युक्रेन भिडले चुनेको नेतृत्व, राष्ट्रले भोगेको परिणाम : RajdhaniDaily.com


२१औं शताब्दीको विश्व राजनीति शक्ति र सैन्य क्षमताको खेलमात्र रहेन । यो भावना, छवि, सामाजिक सञ्जाल र लोकप्रियताको कसी पनि बनिसकेको छ । परिवर्तित राजनीतिक परिवेशमा युक्रेनका जनताले ऐतिहासिक निर्णय गरे । पुरानो राजनीतिक नेतृत्वप्रति गहिरो वितृष्णा राख्दै, भ्रष्टाचार र जडताविरुद्धको आक्रोश मतपत्रमा उतार्दै, चर्चित कलाकार भ्लादिमिर जेलेन्स्कीलाई राष्ट्रको नेतृत्व सुम्पिए । टेलिभिजन पर्दामा उनले निभाएको भूमिका आमयुक्रेनी जनताको मनोभावको प्रतिनिधि थियो । इमानदार, निडर, सत्तासँग जुध्ने र भ्रष्ट राजनीतिलाई चुनौती दिनेपात्र । त्यो पात्रले जनतालाई आशा दियो, अब राज्य जनताका लागि चल्ने छ, अभिजात वर्गका लागि होइन । यही आशाले जेलेन्स्कीलाई राष्ट्रपति बनायो । तर इतिहासले बारम्बार प्रमाणित गरेको सत्य के हो भने राज्य सञ्चालन कुनै अभिनय होइन, कुनै ‘स्क्रिप्ट’अनुसार चल्ने दृश्य पनि होइन । राज्य चलाउनु नीति, संस्थागत अनुभव, कूटनीतिक सन्तुलन, सुरक्षा रणनीति र दीर्घकालीन राष्ट्रिय हितको कठोर अभ्यास हो ।

युक्रेनले समयसँगै बुझेको यथार्थ यही थियो र त्यो यथार्थ अत्यन्तै पीडादायी सावित भयो । नेपालमा पनि काठमाडौं महानगर प्रमुख बालेन शाहको करिब तीनवर्षे कार्यशैलीबाट नेपाली जनता गम्भीर रूपमा सचेत हुनुपर्ने अवस्था देखिन्छ । लोकप्रियता, शैलीगत आक्रामकता र सामाजिक सञ्जालको प्रभावले आरम्भमा ठूलो अपेक्षा जगाए पनि राज्य वा महानगर सञ्चालन नाराले होइन, नीति, प्रक्रिया, समन्वय र संस्थागत क्षमताले चल्ने तथ्य क्रमशः उजागर हुँदै गएको छ । व्यक्तिकेन्द्रित निर्णय, संस्थासँग टकराव, प्रतीकात्मक कदमलाई उपलब्धि ठान्ने प्रवृत्ति र दीर्घकालीन नीतिगत स्पष्टता अभावले देखाएको छ कि लोकप्रियता आफैंमा सुशासन प्रत्याभूति हुँदैन । युक्रेनको अनुभवजस्तै नेपालले पनि समयमै बुझ्नुपर्छ । आक्रोश व्यक्त गर्न सक्नु र भीड तान्न सक्नु नेतृत्वको प्रारम्भिक योग्यता हुन सक्छ, तर राष्ट्र वा सहर चलाउन त्यो पर्याप्त हुँदैन । विवेक, अनुभव र संस्थागत समझबिनाको ‘फरकपन’ अन्ततः जोखिमपूर्ण प्रयोगमा परिणत हुन सक्छ ।

लोकप्रियताको उभार र नेतृत्वको भ्रम
भ्लादिमिर जेलेन्स्कीको उदय एक व्यक्तिको राजनीतिक सफलताको कथा थिएन । त्यो युक्रेनी समाजको दीर्घकालीन असन्तोष, थकान र आक्रोशको सामूहिक अभिव्यक्ति थियो । लामो समयदेखि जरा गाडेको भ्रष्टाचार, कुलीन राजनीतिज्ञको स्वार्थकेन्द्रित शासन, बढ्दो आर्थिक असमानता र राज्य संस्थाप्रतिको गहिरो अविश्वासले युक्रेनी जनता निराश भइसकेका थिए । उनीहरूलाई पुरानो राजनीतिक संरचना भत्काउने, जडतालाई चुनौती दिने र राजनीतिलाई झक्झक्याउने फरक अनुहारको खोज थियो । यही परिवेशमा एक कलाकार, जसले टेलिभिजन पर्दामा न्याय, साहस र इमानदारीको अभिनय गरेका थिए, वास्तविक जीवनमा पनि त्यही गुणको प्रतिनिधि ठानिए । तर समस्याको जरो यहीँबाट सुरु भयो पात्र र पात्रता, अर्थात् व्यक्तिको छवि र राज्य सञ्चालनको क्षमताबीचको भेद नबुझिनु । ‘लोकप्रियता र क्षमता एउटै होइनन्’ भन्ने आधारभूत लोकतान्त्रिक चेतना मतदाताको निर्णय प्रक्रियामा समावेश हुन सकेन ।

अनुभवहीन नेतृत्व र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन
युक्रेनजस्तो भू–राजनीतिक रूपमा अत्यन्त संवेदनशील राष्ट्रका लागि नेतृत्व केवल आन्तरिक लोकप्रियताको विषय थिएन । त्यो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनसँग प्रत्यक्ष जोडिएको रणनीतिक जिम्मेवारी थियो । रूस र पश्चिमी शक्तिबीचको टकराव, नाटोको विस्तारप्रति रहेको तनाव, ऊर्जा राजनीतिका जटिल समीकरण र ऐतिहासिक सीमा विवाद, यी सबै युक्रेनको राष्ट्रिय अस्तित्वसँग गाँसिएका गम्भीर विषय थिए, जसलाई उच्चस्तरीय कूटनीतिक सुझबुझ, दीर्घकालीन दृष्टि र सन्तुलित निर्णय आवश्यक थिए । तर अनुभवहीन नेतृत्वले यी संवेदनशील मुद्दालाई रणनीतिक विवेकभन्दा भावनात्मक राष्ट्रवाद र प्रतीकात्मक कूटनीतिमा सीमित ग¥यो । रूससँगको सम्बन्ध व्यवस्थापन, सम्भावित वार्ताको ढोका खुला राख्ने प्रयास, सुरक्षा रणनीति र सैन्य तयारीमा अपेक्षित गहिराइ र पूर्वतयारी देखिन सकेन । पश्चिमी समर्थन र अन्तर्राष्ट्रिय सहानुभूतिको आशामा गरिएका धेरै निर्णय यथार्थपरक शक्ति सन्तुलनको मूल्यांकनभन्दा भावनात्मक अपेक्षामा आधारित रहे । यसको परिणामस्वरूप युक्रेन एउटा यस्तो युद्धको दलदलमा फस्यो, जसको मूल्य सैन्य पराजयमै सीमित रहेन । त्यसले व्यापक मानवीय विनाश, सामाजिक विघटन, राष्ट्रिय एकताको क्षय र ऐतिहासिक भूभाग गुमाउने कठोर नियति बोकेर आयो, जसको भार युक्रेनी जनताले पुस्तौंसम्म बहन गर्नुपर्नेछ ।

युद्धको मूल्यः जनता, भूमि र भविष्य
आज युक्रेनको नक्सा हेर्दा भूगोलमात्र देखिँदैन, त्यहाँ रगत, आँसु र विस्थापनले लेखिएको पीडाको इतिहास पढ्न सकिन्छ । हजारौं निर्दोष नागरिकले ज्यान गुमाएका छन्, लाखौं जनता आफ्नै भूमिबाट विस्थापित भएका छन् र कहिल्यै नफर्किनेगरी सहर–गाउँ भग्नावशेषमा परिणत भएका छन् । विद्यालय, अस्पताल, उद्योग र पूर्वाधार राज्यको भविष्य बोकेका सबै संरचना युद्धको आगोमा खरानी बनेका छन् । क्रिमिया र डोनबासजस्ता भूभाग युक्रेनको नियन्त्रणबाहिर जानु भौगोलिक क्षतिमात्र होइन, त्यो इतिहास, पहिचान र राष्ट्रिय आत्मसम्मानमाथि परेको गहिरो आघात हो । भूमि गुम्नु नक्साबाट रेखा मेटिनु होइन, त्यो पुस्तौंको स्मृति, सांस्कृतिक निरन्तरता र सार्वभौमिकताको क्षय हो । आज युक्रेनका नागरिक आत्ममन्थनका कठोर प्रश्न सोधिरहेका छन्, ‘के परिवर्तनको नाममा भावनामा बगेर राज्यको बागडोर सुम्पिँदा यस्तो मूल्य चुकाउनु अपरिहार्य थियो ? के लोकप्रियता र भावनात्मक उभार नै राष्ट्रको सुरक्षा र अस्तित्वको आधार बन्न सक्छ ?’ यी प्रश्न युक्रेनका लागि सीमित छैनन् । यी विश्वका सबै उदयमान लोकतन्त्रका लागि समयमै सुन्नैपर्ने गम्भीर चेतावनी हुन् ।

नेपालका लागि सन्देश : चेतावनी कि अवसर ?
युक्रेनको कथा नेपालका लागि टाढाको युद्धग्रस्त देशको मात्र कथा होइन, यो परिवर्तन चाहनामा भावनामा बग्दा राष्ट्रले ‘कस्तो मूल्य चुकाउनुपर्छ ?’ भन्ने ज्वलन्त चेतावनी पनि हो । आज नेपाल उस्तै संक्रमणकालीन अवस्थामा छ । पुराना दल, पुराना अनुहार र पुरानो शासन शैलीप्रति जनअसन्तोष व्यापक छ र यही असन्तोषलाई नयाँ, फरक, निडर र व्यवस्थाविरोधीजस्ता आकर्षक शब्दले अझै उक्साइँदै छ । सामाजिक सञ्जालले राजनीतिलाई विवेकभन्दा बढी भावनामा चल्ने बनाइरहेको छ, जहाँ नाराले नीति र छविले क्षमतालाई ओझेल पार्ने खतरा बढ्दै गएको छ ।

कलाकार, अभियन्ता, पत्रकार वा सामाजिक सञ्जालका प्रभावशाली अनुहार राजनीतिमा प्रवेश गर्नु आफैंमा गलत होइन । लोकतन्त्रमा सबै नागरिकलाई राजनीतिक सहभागिताको अधिकार छ । तर चर्चित हुनु, आक्रोश व्यक्त गर्न सक्नु वा भिड जुटाउनसक्नु नै राज्य सञ्चालनको योग्यता हो भन्ने भ्रम अत्यन्त घातक हुन्छ । राज्य सञ्चालनको चुनौती मञ्चीय भाषण, ट्रेन्डिङ ह्यासट्याग वा भावनात्मक अभिव्यक्तिभन्दा धेरै गहिरो र जटिल हुन्छ ।

भूमिकाको भेद र लोकतन्त्रको सन्तुलन
लोकतन्त्रको सुदृढता सबै पात्रको सक्रियतामा होइन, उनीहरूको स्पष्ट र सीमाबद्ध भूमिकामा निर्भर हुन्छ । प्रत्येक क्षेत्रका व्यक्तिको योगदान अमूल्य भए पनि ती योगदान एकअर्कामा मिसिँदा लोकतन्त्र सशक्त होइन, अव्यवस्थित बन्छ । कलाकारको स्थान मञ्चमा हुन्छ, जहाँ उनले सिर्जनात्मक अभिव्यक्तिमार्फत समाजलाई ऐना देखाउँछन् र चेतना जगाउँछन् । पत्रकारको भूमिका मिडियामा हुन्छ, जहाँ उनले सत्ताको निगरानी गर्छन्, प्रश्न सोध्छन् र जनतालाई सूचना दिन्छन् । अभियन्ताको स्थान आन्दोलनमा हुन्छ, जहाँ उनले अन्यायविरुद्ध दबाब दिन्छ र परिवर्तनको माग उठाउँछन् । तर राजनीतिकर्मीको स्थान संसद र कार्यकारीमा हुन्छ, जहाँ उनले जनताबाट प्राप्त जनादेशलाई नीति, कानुन र संस्थागत निर्णयमा रूपान्तरण गर्नुपर्छ । यी भूमिकाको भेद स्पष्ट नहुँदा व्यक्तिकेन्द्रित राजनीति हाबी हुन्छ, संस्थागत लोकतन्त्र कमजोर बन्छ र अन्ततः राज्य सञ्चालन भावनात्मक आवेगको बन्दी बन्न पुग्छ ।

मत आक्रोश होइन, जिम्मेवारी
युक्रेनको कथा भावनात्मक निर्णयले राष्ट्रलाई कति महँगो मूल्य चुकाउन बाध्य बनाउन सक्छ भन्ने कठोर तर यथार्थ पाठ हो । लोकप्रियता र क्षमता एउटै हुँदैनन् भन्ने सत्य समयमै नबुझ्दा युक्रेनले जनता गुमायो, भूमि गुमायो र स्थिरता गुमायो । यही सन्दर्भमा नेपालले अझै पनि समयमै सिक्ने अवसर राख्छ । परिवर्तन अपरिहार्य छ, तर त्यो परिवर्तन आक्रोश, हुल र क्षणिक भावनामा आधारित होइन, विवेक, नीति, अनुभव र संस्थागत समझमा आधारित हुनुपर्छ । मतदान असन्तोष व्यक्त गर्ने साधन होइन, यो राष्ट्रको भविष्य कुन दिशामा लैजाने भन्ने गम्भीर जिम्मेवारी हो । यदि हामीले लोकप्रियताको मोह र क्षमताको भेद बुझ्न सकेनौं भने युक्रेनले भोगेको पीडाबाट नेपाल अछुतो रहने छैन । इतिहासले चेतावनी दिइसकेको छ, अब त्यसलाई सुन्ने कि नसुन्ने निर्णय हाम्रो सामूहिक विवेकमा निर्भर छ ।
(लेखकको यो निजी विचार हो ।)

(Visited 11 times, 1 visits today)





Source link

Leave a Comment