प्रकाशित मिति : फाल्गुन २९, २०८१ बिहीबार
युरोपमा सन् २०२४ मा दादुराका बिरामी दोब्बर भएका छन । यो संख्या २५ वर्षयताकै उच्च रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सङ्क्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएको छ ।
गत वर्ष मध्य एसियासहित ५३ देश रहेको डब्लुएचओको युरोपेली क्षेत्रमा दादुराका एक लाख २७ हजार ३५० घटना दर्ता भएका थिए । ति मध्ये ३८ जनाको मृत्यु भएको थियो ।
रोमानिया र कजाखस्तानमा क्रमशः ३० हजार ६९२ र २८ हजार १४७ जनामा सङ्क्रमण देखिएको थियो ।
डब्लूएचओका अनुसार युरोपका आधाभन्दा बढी बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ । ति मध्ये ४० प्रतिशत पाँच वर्षमुनिका बालबालिका रहेका छन् ।
डब्लुएचओका युरोप निर्देशक हान्स क्लुजले दादुरा फेरि आएको र खोपको उच्च दर बिना यसको प्रकोपबाट जोगिन नसकिने बताएका छन ।
दादुरा अत्यधिक सङ्क्रामक हुन्छ । यो श्वासप्रश्वासमार्फत फैलिन्छ र सङ्क्रमित व्यक्तिले कुनै क्षेत्र छोडेको दुई घण्टासम्म हावामा रहन्छ।
ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या दादुराको मुख्य लक्षण हो । यसले निमोनिया, मस्तिष्कको सूजन र मृत्युजस्ता गम्भीर जटिलताहरू पनि निम्त्याउन सक्छ।
सन् २०२४ मा विश्वमा दादुराका एक तिहाइ बिरामी युरोपमा देखिएका थिए । सन् १९९७ मा दुई लाख १६ हजार सङ्क्रमित भएपछि युरोपमा दादुराको प्रकोप ह्वात्तै घटेको थियो ।
सन् २०१६ मा यो सङ्ख्या चार हजार ४४० पुगेको थियो । सन् २०१८ र २०१९ मा यो रोग फेरि बढेको देखिएको छ ।
तर कोभिड–१९ को महामारीका बेला खोप अभियान रोकिएपछि सन् २०२३ देखि सङ्क्रमितको दरमा उल्लेख्य वृद्धि भएको पाइएको छ ।