धर्मगुरु जङ्गिए- ‘तँ हाम्रो भगवानलाई हात लगाउँछस्, अनि हामी चुपचाप बस्छौं ? ए भाइ, हामीलाई आफ्नो भगवानको रक्षा गर्न आउँछ !’
‘धर्मगुरु’ को यस्तो धमास सुनेपछि पिकेले भन्यो- ‘तिमीले गर्छौ भगवानको रक्षा ? यति सानो छ यो ग्रह । अन्तरिक्षमा यस्ता लाखौं-करोडौं ग्रह छन् । अनि तिमी एउटा सानो ग्रहको, सानो शहरको, सानो गल्लीमा बसेर भनिरहेका छौ कि भगवानको रक्षा गर्छु !’
मान्छेले भगवानको रक्षा गर्छ कि भगवानले मान्छेको ? यो त्यसरी नै जेलिएको प्रश्न हो जसरी ‘कुखुरा पहिले भयो कि अण्डा’ भन्ने सवाल गाँठो परेको छ ।
धर्मगुरुलाई संकेत गर्दै पिकेले भन्यो- ‘तिमी भन्छौ भगवान् एउटै छ । म भन्छु भगवान् दुईवटा छन् । एउटा भगवान्, जसले हामीलाई बनायो । अर्को भगवान्, जसलाई तिमीहरूले बनायौ ।’
सुनेर धर्मगुरु झस्किए । पिकेले थप्यो- ‘तिमीहरूले बनाएको भगवान् दुरुस्तै तिमी जस्तै छ । झुट र झेली । भ्रष्ट र भ्रामक । लोभी र लाचार । ठ्याक्कै तिमी जस्तै ।’
……
यी भगवान् अनेक–अनेक ‘एक्सचेन्ज अफर’ ल्याएर भक्तलाई लोभ्याउँछन् । बड्डा कम्ता चतुर छैनन् । अलि लोभी पनि, अलि भोगी पनि ।
भन्छन्- ‘मलाई फूल–प्रसाद चढाओ, तिम्रो दुःख–अभाव हरण गरिदिन्छु ।’
भन्छन्- ‘मलाई द्रव्य दान गर, तिमीलाई सुख–समृद्धि दिलाउँछु ।’
भन्छन्- ‘मलाई पशु बलि देऊ, तिम्रो मनोकामना पूरा गरिदिन्छु ।’
यी भगवान् आफ्नो निवासको आडैमा ‘दान पेटिका’ राख्छन् । उनीसँग यतिविघ्न पैसाको थुप्रो छ, संभवतः राष्ट्र बैंकको ढुकुटीमा त्यति छैन । यी ननभेज भगवानको पाचनयन्त्र कति बलियो छ भने त्यसले परेवा, हाँस, बाख्राका पाठा, बोका, राँगा जस्ता आइटम पचाउन हजमोला चाहिंदैन । कति ज्याद्रो भगवान् !
हाम्रो आस्थाले भन्छ- ‘यो सृष्टिको वास्तुकार भगवान् हुन् । चराचर जगत उनैले चलाएका छन् । हामी समस्त प्राणी उनैका सन्तति हौं । उनी सर्वव्यापी र सर्वशक्तिमान् छन् ।’ त्यसो भए उनलाई के अपुग छ ? किन उनी आफ्ना साख्खै सन्तानसँग सौदाबाजी गर्छन् ? किन आफ्ना लालाबालाको बलि माग्छन् ?
किनभने यी भगवान् भ्रम र धुत्र्याइँको जगमा थपना भए । यसले ढोङ र अन्धविश्वासको पोषकतत्व पायो । अनि यसबाट डर र लोभको विकार उत्पन्न हुन थाल्यो । आज दुनियाँमा त्यही विकारको भयानक अंश मौलाउँदैछ, भाकल ।
‘भाकल’ यस्तो बिचौलिया शब्दावली हो, जसमा लोभ र डरको रसायन समिश्रण छ ।
एक पुरुष भन्छन्- ‘हे परमेश्वर, तिमीलाई परेवा भाकल बुझाउँछु मेरी श्रीमतीको रोग निको बनाइदेऊ !’
एक दम्पती भन्छन्- ‘हे परमेश्वर, तिमीलाई बोका भाकल बुझाउँछु यसपालि चाहिं हामीलाई छोरो जन्माइदेऊ !’
एक महिला भन्छिन्- ‘हे परमेश्वर, तिमीलाई परेवा भाकल बुझाउँछु मेरी छोरीको अष्ट्रेलियाको भिसा लागोस् !’
एक बुजु्रक भन्छन्- ‘हे परमेश्वर, तिमीलाई राँगो भाकल बुझाउँछु यसपालि कुनै आपत्–विपत् नआओस् !’
सतहमा यो मान्छेको आस्था जस्तो देखिए पनि यसभित्र अन्धविश्वासको भुमरी छ । आयातकर्ता र निर्यातकर्ताको स्वार्थ पूरा गर्न यहाँ तेस्रो पक्ष अर्थात् निरीह पशुको बलि दिइन्छ । नाथे मान्छेको सानो अभिलाषा पूरा गर्न एउटा पशुको जीवन नै हत्याउनुपर्ने ? कति झेली भगवान् ? कति निर्मम भक्त ?
…..
आफ्नी आमाको न्यानो पखेटाभित्र गुटमुटिएका परेवाको बच्चालाई पेरुङ्गोमा च्यापेर लेकको एकलासे पाखोमा छाडिन्छ । आफ्नी आमाले प्रेमपूर्वक चाटिरहेका कलिलो पाडोलाई घिच्याउँदै अनाकन्टार बगरमा पुर्याएर घाँटी छिनाइन्छ । आफ्ना दौंतरीसँग उफ्रिंदै निर्धक्क खेलिरहेका बोकालाई कति दिन हिंडाएर भोक र थकानले लखतरान बनाई बलि दिइन्छ ।
थाहा छैन, मान्छे र भगवान्को लेनदेन मिलाउन यी अबोध पशुहरूले कहिलेसम्म पीडदायक मृत्यु झेल्नुपर्ने हो ? एकपटक पशुको हृदयबाट यो दुनियाँलाई हेरौं त, कति डरलाग्दा छन् भक्तहरू । कति नारकीय छन्, मठ मन्दिरहरू । कति पाखण्डी छन्, परम्पराहरू ।
धारिला चक्कु बोकेर शिर छेदन गर्न उद्यत कुनै आतंककारी देख्दा जसरी हाम्रो सातोपुत्लो उड्छ, त्यसरी नै थर्कमान हुँदो हो ‘भक्त’लाई देखेर ती अबोध पशुहरू ।
पश्चिम नेपालमा पुगौं । दशैंको छेक पारेर ठाउँ-ठाउँमा घनघोर मेला लागेको छ । यस्तो मेला, जहाँ रमितेहरू धुइरेर एउटा राँगालाई लखेट्दैछन् । यताबाट लखेट्छन्, उताबाट लखेट्छन् । भाग्दा–भाग्दै थकित राँगालाई ढुंगा प्रहार गर्छन्, खुकुरीले काट्छन् । कसैले आँखा फुटाइदिन्छन्, कसैले ढाड भाँचिदिन्छन्, कसैले पुच्छर चुडाइदिन्छन् । यसरी कुटी-कुटी अत्यन्तै पीडा दिएर मार्छन् ।
ती भक्तहरूलाई लाग्छ- ‘जति धेरै यातना दिइयो, उत्ति नै देवी खुसी हुन्छिन् ।’
अब आउनुहोस्, ललितपुरको खोकनामा । भाद्र कृष्ण द्वितीयाको दिन त्यहाँ बाख्राको कलिलो पाठोलाई पोखरीमा फ्याँकिन्छ । पोखरीमा ‘भक्त’हरूले जिउँदो पाठोलाई पानीमा डुबाउँदै-निकाल्दै हारालुछ गर्न थाल्छन् । कसैले खुट्टा लुछ्छन्, कसैले कान चुँडाउँछन्, कसैले घाँटीमा टोक्छन् । यसरी लुछाचुँडी गर्दै अबोध पाठोको ज्यान लिइन्छ ।
ती भक्तहरूलाई लाग्छ- ‘यति गरेपछि देवी प्रसन्न हुन्छिन्, हाम्रा गाईबस्तु पोखरीमा हराउने छैनन् ।’
गढीमाई मेला, पशुहरूका आँखाबाट धर्तीकै बीभत्स ठाउँ । त्यहाँ भारत र नेपालबाट कति दिन हिंडाउँदै राँगा-भैंसी ल्याइन्छ । हजारौं-हजार राँगाभैंसी एकै ठाउँ थुपारिन्छ । धारिलो खुँडा र तरबार बोकेका डरलाग्दा मान्छेहरूले भकाभक राँगाभैंसीमाथि प्रहार गर्न थाल्छन् । निरीह पशुको पीडा, क्रन्दनको टिठलाग्दो ध्वनिसँगै त्यहाँ रगतको खोलो बग्छ ।
ती भक्तहरूलाई लाग्छ- ‘यसरी पशु हत्या गरेपछि मनले चिताएको पुग्छ ।’
धर्तीकै बाठो र शक्तिमान् मान्छेले भगवानलाई जमानत राखेर सृष्टिकै समानान्तर प्राणीमाथि कति भयानक घोटाला गरेको ?
…..
कुनै पशुको आँखामा गहिरिएर हेर्नुहोस्, उसको छातीमा हात राखेर स्पन्दन महसुुस गर्नुहोस् अनि आफैंसँग प्रश्न गर्नुहोस्- ‘के उसको शरीर पनि मेरो जस्तै होइन ? मलाई जस्तै उसलाई दुख्दैन ? त्रास र पीडाले म जस्तै आत्तिएर रुँदैन ?’
गढीमाई मेलामा पशु संहारको एउटा कारुणिक फोटो छ । सर्वत्र राँगाभैंसी ढलेका छन्, उनीहरूको घाँटी रेटिएको छ, सतहमा रगतको आहाल छ । अनि त्यहाँ एउटा टिठलाग्दो भैंसीको पाडो ठिंग उभिएको छ । के तपाईं आफ्नो बच्चालाई त्यो ठाउँमा राखेर महसुस गर्न सक्नुहुन्छ- ‘उसलाई कति भोक लागेको होला ? कति दूधको तलतल लागेको होला ? कति डर लागेको होला ? कति अत्यास लागेको होला ?’
यो धर्म हो वा घोर पाप ? दुई मिनेट आँखा चिम्लेर आफैंलाई सोध्नुहोस् ।
जब तपाईंलाई लाग्नेछ- ‘यो त अबोध पशुमाथिको भयानक ज्यादती हो ।’ तब ढोङी समाजले धारे हात लगाएर तपाईं उपर सत्तोसराप गर्न थाल्छ । यसो भन्दै- ‘ओइ डलरे, ओइ इसाई, ओइ संस्कृति विरोधी ?’
किनभने पशुमाथि गरिने यस्ता कृत्यलाई ‘धर्म र परम्परा’को आवरणले चलाखीपूर्ण ढाकछोप गरिएको छ । त्यसैले उनीहरूको धन्दामाथि प्रश्न उठाइयो भने कर्कश ध्वनिमा भनिन्छ- ‘खबरदार, अर्काको धर्ममाथि हस्तक्षेप गर्न पाइँदैन । अर्काको आस्था र परम्परालाई कुल्चन पाइँदैन ।’
तर अकाट्य सत्य अर्कै छ । जहाँबाट हिंसाको सुरुवात हुन्छ त्यहींबाट धर्मको नष्ट हुन्छ । जहाँ धर्मको विसर्जन हुन्छ, त्यहाँ अपराध मौलाउँछ । भाकलको नाम दिएर गरिने तमाम पशुबलि धर्म हुँदै होइन, अलिखित अपराध हो ।
अपराधको कुनै परम्परा हुँदैन । अपराधको कुनै धर्म हुँदैन । अपराधको कुनै सम्प्रदाय हुँदैन । अपराधको कुनै आस्था हुँदैन । अपराध फगत अपराध हो, त्यसको दोस्रो भाषा र परिभाषा हुँदैन । मानव सभ्यतालाई गोलमाल गर्ने डरलाग्दो कलंकको अवशेष हो, यो ।
यदि यो आस्था र परम्परा हो भने सतीप्रथा के हो ? दासप्रथा के हो ? छाउपडी प्रथा के हो ? श्रीमानको मृत्युपछि एउटी महिलाले उनैसँग चितामा जल्नुपर्थ्यो वा खाल्डोमा पुरिनुपर्थ्यो । त्यसबेलाको समाजले यसलाई अपराध होइन परम्परा ठान्थे । आस्था र धर्म ठान्थे ।
‘तन्त्रमन्त्र वा टुनामुना’ गर्नेहरूले नरबलि अर्थात् मान्छेको टाउको काटेर चढाउनुलाई आफ्नो आस्था मान्छन् । कुनै बखत युद्धमा जानुअघि वा प्राकृतिक विपत्ति नहोस् भनी साना बच्चाहरू बलि दिने गरिन्थ्यो । अहिले कति चिहान उत्खनन् भएका छन्, जहाँ शिर छेदन गरिएका मान्छेका कंकालहरूको थुप्रो छन् । के त्यसरी कलिला बच्चाहरूको टाउको काटेर चढाउनु धर्म थियो ?
……
निधारमा चन्दन लगाएर, गलामा रुद्राक्ष भिरेर, न्यानो र नरम आसनमा विराजमान कति ‘विद्वान्’हरू लेघ्रो तानेर लय मिलाउँदै भनिरहेका हुन्छन्- ‘यो हाम्रो धर्म हो । पशुबलिबारे शास्त्रमा लेखिएको छ ।’
शास्त्र के हो ?
यो सृष्टि र प्रकृतिको अजम्बरी काव्य होइन । बरु, कुनै कालखण्डमा चिन्तक, अन्वेषकहरूले रचना गरेका विराट ग्रन्थ हुन् । त्यसमा कति रूपक, विम्ब हुन सक्छन् भने कति मानवीय त्रुटि पनि । उनीहरूले लेख्न र भन्न खोजेको कुराको अन्तर्य के हो ? धर्मका ठेकेदारहरूले बुझ्दैनन् वा बुझाउन चाहँदैनन् । चाहे बाइबल होस् वा श्रीमद्भागवत गीता, यी शास्त्रहरूका प्रसंग आज धेरै तोडमोड गरिएका छन् र व्यापारिक प्रयोजनका बनाइएका छन् ।
यदि यी शास्त्रहरूमा पशुबलि ठीक भनी लेखिएकै भए पनि त्यसलाई अबको सभ्यताले केरमेट गर्नुपर्छ । किनभने जगत र पर्यावरणको चक्रमा हामीसँगै समाहित अर्का निर्धो प्राणीमाथि ज्यादती गर्नु धर्म होइन ।
धर्म के हो ?
धर्मको स्पष्ट तीन आयाम छन् ।
एक, आफ्नो प्राकृतिक मूल स्वभावमा स्थित रहनु । पानी आकारविहीन हुनु, घाम न्यानो हुनु, सुन्तलाको दाना रोप्दा सुन्तला नै फल्नु यिनीहरूको मूल स्वभाव हो । त्यही उनीहरूको धर्म हो । मान्छेको पनि आफ्नै प्राकृतिक मूल स्वभाव छ, त्यसमा स्थित रहनु धर्म हो ।
दुई, सत्यमा अडिग रहनु । बोली, व्यवहार र सोच-चिन्तनले सत्यमा अडिग रहनु धर्म हो । सत्य नै धर्म हो ।
तीन, पुण्य वा परोपकार गर्नु । कसैको दुःखमा, अभावमा, विपत्तिमा चोखो मनले साथ–सहयोग गर्नु धर्म हो ।
त्यसो भए मन्दिर-मस्जिद-चर्च-गुम्बा धाउनु के हो ? पूजापाठ, आरती, प्रार्थना गर्नु के हो ? दान–दक्षिणा दिनु, तीर्थयात्रा गर्नु, हज जानु, उपवास बस्नु के हो ? शंख–घण्ट बजाउनु के हो ?
यी कुनै धर्म होइनन् । आफूलाई शारीरिक, मानसिक, आत्मिक र सामाजिक शुद्धि गर्ने प्राकृतिक विधि हुन् । त्याग, साधना, करुणा, समर्पणको भाव विकास गर्ने विधि हुन् । यसो गर्दा धर्म हुँदैन तर धार्मिक आचरण विकास हुनसक्छ ।
कोही सनातनी हिन्दु धर्म भन्छन्, कोही क्रिश्चियन धर्म भन्छन्, कोही बौद्ध धर्म भन्छन्, कोही मुश्लिम धर्म भन्छन् । खासमा यी धर्म भन्दा पनि भूगोल, पर्यावरण अनुसार सहज, सरल र सौहार्दपूर्ण जीवनपद्धतिका लागि रचना गरिएका विधान हुन् ।
तर, यो सत्यलाई लुकाएर आज ‘धर्म’को रहस्यमयी प्याकेजिङमा डर र लोभको धन्दा चलाइएको छ । त्यसैको मारमा परेका छन्, अबोध पशुहरू ।
…..
पिके भन्छन्– ‘धर्मको नाममा जे–जति तमासा भइरहेका छन् त्यो झुट हो । रङ नम्बर हो ।’
धर्मगुरु जंगिन्छन्– ‘त्यसो भए भगवान् झुट हो ? धर्म झुट हो ? सही नम्बर के हो ? लु भन !’
पिके धीरतापूर्वक भन्छन्– ‘एकदमै ठीक भन्नुभयो गुरुज्यू । हिजो हामीसँग खानका लागि रोटी थिएन । बस्नका लागि घर थिएन । हामी एकदमै दुःख र अभावमा थियौं । कोही साथी, आफन्त थिएनन् । त्यसबखत हाम्रो एउटै सहारा थियो, भगवान् ।’
सुनेर धर्मगुरु अभिमानले गमक्क पर्छन् ।
पिके थप्छन्– ‘हरेक दिन लाग्थ्यो, भोलि त राम्रो हुनेछ । भगवानले हेर्नेछ । म मान्छु, भगवान्मा विश्वास राख्नाले आशा बढ्छ । कठिनाइसँग जुध्नका लागि हिम्मत मिल्छ । आस्थाले बाँच्नका लागि प्रेरित गर्छ । तर, कुन भगवानलाई विश्वास गर्ने ? एउटा भगवान, जसले हामीलाई बनायो । अर्को भगवान, जसलाई मान्छेले बनायो ।’