मकवानपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पुराना र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धा हुने भएको हो । निर्वाचन यसपटक विगत जस्तो गठबन्धनको छायामा छैन । यसैले आगामी निर्वाचनबाट दलहरूको वास्तविक हैसियत मापन हुने अनुमान गरिएको छ । मकवानपुर १ मा २३ जनाको उम्मेदवारी कायम भएको छ । जसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार छन् ।
यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मैदानमा छन् । डिनाले सबै प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिएकी छिन् । सिंहले भने दुई पटक (२०५४ र २०७९) हेटौंडा उपमहानगरको मेयरमा चुनावी प्रतिस्पर्धा गरेका थिए ।
डिनाले यसअघिका सबै प्रतिस्पर्धा हारेकी छन् भने सिंहले अघिल्लो (२०७९) मात्र निर्वाचन जितेका थिए । एमालेका राना तथा नेकपा र रास्वपाका गौतमद्वयको पहिलो पटकको चुनावी प्रतिस्पर्धा हो । मकवानपुरको तत्कालीन जिल्ला विकास समिति सभापतिसमेत रहेका राना पाका उमेरका छन् । गौतमद्वय युवा उमेर समूहका हुन् । यसरी, पाँच–पाँच पटक चुनाव लडेकासँग नयाँ अनुहारको रोचक प्रतिस्पर्धा हुन लागेको हो । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरू आफ्ना एजेन्डा बोकेर मतदाताको घरदैलामा पुगिरहेका छन् । १ नम्बर क्षेत्रमा मतदाताको ठूलो संख्या ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा छ ।
सांगठनिक भोट कम भएको राप्रपाका सिंहले २०७९ को निर्वाचन हेटौ ंडा उपमहानगरको मतले जितेका हुन् । कांग्रेसकी डिनाले बागमती, बकैया र मकवानपुरगढीको भोट धेरै ल्याएकी थिइन् । सिंहले २ हजार ३ सय ८२ मतान्तरले डिनालाई हराएका थिए । सिंहले २७ हजार ८ सय १६ मत पाउँदा डिनाले २५ हजार ४ सय ३४ मतमा चित्त बुझाइन् । एमालेको सूर्य चिह्न लिएर उठेका राप्रपा नेपालका कमल थापाले २५ हजार ४ सय २० मत पाएका थिए । रास्वपाका उम्मेदवार टकाराज थापाले ५ हजार ७ सय ३ मत ल्याएका थिए ।
२०७९ यता रास्वपाले गाउँ र टोल समिति पनि बनाएको छ । विगतको तुलनामा रास्वपाको समानुपातिक मत बढ्ने आकलन गरिएको छ । संविधानसभा निर्वाचन भने माओवादीका प्रेमबहादुर पुलामी छिन्तु र प्रह्लाद लामिछानेले जितेका थिए । त्यसयता माओवादीले प्रतिनिधिसभा जित्न सकेको छैन । यस्तो छ मकवानपुरको निर्वाचन माहोल २०४६ सालको बहुदल आएपछिका निर्वाचन जित्दै आएको एमालेले हेटौंडा उपमहानगरको मेयर र उपमेयरमा पहिलो पटक २०७९ सालको स्थानीय तहको चुनावमा हार व्यहोरेको थियो ।
कम्युनिस्ट ‘गढ’ मानिने मकवानपुरमा २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भए । कांग्रेसले मकवानपुरको १ र २ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा जित्न सकेको छैन । कांग्रेस र एमालेले एकअर्कालाई मुख्य प्रतिस्पर्धाको रूपमा हेरेका छन् । २०७९ को बैशाखमा मेयरको चुनाव लडेको र लगत्तै प्रतिनिधिसभामा उठेकाले सिंहलाई जित निकाल्न सहज विश्लेषण भए पनि तत्कालीन समयमा गठबन्धनमा अन्तर्घात भएकोले उनको जीत सहज भएको दाबी गरिएको छ ।
२०४६ सालको बहुदल आएपछिका निर्वाचन जित्दै आएको एमालेले हेटौंडा उपमहानगरको मेयर र उपमेयरमा पहिलोपटक २०७९ सालको स्थानीय तह चुनावमा हार व्यहोरेको थियो । कम्युनिस्ट ‘गढ’ मानिने मकवानपुरमा २०७० सालको संविधानसभा निर्वाचनमा पहिलोपटक नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भए । कांग्रेसले मकवानपुरको १ र २ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा जित्न सकेको छैन ।
यस्तै, मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएकामध्ये तीन दलबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । क्षेत्र नम्बर २ बाट विभिन्न दलबाट १६ जना र पाँच जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाबीचको चुनावी माहोल थप रोचक हुने भएको हो । एमालेबाट महेशकुमार बर्तौ ला, नेपाली कांग्रेसबाट बुद्ध लामा र नेकपाबाट लवशेर विष्ट चुनावी मैदानमा छन् । उनीहरूले चुनावी प्रचार प्रसारलाई तीव्रता दिएका छन् ।
भौगोलिक विकटता रहेको ग्रामीण क्षेत्र मात्रै रहेको यस निर्वाचन क्षेत्रमा तामाङ, चेपाङ समुदायको बाहुल्य छ । पर्यटकीय नगरी थाहा नगरपालिकाका केही भाग सहर उन्मुख भए पनि अन्य क्षेत्र ग्रामीण छन् । २०४८ देखि हालसम्म कम्युनिस्टको गढका रूपमा रहेको यहाँ एमालेको उपस्थिति राम्रो छ । गत २०७९ को निर्वाचनमा यस क्षेत्रबाट एमालेका उम्मेदवार बर्तौलाले पूर्वएमालेका विरोध खतिवडालाई हराएका थिए । चौथो पटक यो निर्वाचन क्षेत्रबाट एमालेका उम्मेदवार बनेका विरोध खतिवडा गत निर्वाचनमा पराजित भएपछि आगामी निर्वाचनमा नउठ्ने घोषणा गरे ।
यस निर्वाचन क्षेत्रमा एमालेका महेश मात्र यहाँका पुरानै उम्मेदवार हुन् । उनी दोस्रो पटक यहाँ चुनाव लड्दै गर्दा कांग्रेस र नेकपाले नयाँ उम्मेदवार पठाएका छन् । नेकपाले थाहा नगरपालिकाको मेयरमा २०७४ सालमा निर्वाचित लवशेर विष्ट र कांग्रेसले मकवानपुर सभापति बुद्ध लामालाई उम्मेदवार बनाएको छ । एमालेको प्रमुख सचेतक भइसकेका बर्तौलालाई कांग्रेसका लामा र नेकपाका विष्ट बलियो प्रतिस्पर्धी हुन् । जनजातिको बाहुल्य क्षेत्रमा कांग्रेसले लामालाई अगाडि सार्नु जातीय मत आकर्षित गर्ने रणनीति रहेको बताइएको छ । नेकपाका विष्टले मेयर हुँदा गरेका कामको अझै पनि चर्चा हुने गर्दछ ।
रूपचन्द्र विष्ट ‘रुदाने’का अनुयायी विष्ट पारदर्शिता र सुशासनको पर्यायका रूपमा आफूलाई उभ्याउन खोजेको बताउँछन् । निर्माण व्यवसायमा आबद्ध रहेका विष्ट मेयर हुँदा सबै कम्पनी बन्द गरेर जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा थाहा नगरपालिका बेरुजु फछ्र्योट, कार्यसम्पादन मूल्यांकनमा तथा सुशासनमा अब्बल बनेको थियो । विकास निर्माण, सामाजिक रूपान्तरण, शिक्षा तथा स्वास्थ्य, पर्यटन र कृषिमा उनले ल्याएका योजनाको विषयमा अझै यहाँका नागरिकमा गहिरो छाप छोडेका स्थानीय बताउँछन् ।
एमालेका बर्तौलालाई जेनजी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाले प्रभाव पार्ने एकथरीको बुझाइ देखिन्छ । यस्तै नेकपा र कांग्रेसका उम्मेदवारले मत काट्ने चुनौती छ । त्यसो त, बर्तौला आफैं यहाँका हरेक नागरिकसँग जोडिने प्रयासले उनीमाथिको चुनौती देखिन्छ । कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ बर्तौलामाथिको अर्को चुनौती हो । मकवानपुर २ (ख)बाट प्रदेशसभा सदस्य निर्वाचित बानियाँका विश्वासपात्र हुन् लामा ।
यो क्षेत्रबाट श्रम संस्कृति पार्टीका युनिश लामा, उज्यालो नेपाली पार्टीका प्रवीणकुमार स्याङ्तान, रास्वपाका प्रशान्त उप्रेती, मंगोल नेसनल अर्गनाइजेसनका हिरालाल स्याङ्तान, नेसनल रिपब्लिक नेपालका सूर्य तामाङ बल, आम जनता पार्टीका सूर्य राई, नेमकिपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टीका शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, राप्रपाका रामबहादुर थोकर, जसपाका छविलाल वाइबा, जनमोर्चाका नीरबहादुर सिन्तानले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सीतामाया बलले उम्मेदवारी दर्ता गरेका छन् ।
भूगोल र मतदाता
मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा हेटौंडा उपमहानगरपालिकाका १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडा तथा बागमती र बकैया गाउँपालिका पर्छन् । क्षेत्र नम्बर २ मा हेटौंडा उपमहानगरपालिकाका १, ३, ११ र १९ नम्बर वडा, मकवानपुरगढी गाउँपालिकाका ५, ६, ७ र ८ नम्बर वडासहित थाहा नगरपालिका, मनहरि, राक्सिराङ, कैलाश, इन्द्रसरोवर र भीमफेदी गाउँपालिका पर्छन् । मकवानपुरमा ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । जसमध्ये महिला मतदाता १ लाख ५३ हजार ३ सय ७६, पुरुष मतदाता १ लाख ६१ हजार ९ सय ५३ र ५ जना अन्य मतदाता छन् । १ सय २ वटा वडा रहेको मकवानपुरमा ४० वटा वडा क्षेत्र नम्बर १ मा र ६२ वटा वडा क्षेत्र नम्बर २ मा रहेका छन् । जिल्लामा १ सय ६७ मतदानस्थल र ३ सय ७४ मतदान केन्द्र कायम भएको छ ।
(Visited 15 times, 1 visits today)
