प्रकाशित मिति : फाल्गुन २३, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध थप कडा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका छन्। रुसले युक्रेनलाई युद्ध भूमिमा पूर्ण रूपमा ध्वस्त गरिरहेको अवस्थामा ट्रम्पले बैङ्किङ, व्यापार र अन्य क्षेत्रमा ठुलो मात्रामा प्रतिबन्धहरू लगाउने चेतावनी दिएका हुन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै भने,’रुस र युक्रेन तुरुन्त वार्ता टेबलमा बस्नुपर्छ । जबसम्म युद्ध विराम र अन्तिम शान्ति सम्झौता हुँदैन, म रुसमाथि ठुला आर्थिक प्रतिबन्धहरू लगाउने विचार गरिरहेको छु।’
ट्रम्पको यो धम्की ओभल अफिसमा गत हप्ता भएको युक्रेनी राष्ट्रपतिसँगको तनावपूर्ण बैठकपछि आएको हो । गत हप्ता ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच अमेरिका-युक्रेन खनिज सम्झौतासम्बन्धी वार्ता असफल भएको थियो।
यसअघि ट्रम्प प्रशासन रुसप्रति नरम देखिएको र युक्रेनलाई दिइँदै आएको अमेरिकी सहायता (सहायता, हतियार, र गुप्तचर जानकारी) रोक्न प्रयास गरिरहेको आरोप लागेको थियो।
हिजो मात्र अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले न्यूयोर्कको इकोनोमिक क्लबमा दिएको सम्बोधनमा रुसमाथि थप कडा प्रतिबन्धहरू लगाउन सक्ने सङ्केत गरेका थिए ।
उनले भने, ‘राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार प्रतिबन्धहरू तुरुन्तै अधिकतम प्रभाव पार्ने गरी आक्रामक रूपमा प्रयोग गरिनेछन्।’
राजनीतिक विश्लेषकहरूका अनुसार ट्रम्प प्रशासनको यो रणनीति रुस र युक्रेनबिचको शान्ति वार्तालाई तीव्र बनाउनका लागि हो।