कुनै समय ढलमतीको नामले चिनिने इच्छुमती अर्थात् टुकुचा पछिल्लो समय केही सङ्लिएको देखिन्छ। तर टुकुचा र त्यसको नाममा गरिने आरोपप्रत्यारोपले राजनीतिक रूपमा दुर्गन्धित बन्दै छ। काठमाडौं महानगरपालिका मेयर बालेन साहले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना कर्मचारीले एक साताभित्र तलब नपाए ‘सबैलाई टुकुचामा गाडिदिने’ अभिव्यक्तिले गालीगलौजको परकाष्ठा नाघेको छ।
सामाजिक सञ्जालमार्फत साहले विगत तीन महिनादेखि महानगरका सरसफाइ कर्मचारीहरूले तलब नपाएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए। उनले कर्मचारीको तलब रोकिएको अवस्था सरकारको दम्भका कारण भएको जिकिर गरेका थिए।
‘काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्, यो सरकारको दम्भले,’ उनले लेखेका थिए, ‘को कोले केके आन्दोलन गर्छन्, मलाई थाहा छैन। तर अबको एक साताभित्र हाम्रा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिन्छु।’ उनी त्यतिमा मात्र रोकिएनन्। राजनीतिक दलतर्फ संकेत गर्दै उनले लेखेका छन्, ‘त्यसपछि हेरौंला, तिमीहरूको के कस्तो तन्त्र छ।’
मेयर सहाले गरेको गाली ठुलो समूहसम्म पुग्दा यसको असर झनै भयावह देखिएको छ। उनको गालीयुक्त उक्त अभिव्यक्तिलाई शुक्रबार साँझसम्म दुई लाख ८७ हजार जनाले लाइक र डेढ लाख जतिले ‘माया’ गरेका छन्। त्यसमा आएका ८५ हजार प्रतिक्रियामा धेरैले उनकै समर्थन गरेका छन्।
साहले गाली कसलाई र किन गरेको भन्दा पनि नगरपिता मानिने उनको त्यो अभिव्यक्ति सभ्य समाज सुहाउँदो छैन। ‘हो, हामीलाई वर्तमान सरकारको काम मन परेको छैन। उनीहरूप्रति हाम्रो पनि आक्रोश छ,’ सामाजिक सञ्जालमा विनय पराजुली लेख्छन्, ‘तर तपाईंले लेख्नुभएको भाषा खेदजनक छ।’
एकअर्काको दम्भले समाज गालीगलौजमा उत्रेको पराजुलीको बुझाइ छ। ‘बरु सकिन्छ भने सबैले आ–आफ्नो दम्भलाई टुकुचामा गाडौं,’ उनले अगाडि लेखेका छन्, ‘त्यसपछि मात्र समाज साँच्चिकै खिलखिलाउनेछ।’
पराजुलीले यसो भन्दा त्यसप्रति मेयर साहको भनाइसँग सहमत हुनेहरू आक्रोशित देखिएका छन्। ‘अति भएपछि आक्रोशले पनि सीमा नाघ्छ,’ साहको समर्थनमा सामाजिक सञ्जलामा पुष्प कँडेल लेख्छन्, ‘यो असक्षम सरकारप्रति गरिएको आक्रोश हो।’
कतिपयले भने मध्यमार्गी प्रतिक्रिया दिएका छन्। ‘आफ्नो तर्क तथ्यमा आधारित रहेर शालीन, सौम्य शैली अनि भाषामा राखे हामीलाई पनि समर्थन र अनुमोदन गर्न थप सोचिरहनुपर्थेन कि!’ सामाजिक सञ्जालमा पत्रकार टीकाराम यात्री लेख्छन्, ‘बालेन साहज्यू आगे यहाँकै मर्जी!! शैलीमा सन्देह होला तर सारमा समर्थन छ!!!!’
बालेनको गालीको शृंखला यो पहिलो होइन। यसअघि पनि उनले सामाजिक सञ्जालमा सरकार र दलका नेताप्रति विभिन्न आक्रोश पोखेका थिए। कहिले सिंहदरबार जलाउने धम्की त कहिले सडक विभाग अगाडि नै फोहोर खसालेर उनले आक्रोश पोख्दै आएका छन्। तर उनको आवेग र आक्रोश नियन्त्रणमा आएको छैन।
बालेन मात्र होइनन्, मुलुकलाई समृद्धिको बाटोमा लैजान हिँडेका नेताहरू पछिल्लो समय एकअर्काको खिल्ली उडाउनैमा मस्त हुन थालेका छन्। उनीहरू पनि एकअर्काको गालीगलौज र चरित्र हत्यामा उत्रने गरेका छन्। नयाँ चेतना र सोचका साथ विचारलाई माझ्दै अग्रगामी दिशामा मुलुकलाई अगाडि बढाउने जिम्मेवारी लिएका अगुवा हुन्, नेताहरू। तर यिनै अगुवा तल्लोस्तरको गालीगलौजमा उत्रिँदा सर्वसाधारणमा निराशा छाएको छ। खासमा ‘राज’मा ‘नीति’ हाबी हुनुपर्ने हो तर पछिल्लो समय गाली सुनिन थालेको छ।
खासमा राजनीति अन्य नीतिभन्दा अब्बल र माथि हुनुपर्छ। यो नै फोहोर भयो भने अन्य क्षेत्र पनि धुमिल हुने उत्तिकै सम्भावना रहन्छ। नीति र सिद्धान्तभन्दा पनि व्यक्तिगत गालीगलौजमा नेतृत्व तह उत्रिँदा यसको असर समाजमा कस्तो पर्ला भन्नेतर्फ कोही पनि सचेत भएको देखिन्न। क्षणिक आवेगमा दिइने अंहकारी अभिव्यक्तिले विनम्र समाज पक्कै निर्माण गर्न सकिन्न।
‘उनीहरू के बोल्दै छु भनेर ख्याल गर्दैनन्, शब्द चयन फोहोरी जस्तो देखिन थालेको छ,’ सामाजिक परामर्शदाता डा. नम्रता पाण्डेय भन्छिन्, ‘उनीहरूमा विनम्रता कम अहंकार बढी देखिन्छ।’
कतिपय सर्वसाधारण असभ्य भाषा र असक्षम सरकार दुवैप्रति दुखित छन्। ‘विकास गर्न हिँडेकाहरू गालीमा उल्झँदा हामीलाई दुःख लागेको छ,’ टीकाथलीका शिवशरण थापा भन्छन्, ‘उनीहरूबाट भोलिको पिँढीले आशाभन्दा पनि निराशा बढी देख्न थालेको छ।’
जबसम्म आफ्ना कमजोरी स्वीकार गर्न सकिन्न तबसम्म आफू र समाजलाई सुधार्न सकिन्न। नेताहरू आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन्। उनीहरू आफूप्रति व्यक्त आक्रोशको प्रतिवाद गर्न खोज्छन्, तर्क गरेर जित्न खोज्छन्। ‘अरूलाई दोष देखाउने भन्दा आफ्ना कमजोरी नियाल्न सक्नुपर्छ,’ समाजशास्त्री डा. टीकाराम गौतम भन्छन्, ‘तर अहिलेसम्म आफ्ना कमजोरी नियाल्न खोजेको देखिन्न।’
‘खासमा ‘राज’मा ‘नीति’ हाबी हुनु पर्ने हो। तर पछिल्लो समय यसमा गाली सुनिन थालेको छ। नीतिमाथि बहसभन्दा पनि एकअर्कालाई गाली गर्ने राजनीतिले मुलुकलाई कहाँ पु¥याउने होला? गालीको शब्द चयन यति तल्लोस्तरको छ कि कुनै कार्यक्रममा आमनेसामाने भए भने तिनलाई आँखा जुधाउनसमेत लाज हुनुपर्ने हो। गाली गर्नकै लागि विगतका कमजोरी कोट्याउने चलन बढेको छ।
नीतिभन्दा तल व्यक्तिगत आलोचनामा ओर्लिएको गालीगलौजबाट परिवारका निर्दोष सदस्यसमेत पीडित हुन थालेका छन्। ‘कतिपय शब्द चयन त निकै लाजलाग्दो छ,’ डा. गौतम थप्छन्, ‘यसले नेपाली समाज कता जाला भन्ने डर बढाएको छ।’
पछिल्लो समय फरक दल मात्र हैन, आफ्नै दलका पनि फरकफरक समूहमा रहेका नेतामाथि प्रहार हुन थालेको छ। विगतमा व्यंग्यमा सीमित भाषण यतिबेला ठाडै गालिगलौजमा व्यक्त हुन थालेको देखिन्छ।
आफ्नो पक्षलाई साक्षात् ईश्वर र विरोधीमा रहेकालाई राक्षस ठान्ने प्रवृत्ति बढ्दो छ। कतिसम्म भने केही समयअगाडिसम्म लोकतन्त्रवादी, गणतन्त्रवादी र संघीयताका हिमायती भएका आज रातारात निरंकुश देखिन थालेका छन्। भगवान् ठानिएका एक्कासि राक्षसमा परिणत भएका छन्, अनि राक्षस ठानिएका भगवान्।
‘जब तर्क सकिन्छ तब गाली सुरु हुन्छ’ भनेजस्तै जब गाली बढ्छ तब यसले त्यो भन्दा अगाडिको बाटो समाउँछ। विवेकशील भनिएका नेताहरूले यो त पक्कै बुझ्नुपर्ने हो। छिमेकी मुलुक भारतमा त किन गाली गरेको भन्दै हात हालाहाल भएका घटना पनि थुप्रै छन्।
भोलिको अप्रिय अवस्थाबाट मुलुकलाई जोगाउन आजै केही गर्न सकिन्न र? राजनीतिमा नैतिकता, इमानदारी, धैर्यता र विश्वासको अलिकति पनि गुन्जायस नभएकै हो त ? ‘हैन, सुधारको ठाउँ जहाँ पनि रहन्छ,’ डा. नम्रता भन्छिन्, ‘तर सुिध्रनका लागि तयार हुनु पर्छ।’ बोल्नु अगाडि एक पटक म के बोल्दै छु भनेर सोच्ने गरे मात्र पनि गालिगलौजको मात्रा घट्ने उनी बताउँछिन्।
के हो पछिल्लो विवाद?
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं महानगरपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई मेयर साहले भ्रष्टाचारमा मुछिएको भन्दै छानबिन समिति बनाएर बिदामा राखेपछि विवाद सुरु भएको हो।
कुनै पनि स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको चेकबाट मात्र त्यो तहका विभिन्न विभाग र शाखामा रकम वितरण हुने गर्छ। तर प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले कर्मचारीको तलब रोकिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।
सामाजिक सञ्जालमा सोमबार पोखिएको मेयर साहको आक्रोश मंगलबार पनि थामिएन। उनले मंगलवार पुनः भ्रष्टाचारीलाई बचाउने सरकार भन्दै संघीय सरकारको आलोचना गरे। सँगै साहले प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगरद्वारा गठित समितिले गरेको छानबिनको प्रतिवेदन पनि सार्वजनिक गरे।
सामान्य प्रशासनमन्त्री चाहिँ प्रमुख प्रशासकीय अधिकृतले अनियमितता गरेको पुष्टि हुने छानबिन प्रतिवेदन मेयर साहले नपठाएकाले विवादको अवस्था आएको बताउँछन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले काठमाडौं महानगरमा संघीय सरकारले खटाएका कर्मचारी महानगरमै रहेको र उनीमाथि भएको छानबिनको प्रतिवेदन महानगरले मन्त्रालयलाई नदिएकाले अर्को व्यक्ति खटाउन नसकिएको बताए।
‘मन्त्रालयले कर्मचारी पठाएन भन्ने गरिएको छ। तर मन्त्रालयले त त्यहाँ पठाएकै छ,’ मन्त्री गुप्ताले भने, ‘ प्रतिवेदनमा कुनै कैफियत देखियो भने हामी २४ घण्टाभित्रै तान्छौं तर हामीले माग्दा पनि मेयरले प्रतिवेदन दिनुभएको छैन।’
उनले राज्य कर्मचारीको पनि अभिभावक भएकाले कानुनविपरीत गएर मन्त्रालयले कसैलाई फिर्ता नबोलाउने बताए।