युट्युब किन र कसरी टेलिभिजन च्यानलका लागि खतरा बन्दैछ ?


गत जुलाई महिना युट्युबका लागि सुखद रह्यो किनकि जुलाईमा महिनामा पहिलो पटक अमेरिकामा मानिसहरूले टिभी वा फिल्म हेरर भन्दा बढी समय युट्युबमा बिताए ।

फलतः युट्युबले डिज्नी, प्यारामाउन्ट, फक्स च्यानल, नेटफ्लिक्स र अमेजनजस्ता ओटीटी प्लेटफर्महरूलाई समेत पछि पार्‍यो । यद्यपि, केही महिनापछि डिज्नी र डीसी प्लेटफर्महरूभन्दा पछि पर्दै युट्युब दोस्रो स्थानमा झर्‍यो ।

वास्तवमा विश्वभर युट्युबको लोकप्रियता बढ्दै गइरहेको छ । बेलायतमा १६ देखि २४ वर्ष उमेर समूहका ५० प्रतिशत मानिसले टेलिभिजन कार्यक्रमहरू हेर्नुको सट्टा युट्युब हेर्न रुचाउँछन् ।

के युट्युबले टिभी च्यानलहरूलाई पूर्ण रूपमा पछि पारिसकेको छ त ?

ब्लूमबर्ग टेक्नोलोजीका पत्रकार र युट्युबको बारेमा लेखिएको किताब लाइक, कमेन्ट एन्ड सब्सक्राइबः युट्युबस क्योटिक राइज टू वर्ल्ड  डोमिनेशनका लेखक मार्क बर्गेनका अनुसार विश्वमा प्रत्येक महिना लगभग तीन अर्ब मानिसहरू युट्युब हेर्छन् । तीमध्ये धेरैजसो २५ देखि ३५ वर्षका बीचका मानिसहरू छन् । अर्थात्, तिनीहरूको उमेर टिभीका मुख्य दर्शकहरूको भन्दा कम छ । यो अब एप्स, भिडियो गेम कन्सोल र स्मार्ट टिभीमा पनि उपलब्ध छ ।

उनी भन्छन्, युट्युब अब सबैभन्दा लोकप्रिय अनलाइन प्लेटफर्म बनिसकेको छ र विज्ञापन कम्पनीहरूको लागि मानिसहरूसम्म पुग्ने सबैभन्दा ठूलो माध्यम बनिसकेको छ । यो भिडियोको सबैभन्दा ठूलो क्याटलग हो । मानिसहरूले युट्युबमा विभिन्न कुरा खोजेर हेर्न सक्छन् ।

२००५ मा सुरु भएको युट्यूब

अनलाइन भिडियो शेयरिंग तथा स्ट्रिमिंग प्लेटफर्म युट्युब सन् २००५ मा सुरु भएको थियो । यसमा अपलोड गरिएको पहिलो भिडियो मात्र १९ सेकेन्ड लामो थियो, जुन यसका सह–संस्थापकले क्यालिफोर्नियास्थित सैन डिएगो प्राणी संग्रहालयमा घुम्दै रेकर्ड गरेका थिए ।

स्थापनाको एक वर्षपछि नै गूगलले युट्युबलाई १.६५ अर्ब डलरमा किन्यो । युट्युब सबैभन्दा बढी भारतमा हेर्ने गरिन्छ, जहाँ लगभग ४० करोड मानिसहरुले युट्युब हेर्छन् ।

मार्क बर्गेनका अनुसार, ब्राजील र इन्डोनेशियाजस्ता धेरै नयाँ उदीयमान बजारहरूमा युट्युबले केवल टिभी च्यानलहरूलाई प्रतिस्थापित गरेको मात्र होइन, यो त्यहाँ मनोरञ्जन र समाचारको प्रमुख स्रोत बनिसकेको छ ।

मार्क बर्गेनका अनुसार युट्युब तीन चरणहरूमा विकसित भएको हो ।

उनी भन्छन्, “एक पूर्व युट्युब अधिकारीले मलाई भनेका थिए कि कम्पनीको मन्त्र ’चुनौती, मजाक, वा सत्य ?’ थियो । शुरुमा मनोरञ्जन उद्योग र विज्ञापन कम्पनीहरूले युट्युबलाई गम्भीरतासाथ लिएका थिएनन् ।

त्यसपछि युट्युबको दोस्रो चरण सुरु भयो, जहाँ यो हलिउड, टिभी उद्योग, नेटफ्लिक्स र अमेजनका लागि खतरा बन्यो । यसले आफ्ना ओरिजिनल शो बनाउन थाल्यो र नेटफ्लिक्स जस्तै उपभोक्ताबाट सदस्यता शुल्क लिन थाल्यो ।

बर्गेनका अनुसार सन् २०१६ मा युट्युबले ओरिजिनल र महँगो सामग्री बनाउन थालेको हो । तरर यसले नेटफ्लिक्सजस्ता कम्पनीहरूको लगानीसँग प्रतिस्पर्धा गर्न सकेन र २०२२ मा यस विभागलाई बन्द गरिदियो । अहिले यस नयाँ चरणमा, युट्युबले आफ्नो स्थान मजबुत बनाइसकेको छ ।

मार्क बर्गेन भन्छन् कि अब मानिसहरूले युट्युबलाई उपयोगितासम्बन्धी प्लेटफर्मको रूपमा प्रयोग गर्छन् । उदाहरणको लागि, खाना बनाउने विधि वा केही मर्मत गर्नका लागि युट्युबका भिडियोहरू हेर्न प्रयोग गरिन्छ ।

युट्युबमा मानिसहरूले आफ्नो लागि आवश्यक अधिकांश भिडियोहरू सजिलै पाउन सक्छन् । युट्युबका आफ्ना सेलिब्रेटीहरु छन् जसको लोकप्रियता हलिउडका कलाकारहरूको भन्दा कम छैन ।

२६ वर्षका एक कन्टेन्ट क्रिएटर मिस्टर बीस्ट, जसको युट्युब च्यानलले गत जूनमा भारतीय म्यूजिक च्यानल टी-सीरीजलाई पनि पछि पारिदिएको छ । उनका ३२ करोड सब्सक्राइबर छन् । त्यसैले युट्युबले प्रमाणित गरेको छ कि कुनै पनि व्यक्ति स्टार बन्न सक्छ ।

युट्युब र यसका चर्चित प्रसिद्ध कन्टेन्ट क्रिएटरहरूले यसमा आउने विज्ञापनहरूबाट मनग्गे आम्दानी गर्छन् । जब च्यानलमा अपलोड गरेको भिडियोमा विज्ञापन आउँछ, उनीहरूले पैसा कमाउँछन् ।

मार्क बर्गेन भन्छन् : विज्ञापन कम्पनीहरूले युट्युबलाई आफ्नो विज्ञापन प्रसारण गर्नका लागि पैसा दिन्छन्, र युट्युब त्यो रकमको ४५% हिस्सा राखेर बाँकी हिस्सा सम्बन्धि युट्युब च्यानलहरू वा तिन कन्टेन्ट क्रिएटरहरूलाई दिन्छ । सन् २००७ मा जब युट्युबले उक्त ढाँचा अपनायो, त्यो एकदम नयाँ र जोखिमपूर्ण सोँच थियो । तर त्यहीँ मोडेल युट्युबको सफलताको मुख्य कारण मध्ये एक साबित भएको छ ।

केही सेवाहरू बाहेक, युट्युबका अधिकांश सेवाहरू निःशुल्क छन् । मार्क बर्गेनका अनुसार युट्युबमा यतिधेरै भिडियोहरु अपलोड भैरहेका छन् कि त्यसलाई नियमन गर्नु उसका लागि चुनौति बनिसकेको छ ।

युट्युब सामग्रीको निगरानी

कंटेंट क्रिएटर मिस्टर बीस्ट

पत्रकार र किताब How YouTube Shook Up TV and Created a New Generation of Stars  का लेखक क्रिस स्टोकेल–वाकर बताउँछन् कि युट्युबलाई ती कानूनी दायराहरूबाट बाहिर राखिएको छ जसमा धेरै टिभी प्रसारकहरूले काम गर्नुपर्छ ।

यसको अर्थ यो हो कि टिभी नेटवर्कहरूमा लागू हुने कडा सम्पादकीय नियमहरू युट्युबको सामग्रीमा लागू हुँदैनन् ।

यसलाई बुझ्नको लागि इतिहासमा फर्कनु पर्छ । युट्युबको आगमनको धेरै वर्ष पहिले, सन् १९९६ मा, अमेरिकाको सूचना तथा सञ्चार विभागले कम्युनिकेसन्स डीसेंसी ऐन (CDA) लाई संशोधन गरेर त्यसमा दफा २३० थपेको थियो, जुन प्रविधि कम्पनीहरूलाई प्रोत्साहन गर्नका लागि गरिएको थियो ।

यसको उद्देश्य यी कम्पनीहरूलाई अदालतमा पर्नसक्ने मुद्दाहरुबाट जोगाउनुु थियो, किनकि उनीहरूका प्लेटफर्ममा प्रसारित हुने सामग्रीको निगरानी गर्ने पर्याप्त व्यक्ति वा स्रोतहरू थिएनन् ।

क्रिस स्टोकेल–वाकर भन्छन् : यो कानूनको अर्थ थियो कि यी कम्पनीहरूले केवल प्रयोगकर्ताद्वारा बनाइएका सामग्री प्रसारित गर्छन्, तर तिनीहरूले त्यसको जिम्मेवारी लिदैनन् । न त तिनीहरूलाई प्रत्येक सामग्रीको समीक्षा गर्ने जिम्मेवारी छ ।

तर अहिले भने युट्युबमा आपत्तिजनक सामग्री अपलोड गर्ने वा अपत्तिजनक टिप्पणी गर्ने व्यक्तिहरूलाई मुद्दा चलाउन सकिन्छ । अहिले प्रविधि कम्पनीहरूले अर्बौं डलर कमाइरहेका छन्, र त्यसपछि पनि उनीहरूले कानूनी सुरक्षा कायम राखेका छन् ।

क्रिस स्टोकेल–वाकरका अनुसार यी कम्पनीहरूले बीस वर्षदेखि यस्तो अपवादको फाइदा उठाएका छन्, र अब मात्र हामीले यसका परिणामहरूका बारेमा सोच्न थालिरहेका छौं । अहिले युट्युब जस्ता कम्पनीहरूको जिम्मेवारी निर्धारण गर्नका लागि प्रतिलिपि अधिकार तथा अन्य विभिन्न विषयहरुमा कानूनी प्रावधानहरू लागु भैरहेका छन् ।

सन् २०१९ मा गुगल र युट्युबलाई १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरूको डाटा उनीहरूको आमाबाबुको अनुमति बिना संकलन गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा ती कम्पनीहरुले १७ करोड डलर तिर्नुपर्‍यो ।

क्रिस स्टोकेल–वाकरका अनुसार यी कम्पनीहरू विश्वभर फैलिएका छन् र कुनै एक देशको अधिकार क्षेत्रको अधीनमा छैनन् । यद्यपि, धेरै स्थानहरूमा तिनीहरू सरकारको निगरानीमा पनि छन् ।

उदाहरणको लागि, मध्यपूर्वका धेरै देशहरूमा युट्युबलाई प्रतिबन्धित गरिएको छ वा आलोचना गरिएको छ किनकि यसमा सेक्स, यौन हिंसा, र मादक पदार्थ सेवनसँग सम्बन्धित भिडियोहरू रहेका छन्, जुन पश्चिमा मुलुकहरुमा त्यति विवादास्पद छैन । यद्यपि ती सामाग्री मध्यपूर्वका देशहरूको संस्कृतिका विरुद्ध छन् ।

हालै, युरोपीय संघले अनलाइन सुरक्षा सुनिश्चित गर्न र प्रविधि कम्पनीहरूको प्रतिस्पर्धाविरोधी व्यवहारलाई नियन्त्रण गर्नका लागि दुई नयाँ कानूनी प्रावधानहरू लागू गरेको छ । तर, यी कानूनी प्रावधानहरू लागू गर्न समस्या छ किनकि युट्युबमा लगातार ठूलो मात्रामा सामग्रीहरु अपलोड भैरहेका छन् ।

एक तथ्यांक अनुसार युट्युबमा प्रत्येक मिनेटमा युट्युबमा ५०० घण्टाको सामग्री अपलोड हुन्छ । यसले निगरानीमा धेरै कठिनाइहरू उत्पन्न गर्दछ ।

युट्युबको आफ्नै नियम र निर्देशनहरू छन् जसमा के प्रकारको सामग्री अपलोड गर्नु पर्छ र के प्रकारको सामग्री गर्नु हुँदैन भन्ने प्रष्ट पारिएको छ । उदाहरणको लागि, घृणा फैलाउने सामग्री र आपत्तिजनक टिप्पणीहरू गर्न निषेध गरिएको छ, र यी नियमहरू पालन नगर्ने प्रयोगकर्ताहरूलाई चेतावनी दिइन्छ वा तिनीहरूलाई प्रतिबन्ध पनि लगाइन्छ ।

युट्युबले यस्ता नीति प्रतिकूल सामग्रीमा विज्ञापन रोक्ने काम पनि गर्दछ, जसको अर्थ भनेको त्यो सामग्री सिर्जनाकर्ताले पैसा कमाउँदैन् ।

युट्युबको लागि चुनौती हो टिकटक?

टिकटॉक

पहिले टिभी उद्योगले युट्युबलाई आफ्नो प्रतिस्पर्धीको रूपमा लिन सक्दैनथ्यो । तर अहिले युट्युब टिभी च्यानलका लागि मात्र होइन हलिउडदेखि नेटफ्लिक्स र डिज्नी सम्मका लागि एक शक्तिशाली प्रतिस्पर्धी बनेको छ ।

युट्युबको सबैभन्दा ठूलो फाइदा भनेको यसमा प्रयोगकर्ता–निर्मित सामग्री उपलब्ध छन्, जहाँ प्रयोगकर्ताहरूलाई यो सोच्न आवश्यक छैन कि के ट्रेन्ड हुनेछ वा के लोकप्रिय हुनेछ ।

अर्कोतर्फ, टिभी कम्पनीहरू र ओटीटी प्लेटफर्महरूले यस बारेमा गहन रुपमा सोच्नु पर्छ, किनकि तिनीहरूले आफ्ना सामग्रीमा धेरै पैसा लगानी गर्नुपर्छ । यसमा समय लाग्छ, र कहिलेकाहीं ती सामग्रीहरु दर्शकको रोजाइमा नपर्न पनि सक्दछन् । तर युट्युबको लागि यो कुनै समस्या होइन । अर्कोतर्फ, युट्युबले आफ्नो प्लेटफर्ममा कस्ता सामाग्रीहरु दर्शकहरुले हेरिरहेका छन् भन्ने पनि राम्रोसँग थाहा पाउपाउँछ ।

नेटफ्लिक्स वा अन्य परम्परागत टेलिभिजन च्यानलहरू केवल सामग्री बनाएर प्रस्तुत गर्छन् । तर युट्युबलाई हामीले पछिल्ला दिनहरुमा के के हेरेका वा मन पराएका छौँ भन्ने जानकारी हुन्छ र सोही आधारमा युट्युबमा विज्ञापन देखाउँछ वा मिल्दोजुल्दो भिडियो हेर्न सल्लाह दिन्छ । त्यसैले अन्य स्ट्रीमिंग प्लेटफर्म र परम्परागत टिभीको तुलनामा युट्युब दर्शकसँग धेरै जोडिएको रहन्छ ।

तर युट्युबको एक कमजोरी भनेको यो हो कि यसले अन्य च्यानलहरूले जस्तो महंगो बजेटका भिडियोहरु बनाउँदैन र ठूला खेल प्रतियोगिताहरूको प्रसारण पनि गर्दैन । त्यहाँ भने टिभी र स्ट्रीमिंग प्लेटफर्महरूले युट्युबको पहुँचको फाइदा पनि उठाउन चाहन्छन् ।

उदाहरणक ालािग जब टिभी च्यानल र स्ट्रीमिंग प्लेटफर्महरू नयाँ शो ल्याउँछन्, तिनीहरूले युट्युबलाई नै त्यसको प्रचारप्रसारका लागि प्रयोग गर्छन् ।

युट्युबलाई परम्परागत टिभीबाट खतरा देखिदैन, तर यो त्यस्तै प्रयोगकर्ता–निर्मित सामग्री प्रस्तुत गर्ने भिडियो शेयरिंग एप टिकटकको बढ्दो लोकप्रियताप्रति पनि गम्भीरु छ । किनकि टिकटकले युट्युबलाई टक्कर दिइरहेको छ ।

वास्तवमा मानिसहरुलाई कसरी मनोरञ्जन दिन सकिन्छ भन्ने कुरा टिकटकलाई थाहा छ । मानिसहरु घण्टौँसम्म टिकटकमा भिडियोहरु हेर्दै बिताउँछन् ।

वास्तवमा अहिले सबै प्लाटफर्महरुले प्रयोगकर्ताको ध्यान आकर्षित गर्न चाहन्छन् र टिकटक जस्ता एपबाट युट्युबलाई चुनौती खडा हुनसक्छ । तथापि युट्युबमा यतिधेरै विविधता र रोचक सामग्री छन् कि विद्यमान बजारमा यसको अग्रणी स्थाना कसैले हल्लाउन सक्दैन ।

मूलमन्त्र

यूट्यूब

ब्रसेल्सको व्रिए विश्वविद्यालयमा युरोपेली मिडिया मार्केट विषयकी प्राध्यापक डाक्टर मार्लिन कोमोरोवस्कीका अनुसार युट्युबले फेरि पनि विज्ञापन र कन्टेन्ट क्रियटरहरुमा बढी ध्यान दिन थालेको छ, जुन सुरुआतमा यसको मूल मन्त्र थियो ।

उसले युट्युब च्यानलहरूमा बढी विज्ञापन राख्न थालेको छ । गत वर्ष युट्युबले विज्ञापनमार्फत साडे ३१ अर्ब डलर कमायो, अर्थात् यसले आफ्नो मातृ कम्पनी गूगलभन्दा १० प्रतिशत बढी कमाई विज्ञापनमार्फत गरेको छ ।

कोमोरोवस्कीका अनुसार युट्युबले ठूलो सफलता प्राप्त गरेको छ र संसारका विभिन्न बजारहरूमा आफ्नो प्रभुत्व कायम गरेको छ । जसरी डिज्नी च्यानलले सामग्री उत्पादनमा ठूलो लगानी गर्दछ । युट्युब कम्पनीले पनि सामाग्री उत्पादनमा ठूलो लगानी गर्दैछ । युट्युबले सामग्री बनाउनमा विश्वभर २० अर्ब डलर खर्च गरेको छ, जुन ठूलो रकम हो ।

युट्युबको मुख्य लक्ष्य भनेको प्रयोगकर्ताको ध्यान आकर्षित गर्नु हो र गूगलको कम्पनीको हिस्सा भएको कारण यसलाई आफ्नो प्लेटफर्ममा नयाँ सुविधाहरू ल्याउनमा धेरै मद्दत मिल्छ ।

डाक्टर मार्लिन कोमोरोवस्कीका अनुसार गूगलको सहयोग मार्फत युट्युबले आफ्ना सामग्री निर्माणकर्ताहरूका लागि उपयोगी सुविधाहरू च्यानलमा ल्याउँछ । यसले त्यसमा अपलोड हुने भिडियोको अटोमेटिक अनुवाद गर्छ र तिनीहरूको भिडियोमा सबटाइटलहरू थप्छ । गुगलले आफ्ना सर्जकहरुको सहयोगका लागि उक्त एआईको विकास गरिरहेको छ ।

टिकटकसँगको प्रतिस्पर्धालाई मध्यनजर गर्दै युट्युबले एक मिनेटभन्दा छोटा भिडियोहरू भएको शर्टस् फिचर समावेश गरेको छ । शर्टस्ले टिकटकलाई वास्तवमै टक्कर दिइरहेको छ ।

यस्तो छोटो भिडियो फम्र्याट फिचर फेसबुक, युट्युब तथा इन्स्टाग्राममा पनि उपलब्ध छ ।

विज्ञका अनुसार अन्य प्रतिस्पर्धी प्लाटफर्महरुले के गर्दैछन् भन्ने विचार गरेर गुगलले नयाँ नयाँ सुविधा तथा प्रडक्टहरु ल्याउने गरेको छ, जुन निकै लोकप्रिय र सफल बन्ने गरेका छन् ।

एउटा समय थियो जुनबेला फेसबुक निकै शक्तिशाली भएझै लाग्थ्यो । तर अहिले टिकटकले सोसल मिडियाको बजारमा जबरजस्त उपस्थिति जनाएको छ, जसमा निकै युवा उमेरका प्रयोगकर्ता धेरै छन् । उता फेसबुक र युट्युबका प्रयोगकर्ता भने टिकटको तुलनामा केही पाका छन् ।

अब मूख्य सवालतर्फ फर्किऔँ ः के युट्युबले पूर्ण रूपमा टिभी च्यानलहरूलाई परास्त गरेको छ त ? वास्तवमा युट्युबले आफ्नो ओरिजिनल सामग्री निर्माण गर्ने विभाग बन्द गरेको छ । तर यसको अर्थ यो होइन कि टिभी च्यानलहरूलाई त्यसबाट खतरा कम भएको छ । वास्तवमा, युट्युबले प्रयोगकर्ताहरू द्वारा बनाइने सामग्रीमा बढी ध्यान दिँदै टिभी च्यानलहरूको सामू ठूलो चुनौती खड़ा गरेको छ । दिनहुँ युट्युब हेर्नु करोडौं मानिसहरूको लागि दैनिकी बनिसकेको छ । विज्ञापनहरूले युट्युबको आम्दानी बढाएको छ र यसले सामग्री निर्माणमा आफ्नो लगानी बढाइरहेको छ । युट्युबका सामाग्रीहरु सधैं इन्टरनेटमा उपलब्ध रहन्छ । जसका कारण मानिसहरू टिभीको सट्टा युट्युबनै बढी हेर्न थालेका छन् ।

-बीबीसीबाट





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School