नेकपा एमालेको शक्तिशाली जनवर्गीय संगठन युवा संघ नेपालको दसौं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ। देशभर युवा परिचालन गर्ने जिम्मेवारी बोकेको संगठनको नेतृत्व कसले लिन भन्ने होडबाजी तीव्रताका साथ चलिरहेको छ। एमालेले सबै जनवर्गीय संगठनको नेतृत्व सर्वसम्मत चयन गरेको अवस्थामा युवा संघको नेतृत्व पनि सर्वसम्मत रूपमै चयनका लागि निर्देशन दिइसकेको छ तर नेतृत्वका लागि युवाहरू प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन्।
युवा संघको दसौं महाधिवेशन यही जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुँदै छ। यसपटक अध्यक्षमा उपाध्यक्षहरूले दाबी गरिरहँदा पार्टी नेतृत्वले भने वर्तमान अध्यक्ष क्षितिज थेबेलाई दोहोर्याउने गरी छलफल अघि बढाएको छ। तीन उपाध्यक्ष र एक महासचिवले अध्यक्षमा आकांक्षा देखाएका छन्। थेबेले भने आफू पार्टी काममा जाने बताइरहेका छन्। तर माथिल्लो तहमा पनि समायोजन गरिहाल्ने अवस्था नरहेको र युवा संघलाई आगामी निर्वाचनसम्म चलायमान बनाउनुपर्ने भन्दै थेबेलाई दोहोर्याउन पार्टी नेतृत्व लागेको हो।
अध्यक्ष थेबेले युवा संघको नेतृत्व सर्वसम्मत रूपमा चयन हुने बताएका छन्। उनले आफू दोहोरिने या नदोहोरिने भन्ने कुरा तपसिलको विषय भएको बताउँदै पार्टी संगठनलाई एकढिक्का बनाउने अभियानमा सबै लाग्नुपर्ने बताए। ‘चुस्त–दुरुस्त नेतृत्व निर्माण गर्ने विषयमा बृहत्तर कोणबाट छलफल भइरहेको छ,’ उनले भने, ‘हाम्रो अभियान बलियो एमाले संगठित एमाले बनाउने हो।’
अहिलेमा उपाध्यक्षहरूलाई पार्टी नेतृत्वले विश्वास गर्न नसकेको बताइएको छ। थेबे अध्यक्ष हुँदा युवा संघ चलायमान भएको नेतृत्वको बुझाइ छ। ओली कप गरेर खेलकुदको माध्यमबाट युवा संघलाई चिनाएको, एआई सम्मेलन गरेर युवाहरूमाझ पार्टीलाई परिचित गराएको भन्दै नेताहरू थेबेप्रति सकारात्मक छन्। तर उनी दोहोरिँदा युवा संघमा नेतृत्व जाम हुने विषयलाई भने पार्टी नेतृत्वले प्रस्ट्याउन सकेको छैन। नेतृत्वको दाबी गर्नेमा महासचिव सुमन पुरी, उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ, प्रकाश गौतम छन्।
युवा संघका पार्टी पोलिटब्युरो सदस्य महेश बस्नेतको बोलवाला चल्ने गरेको छ। उनकै रुचिका व्यक्ति युवा संघको नेतृत्वमा आउने पनि चर्चा चल्न थालेको छ। केसी, गुरुङ तहगत नेतृत्वको पक्षमा छन्। ऊर्जावान् जीवन युवा संघमा बितेका कारण एक पटक नेतृत्व गर्ने चाहना उनीहरूले राखेका हुन्। पुरी महासचिव भएका कारण नेतृत्वको दाबेदार रहेका छन्। उनले आफू स्वाभाविक दाबेदार रहेको बताउँदै आएका छन्। अध्यक्ष थेबे वा पार्टी नेतृत्वको विपक्षमा केसी, गुरुङ, गौतम र पुरी कोही पनि उभिने अवस्थामा छैनन्।
एमाले जनसंगठन प्रमुख भानुभक्त ढकालले सक्षम, क्षमतावान् र योग्य व्यक्ति छनोट गरेर नेतृत्वमा लान सुझाए। अन्य जनवर्गीय संगठनमा पनि एमालेले निर्वाचनको विधि र प्रक्रिया नअपनाई पेलेरै आफूले चाहेको नेतृत्व चयन गरेको छ। युवा संघमा पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीकै इच्छामा नेतृत्व चयन हुने युवा संघका पूर्वअध्यक्षहरूले बताउने गरेका छन्। युवा संघको पहिलो अध्यक्ष ओली नै हुन्।
ओलीको चाहनाविपरीत कोही पनि अध्यक्ष हुने सम्भावना नभएको एमालेका नेताहरूले बताउने गरेका छन्।
महासचिवमा पनि चारपाँच जना दाबेदार छन्। हाल कोसी इन्चार्ज तथा सचिव निरोज पौडेल, विनय शाह, पर्वत भण्डारी, महेश चौलागाईं, खेम शर्मा, राजु थापालगायत महासचिवका दाबेदार हुन्। एक उपाध्यक्ष र एक महिला उपाध्यक्षमा पनि चारपाँच जना आकांक्षी छन्। युवा संघमा अहिले १७ पदाधिकारी छन्।
अब भने नौ जना मात्रै रहने प्रावधान छ। महाधिवेशनले एक सय ५१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गर्नेछ। सचिव निरोज पौडेलका अनुसार महाधिवेशनमा देशभरबाट १८ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै छन्। महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
रौनक हराएको अनेरास्ववियू अधिवेशन
सत्तारूढ दल नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को महाधिवेशन यसपटक खल्लो हुने भएको छ। यही जेठ २५ देखि २७ गतेसम्म काठमाडांैमा हुन लागेको महाधिवेशनको नेतृत्वमा अहिलेका आकांक्षीहरू कोही नपर्ने गरी विधान संशोधनको छलफल थालिएपछि खल्लो हुन लागेको हो।
जनवर्गीय संगठनहरूको अधिवेशन सम्पन्न गराउन अन्तिम चरणमा पुगेको एमालेले अनेरास्ववियुको नेतृत्व तहमा पुग्ने उमेरहद तोक्न लागेपछि विद्यार्थी नेताहरू निराश बनेका छन्। खासगरी विश्वविद्यालयका कक्षाकोठामा नभेटिने र विद्यार्थीसँग सम्पर्क नरहनेलाई हटाउन पार्टी नेतृत्वबाटै उमेरहद तोक्न लागिएको हो।
एक विद्यार्थी नेताका अनुसार पार्टीले उमेरहद निर्धारण गरी विधान संशोधन भए दुई तहका नेताहरू बाहिरिने सम्भावना छ। अहिलेको नेतृत्व ४० वर्षको हाराहारीमा भएकाले करिब दुई सय विद्यार्थी नेताहरू बाहिरिनेछन्।
उमेरहद टुंगो नलाग्दा अनेरास्ववियुका नेता–कार्यकर्तालाई महाधिवेशन जति लाग्नुपर्ने हो, त्यति लागेको छैन। अखिलका एक नेताका अनुसार यतिबेला अधिवेशनको रौनक सुरु भइसक्नुपर्ने थियो। कलेजका विभिन्न कमिटीको अधिवेशनमा केन्द्रित गतिविधिहरू हुनुपर्ने थियो। तर यस्ता कुनै पनि गतिविधि हुन सकिरहेका छैनन्। यसै वर्ष भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा एमालेको अनेरास्ववियु इतिहासमै कमजोर देखिएको थियो।
इतिहासमा कहिल्यै दोस्रो नभएको यो संगठनलाई यसपटक नेपाली कांग्रेसनिकट नेविसंघ र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ठुलो धक्का दिएका थिए। अझ माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले आफ्नो वर्चस्व बढाउँदै लगेको अवस्थामा एमाले नेतृत्वले विद्यार्थी संगठनको नेतृत्वमा पुनर्विचार गर्ने गरी विधान संशोधन गर्न निर्देशन दिइसकेको छ।
पूर्वअध्यक्षसमेत रहेका अनेरास्ववियु इन्चार्ज किशोरविक्रम मल्लले उमेरहद लगाउने विषयमा छलफल चलिरहेको बताए। ‘अखिलमा उमेरहद लगाउने विषयमा छलफल गरिरहेका छौं, कति वर्ष भन्ने मात्रै हो। अहिले ३०, ३२ र ३५ वर्षको विषयमा छलफल चलिरहेको छ, सायद यी तीनमध्ये एक हुने सम्भावना छ,’ इन्चार्ज मल्लले भने। उनका अनुसार महाधिवेशनबाट चयन हुने नेतृत्व सर्वसम्मत नै हुनेछ।
३२ वर्ष लागु भए तीन सय नेता बाहिरिने उमेरहदको विषयले पदाधिकारीको बैठकमा प्रवेश पाए पनि अहिलेसम्म निकास पाएको छैन। वैशाख ३ गते पार्टी महासचिव शंकर पोखरेलसहित पदाधिकारी बैठक बस्दा समेत त्यसले निकास पाउन सकेन। अखिलको आसन्न २४औं महाधिवेशनमा विधान संशोधन गरेर भए पनि उमेरहद लागु गर्न पार्टीपंक्ति पूर्ण रूपमा लागेको छ।
महाधिवेशनअघि नै उमेरहदबारे निर्णय गर्नासाथ महाधिवेशनमा भाग लिने कार्यकर्ताको समेत अभाव हुने अवस्था सिर्जना हुने बताइएको छ। ‘उमेर हद लागु भए तीन सय नेता स्वतः बाहिर रहनेछन्। उनीहरूलाई पार्टीले आफ्नो क्षेत्रमा समेट्नुपर्ने हुन्छ,’ एक विद्यार्थी नेताले भने। ३२ वर्ष लागु भए पदाधिकारीमा अन्जना शिवाकोटी, दीपक धामी, आरती भट्टराई, प्रकाश पौडेल र सुजन कडरिया मात्रै बाँकी रहन्छन्।
उमेरहद लागु नभए हालका उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकाय अध्यक्षका दाबेदार हुन्। आफूहरू बाहिरिने अवस्था आए उपाध्यक्षहरू धर्म गिरी, गोविन्द गिरी र नारायण घर्तीले दीपक धामीलाई अध्यक्षमा बोक्ने खुलमखुला बताउन थालिसकेका छन्।
महासचिव नरेश रोकायले सुजन कडरियालाई बोक्ने मनस्थिति बनाएर हिँडेको विद्यार्थीहरू बताउँछन्। उता समिक बडालले भने प्रकाश पौडेललाई अध्यक्ष बनाउने सूचना चुहाएका छन्। यसमा सबैभन्दा बढी मनोज ताम्ली र सञ्जीव धितालले तुरुन्तै प्रतिक्रिया जनाएका थिए। धिताललाई अनेरास्ववियुमा कर्णालीको संगठक मानिन्छ।
पदाधिकारीका लागि सम्पर्क विभाग प्रमुख राजकुमार ढकाल, त्रिविका नेता सिद्धान्त भट्ट, युवा इन्जिनियर सुभाष सुवेदी, प्रशान्त भण्डारी, नेपाल ल क्याम्पसका स्ववियु सभापति समीर रिजाल, अस्कल क्याम्पसका स्ववियु अध्यक्ष रुद्रहरि पोखरेल, पिएनका स्ववियु सभापति विष्णु पोखरेल लबिइङमा लागेका छन्।
त्यस्तै ताहाचल क्याम्पसका स्ववियु सभापति ईश्वर थापा, नेपाल कमर्स क्याम्पसका स्ववियु सभापति विशाल रोकाहा, आरआर क्याम्पसका जन्मराज उपाध्याय, पाटन क्याम्पसका नितिन पाण्डे, महिला नेत्रीहरू त्रिवि स्ववियु कोषाध्यक्ष सन्चमाया सुब्बा, त्रिवि स्ववियु सदस्य कल्पना खतिवडा, शंकरदेवकी मुना तिवारी, चक्रवर्ती ल क्याम्पसकी बिहानी पंगेनी, नेपाल कर्मस क्याम्पसकी स्ववियु उपाध्यक्ष पुष्पा मगर, कोटेश्वर क्याम्पसकी शर्मिला भण्डारीलगायत पनि पदाधिकारीकै लबिइङमा लागेका छन्।
प्रकाशित: ७ जेष्ठ २०८२ ०७:४७ बुधबार
