योग, ज्ञान र निरोगी नेपाल


आज जुन २१ तारिख अथवा वर्ष भरिको सबैभन्दा लामो दिन। आज योग प्रारम्भ भएको दिन। हजारौँ वर्षअघि भगवान् शिवले आफ्ना सप्तऋषि भनिने शिष्यहरूलाई अगाडि राखेर पहिलो योग शिक्षा प्रदान गर्नुभएको दिन, उत्तरायनबाट सूर्य दक्षिणयान लाग्ने दिन योग प्रारम्भ भएको शास्त्रअनुसार मानिन्छ। त्यसै दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व योग दिवसका रुपमा मानेको छ। यस दिवसको सन्दर्भमा म सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।  

योग मानव जातिको कल्याणका लागि, मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र मानिसको मानवीय प्रवृत्ति अर्थात् सामाजिकपन, सामाजिक प्रवृत्तिको विकास र त्यसको कार्यान्वयनका लागि योग सिर्जना र विकास हुँदै आएको छ।  

बीचमा योग अलिकति लुप्त भयो। आज योग अलिकति भड्किन पनि खोजेको छ। योगबाट योगातिर जान खोजेको छ। योगा होइन, योग हो। ‘योगा’को कुनै अर्थ हुँदैन, योगको अर्थ हुन्छ। दीपक नाम मैले भन्दा बत्ति हुन्छ, ज्योति हुन्छ, उज्यालो हुन्छ, अनेक होला तर बिगारेर अर्को नाम राखेँ भने त्यसको अर्थ हुँदैन। त्यस्तै योगलाई योगा बनाउनु हुँदैन। योग हो।  

योग पहिलो भगवान् शिवबाट उत्पत्ति भएको थियो अर्थात् यस धर्तीमा योग उत्पत्ति भएको थियो। यहाँका पूर्खाहरूबाट, यहाँका अग्रजबाट भएको हो। हामी पूर्खालाई भगवान् भन्छौँ। हामी भगवान्  दुईवटा चिजलाई मान्छौँ। एउटा पूर्खाहरूलाई मान्छौँ, शिव, दुर्गा, मातादेवी, देवता, विष्णु, ब्रह्मा जेसुकै भन्नुस्, जति देवताको नाम लिइन्छ, ती सबै पुर्खा हुन्। पुर्खालाई हामी देवतुल्य मान्छौंं र देवता भन्छौँ। अर्को हामी प्रकृतिलाई देवता मान्छौँ। अघि यहाँ गायत्री संस्थाले गायत्री वाचन भनिरहेको थियो–सूर्य देवता, चन्द्र देवता, वरुण, मरुत देवता आदि अथवा पानी पनि देवता हो, जसले हाम्रो जीवन चलाएको छ। मरुत अर्थात् हावा जसले हामीलाई बचाएको छ। जीवनका लागि सबैभन्दा महत्वपूर्ण हावा अर्थात् अक्सिजन छ। जुन बिना हामी दुई तीन मिनेटभन्दा बढी बाँच्न सक्दैनौं। त्यस्तो अक्सिजन, त्यो हाम्रा लागि भगवान्  हो, हाम्रा  लागि जीवनदायीनी हो। त्यसकारण हामी गर्भमा हुँदा पनि अक्सिजनबाट बाँचेका हुन्छौं र जन्मपश्चात् पनि अक्सिजनबाट बाँचेका हुन्छौँ। जीवनभर अक्सिजनबाट बाँचेका हुन्छौँ। त्यो सबैैभन्दा महत्वपूर्ण हुन्छ। त्यसकारण वायु जो देखिदैन, वायुमा धुलो उड्यो भने धुलो देखिन्छ तर वायु देखिंदैन। वायु अदृश्य छ। वायु पनि देवता हो भनेर अघि भर्खर मन्त्र उच्चारण भयो। अर्थात् हाम्रा पूर्वजहरू धेरै ज्ञानी थिए, विश्व शान्ति भने, वनस्पतय शान्ति भने, आकाश शान्ति भने, पृथ्वी शान्ति भने सबैतिर शान्ति भने। आज आकाश शान्तिको कति अर्थ र महत्व रहेछ, पृथ्वी शान्तिको कति महत्व रहेछ, त्यो हामी बुझ्दै छौँ। धेरै सोचेर, चिन्तन गरेर निष्कर्षहरू निकालेर, अनुभूतिहरूलाई ज्ञानमा परिणत गरेर, ज्ञानहरू सङ्ग्रह गर्दै ज्ञानलाई व्यवहारमा हेर्दै, अनुभूतिलाई अनुभवमा बदलेर, अनुभवहरूलाई संहग्र गर्दै ज्ञानमा बदलेर, ज्ञानलाई प्रयोगहरूमार्फत् तिनलाई सिद्धान्त र सूत्र बनाएर अगाडि बढ्ने कामहरू भइरहेको छ।  

यसै सन्दर्भमा आज हामी जुन अष्टाङ्ग योगका चर्चा गर्छौंं, म त्यसको अलिकति मात्रै चर्चा गर्न चाहन्छु।  

पहिले योगको प्रारम्भ भयो शिवबाट। त्यसकारण शिवलाई आदियोगी भनिन्छ। त्यसपछि विश्वामित्रको समय आयो र विश्वामित्रले योग विकास गर्नुभयो। विश्वामित्रले योग मात्रै विकास गर्नु भएन, विश्वामित्रका सुपुत्र सुश्रुतले लगभग तीन हजार वर्ष अगाडि ‘सर्जरी’विद्याको विकास गर्नुभयो। त्योभन्दा अगाडि चरकले जसरी आयुर्वेदको विकास गर्नुभयो, यी सबैै योगबाट प्रारम्भ भएका छन्। विश्वामित्रका पिताजीले आफ्ना नाती चरकलाई सर्जन डाक्टर बनाउनुभयो। अहिले पनि सङ्ग्रहालयहरूमा चरकले चलाएका सर्जरीका उपकरणहरू अहिलेसम्म पाइन्छ। चरकसंहिता लिखित रुपमा पाइन्छ। जो, तीन हजार वर्ष लगभग अगाडि हो। जति बेला अक्षरहरू दुनियाँमा आए। अक्षरहरू आएपछि ३२ सय वर्षको आसपासका बेला अथवा महाभारत युद्धको लगत्तैपछि जसको समयमा हुनुपर्छ, अक्षरहरू आएपछि त्यसैबेला वेदव्यासले श्रुति र स्मृतिमा रहेको वेदलाई अपौरुषीय अथवा मानवद्वारा निर्मित वेद होइन भनिएको हो। किनभने कोही रचनाकार थाहा छैन, अज्ञात रचनाकार, यो परम्परा हुँदै आयो, कसले बनायो भन्ने थाहा छैन। त्यसो भएको हुनाले यसलाई अपौरुषीय समेत भनियो। अथवा मानव निर्मित होइन, देव निर्मित भनियो भन्ने भनाइ छ। वेदलाई वेदव्यास भनिन्छ, किनभने उनले लिपि सिकेर लिपिमा वेदलाई उतारेपछि यो मानवीय अथवा मानव भयो। वेदव्यासको आलोचना पनि भयो, विरोध पनि भयो। यो अलौकिक मानवताभन्दा बाहिरको, मानव सिर्जितभन्दा बाहिरको अपौरुषीय चिजलाई पौरुषीय अथवा मानवको सिर्जना,  यो असिर्जनीय चिजलाई सिर्जनामा परिणत गराए र यो पाप कर्म गरे यिनले भन्ने खालका धर्मान्धहरूले भने।  

जनकको समयमा वेदको गार्गी, मैत्री आदि ऋषिमुनि, विदुषीहरूले तयार गर्दा ती लिपिमा तयार गरिएको थिएन, वाणीमा तयार गरिएको थियो, मनमनै रचना गरेर प्रस्तुत गरिएको थियो। त्यो श्रुतिबाट स्मृतिमा रहेको थियो। स्मृतिबाट फेरि प्रवचनमा गएर फेरि श्रुतिमा जान्थ्यो। यो सिलसिलाबाट आयो।  

विश्वामित्रको समय एउटा चमत्कारको समय थियो, योग विज्ञानको सन्दर्भमा र अरु विभिन्न विज्ञानको सन्दर्भमा। हामी सबैैलाई थाहा छ, विश्वामित्र सत्ययुग र त्रेतायुगको बीचको समयको अथवा संक्रमणकालीन समयको हुनुहुन्थ्यो। विश्वामित्रले राम–लक्ष्मणलाई शिक्षादीक्षा दिनुभएको थियो। राम–लक्ष्मण त्रेतायुगको हुनुहुन्थ्यो। दशरथ र पर्शुरामहरू सत्ययुगका हुनुहुन्थ्यो। रामले धनुष भंग गरेपछि पर्शुरामले आएर राम–लक्ष्मणसँगको विवाद गर्दा राममाथि भुलवस बञ्चरो प्रहार गर्न खोज्दा बञ्चरो उठेन, प्रहार हुन सकेन। फेरि कोसिस गर्दा झन् कमजोर भए। कतिपय कुराहरू मिथमा आधारित हुन सक्दछ। मिथ भए पनि हाम्रा शास्त्रका (तथ्य प्रमाणित भनौं) विज्ञान प्रमाणित होइन। उनले बचपनमा वा सानैमा आफूलाई कुनै भविष्यवाणी भएको थियो, तिमी सत्ययुगको अन्तिम प्रतिनिधि पात्र हौ र सत्ययुग त्यतिबेला समाप्त हुनेछ, जतिबेला तिमीले तिम्रो अगाडि एउटा यस्तो व्यक्ति भेट्नेछौ, जसमाथि तिमीले भुलवस प्रहार गर्न खोज्ने छौ। तिम्रो अहङ्कार त्यहीँ समाप्त हुनेछ। तिम्रो तागत समाप्त हुनेछ। पहिलो कुरा, त्यो व्यक्तिलाई भेट्ने बित्तिकै तिम्रो आधा शक्ति उसमा गइहाल्छ। उसमाथि भुलबस प्रहार गर्न खोज्दा अर्को शक्ति आधा फेरि जान्छ। फेरि आक्रोशित भएर तिमीले प्रहार गर्न खोज्दा तिम्रो फेरि आधा शक्ति गएपछि तिमीसँग एकदमै थोरै शक्ति मात्रै बाँकी रहन्छ। र ऊ जो व्यक्ति ऊ आफैँ एउटा अवतार हो र उसँग असाधारण शक्ति हुन्छ। त्यसमाथि पहिलो देख्ने बित्तिकै तिम्रो आधा शक्ति उसमा सरेपछि असाधारण शक्तिवान् हुन्छ। 

अर्को पल्ट फेरि आधा बाँकी रहेको आधा सरेपछि र फेरि अर्को प्रहार गर्न खोज्दा आधा शक्ति सरेपछि तिम्रो शक्ति समाप्त हुन्छ, बुझ्नु। अब तिम्रो युग समाप्त भयो अर्थात् सत्ययुग समाप्त भयो र त्रेतायुग प्रारम्भ भयो। यसरी पर्शुराम र रामको भेट एउटा संयोगले हुन्छ, धनुष भंगको प्रसङ्गले हुन्छ, राम–सीता विवाहको प्रसङ्गमा हुन्छ र त्यसै प्रसङबाट पर्शुराम र रामको भेटबाट नै शिवको धनु अथवा यहाँनेरी शिवको प्रसङ्ग आउँछ। अघि मैले भनेँ, शिवले योगको प्रारम्भ गर्नुभएको थियो भनेर। शिवले राखेको धनु जनकपुरमा राजा जनकको दरबारमा छँदै थियो, जसलाई सीताले खेलाउने गर्थिन्। त्यही धनुको ताँदो चढाउन खोज्दा भाँचियो। यसरी सुरु भयो राम पर्शुराम मिलापको प्रसङ्ग। त्यही मिलापबाट पर्शुरामले थाहा पाए कि अब मेरो युग समाप्त भयो। अब रामको युग प्रारम्भ भयो। यही संक्रमणकालीन युगमा, जस्तोमा हाम्रो तानाशाहीबाट गणतन्त्र, लोकतन्त्रमा आयो, राजतन्त्रबाट गणतन्त्रमा आयो। यो संक्रमणकालीन युुग हो। कसैलाई मन पर्ला, कसैलाई नपर्ला। पर्शुरामलाई पनि मन परेको थिएन आफ्नो युग समाप्त भएको तर के गर्ने ! युग समाप्त, युग समाप्त हो। आफ्नो युग समाप्त भएपछि त्यो युग समाप्त भयो। अर्को मन पर्नु नपर्नुको केही पनि अर्थ छैन। यो यति बलवान हुन्छ समय कि, त्यो परिवर्तन भयो भयो।  

बिमारी भएपछि म आफैँ पनि ध्यान गर्छु। तर जेलमा हुँदा मलाई कति  यातना दिइयो, त्यतापट्टि जान चाहन्नँ। जेलमा हुँदा मलाई उपचार उपलब्ध थिएन। पेनकिलर जम्माजम्मी दिइन्थ्यो। लगातार मलाई पेट्टिक अल्सर भएको थियो। डुडेनिम अल्सर भएको थियो। त्यो अल्सरले घाउ भएको थियो पेटमा र त्यसमा भतभत पोल्थ्यो र सहन नसक्ने अवस्था बन्थ्यो। कहिले कहिले धेरै ब्लड जान्थ्यो मुखबाट। अनि  त्यसमाथि क्षयरोग थपियो। म एकदम सिठ्ठा थिएँ, एकपल्ट अलिक ठिक भएपछि नापिहेरेको तौल ३७ केजी रहेछु। त्यस अवस्थामा पेनकिलर मात्र दिइन्थ्यो। पेन किलर औषधि होइन। सोझै प्रत्यक्ष पेनकिलर हो, त्यसपछि किड्नी किलर हो, अरुथोक किलर हो, स्वास्थ्य किलर हो, अनेक चिज किलर हो। औषधि होइन पेन किलर। अब त्यही मात्र मलाई दिन्थ्यो। त्यतिबेरै मरिहालियो भने त के गर्ने पछि उपचार पनि गर्न पाइँदैन। अहिले बाँचियो भने जे जे फेल भए पनि पछि ठिकठाक गरौला भन्ने हुन्थ्यो। नभन्दै किड्नी फेल भयो। बाहिर आएपछि किड्नी फेल भयो। बाहिर आएर जाँच्ने बित्तिकै मेरो किड्नी फेल हुनेतिर बाटो लाग्न थालिसकेको थियो। मैले रोक्न खोजेँ र जोगाउन खोजेँ तर त्यो जबरजस्त आक्रमणमा परिसकेको थियो पेनकिलर। त्यसको आक्रमणमा परिसकेको थियो। त्यसकारण त्यो फर्किन सक्ने अवस्थामा थिएन। त्यसले विनम्र अनुरोधका साथ भन्यो किड्नीले प्लिज म अब रहन टिक्न सक्दिनँ, मेरो समय गयो, मलाई जान दिनुस्। अरु केही उपाय छ, गर्नुस्। होइन भने म सँगै तपाईं पनि हिंड्नुस्। अनि मैले अरु उपायहरू खोजें, अप्रेसन गरेँ। अप्रेसन त्यस अवस्थामा गर्नै प¥यो। त्यहाँनिर ध्यानले हुँदैन।

त्रेतायुग र द्वापरयुगको बिचमा फेरि कपिलमुनिले योगलाई अगाडि बढाउनुभयो। उहाँले सांख्य दर्शन प्रतिपादन गर्नुभयो। योगको निरन्तरता त्यसरी आयो। त्यसपछि इसापूर्व २ सयदेखि इसाको २ सयसम्म अथवा यो ४ वर्षको बिचमा पतञ्जलि भन्ने एकजना व्यक्ति निक्लिनुभयो। उहाँँको जन्मस्थान कहाँ भन्दा मान्छेहरूले व्याख्याहरू अनौठो अनौठो गर्छन्। म त्यसमा भ्रम पर्नु हुँदैन भन्छु। कसको जन्मस्थान कहाँ फेरि मान्छेहरूलाई रिस उठ्छ। शिव यहीँका थिए भन्ने कुरामा पनि कुनै दुविधा छ र ? बृहस्पति चतराका थिए भन्ने कुरामा कुनै दुविधा छ र ? चतराबाट कोशी नदी पार गरेर पश्चिमतिर आएर राम–लक्ष्मणलाई शिक्षादीक्षा दिएका थिए। त्यो शास्त्रमा भनेको छ, मैले भनको त होइन। वेदव्यास तनहुँमा जन्मेका थिए, शास्त्रले भन्छ। महाकालीको किनारमा तप गरेका थिए, शास्त्रले भन्छ। व्याकरणका महान् व्याकरणाचार्य पाणिनि अर्घाखाँचीका थिए, शास्त्रले भन्छ, मैले भनेको होइन। अर्घाखाँचीमा पणेना गाउँ त्यहाँ छँदैछ, अस्ति भर्खर हामीले पाणिनि सम्मेलन मनायौं। त्यहाँ एउटा के देखाए भने, पाकिस्तानमा जन्मिएका ऋषि पाणिनि अर्घाखाँची आए रे तर त्यस्तो कुरा होइन। अर्घाखाँचीमा जन्मिएका, अर्घाखाँचीमा हुर्किएका, अर्घाखाँचीमा शिक्षादीक्षा आर्जन गरेका त्यस्ता विद्वान हुन् पाणिनि।  

विश्वामित्रले शिक्षादीक्षा दिँदा अथवा सुश्रुतले सर्जरी विकास गर्दा अथवा चरकले आयुर्वेद विज्ञान विकास गर्दा, आरोग्य विज्ञान विकास गर्दा विश्वको पहिलो विश्वविद्यालय खुलेको थिएन। त्यसो भएर यो यहीँका व्यक्तिहरूबाट सुरु भएको हो। तर यो विश्व कल्याणका लागि, समग्र मानव जातिका लागि कल्याण भएको हो। यसको भूगोलको सीमासँग सम्बन्ध छैन, यो विश्वव्यापी छ। यो कुनै सम्प्रदायसँग सम्बन्धित छैन, यो विश्वव्यापी छ। यसरी पतञ्जलि अर्को एउटा विद्वान अर्घाखाँचीमै जन्मनुभयो र अष्टाङ्ग योगको विकास गर्नुभयो। योगलाई पतञ्जलीले सूत्रीकृत गर्नुभएको छ। यहाँ महत्वपूर्ण कुरा के छ भने, उहाँले योगलाई चार भागमा बाँढ्नुभएको छ। चार पाद भन्नुभएको छ। पाद भनेको पाउ हो। त्यो चार भागको पहिलो भागमा ५६ सूत्रहरू छन्। दोस्रो भागमा ५१ सूत्रहरू छन्। तेस्रो भागमा ३३ सूत्रहरू छन्। चौथो भागमा ३४ सूत्रहरू छन्। यसरी पतञ्जलि योगको चार पाद, चार भाग छ। यी अष्टाङ्ग योगका आठवटा (अष्टाङ्ग) सूत्रहरू दोस्रो भागमा पर्दछन्। यसलाई धेरै महत्व दिएको छ, जीवनका लागि र समाजका लागि। अघि डाक्टरले भन्नुभयो, यो ऋषिमुनिका समयको वा ऋषि मुनिका तरिकाका कुराहरू दैनिक जीवनमा धेरै काम लाग्दैन। हामीले योगलाई दैनिक जीवन, हाम्रो जीवनचर्या बनाउनुपर्दछ।

हामी कोही ऋषिमुनि बनाउन, तपस्वी बनाउन मान्छेहरूलाई खोजिराखेका छैनौं। मान्छेहरूलाई योग गुरु बनाउन खोजिराखेका छौं, हरेकलाई योगी बनाउन खोजिराखेका छौं। त्यसमध्येबाट केही योग गुरु हुनुहोला, केही योग गुरुमा विकास हुनुहोला तर हामीले कमाउनु पनि पर्छ आजको समयमा। फेरि कमाउनु सुख भोग आदि इत्यादि फेरि ऋषिमुनिका भाषणले काम गर्दैन। खानु त पर्छ नै। आरोग्यका कुरा गर्दा, स्वास्थ्यका कुरा गर्दा तीनटा कुरामा ध्यान दिनु पर्दछ। पहिलो कुराः खाना हो। जसलाई हामी आहार भन्छौं। दोस्रो योग, विहार, व्यायाम काम हामी जे नाम दिउँ। तेस्रो आराम गर्नुपर्दछ। खाना, काम र आराम तीनवटा चिजको सन्तुलन। सन्तुलित भोजन, राम्रो भोजन, स्वस्थ भोजन, विषादीरहित भोजनमा हामीले ध्यान दिनुपर्दछ, खासगरी योगीहरूले। किनभने सन्तुलित शुद्ध पेट भर्नका लागि होइन, स्वास्थ्यका लागि खाने हो भन्ने कुरा हरेकले बुझ्नुपर्दछ, स्वास्थ्यका लागि खाने। त्यसकारण विषादीयुक्त खाना होइन, विषादी नभएको स्वस्थ र शुद्ध खाना, अर्गानिक त्यस्तो खाना हामीले खानु पर्दछ। ठिक्क खानु पर्दछ। खाना हुने खालको सुखाद्य खानुपर्दछ। खाना नहुने खालको खाने कुराले स्वास्थ्यलाई बिर्गाछ। त्यसकारण तीनटा चिजको सन्तुलन हुनुपर्दछ। सबै योगीहरूले बुझ्नुपर्ने कुरा के छ भने, आहार, विहार र आराम यी चिजहरूको सन्तुलन राम्ररी मिलाउनु पर्दछ।  

अष्टाङ्ग भनेको धेरै महत्वपूर्ण छ, त्यसको निचोड निकालेर आठवटा सूूत्रहरूलाई, पहिलो सूत्र त नेपाललाई अहिले सबैभन्दा चाहिएको सूत्र त पहिलो सूत्र छ, जहाँबाट १९४ वटा सूत्र सुरु हुन्छ। पहिलो सूत्र अर्धवाक्य छ। अर्धवाक्य भनेको, अथः योगानुशासनम्। अब योग अनुशासन प्रारम्भ हुन्छ। योग बन्ने बित्तिकै अनुशासनको कुरा आउँछ। आज नेपाली समाज पीडित केमा छ भने अनुशासनको समस्या हो, अनुशासनहीनता। अनुशासन योगको पहिलो सूत्र हो। अनुशासनमा बस्न सकिएन भने ज्ञानले र ध्यानले केहीले पनि हुँदैन। ध्यानको पनि अनुशासन हुन्छ नि, ध्यान गर्दै छ कपाल चलाएको छ, चलेको छ, यता पनि हेर्दै छ, उता पनि हेर्दै छ, त्यो अनुशासनमै बसेन भने ध्यान कसरी हुन्छ ? ध्यानको आफ्नै पनि अनुशासन हुन्छ। हरेक चिजको अनुशासन हुन्छ। समाजका अनुशासन हुन्छ। यसरी अष्टाङ्ग योगलाई आठ भागमा र आठ वटा सूत्र छन्। त्यो सूत्रमध्ये यम एउटा, नियम अर्को र नियम समाजसँग, व्यक्तिसँग सम्बन्धित छ तर समाजसँग त्यो सोझै सम्बन्धित के हुन्छ भने यमले पाँच वटा सूत्र भन्छ, पहिलो सूत्र भन्छ अहिंसा। आज विश्वलाई शान्ति चाहिएको छ। हिंसा होइन, अहिंसा चाहिएको छ। हाम्रा पूर्खाहरूले उहिलेदेखि भन्ने गर्दथे, ॐ शान्ति शान्ति शान्ति कति महत्वपूर्ण छ आज पनि। यही यम र नियम मात्रै बुझिदिए हतियारधारीहरूले भने, अहङ्कारीहरूले भने, हतियार मात्रै केही खतरा होइन। हतियार आफैँ पड्किदैन, बन्दुक आफैँ पनि पड्किदैन। त्यसमा गोली हुन्छ, जो बहुत खतरनाक हुन्छ।  

मान्छेको अहङ्कार जो हो, त्यसले गर्दा हतियार बनाउँछ, हतियार चलाउँछ, विनाश गर्छ, विनाशमा रमाउँछ, विनाशमा थप अहङ्कार पैदा गर्छ र अहङ्कारी हुन्छ। त्यसकारण हिंसा होइन, अहिंसा। अष्टाङ्ग योगको पहिलो हामीले जान्नै पर्ने र हाम्रो व्यवहारमा लागु गर्नुपर्ने कुरा के हो भने अहिंसा। दोस्रो यम मध्ये दोस्रो सत्य। सत्य व्यवहार गर, असत्य नगर। यो दुनियाँ तपाईं हामी सबै सत्यमा चल्यौ भने, असत्य अपनाएनौं भने सुन्दर हुँदैन र ? नचाहिने, आफूलाई आवश्यकता नभएका कुराहरूमा लोभ नगर, अनुशासनमा बस, ब्रह्मचार्यधारण गर, यिनै कुराहरू भनिएको छ। नियममा भनिएको छ, आपूmलाई स्वस्थ राख शौच पहिलो सूत्र। आफूलाई स्वस्थ राख, शारीरिक हिसाबले स्वच्छ राख, मानसिक हिसाबले स्वच्छ राख, स्वच्छ मन राख। अघि डाक्टरले भन्नुभयो खुशी, स्वच्छ मनले खुशी पलाउँछ। म आफ्नो अनुभव भन्छु, म देशका लागि काम गर्छु, जनताका लागि काम गर्छु, सुशासनका लागि काम गर्छु, विकासका लागि काम गर्छु, मौका पाएका बेला सुशासन विकासका लागि, देशका लागि काम गर्छु, नपाएका बेला पवित्र मनका साथ बस्छु, पवित्र चाहनाका साथ बस्छु, पवित्र भावनाका साथ बस्छु। त्यसकारण म कसैप्रति कुनै वैरभाव केही पनि राख्दिनँ। सधै प्रसन्न चित्त हुन्छु। मलाई गाली गरिराखेका हुन्छन्। मिसन छ गाली गर्ने, त्यो कुरा म बुझ्छु। माया लाग्छ गाली गर्नेहरूप्रति ! तर म प्रसन्न रहन्छु, किनभने मैले उसलाई बुझाउन सकिनँ, त्यति मात्रै कुरा हो। मेरो बुत्ताभन्दा सायद बाहिरको कुरा हो। म कतिलाई बुझाउन सक्छु, कतिलाई सम्झाउन सक्छु, कतिलाई भेट्न सक्छु, सबैलाई बुझाउन सक्दिनँ। यदि योगको संगतमा आए भने, तपाईंहरूको संगतमा आए भने ती मान्छेहरू पनि मान्छे हुन्छन्। तपाईंहरू कसैलाई मुख छाड्र्दै हिंड्नु भएको छ, गाली गर्दै हिंड्नु भएको छ ? हिंड्नु हुन्न, किनभने तपाईंहरू योग गर्नुहुन्छ, ध्यान गर्नुहुन्छ, प्राणायाम गर्नुहुन्छ। योग भनेको के हो चित्तानुशासनम्। चित्तलाई एक ठाउँ लाग्ने, चित्ताग्रह, एक ठाउँमा चित्तलाई स्थिर बनाउने, चित्तस्थिर गर्ने कुरा हो, मनलाई स्थिर गर्ने कुरा हो।

पतञ्जली भन्छन, योग भनेको मनलाई स्थिर गर्ने कुरा अथवा स्थिरता नै योग हो भन्छन। स्थिरता भनेको नचल्ने, अचल भन्ने होइन तर राम्रा कुराहरूमा गएर स्थिर हुन्छ। हरेक भड्किएको मनलाई हामी राम्रा कुरामा ल्याएर स्थिर गर्छौं। डाक्टरहरू ल्याबमा पठाउनुहुन्छ खकार, थुक, रगत अरु विभिन्न जिच पठाउनु हुन्छ। ल्याबमा पठाउनुहुन्छ र त्यहाँबाट हेर्नुहुन्छ, एक्सरेमा पठाउनु हुन्छ, त्यहाँबाट हेर्नुहुन्छ, एमआरआई गर्नुहुन्छ, सिटीस्क्यान गर्नुहुन्छ, यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, सबै गर्नुहुन्छ र हेर्नुहुन्छ अनि निष्कर्षमा पुग्नुहुन्छ। त्यो हो स्थिर। यो भएको रहेछ, स्थिर त्यहाँ पुगेपछि तपाईंको निष्कर्ष पुग्यो। हो त्यो स्थिरताबाट अब तपाईंले ट्रिटमेन्ट सुरु गर्नुहुन्छ, किनभने तपाईंले निदान गर्नुभयो रोगको अथवा रोगको पहिचान गर्नुभयो अथवा डाइग्नोसिस गर्नुभयो। त्यो डाइग्नोसिसपछि अब उपचारको फेजमा तपाईं जानुहुन्छ। हामीलाई डाक्टर चाहिन्छ, अस्पताल चाहिन्छ तर अहिले सरकारले लिएको नीति निरोगी नेपालको हो।  

म अरु धेरै लामो कुराहरू म भन्दिनँ, त्यो अष्टाङ्गको पनि मैले भन्न भ्याइनँ, यम, नियम, आसन, प्राणायाम आदि गर्दै सबै आठवटा ध्यान, धारणा र अन्तिममा समाधि धारणा, ध्यान समाधि गरेर हामी आठ योग बन्छौं। र यिनका विभिन्न खण्ड छन्, विभिन्न विभिन्नसँग जोडिएका छन्। कोही एक्लै छ, कोही एउटासँग, फेरि अर्कोसँग, अर्को ब्लकमा गएर पनि जोडिन्छ। फेरि अर्को ब्लकमा गएर जोडिन्छ, कोही मनसँग, कोही ध्यानसँग जोडिन्छ। धारणा ध्यान समाधि तीनवटै फेरि ध्यानसँग जोडिन्छ। ध्यान लाग्यो कि लागेन भन्ने कुरा हुन्छ उहाँहरूको। ध्यान लाग्यो कि लागेन अचम्मको कुरा छ, ध्यान लाग्यो लागेन भन्ने कुरा। ध्यान लाग्छ, कति बेला कसैलाई लाग्दैन। ध्यान लागेन, निकै बेर लाग्यो ध्यान लाग्न, बल्ल ध्यान लाग्यो। लाग्नेले मात्र बुझ्छ कति बेला ध्यान मलाई लाग्यो ! नलाग्नेले त्यो ध्यान बुझ्दैन, लाग्यो कि लागेन।

अब त्यसका विभिन्न पक्षहरू छन्। यी पक्ष कोही कोही रमाइला रमाइला पनि हुन्छ। यी चिजहरू उहाँहरूले किन गर्न खोज्नुभयो भने यो ब्रह्माण्ड, यहाँ ध्वनि, यहाँ ध्वनिको शक्ति अथवा कसरी ग्रह नक्षत्रहरू ब्रमाण्डमा गनेर साध्य छैन, भनेर साध्य छैन, त्यति सौर्यमण्डलहरू छन् त्यति ग्यालेक्सीहरू छन् र यो अनन्त कस्मिक छ, कस्मिक भत्किदो छ, बिग्रिदो छ, बन्दो छ, यो दुनियाँ अनौठो छ। सबैै क्वान्टमहरूको खेल छ। अरु परमाणुहरूभन्दा पनि मसिना मसिना तत्वहरूको खेल छ। यही कुरालाई हेरेर हाम्रा पूर्वजहरूले, ऋषि मुनिहरूले योग सिर्जना गर्नुभयो।  

योगका यदि यम, नियम मानिँदैन भने जति आसन गर्नुस्, जति प्राणायाम गर्नुस् आफ्ना निम्ति त होला तर समाजका निम्ति हुँदैन। तपाईंको समाजमा व्यक्तित्व बन्दैन, किनभने भने ध्यानले मात्रै पुग्दैन। तपाईं कर्मशील, कर्मवीर, कर्मठ र कर्मयोग बिना हामीले ध्यानै मात्रै गर्यौं भने, प्राणायाम गरेको छ, गरेको छ, छिट्टै पुगिहाल्छ माथि ! यो लोक बन्दैन फेरि परलोक बन्छ। योगको सम्बन्ध परलोकसँग होइन, यस लोकसँग छ सम्बन्धित छ, मानव जातिसँग छ। योगको सम्बन्ध इजरायल र इरानका बिचको अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्ध छ र दुनियाँमा फेरि शान्ति स्थापना होस्, युद्ध नभड्कियोस र नफैलियोस् भन्ने कामनासँग, यसको प्रयाससँग छ, यसको आवाजसँग छ सम्बन्ध। मान्छेको मारामारलाई युद्ध भनिन्छ। साँढे जुधाईलाई युद्ध भनिंदैन। मान्छे मारामार जस्तो नराम्रो कुरा के हो ? अरु केही हुन सक्छ, मान्छे मारामार ! एउटाले अर्कालाई मार्यो ओहो ! यो भन्दा नराम्रो कुरा के हुन्छ होला ? त्यही त भइराखेको छ। त्यसमा दाउपेच भइराखेको छ, कसले धेरै मार्ने ! एउटा देशको राष्ट्रपतिलाई अर्को देशको राष्ट्रपतिले, अर्को देशको प्रधानमन्त्रीले त्यो फलानालाई मार्छु र मारेर छोड्छु ! ग्लोबल अर्डर, ग्लोबल अर्डर भनेको के हो ? यस्ता यस्ता कुराहरू आज सुन्न थालिएको छ। मैले यो पोलिटिसियनको हिसाबले भनेको होइन, एउटा योगको हिसाबले भनेको हो। यही कुरासँग योग, व्यक्तिभित्रको अशान्ति शान्त होस्, व्यक्तिभित्रको चिन्ता शान्ति होस्। व्यायाम हुनै पर्दछ, ध्यानमा मात्रै पनि भर नपर्नु होला। काम गर्नै पर्छ, तपाईंहरूको रक्तसञ्चार हुनै पर्दछ। हात पाहुहरू चल्नै पर्दछन्, तपाईंको गर्धन चल्नै पर्दछ, तपाईंको हातले केही उठाउनै पर्दछ, तपाईंका मसल चुस्तदुरुस्त हुनै पर्दछ, नत्र भने मसल कमजोर हुनेछ। मसल कम्जोर भयो भने, यो हात बाँधेर राख्नुभयो भने, मेरो हात चलाउँदिन भनेर बाँधेर राख्नुभयो भने दुईतीन महिना त्यस्तै गर्नु भयो भने यो हात फुक्दैन फेरि डाक्टर चाहिन्छ। यो हात फुकाउन डाक्टर चाहिन्छ, किनभने फ्रिज भइसक्छ। अनि डाक्टरले फिजियोथेरापिस्ट कहाँ जानुस् भनेर अनि फिजियोथेरापीले गर्छ। 

आफैँले फिजियोथेरापी कहाँ जानु पर्ने स्थिति बनाउनु हुन्छ, आरामको जिन्दगी बाँच्न खोज्नु भयो भने। आरामको जिन्दगी होइन, सुखको जिन्दगी बाँच्नुस्। आरामको जिन्दगी होइन, स्वस्थ जिन्दगी बाँच्नुस्। आरामको जिन्दगी होइन, स्वस्थ, सुखी, मज्जाको जिन्दगी बाँच्नुस्। पसिना ननिस्किएको जिन्दगी होइन, पसिना काँढेको जिन्दगी बाँच्नुस्। हातपाउ खियाएको, हिंडेको जिन्दगी बाँच्नुस्, चलेको जिन्दगी बाँच्नुस्। त्यसकारण योगले ती कुराहरू सिकाउँछ। यदि हामी हाम्रो आचरणमा यम र नियममा ध्यान दिँदैनौ भने हुँदैन। सरकारले अहिले मात्र होइन, म प्रधानमन्त्री हुने बित्तिकै मैले निरोगी नेपाल भन्ने नारा दिएँ। निरोगी नेपालको नीतिभित्र के पर्छ भने, मानिसलाई रोगी हुन नदिने, नेपाललाई निरोगी बनाउने पहिलो कुरा आरोग्यता। निरोगी नेपाल, बिमारी हुनै नदिने, कसरी खाना, काम र आरामको सन्तुलन। सबैै चिज स्वस्थ। यससँगै मनको स्वस्थता। मनको पवित्रता। यससँगै हामी सामाजिक प्राणी हौं, समाजले निर्धारण गरेका चिजहरू योगले सिकाउनु पर्दछ। योग गुरुहरूलाई म आग्रह गर्न चाहन्छु, सिकाउनु पर्दछ ब्रह्मचार्य भनिएको छ यम नियममा। तर ब्रह्मचार्य भनेको तपाईंका शारीरिक आवश्यकता पूरा नगर्नुस् भनेको होइन। थितिमा बस्नुस् भनेको हो। नियममा बस्नुस् भनेको हो। अनि सबै जोगी हुने, सबै जोगिनी हुने, कसैले बच्चा नपाउने हो भने र योग नसिक्ने हो भने, हाम्रो पालामा योग होला, त्यसपछि त बाँझै ! त्यसकारण ब्रह्मचार्य भनेको समाजले थिति दिएको छ, विधि दिएको छ, सबै जैविक र मानवीय आवश्यकता, सामाजिक स्वीकार्यताको माध्यमबाट नै पूरा हुन सक्छ। त्यसकारण सामाजिक स्वीकार्यतालाई ध्यान देउँ, सामाजिक मर्यादा राख, सामाजिक नियमहरू पालन गर र त्यसभित्र राज्यका नियमहरू भनेका समाज विकासका क्रममा हुँदै जाने हुन्। सामाजिक नियमले समाज चल्छ। सबैभन्दा बलिया हुन्छन् हाम्रा रितिथिति, चाड परम्परा। नाता सम्बन्धभित्र, रगतको नाताभित्र यौन सम्बन्ध आदि गर्नु हुँदैन, विवाह गर्नु हुँदैन भन्ने यो पछि कानुन बन्यो। कानुनभन्दा अगाडिदेखि प्रचलन थियो त हाम्रो। त्यो थिति समाजमा थियो त अथवा कानुन कहिले बन्छन्, कहिले बन्दैनन्, कहिले बनेका हुँदैनन् तर कानुनभन्दा बढी समाजले थिति बनाएको हुन्छ। त्यो सामाजिक प्रबन्धलाई मानेर अगाडि बढ् भनेर योगले भन्छ। त्यसकारण हामीले सामाजिक सुप्रबन्धका कुरा, समाजसँगको वैयक्तिक सम्बन्धका कुरा, जसबाट व्यक्ति सुखमय हुन्छ, व्यक्तिको जीवन सुखमय हुन्छ, परिवारको जीवन, सिंगै परिवार सुखमय हुन्छ, सिंगै छरछिमेक, टोल सुखमय हुन्छ, त्यसले एउटा कम्युनिटी, एउटा समुदाय, एउटा ठाउँ सुखमय हुन्छ, एउटा देश सुखमय हुन सक्छ। देश –देशहरू सुखमय भएर विश्व सुखमय हुन सक्दछ। त्यसकारण योग आवश्यक छ। योग एउटा पक्ष मात्रै होइन, योग जीवनको बहुआयामिक दृष्टिकोण हो। वैज्ञानिक दृष्टिकोण हो, जो हाम्रा पूर्खाहरूले हजारौ वर्ष अगाडि मानव कल्याणको लागि, मानव जातिको लागि र बिना विभेद, धर्मको विभेद, जातिको विभेद, भाषाको विभेद कुनै विभेद बिना, पेशाको विभेद बिना, रङको विभेद बिना, लैंगिक विभेद बिना, जातीय वा अरु कुनै प्रकारका रंगभेद बिना, पेशा व्यवसायका भेद बिना सबैको कल्याणका लागि योग हाम्रा पूर्खाहरूले धेरै अगाडि निर्माण गर्नु भएको हो।  

यसका विभिन्न शाखा छन्। म तपाईंहरूलाई के आग्रह गर्न चाहन्छु भने, यम मानिएन भने योग सुरु नै नगरे हुन्छ। यम मान्नु हुन्न, नियम मान्नु हुन्न, जिम जानुहुन्छ भने तपाईंले कसैको के भत्काउनु हुन्छ। जिम जानुहुन्छ, पाखुरा ठूलो हुन्छ। के गरुँ के गरौ भएर आउँछ, मति बुद्धि ठिकमा ल्याएको छैन, अनि के हुन्छ ? त्यसकारण मति बुद्धिसहितको मसल हुनुपर्छ। यो योगले काम गर्छ। बाटो देखाउने टर्चलाइट जस्तो, बाटो देखाउने उज्यालो, तमसोमा ज्योतिर्गमय योगले त्यो काम गर्दछ। त्यसकारण योग दैनिक जीवनमा गरौं। आज योग दिवस हो। त्यसकारण आज एकछिन् हामीले यहाँ अभ्यास गर्ने होइन, घरघरमा अभ्यास गरौं।  

अर्को कुरा ख्याल राखौ, कसले कुन चिज गर्नु हुन्छ, कसले कुन चिज गर्नु हुँदैन भन्ने कुरा पनि छ। कसले कुन चिज खान हुन्छ, कसैले कुन चिज खान हुँदैन, तपाईंलाई सुगर छ कि ब्लड प्रेसर छ कि फेरि सुनेका भरमा लौकाको रस भन्नुहोला। ब्लड प्रेसर डाउन भएका बेला लौकिको रस बिहानै स्वाट्ट खाँदा नराम्रो गर्ने हो कि ! डाक्टरसँग परामर्श गरेर खानु होला। यो धर्तीमा उत्तर सिरान गरेर नसुत्नु होला। किनभने हाम्रो उत्तरी ध्रुव नजिकै छ, जहाँ म्याग्नेटिक छ। उत्तरतिर सिरानी गरेर नसुत्नुस्। कहिले पनि सुत्दा सिरभन्दा माथि हात लगेर नसुत्नुस्। किनभने मुटुले हातसम्मै झड्का (ब्लड प्रेसर) फाल्छ। त्योभन्दा तल मस्तिष्क पर्छ, मस्तिष्कका साना नसाहरूमा झट्का पर्छ र आघात पर्न सक्दछ। त्यसकारण यदि उत्तर सिरानी गरेर, हात पनि टाउकाभन्दा माथि लगेर आरामले सुत्नुभयो भने बिउझिन मुस्किल छ। कहिले कहिले अहिले एकातिर म्याग्नेटले तान्छ। नर्थ पोलले, हाम्रो नजिकै नर्थ पोल छ, ध्रुवीय म्याग्नेटले तान्छ, अर्कातिर हातमाथि पु¥याउनु भएको छ, मुटुले हातको टुप्पासम्म ब्लड फ्याक्नु पर्यो, मस्तिस्कको मसिना नसाहरू बिचमा पर्छ। माािथसम्म पुग्नेगरी फ्याक्दा बढ्ता धक्का लाग्न सक्छ। मुटुलाई स्वस्थ राख्नका लागि मुभिलिटी आवश्यक छ। अंग्रेजी शब्द मुभिलिटी, मुभमेन्ट नेपाली शब्द मुटु, मुटु र मुभिलिटी मुभमेन्टको अत्यन्त अन्योयाश्रित सम्बन्ध छ। मुभमेन्ट बन्यो मुटु छ, मुभमेन्ट सिद्धियो मुटु सिद्धियो ! त्यसकारण जेल बस्ने मान्छेहरूलाई हटअट्याक त्यति हुँदैन। खान पाए पो, बोसो लागेकै हुँदैन, कहाँबाट अट्याक हुनु ! तर कमजोर हुँदै गएर हट फेल हुन्छ। मुभिलिटी भएन भने अट्याक होइन फेल हुन्छ, अट्याक पनि हुन सक्छ, किनभने त्यो बोसो काट्न पनि मुभिलिटी चाहिन्छ। हिंड्न पर्छ, उफ्रिनु पर्छ, दौड्नु पर्छ र योग चाहिन्छ। हिंड्नु पनि एउटा योग हो नत्र भने व्यायाम चाहिन्छ। यसैकारण हामीले निरोगी नेपाल भनेका हौं।  

डाक्टर चाहिन्छ। हामी डाक्टर उत्पादन गरेका गर्यै छौं। अझ धेरै डाक्टरहरू हामी उत्पादन गर्छौं। अहिले पुगेको छैन तर डाक्टर उत्पादनभन्दा बढी, डाक्टरको संख्या बढाउनेभन्दा बढी, अस्पतालको संख्या बढाउनेभन्दा बढी रोगीको संख्या घटाउने, रोगी हुनै नदिने, निरोगी बनाउनेतिर हाम्रो पहिलो ध्यान छ। त्यसकारण सरकारको स्वास्थ्य नीतिमा जोड के छ भने पहिलो कुरा मान्छेलाई रोगी हुन नदिने। रोगी भइहाल्यो, अब प्राकृतिक हिसाबले प्रेग्नेन्सीको अवस्था हुन सक्छ, गाइनोलोजिस्टलाई देखाउनु पर्छ, उपचार गर्नुपर्छ, डेलिभरीको समस्या यस्ता प्राकृतिक कुराहरूमा चाहिन्छ र कहिले कहिले स्वाभाविक रुपमा हेरिडिटिकल भन्ने रोगका कुराहरू हुन्छन, कहिले के हुन्छ, कहिले कसैमा भएका कुराहरू सरुवा रोग सरेर आइदिन्छ। यस्ता अनेक कुराले चाहिएको हुन्छ। ट्रमाका स्थितिहरू हुन्छन्। अचानक केही पर्दिन्छ। त्यस्ताका लागि डाक्टर चाहियो, अस्पताल चाहियो, चिकित्सा चाहियो। सबै उपकरण चाहिए, औषधि चाहियो, सबै चाहिन्छ। हामीले तयार राख्नुपर्छ। फेरि हामीले ध्यान गरेपछि केही पनि हुँदैन। यहाँ स्वयम्भुमा पोहोर परार भुइँचालो जाँदा अरु सबै भागेर बाहिर निस्किए। एक थरी परमपितापट्टि अत्यन्त त आस्था भएका प्रभुले बचाई हाल्नु पर्छ भन्ने, गुरुले भनेछन् बसबस केही हुँदैन, प्रभुले बचाई हाल्नु हुन्छ, प्रभु हुनुहुन्छ रक्षा गर्नुहुन्छ। हुर्र भागेर बाहिर निस्केको भए हुन्थ्यो। यस्तैमा थिए, माथि छानो थियो, भाग्न सक्थे, खुर्रर्र बाहिर निस्किने ठाउँ थियो। तर प्रभु हुनुहुन्छ, बस बस केही हुँदैन भनेपछि त्यही बसे, छत खसेर दुई अढाई सय स्वयभुमा बिते। भगवान् ले भुइँचालो जाँदा पनि कच्ची घरबाट बाहिर ननिस्कौं भनेका छन् ? त्यसकारण भगवान् लाई दोष दिने होइन। बेलुका मान्छे टिल्ल जाँड खान्छ। बाटो हेर्दैन, नालीमा पछारिन्छ, खुट्टा भाँच्छ, अनि बेस्सरी भगवान् लाई गाली गर्छ। के गर्ने लेखेको कुरो आखिर टर्दो रहेनछ भन्छ। अनि त्यहाँ भट्टीमा गएर बेस्सरी खान भनेको थियो, लेखेको थियो ? कसले लेखेको थियो ? भगवान् ले त्यस्ता कुरा लेख्छ केही काम छैन अरु ? फुर्सद छ भगवान् लाई ? अनि भगवान् लाई तपाईंको हातसँग र खुट्टासँग रिस उठेको छ र भाँचिदिन्छ ? अरु काम सिद्धियो भगवान् को, हात खुट्टा भाँच्नेतिर लाग्यो भगवान्  ? टोले गुण्डा हो भगवान्  भनेको हात खुट्टा भाँच्ने ? भगवान् लाई दोष लगाउनु हुँदैन, आपूm सतर्क हुनुपर्छ र आपूmले गर्नुपर्छ। अनि लापरवाही जिन्दगी बितायो, अनि भगवान् लाई दोष लगायो अनि डाक्टर कहाँ खर्च लिएर गयो। त्यो भन्दा आफू सर्तक हुने। योगमा ध्यान दिने। योग भनेको मस्तिष्कको, मनको, तनको, सबै चिज शुद्ध, पवित्र र सामाजिक रह्यो भने हामी निरोगी र स्वस्थ हुन्छौं र समाजलाई स्वस्थ ढंगले अगाडि बढाउन सक्छौं।

सबैलाई यही मेरो आग्रह छ। सरकारको तर्फबाट यस सन्दर्भमा दिने ध्यान हामी दिइरहेका छौं र निरोगी नेपाल, रोग लाग्नै नदिने, लागिहालेमा उपचार गर्ने, आकस्मिक दुर्घटना केही भए उपचार गर्ने, प्राकृतिक खालका कुनै चिज परे उपचार गर्ने तर साधारणतया भन्ने हो भने सधैं स्वस्थ रहन प्रेरित गर्ने, सधैं स्वस्थ रहने बाटो हिंड्ने, स्वस्थताको, स्वस्थ मन र प्रसन्नता। खासमा भन्ने भने इम्मुन सिस्टमको सबैभन्दा प्रमुख जग प्रसन्नता हो। इम्युनिटी कसरी बढ्छ भन्दा प्रसन्नताले बढ्छ। त्यसकारण प्रसन्न हौं। योगी बन। योगी बन्न दाह्री पाल्नु पर्दैन, दाह्री पाल्नु पर्यो भने महिलाले के गर्नु हेर्नुस् त ! योगी हुनलाई दाह्री पाल्नु पर्छ भन्दिनु भयो भने त महिला त बाहिर भयो नि। योगी हुन दाह्री पाल्न पर्दैन। दाह्री नपालेरै योगी बन्न सकिन्छ। कपाल पाल्नु भन्यो भने, म जस्तोले टोपी फुकाल्यो भने तपाईंहरू छक्क पर्नु हुन्छ। कपाल पाल्नु पर्छ योगीले भने म जस्तोले के गर्ने ? बिजोग हुँदैन। त्यसकारण योगले स्वस्थसँग, स्वास्थ्यसँग, मनसँग, मस्तिष्कसँग शरीरसँग र समाजसँग सम्बन्ध राख्छ, अरु कुरासँग होइन। आवरणसँग होइन, पहिरनसँग होइन, चन्दन टिकासँग होइन। अहिले बाबाजीहरू दुई तीन घण्टा मेकअप गरेर प्रवचन गर्न निस्किनु हुन्छ। बाबाजीलाई मेकअप किन चाहियो ? त्यो मलाई अचम्म लाग्छ। सधैं ऐना हेरेर एकैनासको टिको ट्याक्क मिलाएर चट्ट कहाँदेखि कहाँसम्म लगाउने भन्ने गर्नु हुन्छ। यसै ट्याक्क लगाएको टिको हो, होइन नि। बाबाजी अब फेसियल ? गुरुजी फेसियल ! गुरुजी पार्लर ! गुरुजीका टिथ्यान्ल ! यो योग होइन। योग घरै बसेर गर्न सकिन्छ। पहिले आपूmलाई पवित्र सोच्न थाल्नुस्, तपाईं योगी हुन थाल्नु भयो। पवित्र सोच्नुस्, सत्य सोच्नुस्, अहिंसा सोच्नुस्, अर्काको सम्पत्तिमा लोभ नगर्ने, आफ्नो बाहेक र चाहिने बाहेक अपरिग्रह, चाहिने बाहेकका कुराहरूप्रतिको लोभलाई पन्छाइदेउ, प्रत्याहार आठवटा मध्यको एउटै हो। त्यस्ता चिजहरूको कुनै पनि दुष्प्रभावलाई टाडैबाट हटाइदेउ आदि।

घरै बसेर योगी हुनुस्। मेरो विनम्र आग्रह छ। तपाईं घर बसेर योगी हुन सक्नु भएन भने अथवा त्यो बाटो हिँड्नु भएन भने संसारलाई योगी बनाउनै सकिंदैन। घरै बसेर योगी हुन सकिन्छ। सिक्नका लागि स्टुडियोमा गएर रेकर्डिङ त गर्नुपर्छ। रेकर्डिङ गर्न स्टुडियोमा जानुस्। सिक्ने बेलामा भोकल सिक्न जानुस्। अरु सिक्न जानुस्, म्युजिक सिक्न जानुस्। घरै बस्न सकिन्छ नि, घरै बसेर आफ्नो व्यवहार चलाउँदै गर्न सकिन्छ, त्यस्तै हो। योग अभ्यास गर्न जानुस्, सिक्न जानुस् कस्तोमा गर्नुहुन्छ, कुन योग, कुन अभ्यास कस्तोमा गर्नुहुन्छ कुन आसन, कुन बिमारी, कुन रोग लागेकोले गर्नु हुन्छ हुँदैन डाक्टरहरूसँग परामर्श गर्नुस्। सुगर भएकोले के गर्न हुन्छ, हुँदैन कस्तो आसन गर्नु हुन्छ, हुँदैन। प्राणायाम जसले पनि गर्नु हुन्छ। तर आसनमा अलिकति होस गर्नुपर्छ। कहिलेकहिले शीर्षासन गर्दाखेरि ब्लड प्रेसर हाई भएको मान्छेले लामो समय शीर्षासन ग¥यो भने के हुन्छ, डाक्टरलाई सोध्नुस्।  

म फेरि पनि योग मानवजातिको कल्याणका लागि, मानव जातिले गर्ने मानवका लागि गर्ने, आफ्ना लागि, परिवारका लागि, समाजका लागि, विश्वका लागि, शान्ति र सभ्यताका लागि गर्ने, समृद्ध नेपाल, सुखी नेपाली बनाउन हामीले गर्ने, स्वस्थ सुखी नेपालीहरूको नेपाल बनाउन हामीले गर्ने हो। त्यसर्थ योगलाई त्यसैगरी बुझेर अगाडि बढौँ भन्ने आग्रहका साथ सबैमा शुभकामना।

(प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व योग दिवसका आवसरमा ललितपुरमा आयोजित कार्यक्रममा गरेको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको)

प्रकाशित: ७ असार २०८२ १८:५० शनिबार





Source link

Leave a Comment