प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको बैठक विफल भएको एक दिनपछि बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले जेलेन्स्कीलाई न्यानो स्वागत गरे।
शनिबार जब बेलायती प्रधानमन्त्री जेलेन्स्कीलाई १० डाउनिङ स्ट्रिट बाहिर स्वागत गरे, तब उनी खुसी मुद्रामा देखिए । भित्र फोटो खिच्ने क्रममा पनि मैत्रीपूर्ण वातावरण कायम रह्यो।
स्टार्मरले युक्रेनप्रति बेलायतको ‘अटुट’ समर्थन रहेको प्रतिबद्धता व्यक्त गरे।
‘हामी युक्रेनसँग आवश्यक पर्ने जति लामो समयसम्म पनि उभिनेछौँ,’ स्टार्मरले भने । बेलायती प्रधानमन्त्री स्टार्मरले यसै हप्ता ट्रम्पसँग पनि भेट गरेका थिए।
जेलेन्स्कीले स्टार्मरप्रति आभार व्यक्त गर्दै भने,’हामी यस्ता साझेदार र साथीहरू पाउँदा खुसी छौँ।’
स्टार्मरले आइतबार युरोपेली नेताहरूको एक सम्मेलन आयोजना गर्दै छन्, जसमा युक्रेनमा युद्ध अन्त्य गर्ने उपायबारे छलफल गरिने बताइएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती राजा चार्ल्स तृतीयसँग पनि भेट्ने तय भएको छ ।
‘हामीसँग युक्रेनको सार्वभौमिकता र सुरक्षाको सुनिश्चितता गर्न एकसाथ आउने अवसर छ,’ स्टार्मरले एक प्रेस विज्ञप्तिमा भने।


