यूएईका मुख्य पूर्वाधारमा इरानको हमला, महत्वपूर्ण बन्दरगाह समेत प्रभावित



प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार

यूएईका मुख्य पूर्वाधारमा इरानको हमला, महत्वपूर्ण बन्दरगाह समेत प्रभावित

फोटो: एपी/रासस

यूएईका मुख्य पूर्वाधारहरूमा इरानले पुनः ड्रोन आक्रमण गरेको छ। इरानी आक्रमणका कारण दुबई विमानस्थल र फुजैराह बन्दरगाह प्रभावित भएका छन्।

मध्यपूर्वमा जारी युद्धको प्रभाव बढ्दै जाँदा संयुक्त अरब इमिरेट्स (यूएई) का महत्वपूर्ण पूर्वाधारहरू आक्रमणको निशानामा पर्न थालेका हुन्।

सोमबार दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमणपछि आगलागी हुँदा केही समयका लागि उडानहरू स्थगित गरिएको थियो। सोही दिन यूएईको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण फुजैराह बन्दरगाह तथा औद्योगिक क्षेत्रमा पनि ड्रोन आक्रमण हुँदा ठूलो आगलागी भएको जनाइएको छ। फुजैराह मध्यपूर्वको सबैभन्दा ठूलो तेल भण्डारण केन्द्रमध्ये एक मानिन्छ।

यसैबीच, राजधानी अबुधाबी नजिकैको अल बाहिया क्षेत्रमा कारलाई लक्षित गरी गरिएको रकेट आक्रमणमा एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको अबुधाबी मिडिया कार्यालयले जनाएको छ।

यूएई रक्षा मन्त्रालयका अनुसार सोमबार मात्र देशको वायु प्रतिरक्षा प्रणालीले छ वटा ब्यालिस्टिक मिसाइल र २१ वटा ड्रोन नष्ट गरेको छ। अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएयता इरानले यूएईतर्फ हालसम्म १,९०० भन्दा बढी मिसाइल र ड्रोन प्रहार गरिसकेको बताइएको छ।

सोमबारको आक्रमण युद्ध सुरु भएयता दुबई अन्तर्राष्ट्रिय विमानस्थल वरपर भएको तेस्रो घटना हो। यसका कारण केही उडानहरू ढिलाइ भएका छन् भने केही पूर्ण रूपमा रद्द गरिएका छन्, जसले यूएईको ‘सुरक्षित र स्थिर देश’ को छविमा असर पारेको छ।

यूएईको ऊर्जा क्षेत्र पनि लगातार निशानामा परिरहेको छ। फुजैराह यूएईको पूर्वी तटमा ओमानको खाडी किनारमा अवस्थित छ। यहाँबाट जहाजहरूले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्नुपर्दैन, जसका कारण यो बन्दरगाह विश्वव्यापी तेल आपूर्ति कायम राख्न अत्यन्त महत्वपूर्ण मानिन्छ।

विशेषज्ञहरूका अनुसार स्ट्रेट अफ होर्मुजमा तनावका कारण अवरोध सिर्जना भए पनि अबुधाबीका तेल क्षेत्रबाट पाइपलाइनमार्फत तेल फुजैराहसम्म ल्याएर निर्यात गर्न सकिन्छ।

तेल बजार विश्लेषकहरूले फुजैराहमा भएको आक्रमणले खाडी क्षेत्रको ऊर्जा पूर्वाधार कति संवेदनशील छ भन्ने देखाएको बताएका छन्। उनीहरूका अनुसार इरानको उद्देश्य ऊर्जा आपूर्ति प्रणालीमा अवरोध पुर्‍याउनु हो।





Source link

Leave a Comment