रक्सीको ह्याङओभर : के-के हुन्छ शरीरमा ?


रक्सीको ह्याङओभर भनेको अत्यधिक रक्सी सेवनपछिको अवस्था हो, जसमा शारीरिक र मानसिक लक्षणहरू जस्तै टाउको दुख्ने, शरीर थाक्ने, वान्ता आउला जस्तो हुने र रिंगटा समस्या देखिन्छ ।

यो अवस्था शरीरका विभिन्न प्रणालीहरूमा तत्कालीन देखिने प्रभावबाट सिर्जना हुन्छ । ह्याङओभरको प्रभाव कोषीय स्तरदेखि शरीरका विविध प्रणालीसम्म फैलिन्छ । यो जैविक, रसायनिक र मनोवैज्ञानिक प्रक्रियाहरूको जटिल संयोजन हो।

रक्सीको ह्याङओभरका तिनका कारणहरू र वैज्ञानिक आधार के छन् ? यसले शरीरमा के क्षति हुन्छ त ?

१. डिहाइड्रेसन र इलेक्ट्रोलाइट असन्तुलन

रक्सीको ह्याङओभरको सबैभन्दा सामान्य प्रभाव डिहाइड्रेसन हो । रक्सीले मूत्रवर्द्धक तत्वका रूपमा काम गर्छ, जसले मिर्गौलालाई सामान्य अवस्थामा भन्दा बढी पिसाब उत्पादन गर्न प्रेरित गर्छ। जर्नल अफ क्लिनिकल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार शरीरमा पानीको सन्तुलन कायम राख्ने एन्टिडाइयुरेटिक हार्मोन (एडीएज) लाई रक्सीले दबाउँछ। यो कारणले गर्दा शरीरबाट आवश्यकताभन्दा बढी पानी पिसाबो रुपमा बाहिर निस्किन्छ । यो कारणले डिहाइड्रेसनको समस्या हुन्छ ।

यसले टाउको दुख्ने, मुख सुक्ने, थकान र चक्कर लाग्ने जस्ता समस्या उत्पन्न हुन्छ ।

डिहाइड्रेसनसँगै सोडियम, पोटासियम र म्याग्नेसियम जस्ता इलेक्ट्रोलाइटहरूको असन्तुलन हुन्छ। यी खनिजहरूले स्नायु कार्य, मांसपेशी संकुचन र हृदयको गतिलाई नियन्त्रण गर्छन्। इलेक्ट्रोलाइटको कमीले मांसपेशी दुखाइ, कमजोरी र मुटुको चाल अनियमित हुने समस्याहरू निम्त्याउँछ । विशेषगरी, म्याग्नेसियमको कमीले टाउको दुखाइ र मांसपेशी संकुचनलाई तीव्र बनाउँछ।

२. मस्तिष्क र स्नायु प्रणालीमा प्रभाव

ह्याङओभरले मस्तिष्क र स्नायु प्रणालीमा उल्लेखनीय असर गर्छ। रक्सीले मस्तिष्कमा न्यूरोट्रान्समिटरहरू, विशेषगरी गाबा र ग्लुटामेटको सन्तुलनलाई बिगार्छ।

रक्सी सेवनको समयमा गाबाको गतिविधि बढ्छ, जसले शान्त र सुस्त अनुभव गराउँछ, । पछि सन्तुलन बिग्रएर चिन्ता, बेचैनी र एकाग्रता नहुने समस्या देखिन्छ। नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्युज एन्ड अल्कोहोलिज्म ( एनआईएएए) का अनुसार, ह्याङओभरको समयमा मस्तिष्कमा ग्लुटामेटको अति सक्रियताले टाउको दुखाइ र संवेदनशीलता बढाउँछ।

साथै, रक्सीको मेटाबोलिजमले उत्पन्न गर्ने एसिटाल्डिहाइड नामक विषाक्त पदार्थले मस्तिष्कका कोषहरूलाई क्षति पुर्‍याउँछ। यो पदार्थले न्यूरोइन्फ्लामेसन (मस्तिष्क सुन्निने) लाई प्रेरित गर्छ, जसले स्मरणशक्ति, निर्णय क्षमता र मूडमा नकारात्मक प्रभाव पार्छ।

ह्याङओभरको समयमा निद्राको चक्रमा पनि गडबडी हुन्छ र आनन्दसँग निदाउन नसक्ने समस्या हुन्छ ।

३. पाचन प्रणालीमा असर

रक्सीले पाचन प्रणालीमा तत्कालिक र दीर्घकालीन असरहरू पार्छ। ह्याङओभरको समयमा वाकवाकी लाग्ने, बान्ता हुने र पेट दुख्ने लक्षणहरू देखिन्छन्, यी सामान्य हुन् । रक्सीले पेटको भित्री सतहलाई जलन गर्छ, जसले ग्यास्ट्राइटिस वा पेटको अल्सरको जोखिम बढाउँछ। यो प्रक्रियाले पेटमा अम्लको उत्पादनलाई पनि असन्तुलित बनाउँछ।

एसिटाल्डिहाइड र अन्य रासायनिक उत्पादनहरूले आन्द्राको नियमित कार्यमा गडबडी ल्याउँछ । यसले गर्दा पखाला लाग्ने वा कब्जियतको समस्या निम्त्याउन सक्छ। रक्सीले आन्द्राको माइक्रोबायोमलाई पनि प्रभावित गर्छ, जसले पाचन र रोग प्रतिरोधी क्षमतालाई कमजोर बनाउँछ। लामो समयसम्म अत्याधिक रक्सी सेवनले प्यानक्रियाटाइटिस र कलेजो रोग जस्ता गम्भीर समस्याहरू निम्त्याउँछ । ह्याङओभरको समयमा पनि यी अंगहरूमा तनाव उत्पन्न हुन्छ।

४. कलेजोमा तनाव

कलेजो रक्सीदाई पचाउन भूमिका खेल्ने प्रमुख अंग हो । ह्याङओभरको समयमा यो अत्याधिक तनावमा हुन्छ। रक्सीलाई कलेजोले इथानोलबाट एसिटाल्डिहाइड र त्यसपछि एसिटेटमा परिणत गर्छ। यो प्रक्रियाले अक्सिडेटिभ तनाव उत्पन्न गर्छ, जसले कलेजोका कोषहरूलाई क्षति पुर्‍याउँछ। जर्नल अफ हेपाटोलोजीमा प्रकाशित एक अध्ययनले देखाए अनुसार बारम्बार ह्याङओभरले कलेजोमा फ्याट जम्मा हुने हुन्छ, यसलाई ‘फ्याटी लिभर’ भनिन्छ । साथै कलेजो सुन्निने जोखिम पनि हुन्छ ।

ह्याङओभरको समयमा कलेजोको ग्लुकोज उत्पादन गर्ने र विषाक्त पदार्थ हटाउने कार्यमा पनि समस्या उत्पन्न हुन्छ । यसले रगतमा चिनीको स्तरलाई असन्तुलित बनाउँछ, जसले कमजोरी हुने , रिंगटा र चक्कर लाग्ने अनुभव गराउँछ। लामो समयसम्म यस्तो तनावले सिरोसिस र कलेजो फेल हुने खतरा निम्त्याउँछ ।

५. हृदय र रक्तसञ्चार प्रणाली

रक्सीको ह्याङओभरले हृदय र रक्तसञ्चार प्रणालीमा पनि असर गर्छ । रक्सीले रक्तचापलाई अस्थायी रूपमा बढाउँछ र ह्याङओभरको समयमा डिहाइड्रेसनले यो प्रभावलाई थप तीव्र बनाउँछ । हृदयले रक्त पम्प धेरै जोड लगाउनु पर्ने हुन्छ, जसले हृदयको चालमा गडबडी हुने एरिथमिया समस्या निम्त्याउन सक्छ ।

रक्सीले रक्तनलीहरूमा सुन्निने समस्या उत्पन्न गर्छ, जसले दीर्घकालमा धमनीहरूको कडा हुने ‘एथेरोस्क्लेरोसिस’ को जोखिम बढाउँछ । ह्याङओभरको समयमा रगतको चिप्लोपन बढ्न सक्छ, जसले रक्त प्रवाहमा अवरोध ल्याउँछ । यी प्रभावहरूले हृदय रोगको सम्भावनालाई तीव्र बनाउँछ, विशेषगरी बारम्बार रक्सी सेवन गर्ने व्यक्तिमा मुटुरोगको जोखिम धेरै हुन्छ ।

६. मांसपेशी र जोर्नीमा दुखाइ

ह्याङओभरको समयमा मांसपेशी दुखाइ र जोर्नीको कठोरता सामान्य हुन्छ । डिहाइड्रेशन र इलेक्ट्रोलाइट असन्तुलनले मांसपेशी संकुचन र ऐंठनलाई प्रेरित गर्छ । रक्सीले मांसपेशी कोशिकाहरूमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छ, जसले मांसपेशीको रिकभरी र मर्मत प्रक्रियालाई ढिलो बनाउँछ । साथै, रक्सीले भिटामिन बी र म्याग्नेसियम जस्ता पोषक तत्वहरूको अवशोषणलाई कम गर्छ, जसले मांसपेशीको कार्यक्षमता घटाउँछ।

७. रोगप्रतिरोधी क्षमतामा ह्रास

रक्सीले रोगप्रतिरोधी प्रणालीलाई तत्काल कमजोर बनाउँछ । ह्याङओभरको समयमा टी-सेल र सेता रक्तकोषहरूको कार्यक्षमता घट्छ, जसले शरीरलाई भाइरस र ब्याक्टेरियासँग लड्न कठिन बनाउँछ । अल्कोहल रिसर्च जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ-एक रातको भारी रक्सी सेवनले २४ घण्टासम्म रोग प्रतिरोधी प्रणालीलाई दबाउन सक्छ । यसले ह्याङओभरको समयमा रुघाखोकी वा अन्य संक्रमणको जोखिम बढाउँछ ।

८. मानसिक स्वास्थ्यमा प्रभाव

ह्याङओभरले मानसिक स्वास्थ्यमा पनि गम्भीर असर गर्छ। रक्सीले मस्तिष्कमा सेरोटोनिन र डोपामाइन जस्ता न्यूरोट्रान्समिटरहरूको स्तरलाई असन्तुलित बनाउँछ, जसले चिन्ता, डिप्रेसन र बेचैनीको अनुभव गराउँछ ।

यो अवस्थालाई प्रायः ‘ह्याङ्जाइटी’ भनिन्छ । ह्याङओभरको समयमा निद्राको कमी र मस्तिष्क सुन्निने हुँदा मूडलाई थप अस्थिर बनाउँछ । बारम्बार यस्ता अवस्थाले दीर्घकालमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढाउँछ ।

९. पोषक तत्वको कमी

रक्सीले शरीरमा भिटामिन र खनिजहरूको अवशोषणलाई बाधा पुर्‍याउँछ । विशेषगरी, भिटामिन बी१ (थायमिन), भिटामिन बी६, फोलिक एसिड र जिंकको कमी हुन्छ । यी पोषक तत्वहरू मस्तिष्क कार्य, ऊर्जा उत्पादन र रोग प्रतिरोधी क्षमताका लागि आवश्यक हुन्छन् । ह्याङओभरको समयमा यी तत्वहरूको कमीले थकान, कमजोरी र संज्ञानात्मक समस्याहरूलाई तीव्र बनाउँछ ।

१०. दीर्घकालीन जोखिम

ह्याङओभर एक तत्कालीन अवस्था भए पनि बारम्बार रक्सी सेवनले दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउँछ। कलेजो रोग, मुटु रोग, क्यान्सर (विशेषगरी मुख, घाँटी र कलेजोको) निम्त्याउँन सक्छ । साथै स्नायु प्रणालीको क्षति जस्ता समस्याहरू रक्सीको अत्याधिक सेवनले आउन सक्छन् ।

ह्याङओभरको बारम्बार अनुभवले यी रोगहरूको जोखिमलाई तीव्र बनाउँछ । साथै, रक्सीको लतको सम्भावना पनि बढ्छ, जसले सामाजिक, आर्थिक र मानसिक समस्याहरू निम्त्याउँछ ।

कसरी कम गर्ने ह्याङओभरको प्रभाव ?

-रक्सी सेवन गर्नुअघि र पछि प्रशस्त पानी पिउने, र इलेक्ट्रोलाइटयुक्त पेय (जस्तै नरिवल पानी) ले डिहाइड्रेशन कम गर्छ ।

-भिटामिन बी, जिंक र प्रोटिनयुक्त खाना खाने ।

– निद्रा पुग्नेगरी सुत्ने । पर्याप्त निद्राले मस्तिष्क र शरीरलाई पुरानै अवस्थामा फर्काउन मद्दत गर्छ ।

-सक्सम्म रक्सीको सेवन नै नगर्ने, पिउनै परे सीमित मात्रामा पिउने, खाली पेटमा नपिउने ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School