मेरो सहकर्मी थिइन् आभा सुवेदी । हाल उनी क्यानडा बस्छिन् । स्वर मीठो भएकोले उनी हामीसँग काम गर्नुका साथै कान्तिपुरकी कार्यक्रम प्रस्तोता पनि थिइन् । म बच्चु कैलाशको फ्यान भएको हुँदा उनका गीतहरू उपलब्ध गराउन अनुरोध गरें । त्यतिबेला अहिले जस्तो सजिलै युट्युबमा उपलब्ध थिएनन् ।
बच्चु कैलाशको नाम लिने बित्तिकै उनले एउटा प्रसंग उल्लेख गरिन् । उनले रातिको समयमा कार्यक्रम चलाउँथिन् । एक दिन उनलाई पनि बच्चु कैलाशको गीतसँगै उनीसँग लाइभ कुराकानी प्रसारण गर्न मन लागेर फोन सम्पर्क गरिछन् तर बच्चु कैलाशले कार्यक्रममा बोल्न पटक्कै मानेनछन् । उनले भनेछन्, ‘म जहाँ जे छु, यहीं ठीक छु । म सार्वजनिक हुन चाहन्नँ ।’
अहिलेको पुस्तालाई त बच्चु कैलाश को हुन् भन्नेसम्म पनि थाहा नहोला तर नारायण गोपाललाई भने सबै पुस्ताले चिन्छन् । बच्चु कैलाश नारायण गोपाल जति उचाइमा नपुगे पनि उनका समकालीन गायक हुन् र मेरो विचारमा उनी नेपाली सुगम संगीतका एउटा कालजयी गीतहरूका स्रष्टा ।
उनका सर्वकालिक धेरै गीत छन् जुन गीतहरू कहिलेकाहीं सुन्ने र गुन्गुनाउने गर्छु । हाम्रोमा उखानै छ, बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन अर्थात् जो प्रचारप्रसारमा आउँदैन, ऊ विस्मृतिको आकाशमा हराउँदै जान्छ ।
बच्चु कैलाश जस्तै विकासे क्षेत्रका एक जना व्यक्तित्व हुन् रमेश सिंह मल्ल जोसँग मैले आफ्नो व्यावसायिक जीवनमा करिब ४ वर्ष सँगै बिताउने अवसर पाएँ ।
नेपालमा बहुदलीय व्यवस्था सन् १९९० मा आयो, त्यतिबेलाका राजनैतिक शक्तिहरू खासगरी कांग्रेस र एमालेहरूसँग देशलाई समग्र रूपमा कसरी अगाडि बढाउने भन्ने कुनै खाका थिएन र हालसम्म पनि त्यस्तो खाका केही देखिंदैन ।
पञ्चायतकालभरि राजा सर्वेसर्वा थिए । उनलाई विस्थापित गरी शासन सत्तामा हालीमुहाली गर्नु नै राजनैतिक पार्टीहरूको अभीष्ट देखिन्थ्यो ।
पञ्चायतको अन्त्यसम्म नेपालमा २० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू तत्कालीन महारानी ऐश्वर्यको नेतृत्वमा भएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् अन्तर्गत कार्यरत थिए । मेरो अनुभवमा धेरै त्यस्ता संस्थाहरू सम्बन्धित देशका प्रगतिशील तथा वामपन्थी शक्तिहरू हुन् र कैयौं अर्थमा परिवर्तनकामी पनि ।
किनभने कैयौं आम जनता तथा गरिबमुखी नीतिहरूको पैरवी तथा उनीहरू विरुद्धको मुद्दामा पूँजीवादी देशका ठूल्ठूला संस्थाहरूलाई खबरदारी मात्रै गर्दैनन्, उनीहरूलाई सच्चिन समेत बाध्य गराउँछन् ।
यस्तै गैरसरकारी संस्थामा कार्यरत कार्यकर्ताहरूले अमेरिकाको सियाटल भन्ने शहरमा विश्व व्यापार संगठनको कार्यक्रममा प्रदर्शनको क्रममा ज्यान समेत गुमाएका थिए ।
खासगरी कम्युनिस्ट शक्तिहरूले यस्ता गैरसरकारी संस्थाहरूले पूँजीवादका एजेन्ट वा दलाल मान्छन् तर मेरो अनुभवमा पूँजीवादका विकृति र विसंगतिहरूलाई सच्याउन काम गर्ने यिनीहरू अभियन्ता हुन् ।
२०४६ सालको परिवर्तनले जनतालाई लोकतन्त्र त दियो तर त्यसलाई जनतासम्म पु¥याई विकासमा साझेदार बनाउने यिनीहरूको भूमिका छ भन्दा अत्युक्ति हुँदैन ।
बहुदलीय व्यवस्था पुनस्र्थापित भएर कृष्णप्रसाद भट्टराईको नेतृत्वमा सरकार बनेपछि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्मा ठूला परिवर्तनहरू त तत्कालै भएन, तत्कालीन गाउँ पञ्चायतको नाउँ गाउँपालिका र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई नियमन गर्ने संस्थाको नाउँ समाज कल्याण परिषद् बन्यो ।
तर पनि त्यसले गैरसरकारी क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने विषयमा खासै सोच ल्याएको थिएन । सन् १९९२ मा नेपालमा पहिलो पटक एक्सन एड भन्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको राष्ट्रिय निर्देशकको रूपमा विराटनगर जन्मथलो भएका तथा इथियोपियामा एक्सन एडकै राष्ट्रिय निर्देशक भएका रमेश सिंह नेपाल आए ।
त्योभन्दा अगाडि सो संस्थामा केवल बेलायती, त्यसमा पनि सेतो छाला भएका व्यक्तिहरू राष्ट्रिय निर्देशक हुन्थे । उनी पछि धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा नेपालीहरूले नै नेतृत्व गर्ने परिपाटी बस्यो जुन यद्यापि कायम छ ।
गैरसरकारी संंस्थाहरूलाई नियमन गर्ने समाज कल्याण परिषद्ले त्यस्तो नीति नल्याउँदै रमेश सिंहले अब उप्रान्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले समुदायमा सीधै काम नगर्ने, यदि काम गर्ने हो भने स्थानीय गैरसरकारी संस्थाहरूलाई साझेदार बनाएर काम गर्नुपर्ने नीति ल्याए र सो संस्था कार्यरत रहेका ४ वटा जिल्लाहरूमा आफ्नो सीधा काम छोड्दै गैरसरकारी संस्थाहरूलाई साझेदार बनाउने नीति लिए ।
त्यसको करिब एक वर्षपछि समाज कल्याण परिषद्ले त्यस्तै नीति लागू ग¥यो जसको फलस्वरूप नेपाली गैरसरकारी संस्थाहरूको बाढी नै आयो । अहिले यो क्षेत्रले ४ लाखभन्दा बढी रोजगारी दिएको अनुमान गरिन्छ । त्यसको अलावा सामाजिक विकासका विभिन्न आयाममा उनीहरूले जनतासमक्ष काम गरेका छन् ।
हामीलाई स्मरण नै छ, माओवादी विद्रोहको १० वर्षे कालमा तिनै गैरसरकारी संंस्थाहरू थिए जसले सेना, प्रहरी तथा माओवादी लडाकुहरूको चेपुवामा समेत जनताबीचमा काम गरेका थिए । किनभने सरकारी निकायहरू सबै सदरमुकाम केन्द्रित हुन बाध्य भएका थिए ।
नेपालमा सहभागितामूलक पद्धतिलाई प्रभावकारी रूपमा लागू गर्दै विकास गर्ने उद्देश्यले रमेश सिंहको विशेष पहलमा नेपान भन्ने संस्थाको गठन भएको थियो र त्यसको संस्थापक अध्यक्ष स्वयं रमेश थिए ।
कुनै समय सहभागितामूलक पद्धति अर्थात् पीआरए जानेन भने विकासे कार्यकर्ता नै नभइने अवस्था पनि सृजना भएको थियो । यो सहभागितामूलक पद्धतिका औजारहरूलाई प्रयोग गर्दै सबैभन्दा गरिब घरधुरी पत्ता लगाउने काम विश्व बैंकबाट सहयोग प्राप्त तथा नेपाल सरकारबाट सञ्चालित गरिबी निवारण कोष कार्यक्रमले गरेको थियो र अर्बौं रुपैयाँ गरिबी निवारण कार्यक्रममा खर्च गरेको थियो ।
रमेश सिंहकै सहयोगी नीतिको कारणले गर्दा अहिलेको दलित महिला संघको स्थापना र विकास भएको थियो । किनभने सो संस्थाकी संस्थापक अध्यक्ष दुर्गा सोबलाई एक्सन एडभित्र कार्यरत रहँदाको तलब सुविधा तीन वर्षसम्मको लागि सुनिश्चित गर्दै त्यहाँ काम गर्न पठाइएको थियो ।
अन्य दलितका गैरसरकारी संस्थाहरूलाई पनि उनको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग रह्यो । मलाई स्वयं संस्थाभित्र दलित सवालको नेतृत्व गर्ने जिम्मेवारी दिए । फलतः मैले संस्थाको परिधिभित्र रहेर आजको गैरसरकारी क्षेत्रको दलित आन्दोलनलाई भरथेगमा सहयोग पु¥याएँ ।
धेरै लामो समयसम्म अन्तर्राष्ट्रिय विकासे संस्थाहरूले सर्भिस डेलिभरी अर्थात् सरकारले पु¥याउने आधारभूत सेवाहरू शिक्षा, स्वास्थ्य, आयआर्जनका क्षेत्रमा काम गरें तर बदलिंदो विश्व परिवेशमा सरकारलाई आफ्ना जनताप्रति उत्तरदायी बनाउनुपर्छ भन्ने अभिप्रायले अधिकारमा आधारित पद्धति अर्थात् राइट्स वेस्ड एप्रोचको प्रवद्र्धन र विकास गर्ने कुनै समय लहर आयो ।
अहिले नेपालमा व्यवस्था गरिएका ३१ वटा मौलिकहरू पनि सबै अधिकारमा आधारित पद्धतिका उपज हुन् भन्दा फरक नपर्ला । यो अधिकारमा आधारित पद्धतिको नीति पनि उनै रमेश सिंहले नेपालमा सुरुवात गर्न लगाएका हुन् ।
अब उनको अन्तर्राष्ट्रिय व्यक्तित्वको चर्चा गरौं । मेरो विचारमा संयुक्त राष्ट्रसंघका उपमहासचिव पदमा सेवा निवृत्त भएका कुलचन्द्र गौतमको जुन छवि र योगदान छ त्योभन्दा कम छैन रमेश सिंहको व्यक्तित्व । उनी एक्सन एड इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक अर्थात् सीईओ मात्र भएनन्, बेलायतीहरूको वर्चस्व रहेको संस्थालाई पूरै अन्तर्राष्ट्रियकरण गर्दै त्यसको सञ्चालनमा पहिले सहयोग थाप्ने मात्रै हैसियतमा भएका संस्थाहरूको पनि समान हैसियतको प्रतिनिधित्व त्यसका अन्तर्राष्ट्रिय कार्य समितिमा गराउँदै लन्डनको हेडक्वार्टरलाई दक्षिण अफ्रिका पु¥याए ।
अहिले त्यसले कत्तिको प्रभावकारी काम गरेको छ, त्यो अर्को खोजको विषय हो तर त्यसलाई फेडरलाइज्ड गराउनमा उनको ठूलो हात रह्यो । पछि उनी ग्रीन पिस भन्ने वातावरण अभियन्ता संस्थाको अन्तर्राष्ट्रिय प्रमुख भएर काम गरे ।
ग्रीन पिस यस्तो संस्था हो जसले संसारभर त्यसमा पनि पश्चिमा पूँजीवादी देशहरूको वातावरण विनाशका नीति, कार्यक्रम तथा नतिजाहरूको विरुद्धमा काम गर्छ । हालको भारतको वातावरण विरोधी नीति तथा कार्यक्रमहरूको विरोध गर्दा उनले नेतृत्व गरेको ग्रीनपिसले भारतमा काम गर्न नसक्ने अवस्था सिर्जना भयो । यस्तोमा पनि ग्रीनपिसले त्यस्ता नीतिहरूको विभिन्न तरिकाले विरोध गरिरहेको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरूमा पुग्न तथा काम गर्न अहिलेका विकसित पूँजीवादी देशका अब्बल मानव स्रोतसँग प्रतिस्पर्धा मात्र नभइकन उछिन्न सक्ने हैसियत भएकाहरूले मात्र पाउँछन् । त्यस्ता केही केही व्यक्तिहरू नेपाली पनि छन् त्यसमध्येका हालका चर्चित नाउँहरू हुन्, विष्णु सापकोटा जो कम्बोडियामा बसेर पनि नेपालको राजनीति तथा अन्य विकृतिहरूका विरुद्ध निरन्तर कलम चलाइरहेका छन् ।
अंगराज तिमिल्सिनाले पनि विकासविद्को रूपमा विश्वस्तरमा काम गर्नुका साथै नेपालको विकासमा पनि निरन्तर विचारहरू व्यक्त गरिरहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेका व्यक्ति हुन् स्वर्णिम वाग्ले जो नेपालको राजनैतिक प्रवृत्ति फेर्न लागिपरेका छन् ।
यस्तै व्यक्तित्व हुन् रेमश सिंह जो अहिले नेपालमै रहेका छन् तर गुमनाम हुन चाहन्छन् । भन्छन्, ‘नेपालमा मैले लामो समय कर नतिर्ने अवस्थामा थिएँ अतः मलाई धेरै बोल्ने हक भएको मान्दिनँ ।’
देशमा सही ठाउँमा सही व्यक्ति राख्ने नीति छैन । यदि भएमा रमेश सिंह जस्तो व्यक्तित्वबाट देशले अझै पनि लाभ लिन सक्दछ ।