प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार
युक्रेनी सेनाको आक्रमणमा परेर २२ जना रुसी नागरिकको मृत्यु भएको अधिकारीहरुले बताएका छन ।
युक्रेनी सेनाले रूसबाट कब्जामा लिएको एउटा गाउँमा हमला गरी २२ जनाको ‘हत्या गरेको’ रुसले दावी गरेको छ ।
युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ ।
अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ ।
रूसले अहिले धेरै शहरहरू आफ्नो कब्जामा लिएको छ । रूसी अनुसन्धान समितिले जनवरी १९ मा युक्रेनी सीमाबाट करिब २० किलोमिटर टाढा रहेको रूसकोये पोरेचनोये गाउँमा ‘कम्तीमा सात जना सर्वसाधारण’ मारिएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।
गत शुक्रबार उसले सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा २२ जना बासिन्दाको हत्या भएको घटनाको अनुसन्धान गरिरहेको बताएको हो ।
विभिन्न घरको भूईँतलामा शव फेला परेका मध्ये आठ जना महिला पनि रहेको र उनीहरूलाई बलात्कारपछि हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ ।
अनुसन्धानकर्ताहरूले पाँच जना युक्रेनी सैनिक हत्याका लागि दोषी ठहर भएको जनाएका छन् ।
रूस र युक्रेनबीच करिब तीन वर्षअघि सुरु भएको द्वन्द्वमा एकअर्कामाथि सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।
रूसी सेनामाथि किएभ नजिकैको बुचा शहरमा सयौँ सर्वसाधारणको हत्या गरेको आरोप लागेको छ ।

