युद्धको छायाँमा इरान, खेलकूदमन्त्री भन्छन् – ‘खेलाडी सुरक्षित छैनन्, विश्वकप खेल्ने अवस्था छैन’



प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार

युद्धको छायाँमा इरान, खेलकूदमन्त्री भन्छन् – ‘खेलाडी सुरक्षित छैनन्, विश्वकप खेल्ने अवस्था छैन’

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा मारिएका इरानका उच्च सैन्य कमाण्डरहरूको सम्झनामा मार्च ११ मा तेहरानमा आयोजित अन्त्येष्टि कार्यक्रममा सहभागी शोकाकुल मानिसहरू । तस्वीर : शादाती/सिन्ह्वा-रासस

इरानका खेलकुद तथा युवा मन्त्री अहमद दुन्यामालीले इरान हालको अवस्थामा ‘फिफा विश्वकप-२०२६’ मा सहभागी हुन नसक्ने बताएका छन्। अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने उक्त प्रतियोगिता आगामी ११ जुनदेखि सुरु हुँदैछ।

तालिका अनुसार इरानले समूह चरणमा १५ जुनमा लस एन्जलसमा न्यूजिल्याण्डसँग, २१ जुनमा बेल्जियमसँग तथा २६ जुनमा सियाटलमा इजिप्टसँग खेल्ने कार्यक्रम रहेको छ।

तर, अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि देशको अवस्था जटिल बनेको भन्दै विश्वकप सहभागिताबारे अनिश्चितता बढेको छ। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको छ। त्यसपछि इरानले इजरायल तथा अमेरिकी सैन्य अड्डा रहेका अन्य स्थानतर्फ मिसाइल र ड्रोन प्रहार गरेको बताइएको छ।

आईआरआईबी स्पोर्ट्स नेटवर्कलाई दिएको अन्तर्वार्तामा मन्त्री दुन्यामालीले भने, “यो भ्रष्ट सरकारले हाम्रो नेताको हत्या गरेको अवस्थामा विश्वकपमा सहभागी हुने उपयुक्त अवस्था छैन। हाम्रा खेलाडीहरू सुरक्षित छैनन् । प्रतियोगितामा सहभागी हुने वातावरण पनि बनेको छैन।”

उनले पछिल्ला आठ-नौ महिनामा इरानमाथि दुई युद्ध थोपरिएको र हजारौँ नागरिक मारिएको दाबी पनि गरेका छन्।

यसअघि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतियोगिताको तयारीबारे छलफल भएको जानकारी दिएका थिए। उनले इन्स्टाग्राममार्फत ट्रम्पले इरानलाई विश्वकपमा प्रतिस्पर्धा गर्न स्वागत रहेको बताएका थिए।

यता इरान फुटबल महासंघका प्रमुख मेहदी ताजले पनि विश्वकप सहभागिताबारे प्रश्न उठाएका छन्। इरानको महिला राष्ट्रिय टोलीका छ खेलाडीले सुरक्षाको चिन्ताका कारण अष्ट्रेलियाबाट ‘मानवीय भिसा’ पाएपछि यस्तो चर्चा सुरु भएको हो।





Source link

Leave a Comment