यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग


९ वैशाख, काठमाडौं । शिक्षकहरू अहिले सडक आन्दोलनमा छन् । अहिले मात्र होइन, शिक्षक आन्दोलनको श्रृंखला लामो छ । सरकार पटकपटक शिक्षकसँग सहमति गर्छ र तर कार्यान्वयन गर्दैन । २०७५, २०७८ र २०८० सालमा शिक्षकहरूले आन्दोलन गरे, सरकारले सम्झौता गर्‍यो, कार्यान्वयन गरेन । २०८२ सालमा आइपुग्दा पनि शिक्षकहरू आन्दोलनमै छन् ।

शिक्षकका माग नयाँ होइनन् । विगतमा भएका सम्झौता कार्यान्वयन गर्न शिक्षकहरूले यसपटक २० चैत २०८१ देखि काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षकका माग के हुन् ? विगतमा भएको सहमति के हो ? किन सम्झौता कार्यान्यवन भएको छैन ? शिक्षकका मागमा विगतमा भएको सम्झौतालाई हामीले केलाएका छौं ।

०००

२०८० साल असोज ५ र १२ मा सरकारले शिक्षक महासंघसहित शिक्षकका अन्य संघ-संगठनसँग ६ बुँदे र ५ बुँदे सम्झौता गर्‍यो । विद्यालय शिक्षा विधेयक २७ भदौ २०८० मा संसदमा दर्ता भयो । विधेयकमा रहेका प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू काठमाडौं आए । र, शिक्षकका माग ऐन बनाउने प्रक्रियामा समावेश गर्ने सहमति भयो ।

पहिलो :  अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन

राहत, साविक उच्च मावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार तथा विशेष शिक्षाका शिक्षकको कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी उमेर हद नलगाई स्थायी गर्ने र स्थायी हुन नसक्नेको हकमा गोल्डेन हेन्डसेकको व्यवस्था गर्नुपर्ने माग शिक्षक महासंघको छ ।

२०७५ को आन्तरिक परीक्षा दिन नपाएका वा छुटेका अस्थायी करार शिक्षकले पनि यो अवसर पाउनुपर्ने माग शिक्षक महासंघको छ । तर विद्यालय शिक्षा विधेयकमा ५० प्रतिशत आन्तरिक प्रक्रियाबाट स्थायी गरिने उल्लेख छ । यसमा सय प्रतिशत हुनुपर्ने शिक्षकहरूको माग छ ।

२०८० असोजमा सरकारले शतप्रतिशत नै गर्ने सहमति शिक्षकसँग गर्‍यो ।

तर, अहिले विधेयकमाथि दफावार छलफलको क्रममा शतप्रतिशत बनाउन नसकिने गरी छलफल भइरहेको छ ।

नयाँ शिक्षक आउने बाटो रोकेर पुरानालाई स्थायी गराउन नहुनेमा जोड दिँदै संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिमा छलफल भइरहेको छ । यसैलाई शतप्रतिशत बनाउन शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।

साथै, महासंघले फरक खालको सेवा-सुविधा हुने शिक्षक कोटा सिर्जना नगर्न प्रस्ताव राखेको छ । र, अस्थायी प्रकृतिका शिक्षकको बिरामी बिदा सञ्चित हुने व्यवस्था गर्न महासंघले भनेको छ ।

दोस्रो :  विद्यालय कर्मचारी

तहअनुसार हरेक विद्यालयमा कर्मचारीको दरबन्दी व्यवस्था गर्ने र खरदार, नासु, अधिकृत तोकेर शिक्षक सेवा आयोगबाट स्थायी गर्नुपर्ने माग शिक्षकको छ । सरकारले गत वर्ष कर्मचारीको दरबन्दीको व्यवस्था गर्ने सहमति महासंघसँग गरेको छ । अवकाश भएका र अवकाश लिन चाहने कर्मचारीलाई सुविधा दिनुपर्ने माग शिक्षकको छ ।

तेस्रो : ईसीडी

बाल विकास शिक्षालाई विद्यालयभित्र ल्याउनुपर्ने माग शिक्षकको छ । ईसीडीका शिक्षकको तलब न्यून छ । यसलाई बढाउनुपर्ने माग शिक्षकको छ । विधेयकको दफावार छलफलको क्रममा ईसीडीलाई विद्यालयभित्र ल्याउने सहमति जुटिसकेको उपसमिति सदस्यहरूले बताएका छन् । साथै ईसीडीलाई २ वर्षको बनाउने सहमति उपसमितिमा जुटेको छ ।

चौथो : बढुवाको व्यवस्था

शिक्षक महासंघले शिक्षकको बढुवा हरेक १० वर्षमा गर्न माग गरेको छ । शैक्षिक योग्यता र लाइसेन्स भएका शिक्षकको बढुवा गर्दा तहगत (प्राथमिकबाट निमावि र निमाविबाट माध्यमिक) हुने व्यवस्था गर्न शिक्षकहरूले माग गरेका छन् । गत वर्ष सरकारले शिक्षकको मागअनुसार नै बढुवा गर्ने सहमति गरेको छ ।

पाँचौं :  द्वन्दपीडित शिक्षक

द्वन्दपीडित तथा शिक्षकको पेसागत संस्थामा बसेर लामो सेवा गरेका शिक्षकको टुटेको सेवा अवधि गणना गरी उपदान वा निवृत्तिभरणको माग महासंघले गरेको छ । सरकारले गत वर्ष शिक्षक महासंघसँग टुटेको सेवा अवधि गणना गरी उपदान वा निवृत्तिभरण दिन सहमति गरेको छ ।

छैटौं : संस्थागत विद्यालयका शिक्षकको तलब

संस्थागत विद्यालयका शिक्षकको तलब भत्ता सामुदायिक विद्यालयका शिक्षकसरह हुनुपर्ने माग छ । सबै शिक्षक कर्मचारीको सामाजिक सुरक्षा कोषको व्यवस्थाको माग शिक्षकहरूले गरेका छन् । यसमा पनि सरकारले निजी विद्यालयका शिक्षकलाई नियुक्तिपत्र प्रदान गर्ने र सामाजिक सुरक्षा कोषमा लैजाने सहमति गरेको छ ।

सातौं : शिक्षक र प्रधानाध्यापकको व्यवस्था

प्रधानाध्यापकका लागि छुट्टै दरबन्दीको व्यवस्था हुनुपर्ने माग शिक्षकहरूको छ । पाँच वर्ष सम्बन्धित तहमा स्थायी सेवा गरेका शिक्षकबाट प्रतिस्पर्धा गराई शिक्षक सेवा आयोगमार्फत प्रधानाध्यापकको पदपूर्ति गर्नुपर्ने भनिएको छ ।

त्यसैगरी शिक्षण काउन्सिलको माग शिक्षक महासंघले गरेको छ । शिक्षकको विभागीय कारबाहीको अधिकार जिल्ला, प्रदेश र संघको कायालयमा विभाजन गरी व्यवस्थापन गर्नुपर्ने माग शिक्षकको छ ।

संविधानअनुसार माध्यमिक तहसम्मको शिक्षा स्थानीय तह मातहत छ । तर शिक्षकहरू स्थानीय तहमा बस्न चाहेका छैनन् । त्यसैले उनीहरूले तीन तहको सरकारबीच शिक्षाको अधिकार बाँडफाँट हुनुपर्ने माग गरिरहेका छन् ।

गत वर्ष शिक्षकसँग सम्झौता हुँदा सरकारले विभागीय कारबाही र सजायको व्यवस्थामा पुनरावलोकन गर्ने सहमति गरेको छ । शिक्षकको कार्य सम्पादन मूल्याङ्कनको अधिकार विद्यालय, शिक्षासम्बन्धी जिल्लास्थित कार्यालय तथा प्रादेशिक कार्यालयमा हुनुपर्ने माग शिक्षकको छ । तर जिल्ला शिक्षा कार्यालय नरहने गरी विधेयकमा छलफल अगाडि बढेको छ । शिक्षकको यो माग सम्बोधन गर्न सरकार मनिरहेको छैन ।

आठौं  : शिक्षक–कर्मचारीको सरुवा

शिक्षक सरुवाको हकमा पालिकाभित्र सर्त तथा मापदण्डहरू निर्माण गर्न शिक्षकहरूले माग गरेका छन् । अन्तरजिल्ला सरुवाको अधिकार जिल्ला र प्रदेश तहको कार्यालयमा व्यवस्थित गर्नुपर्ने माग शिक्षक महासंघको छ ।

सरकार र महासंघबीच विद्यालय व्यवस्थापन समितिको सहमतिमा सरुवा गर्ने सहमति भएको छ । शिक्षण पेसा प्रवेशको उमेर ४० वर्ष गर्न माग शिक्षकले गरेका छन् । सेवा प्रवेशको उमेर ४० वर्ष बनाउन सरकारले सहमति गरेको छ ।

अभिभावकको नेतृत्वमा अभिभावककै बाहुल्य हुनेगरी विद्यालय व्यवस्थापन समिति गठन गर्न शिक्षकहरूले माग गरेका छन् । संघ र प्रदेश तहसँग सम्बन्धित रहेर काम गर्न गरी जिल्ला तहमा शिक्षाको एकाइ राख्न शिक्षकले माग गरेका छन् । विद्यालयको सम्पत्ति गैरशैक्षिक प्रयोजनमा प्रयोग र हस्तान्तरण नगर्न शिक्षकले माग राखेका छन् ।

नवौं : शिक्षकको मर्यादाक्रम

शिक्षकहरूले आफ्नो मर्यादाक्रमको माग गरेका छन् । सरकारले गत वर्ष नै शिक्षकसँग मर्यादाक्रम कायम गर्ने सहमति गरेको थियो । तर अहिलेसम्म कार्यान्वयन भएको छैन । हरेक विद्यालयमा शिक्षक दरबन्दी व्यवस्था गर्दा आधारभूत (१–५) मा प्रधानाध्यापकबाहेक कक्षागत, आधारभूत तह (६–८) मा प्रधानाध्यापकबाहेक विषयगत र मावि तहमा प्रधानाध्यापकबाहेक विषयगत शिक्षकको व्यवस्था गर्न पनि शिक्षक महासंघले माग गरेको छ ।

दशौं : ट्रेड युनियनको माग

विद्यालय शिक्षा विधेयकमा शिक्षक महासंघ मात्र रहने भनिएको छ । शिक्षकले दल निकटको संघ-संगठन खोल्न नपाउने गरी विधेयक आएको छ । तर शिक्षकहरूले ट्रेड युनियन अधिकार खोजेका छन् । यी विषयहरू विधेयकमा समावेश गरेर ऐन जारी गर्न शिक्षकले माग गरेका हुन् ।

विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलको क्रममा छ । शिक्षकहरूले आफ्ना माग समावेश गर्न दबाब दिन आन्दोलन गरिरहेका हुन् ।

गत वर्ष सरकारले शिक्षकको उपचार खर्च व्यवस्था, दुर्गम भत्ता, महँगी भत्ता, ग्रेड वृद्धि तथा समायोजन गर्ने सहमति गरेको थियो ।

शिक्षकलाई उच्च अध्ययन, अनुसन्धान र लेखनका लागि बिदा तथा आर्थिक सहयोगको व्यवस्था गर्न महासंघले माग गरेको छ । यी विषय ऐनमा समावेश नगरी मन्त्रिपरिषद्बाट निर्णय गर्दा हुने थियो । तर सरकारले सम्झौता गरेर कार्यान्यन नगर्दा शिक्षकहरू फेरि आन्दोलित भएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको सेवा सुविधाको विषयमा ७ बुँदे प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजान लागेकी थिइन् । ईसीडीका शिक्षकको तलब १७ हजार ३ सय बनाउने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, दुर्गम भत्ता उपलब्ध गराउने, ग्रेड समायोजन, मर्यादा क्रम कायम गर्ने, हाललाई निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था लगायतका विषय उनको ७ बुँदामा तयार थिए । यसमा शिक्षक महासंघ पनि सहमत थियो । तर आर्थिक स्रोतका लागि अर्थमन्त्रालय तयार भएन । जसका कारण मन्त्री भट्टराई राजीनामा दिन बाध्य भइन् ।

‘शिक्षकको सेवा-सुविधाका लागि ७–८ अर्ब सरकारको दायित्त्व बढ्ने थियो । अर्थमन्त्रालयले सहमति नदिँदा प्रक्रिया अगाडि बढ्न सकेन,’ शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘७ बुँदेमा अर्थमन्त्री र प्रधानमन्त्रीले सहमति जनाएको भए शिक्षकको आन्दोलन सेटलमेन्ट हुने थियो ।’

 गत ५ र १२ असोजमा सरकार र शिक्षकबीच भएका सम्झौताहरू :

यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग यी हुन् सरकारसँग सम्झौता भए पनि कार्यान्वयन नभएका शिक्षकका १० माग





Source link

Leave a Comment