो । जबजब विद्यालय तहका नतिजा प्रकाशित हुन्छन्, त्यस समय भनेको शिक्षकलाई गाली गर्ने र नानाथरी आरोप लगाउने, आक्रोश पोख्ने समयका रूपमा बुझ्न थालिएको छ । शिक्षा गुणस्तरीय भएन । राम्रा शिक्षक ल्याउनै सकिएन र सिकाइ कमजोर भयो । शिक्षकले राम्रो पढाएनन् भन्नेजस्ता बहसले सडक र चियापसल गुञ्जायमान भएका छन् । यस्ता सडक र चियागफले के राम्रा शिक्षक कक्षाकोठामा प्रवेश होलान् त ? के शिक्षक मात्रै शिक्षाको गुणस्तर उकास्न जिम्मेवार हुन् ? राम्रा शिक्षक बनाउने कि जन्मिने हो ? यी र यस्ता धेरै अनुत्तरित प्रश्न हाम्रो समग्र शिक्षा प्रणालीमाथि वर्षौंदेखि घुमिरहेका छन् ।
राम्रा शिक्षक कि हाम्रा शिक्षक भन्ने विषयमा धेरै शैक्षिक क्षेत्रका जानकारको लामो बहस र छलफलले पनि आशालाग्दो सुधार आउन सकेको छैन । अन्तिम परीक्षाको नतिजालाई मात्र हेरेर टिप्पणी र आलोचना गर्ने हाम्रो संस्कारले शैक्षिक सुधारमा कुनै पनि दृष्टिकोणबाट सहयोग पुग्न सकेको छैन । यसका लागि निरन्तरको प्रयास, खबरदारी एवं अनुगमन गर्नु जरुरी छ ।
सेवापूर्व तथा सेवाकालीन तालिम तथा अभिमुखीकरणजस्ता गतिविधिले शिक्षकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ
देश समृद्धिको एउटा प्रमुख क्षेत्र शिक्षा सर्वस्वीकार्य विषय हो । देशको कुल बजेटको उल्लेखनीय प्रतिशत यस क्षेत्रको विकास र विस्तारमा खर्च गरिनुपर्छ । यसलाई चाहिने दक्ष जनशक्ति तयार पार्न त्यो बजेट पारदर्शी हिसाबले परिचालित हुनुपर्छ । आज गरेको त्यस लगानीले भोलिको समृद्ध र सुन्दर देश निर्माणमा कोसेढुंगा साबित होओस् । तर, हाम्रो शिक्षा क्षेत्रको बजेट र त्यहाँ कार्यरत जनशक्तिमा गरेको लगानी हेर्दा यो क्षेत्र सुध्रिन अझै धेरै वर्ष कुर्नुपर्ने देखिन्छ । अहिले गरिएको शैक्षिक पूर्वाधारको लगानीले अपेक्षाकृत नतिजा दिन नसक्नुका पछाडिको दोष शिक्षकको क्षमता र योग्यतामा गएर जोडिने गरेको छ ।
सबैले बुझेको र स्विकारिएको वास्तविकता के हो भने विद्यार्थीको सिकाइमा कुनै एउटा पक्षको मात्र भूमिका रहेको हुँदैन । शिक्षक एउटा महत्वपूर्ण र संवेदनशील पक्ष हो भने समुदाय, अविभावक, विद्यार्थीको मनोविज्ञान र निरन्तरको अनुगमन एवं उत्प्रेरणाले मात्र नतिजामा सुधार आउन सक्छ । शिक्षक एउटा व्यक्ति नभएर उसको क्षमता र कार्यकुशलताले सिकाइमा प्रभाव पारेको हुन्छ । शिक्षकमा रहेको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन नसक्ने हो भने नतिजा प्रकाशनपछि गरिने गाली र आलोचनाले मात्र परिवर्तन सम्भव छैन । बदलिँदो परिवेशअनुरूप शिक्षकमा भएका सम्भाव्यता र क्षमतालाई चिन्न र बुझ्न सकिएमा मात्र राम्रा शिक्षकको परिकल्पना पूरा हुन्छ ।
शैक्षिक क्षेत्रको हालसालै प्रकाशित तथ्यांकनुसार सबै तहका विद्यार्थीको सिकाइ उपलब्धि स्तर ५० प्रतिशत र सोभन्दा मुनि देखाएको छ । यसको दोष अब कसलाई दिएर पन्छिने ? के शिक्षक मात्र यसको पूर्ण जिम्मेवार पक्ष हो ? विद्यार्थीको सिकाइ स्तर न्यून हुनु वा उत्तीर्ण प्रतिशत न्यून हुनुमा शिक्षक मात्र दोषी हुने हो भने सम्पूर्ण शैक्षिक संयन्त्रको जिम्मेवारी बोकेर बसेको निकाय एवं यस क्षेत्रका विज्ञले बनाएका नीति, नियम र कानुनको पनि असफलता हो ।
विगत केही वर्षदेखि उच्च शिक्षा अध्ययनमा बिदेसिने विद्यार्थीको संख्या निरन्तर उकालो लागिरहेको छ । यसले एकातर्फ देशको अर्बौं रुपैयाँ उच्च शिक्षाका नाममा बिदेसिएको छ भने अर्काेतर्फ देशका उच्च शैक्षिक संस्थाहरू विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन् । यो सबै हुनुमा विद्यार्थीको कमजोर सिकाइ स्तर वा दक्ष शिक्षक नभएर वा उच्चशिक्षा अध्ययनपश्चात्को भविष्य अन्योलग्रस्त भएर हो ? यो सबै भनिरहँदा शिक्षक नितान्तै जवाफदेही छैनन् भन्न खोजिएको होइन । जिम्मेवार शिक्षक पनि छन्, तर सबै प्रणाली निष्प्रभावी हुँदा एक्लो शिक्षकले मात्र केही सक्दैनन् । यसमा अविभावकको पनि अहम् भूमिका हुन्छ । शिक्षक आफू पनि सक्षम र प्रतिस्पर्धी बन्न जागरुक हुनुपर्छ । र, सोहीअनुरूपको प्रणाली विकास गर्न सम्बन्धित निकाय क्रियाशील रहनुपर्छ । अनि मात्र हामीले भन्ने गरेको गुणस्तरीय शिक्षा र उत्तीर्ण प्रतिशतमा सुधार आउन सक्छ ।
शिक्षकको क्षमता विकास गरी जवाफदेही बनाउन बलियो प्रणालीको विकास गरी जिम्मेवार बनाउन सक्नुपर्छ । उसको वैयक्तिक चरित्र, विश्वास मूल्य र मान्यतासमेतलाई ख्याल गरेर अघि बढ्नुपर्छ । राम्रा शिक्षक बनाउने हो भने एउटा शिक्षकमा गरिने लगानी नै महत्वपूर्ण हुन्छ । सेवापूर्व तथा सेवाकालीन तालिम तथा अभिमुखीकरणजस्ता गतिविधिले शिक्षकको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्छ । क्षमता विकाससँग सम्बन्धित तालिम तथा गोष्ठीलाई समग्र शैक्षिक गुणस्तरको अभिन्न पाटोका रूपमा बुझ्न जरुरी छ ।
परीक्षाफल प्रकाशित हुँदा गाली गर्ने, नानाथरी आरोप लगाउने, आक्रोश पोख्ने, सडक र चियापसल गुञ्जायमान गराएर राम्रा शिक्षक आउँदैनन्
आवको अन्त्यतिर बजेट सक्नका लागि चलाइने त्यस्ता तालिम तथा अभिमुखीकरणले अपेक्षाकृत परिणाम आउन सक्दैन । स्पष्ट योजना र मार्गदर्शनसहित सञ्चालित कार्यक्रमले शिक्षकलाई जवाफदेही बनाउन सक्छ । यसका अतिरिक्त गुणस्तर सुनिश्चितता प्रत्यायन प्रणालीको विकास हुनु जरुरी छ । गुणस्तर मापनका आयामहरू स्पष्ट रूपमा परिभाषित नगरी हचुवाका भरमा गरिएको लगानीको प्रतिफल नआउन पनि सक्छ ।
शिक्षकको क्षमता विकासको प्रक्रिया निरन्तर रूपमा चलिरहनुपर्छ । शैक्षणिक पद्धति, पाठयोजना, सिकाइमा पुनर्बल, पाठ्यक्रम प्रवोधीकरण, खोज अनुसन्धान एवं शिक्षणमा सूचना प्रविधिको प्रयोगले शिक्षकलाई क्षमतावान् बनाउनेमा दुईमत छैन । भर्चुअल माध्यमबाट समेत ठूलो संख्यामा शिक्षकहरूलाई प्रशिक्षित गर्न सकिन्छ । यसका लागि माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी पाएको स्थानीय तहको सक्रियता बढ्नु जरुरी छ । स्थानीय तहको बजेटमा शिक्षाका लागि गरेको विनियोजनले राम्रा शिक्षक तयार पार्न ठूलो टेवा पुग्नसक्छ । यसका लागि स्थानीय सरकारले विभिन्न विश्व विद्यालयहरूसँग साझेदारी कार्यक्रममार्फत स्थानीय र क्षेत्रीय स्तरमा न्यून लागतमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी शिक्षकको क्षमता विकास गर्न सक्छन् ।
सिकाइसँग सम्बन्धित समस्या र समाधानका उपायहरूका ’boutमा गरिएका अध्ययन अनुसन्धानहरूले शिक्षकको क्षमता विकासमा सहयोग पुग्नसक्छ । शिक्षणलाई जागिरमुखी प्रवृत्तिबाट सुधार गरी पेसाप्रति उत्प्रेरित गर्न सक्नुपर्छ । यसका अलावा समयसमयमा हुने अध्ययन अवलोकन, भ्रमण, योग, ध्यान, स्वअध्ययन, सल्लाह, सुझावजस्ता क्रियाकलापले पनि राम्रा शिक्षक तयार पार्न मद्दत पुग्छ । कर्तव्य र उत्तरदायित्वको बोध भएमा मात्र विद्यालय शिक्षामा सुधार ल्याउन सकिन्छ ।
अन्त्यमा, हामी जे तर्क गर्छांै, जे विश्वास गर्छाैं, त्यो आफ्नै ठाउँमा छ । तर पनि गुणस्तरीय शिक्षाको एउटा महत्वपूर्ण पाटो भनेको शिक्षक नै हुन् । जति नै ठूला स्वरले गाली गरे पनि शिक्षकको समर्पण र त्यागले मात्र शिक्षाको गुणस्तर ल्याउन सकिन्छ । शिक्षकको क्षमता विकास एकपटकका लागि मात्र गरिने गतिविधि होइन, यो त एउटा विश्वव्यापी रूपमा स्विकारिएको योजनाबद्ध र निरन्तर प्रयासको प्रतिफल पनि हो ।
The post राम्रा शिक्षकको खोजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com – Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more….