प्रकाशित मिति : मंसिर २, २०८१ आईतबार
रुसले युक्रेनमाथि ठूलो ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणले ऊर्जा पूर्वाधारलाई लक्षित गरेको थियो । नागरिकहरूको ज्यानसमेत गएको छ ।
आक्रमणलाई अधिकारीहरूले पछिल्ला महिनाहरूको सबैभन्दा ठूलो भनी वर्णन गरेका छन् ।
जाडोअघि मस्कोले युक्रेनको विद्युत् उत्पादन क्षमतालाई तहसनहस पार्ने मनसाय राखेको बारे चिन्ता बढिरहेको बेला यो आक्रमण भएको हो ।
राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार रुसले युक्रेनभर ठूलो मात्रामा एक सय २० क्षेप्यास्त्र र ९० ड्रोन प्रक्षेपण गरेको छ ।
उहाँले विभिन्न प्रकारका ड्रोनहरू प्रयोग गरिएको र यसमा इरान–निर्मित शाहेदहरूका साथै क्रुज, ब्यालिस्टिक र विमान–प्रक्षेपित ब्यालिस्टिक क्षेप्यास्त्रहरू समावेश रहेको जानकारी दिनुभयो ।
युक्रेनी रक्षाले एक सय ४० वटा हवाई लक्ष्य खसाएको जेलेन्स्कीले टेलिग्राम मेसेजिङ एपमा एक विज्ञप्तिमा बताउनुभयो ।
स्थानीय गभर्नर ओलेह किपरका अनुसार ओडेसा क्षेत्रमा अन्य दुई जनाको मृत्यु भएको छ । त्यहाँ आक्रमणले ऊर्जाको पूर्वाधारमा क्षति पु¥याएको छ र बिजुली र पानीको आपूर्ति अवरुद्ध भएको छ ।
किएभको सिटी मिलिटरी एडमिनिस्ट्रेशनका प्रमुख सेरही पोप्कोका अनुसार संयुक्त ड्रोन र क्षेप्यास्त्र आक्रमण तीन महिनामा भएको सबैभन्दा शक्तिशाली थियो ।
सन् २०२२ फेब्रुअरीमा मस्कोले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण गरेदेखि रुसी आक्रमणले युक्रेनको विद्युत् पूर्वाधारमा प्रहार गरिरहँदा बारम्बार आपत्कालीन विद्युत् बन्द र देशव्यापी रोलिङ ब्ल्याकआउट निम्त्याएको छ ।
युक्रेनी अधिकारीहरूले नियमित रूपमा पश्चिमी सहयोगीहरूलाई आक्रमणको सामना गर्न र मर्मतका लागि देशको हवाई सुरक्षा बलियो बनाउन आग्रह गरेका छन् ।