कल्पना गर्नुस् त, जम्मा ७० लाख जनसंख्या रहेको कुनै देशमा १०० दिनकै अवधिमा १० लाख मानिसको हत्या भयो भने बाँचेकाहरूको हविगत कस्तो हुन्छ ? त्रसित जनता र रगत लत्पतिएको देशको अवस्था कस्तो हुन्छ ? कल्पना मात्रै गर्दा पनि शरीरमा काँडा उम्रन्छ । तर, अफ्रिकी देश रुवाण्डाले सन् १९९४ मा यो त्रासदी प्रत्यक्ष भोगेर आएको छ । अकल्पनीय जनधनको क्षति, द्वेषपूर्ण र विभक्त समाज, शून्य अर्थतन्त्र अनि जताततै खरानीको थुप्रो !
यस्तो अवस्थाबाट आफ्नो यात्रा शुरु गरेको रुवान्डा २० वर्षकै अवधिमा आफूलाई विश्व मानचित्रमा ‘अफ्रिकाको सिंगापुर’को रूपमा चिनाउन सफल भएको छ । रुवाण्डा विकसित मुलुक भइसकेको छैन तर त्यो पथमा अवश्य छ । तीव्रतर आर्थिक वृद्धि, तीव्र औद्योगिकीकरण र कृषिमा आधुनिकीकरण गर्ने दिशामा अघि बढिरहँदा रुवाण्डा अफ्रिकाको सफल राष्ट्र भने बनिसकेको छ । सन् २०५० को लक्ष्य तोकेर अतिविकसित देशको रूपमा दर्ज हुने जबर्जस्त यात्रामा छ ।
१० वर्षे सशस्त्र द्वन्द्व र २०६३ सालको शान्तिपूर्ण व्यवस्था उलटपलटको जगमा टेकेर शुरु भएको नेपालको लोकतान्त्रिक यात्रा पनि २० वर्ष पुग्नै लागेको छ । तर अहिलेसम्म नेपाल लयमा आउन सकेको छैन । रुवाण्डाले राष्ट्र विकासको लागि दीर्घकालीन दृष्टि बनायो, बहसलाई कम गर्दै परिणाममा जोड दियो ।
नेपालमा बहस मात्रै व्यापक भयो तर परिणाम भने न्यून । रुवाण्डाले आन्तरिक उत्पादनमा जोड दियो, नेपालले श्रमशक्ति पैठारीमा । रुवाण्डामा कानूनको डर मान्नुपर्ने अवस्था बनाइयो, नेपालमा कानून नै डराउनुपर्ने अवस्था बन्यो । रुवाण्डामा राज्यका निकाय र प्रशासनसँग अनुशासन छ, तर नेपालमा अनुशासन नै मुख छोपेर हिंड्नुपर्ने अवस्था रहेको छ ।
रुवाण्डाको सफलता कुनै चमत्कार होइन । यो भाषणको परिणाम पनि होइन । यो कठोर निर्णय, अनुशासन र निरन्तरताको नतिजा हो । सन् १९९४ को नरसंहारपछि रुवाण्डा असफल राष्ट्र भइसकेको थियो । दश लाख नागरिकको हत्या, राज्य संरचना ध्वस्त, जातीय दंगा, आपसी अविश्वास, शून्यमा झरेको अर्थतन्त्र, अन्तर्राष्ट्रिय समुदायको चर्को दबाबको बीचमा पल कागामे उदाए । उनले भावनामा होइन, प्रणालीमा हात हाले ।
सन् २००० मा राष्ट्रपति चुनिएका कागामेले पदभार सम्हाल्ने बित्तिकै विज्ञहरूको टोलीलाई विकसित देशहरूको प्रगतिको सूत्र अध्ययन गर्न पठाए । जुन कारणले जातीय हिंसा भड्कियो, त्यसलाई रोक्न जातीय परिचय बदलेर नागरिकहरूलाई रुवाण्डी परिचय दिलाए । कागामेलाई थाहा थियो, विकास राष्ट्रपति वा मन्त्रीले होइन ब्यूरोक्रेसीले गर्छ । नेतृत्वले थिति बसाल्ने हो, मन्त्री हाकिम नभएर समन्वयकर्ता हो भन्ने आभास हुने गरी काम गर्न अह्राए । त्यसले कर्मचारीतन्त्र राजनैतिक नियन्त्रणबाट मुक्त भयो ।
देश विकासको लागि दूरदृष्टि चाहिन्छ, त्यो जुनसुकै सरकार आए पनि परिवर्तन हुनुहुँदैन भन्ने मान्यता स्थापित गराए । जसको लागि उनले एक राष्ट्रिय योजना बनाए जसलाई सबै सरकारले मान्नुपर्ने थिति बसाले । सरकार बदलिए पनि प्राथमिकता बदलिंदैन, बजेट दिशाहीन हुँदैन, परियोजना रोकिंदैन भन्ने कुरा स्थापित गराए ।
नेपालमा नेताको अभाव कहिल्यै भएन तर नेतृत्वको अभाव सधैं भइरह्यो । यही शून्यतामा रवि-बालेन उदाएका हुन्
कागामेको सबैभन्दा प्रभावकारी काम हो, भ्रष्टाचारप्रति शून्य सहनशीलता । ओली, प्रचण्ड र देउवाले जस्तो ओठे सहनशीलता होइन, साँच्चिकै दण्डयोग्य । उनले आफ्नै पार्टीका नेताहरूलाई पनि जेल हाले, ‘मेरो मान्छे’ भन्ने संस्कार समाप्त पारे ।
नेपाल जस्तै ८० प्रतिशत निर्वाहमुखी कृषि प्रणाली रहेकोमा त्यसलाई आधुनिकीकरण गर्न जग हाले, देशको श्रमशक्तिको निर्यात होइन, त्यसको मूल्य निर्माण गर्नुपर्छ भनेर अर्थतन्त्र सबलीकरणको योजना बनाए । सीमित राजनैतिक स्वतन्त्रता र शक्ति केन्द्रीकरणका बाबजुद चुस्त निर्णय, नीतिको निरन्तरता, भ्रष्टाचार नियन्त्रण र चलायमान प्रशासनका कारण रुवाण्डा सफल भयो । अहिले जनसंख्याको बनोट र क्षेत्रफलका हिसाबले नेपालभन्दा असाध्यै सानो राष्ट्र रुवाण्डाको आर्थिक प्रगति दर नेपालको भन्दा तीन गुणा बढी छ ।
रोजगारी दर पनि उन्नत छ । व्यापार गर्न सकिने सूचकांकमा अफ्रिकाकै पहिलो स्थानमा रहेको रुवाण्डाले संसद्मा महिलाहरूलाई ५० प्रतिशत हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । वैदेशिक लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको रुवाण्डामा अमेरिका, चीन लगायत विकसित देशहरूले करोडौं डलर लगानी गरेका छन् । व्यापार व्यवसाय दर्ता प्रक्रिया कम झण्झटिलो बनाउँदै दुई दिनमै सम्पन्न गर्न सकिने बनाएपछि लगानी व्यापक भित्रिरहेको छ ।
कागामे बन्ने अवसर शुरुमा गिरिजाप्रसाद कोइरालालाई आएको थियो । उनले अन्तरिम संविधानमा अल्पमत र बहुमत राख्न जोडबल नगरेको भए नयाँ संविधान बन्न एक दशक लाग्ने थिएन । मुलुकलाई सही ट्रयाकमा जानबाट रोक्ने काम कोइरालाले गरे । त्यसपछि प्रचण्डको पालो आयो तर उनको अवसर केटाकेटीपनमै बित्यो । २०७४ मा केपी शर्मा ओलीलाई त्योभन्दा ठूलो अवसर आयो । त्यो अवसर अहंकारको डढेलोले भष्म बनायो ।
शेरबहादुर देउवालाई त अवसरको कहिल्यै कमि थिएन । नेतृत्व निदाएर बसे पनि देशको विकास क्रमिक र स्वत:स्फूर्त हुन्छ भन्ने हाइसन्चो मान्यताका नेता हुन् उनी । उनलाई फड्को मार्ने हतार कहिल्यै भएन, उनको उद्देश्य सात पटक प्रधानमन्त्री बनेर नाम लेख्नुबाहेक अर्थोक केही थिएन । जेहोस्, चारै शीर्ष नेताहरूले एकसे एक अवसर गुमाए र असफल भए ।
अब त्योभन्दा ठूलो अवसर कसैलाई आउँदैछ भने त्यो रवि लामिछाने र बालेन शाहलाई हुनेछ । त्यसमा कुलमान घिसिङ र डा. स्वर्णिम वाग्लेले आर्किटेक्टको काम गर्न सक्छन् । पछिल्लो घटनाक्रमले रवि, बालेन र कुलमान एउटै रथका सारथि भएका छन् । उनीहरूका आफ्नै विशेषता छन् ।
नेपालमा नेताको अभाव कहिल्यै भएन तर नेतृत्वको अभाव सधैं भइरह्यो । यही शून्यतामा रवि लामिछाने उदाएका हुन्– कुनै वंश, कुनै परम्परागत पार्टी संरचना र कुनै राजनीतिक उत्तराधिकार विना । उनले सत्ताभन्दा अघि विश्वास कमाए ।
जनतामा रहेको विश्वासले सत्ता जन्माउँछ । रवि राष्ट्रिय राजनीतिमा जबर्जस्त पदार्पण गर्दैगर्दा त्यसअघि नै स्थानीय सत्ताको बागडोर सम्हालेका बालेन शाहले कठोर शहरी व्यवस्थापनको नीति लागू गर्न शुरु गरिसकेका थिए । उनले देखाएको स्पष्ट रोडम्याप के हो भने नेतृत्वमा भ्रष्ट आचरण भएन भने स्थानीय सरकार पनि शक्तिशाली र प्रभावकारी हुनसक्छ ।
दलीय सिन्डिकेट तोडेर स्थानीय सत्तामा विराजमान बालेन शाह बोल्नेभन्दा काम गरेर देखाउने प्रवृत्तिका व्यक्ति हुन् । केही स्वभाव सिंगापुरका ली क्वान यूसँग मिल्ने बालेन आलोचना र दबाब बीच पनि निर्णयबाट पछि नहट्ने स्वभावका छन् भने प्रत्यक्ष जनसम्पर्कबाट अलिक टाढा रहे पनि योजनाको इन्जिनियरिङका दृष्टिमा अब्बल छन् ।
बालेनमा अलोकतान्त्रिक चरित्र होला, तर पनि काठमाडौं महानगरमा अघिल्ला मेयरको पालामा जस्तो अनियमितता, भ्रष्टाचार, लफडा र ढिलासुस्ती भएको छैन । अर्थात्, काठमाडौं अपेक्षित सुधारमा ढिला छ होला तर गलत बाटोमा छैन । भावी प्रधानमन्त्रीको रूपमा घोषित बालेन शाह प्रधानमन्त्रीमा निर्वाचित भएसँगै निरकुंश बन्न खोजे पार्टीले उनलाई लोकतान्त्रिक बाटोमा हिंड्न लगाउनेछ नै ।
रवि र बालेन ती प्रतिनिधि पात्र हुन् जसले दशकौंदेखि जरा गाडेर बसेको तीनदलीय सिन्डिकेट तोड्ने प्रयास गरे । एउटा केन्द्रीय सत्तामा र अर्को स्थानीय सत्तामा हस्तक्षेपकारी भूमिकामा हुँदा देखिएको सामान्य परिवर्तनले जनतामा ठूलो आशा पलाएको हो । हुनत सत्ता जन्मिंदैमा राष्ट्र निर्माण भइहाल्दैन, राष्ट्र त सही समयमा सही निर्णय क्षमताले निर्माण हुन्छ ।
पार्टीको आन्तरिक कलह, अन्तरपार्टी लडाइँ र निर्णय क्षमताको अभावमा ओली, प्रचण्ड र देउवाहरू असफल रहे । उनीहरू नीतिमा चलेनन्, भागबण्डामा चले । दीर्घकालीन योजना होइन, आफ्नो कार्यकालमुखी सोच मात्रै बनाएर काम गरे जसले गर्दा नेपाल एक पाइला अघि बढ्ने तर दुई पाइला पछि सर्ने जस्तो अवस्था बन्यो ।
इतिहासले के देखाउँछ भने, राष्ट्र रूपान्तरण गर्न नेता राजनीतिज्ञ नै हुनुपर्छ भन्ने छैन । दृष्टि, नैतिकता र निर्णय क्षमताले ठूलो भूमिका खेल्छ ।
नेपालको राजनीतिमा समस्या नयाँ होइन, तर नेतृत्वको खडेरी भने गहिरिंदै गयो । यही खडेरीको बीच २०७९ को स्थानीय चुनावमा बालेन र आम चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले आकर्षक मत प्राप्त गर्यो । बालेन र रास्वपाका सभापति रवि लामिछाने संस्थापनविरोधी आवाज, जनआक्रोशको प्रतिनिधि र परम्परागत राजनीतिप्रतिको असन्तुष्टिको प्रतीक बने । दुवै लोकप्रिय बने । तर इतिहासले एउटा कठोर सत्य उजागर गरेको छ, लोकप्रियता सत्तामा पुग्ने सिंढी हुन सक्छ; राष्ट्र बदल्ने औजार हुन सक्दैन ।
लोकप्रियताकै आवरणमा युक्रेनमा जेलेन्स्कीको सत्ता जन्मियो तर समस्या झन् गहिरो भयो । भूराजनीतिक भुमरीमा परेको युक्रेन जस्तै नेपाल पनि रणभूमि बन्छ कि भन्ने डरमा बालेन र लामिछानेमाथि बेला–बेला ‘जेलेन्स्की प्रवृत्ति’ भन्दै आरोप लाग्ने गरेको छ । जेलेन्स्कीले सिक्नका लागि विश्व अनुभव थिएन वा उनी आफैंले जानेनन्, उनै जानून् तर बालेन र रवि लामिछानेमाथि ‘जेलेन्स्की’ को आरोप लागिसकेपछि अब पक्कै उनीहरू सचेत हुनेछन् र नेपाल युक्रेन बन्ने छैन ।
नेपाली राजनीतिमा दशकौंपछि दुई यस्ता पात्र देखिएका छन्, जसले सत्ता होइन प्रणालीसँग प्रश्न गरे । एक जना स्थानीय शासनमा र अर्को राष्ट्रिय राजनीतिमा उदाए जसको एउटै संकेत हो– पुरानो पार्टी संस्कृतिप्रति जनताको अस्वीकार ।
सिंगापुरका आर्किटेक्ट ली क्वान यू पनि वकिल पेशा छोडेर राजनीतिमा आएका थिए । जर्मनीकी पूर्व चान्सलर भौतिकशास्त्रकी वैज्ञानिक थिइन्, चेक रिपब्लिक बनाएका भाक्लाभ हावेल पनि लेखक तथा नाटककार थिए । जापानका शिन्जो आबे पनि प्रशासनिक पृष्ठभूमिबाट राजनीतिमा आएका थिए । इतिहासले के देखाउँछ भने, राष्ट्र रूपान्तरण गर्न नेता राजनीतिज्ञ नै हुनुपर्छ भन्ने छैन । दृष्टि, नैतिकता र निर्णय क्षमताले ठूलो भूमिका खेल्छ । सञ्चारकर्म र गीत–संगीत तथा इन्जिनियरिङको क्षेत्रबाट राजनीतिमा उदाएका रवि र बालेनलाई पनि विगतको पेशाका आधारमा मूल्यांकन गरिनुहुँदैन ।
ली क्वान यूले सिंगापुरलाई भाषणले होइन, संस्थागत सुधार गरेर अब्बल बनाए । उनको सन्देश स्पष्ट थियो– पहिले राज्य सक्षम बनाऊ, लोकतन्त्र आफैं बलियो हुन्छ । साधनस्रोतविहीन, जातीय रूपमा विभाजित र गरिब बन्दरगाहको परिचय बनाएको सिंगापुरलाई विश्वकै सक्षम, स्वच्छ र प्रतिस्पर्धी राष्ट्र बनाउन ली क्वान यूले योग्यतामा आधारित शासन चलाए, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाए, दीर्घकालीन दृष्टि र नीतिलाई निरन्तरता दिए ।
कागामे र ली क्वान यूले फरक–फरक बाटोबाट आफ्नो देश बनाए । तर एउटा समानता के हो भने दुवैले आफ्नो करिश्मालाई राज्य पुनर्संरचनाको मोडेलसँग जोडे, जनउत्तरदायी तथा पारदर्शी शासनपद्धति अपनाए, दूरदृष्टिलाई मन्त्र बनाए । आफ्नो कार्यकाल मात्रको लागि नीति बनाएनन् । संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रामा रहेको नेपाललाई रवि र बालेनले पनि आफ्नो र पार्टीको करिश्मालाई संस्थागत सुधारसँग जोड्न सके भने नेपालले छोटो समयमै छलाङ मार्नेछ ।
रवि र बालेनसँगको सहयात्रामा जोडिएका कुलमान घिसिङलाई अमेरिकाका पूर्व राष्ट्रपति हर्बर्ट हुभरसँग तुलना गर्न सकिन्छ । हुभर एक उत्कृष्ट इन्जिनियर र व्यवस्थापक थिए । युरोपमा खानी इन्जिनियरिङमा क्रान्ति नै गरेका हुभरले ठूला पूर्वाधार परियोजनाहरूको सफल नेतृत्व गरेका थिए । दोस्रो विश्वयुद्धअघि अमेरिकाका राष्ट्रपति बनेका हुभर सफल राजनीतिज्ञ भने बन्न सकेनन् । महामन्दीको बेला बजार आफैं ठिक हुन्छ भन्ने विश्वासमा सरकारी हस्तक्षेप गर्न ढिला गर्दा उनीमाथि जनताको विश्वास गुम्यो र रुजबेल्टले नेतृत्व हत्याए ।
नेपाल विद्युत् प्राधिकरण सुधारमा सफल कुलमान घिसिङले देखाएको ‘डेटा ड्रिभन’ शैली राजनैतिक क्षेत्रमा पर्याप्त हँुदैन । राजनीतिमा संवेदनशीलता, संवाद र धैर्य उत्तिकै महत्वपूर्ण हुन्छ । नेपाल जस्तो असमान र कमजोर अर्थतन्त्रमा प्राविधिक समाधान मात्रले पुग्दैन । हुभर प्रशासकका रूपमा प्रभावशाली थिए तर भावनात्मक नेतृत्वमा असफल रहे । हुभरका सबल पक्ष र कमजोरीबारे पर्याप्त अध्ययन गर्न कुलमान घिसिङलाई समय छ ।
हुभरको नाम असफल राष्ट्रपतिको रूपमा चिनिए पनि विश्व चर्चित र सफल परियोजना हुभर ड्यामका लागि उनी प्रख्यात छन् । उनको सीप र कौशल जस्ता सकारात्मक पाटोलाई घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार मार्फत लागू गराउन सके भने उनको नाम पनि स्वर्ण अक्षरले लेखिनेछ ।
नेपाली समाज कसैमाथि आरोप लगाउन र कुनै व्यक्तिको विवादास्पद छवि बनाइदिन ढिला गर्दैन । समाजको यो कुण्डली बुझेर तीन युवा नेताहरू सम्हालिंदै अघि बढ्दा असम्भव कुरा पनि सम्भव हुन सक्छ ।
रवि, बालेन र कुलमान मिलेर नेपालको मार्गचित्र कोर्नुपर्नेछ तर त्यसका लागि राजनीति गर्र्ने तरिका भने बदल्नैपर्छ । व्यक्तिगत इगो र प्रतिशोधलाई पाइतालाले कुल्चनुपर्नेछ । पछिल्ला घटनाक्रम अनुसार रविलाई पार्टी र बालेनलाई सत्ताको बागडोर सम्हाल्ने जिम्मेवारी आउने सम्भावना नकार्न सकिन्न । यो मिलन स्वार्थको गठजोड नबनोस् । उनीहरू प्रतिस्पर्धी होइन, एकअर्काका पूरक बने भने नेपालको राजनीतिक इतिहासमा एउटा टर्निङ पोइन्ट आउनेछ ।
