‘यस्तै रहे ८० प्रतिशत बजार नेपाली फिल्मले लिन्छ’

‘यस्तै रहे ८० प्रतिशत बजार नेपाली फिल्मले लिन्छ’


फिल्मको यस्तो कमाइ मैले पहिलोचोटि देखेको हुँ । सामान्यतया दशैंमा एउटा नेपाली फिल्म चल्थ्यो । त्यसले राम्रै व्यापार गथ्र्यो । कुनै बेला दशैं कमजोर पनि हुन्थ्यो । ‘छक्कापञ्जा’ दशैंमा रिलिज भयो एकचोटि, त्यसले राम्रो व्यापार गरेपछि सबैले दशैंलाई पछ्याउन थाले ।

यसपालिको दशैं सरप्राइज भयो । ‘छक्कापञ्जा ५’ पनि त्यत्तिकै चल्यो, ‘१२ गाउँ’ पनि त्यत्तिकै चल्यो । तिहारमा हिन्दी फिल्म बढी चल्ने गर्थे । यसपटक कम व्यापार थियो हिन्दी फिल्मको । ‘पूर्णबहादुरको सारंगी’ ले त इतिहास नै रच्यो ।

यस्तो हिस्ट्री बनायो कि यसको रेकर्ड कहिले तोडिन्छ मलाई थाहा छैन । ‘पूर्णबहादुरको सारंगी’ सबै उमेर समूहका नेपालीलाई छुने कथासँग कनेक्ट हुनगयो । यो फिल्म हेर्न घरबाट एक जना मात्र गएनन्, घरदेखि बच्चाबच्ची, आमाबुवा परिवारै जान थाले । त्यसपछि यसले ठूलो संख्यामा दर्शक पायो । यसकारण बक्स अफिसमा ठूलो भोल्युम निर्माण भयो ।

फिल्म चल्दा निश्चित वर्गलाई मन परेरै चल्ने हो । विषयवस्तुले छुनैपर्छ । दर्शकलाई मन परेरै चलेको हो । ‘१२ गाउँ’ र ‘छक्कापञ्जा ५’ लाई दर्शकले रुचाएरै ठूलो परिमाणमा व्यापार भएको हो । नेपाली सिनेमाले अहिलेको स्थितिमा विदेशी फिल्मलाई विस्थापित नै गरिराखेको छ ।

यसको अर्थ विदेशी फिल्म नेपालमा नचल्ने भन्ने होइन । ठूला र नाम चलेका फिल्म मात्रै चल्न सक्छन् । औसत विदेशी फिल्मको अहिले मात्र होइन, एक वर्षदेखि नै व्यापार भइराखेको छैन । सबैलाई भन्न त मुस्किल हुन्छ तर हाइप बनाएको, कन्टेन्ट भएका नेपाली फिल्मले शतप्रतिशत राम्रै व्यापार गर्छन् ।

यहाँ मात्रै होइन, ओभरसिजमा पनि व्यापार राम्रो गर्‍या छन् । अघिल्लो पटक यस्तो व्यापार गर्न सकेको थिएन । फेस्टिभल चल्ने भए त जहिले पनि चल्थ्यो । जुन भोल्युममा व्यापार गरेको छ, यसकारण फिल्म नै चलेको हो ।

कस्तो सिनेमा आउँदैछ, बजारमा कस्तो इमेज बनाएको छ, कन्टेन्ट कस्तो छ, पब्लिसिटी कस्तो छ भन्ने कुराले यसको व्यापार निर्भर गर्छ । कति कुरा त, कलाकारको पनि माग अनुसार हुन्छ । ‘पूर्णबहादुरको सारंगी’को व्यापार असामान्य देखियो ।

तीन चार महिनाको व्यापार हेर्नुहुन्छ भने, घरेलु फिल्मले ८० प्रतिशत भन्दा धेरै बजार धानेको छ । ‘खुस्मा’, ‘गाउँ आएको बाटो’ जस्ता सबै फिल्मले राम्रो गरे । हिन्दी फिल्मले सीमित व्यापार गरे । प्रतिशत हेर्दा स्पष्ट हुन्छ

२०८१ सालमा मात्रै १०० करोडभन्दा माथिको व्यापार निश्चित छ । यसअघि यस्तो व्यापार भएको थिएन । यसपछि ‘लाज शरणम्’ आउँदैछ फागुनमा, यसले पनि ठूलै व्यापार गर्न सक्ने मेरो अनुमान छ । अहिले सारंगीले जति कमायो, यसलाई हेर्दा १ अर्ब त नभनौं, म यसलाई घरेलु व्यापार भन्छु । घरेलु बक्स अफिसमा सारंगीले ४५ देखि ५० करोडसम्म कमाउँछ होला । त्यो भन्दैमा, सबैले ५० करोडलाई टार्गेट गरेर फिल्म बनाउनु चाहिं निश्चित हुँदैन । विदेशको व्यापार जोड्दा नेपाली फिल्मको व्यापार १ अर्बभन्दा माथि जान्छ ।

पछिल्लो दुई महिनाको दौरानमा नेपाली फिल्म बजारको आकार स्वदेशी र विदेशी फिल्मको व्यापार हेर्दा १ अर्बभन्दा माथि देखियो । अहिले नेपालमा एकपछि अर्को फिल्म चलिराख्या छन् । सधैं यस्तै हुन्छ भनेर कसरी अनुमान गर्ने ?

नेपाली फिल्मको ऐतिहासिक व्यापार देखियो भनेर खुसी हुने ठाउँ त छ । भोलि अरू नेपाली सिनेमाले पनि यही किसिमको व्यापार गर्छन् भनेर कसरी भन्न सकिन्छ र ? सकारात्मक कहाँनेर हुन सकिन्छ भने– यतिसम्मको व्यापार हुनसक्ने रहेछ भनेर आशा राख्ने ठाउँ छ ।

बलिउडमा पनि वर्षमा ४, ५ फिल्म चल्ने हुन् । कुनै औसत हुन्छन् र कुनै धेरै खराब पनि । पब्लिसिटी, कन्टेन्ट र दर्शकले कति रुचाए यसमै निर्भर हुन्छ । पब्लिसिटी गर्दैमा फिल्म चल्छ भन्ने पनि छैन । कोही बेला कन्टेन्ट राम्रो भएर पनि फिल्म चलेको हुँदैन । बीचमा ‘वर्ड अफ माउथ’ आउँदा आउँदै फिल्म उत्रिसकेको हुन्छ । सबै कुरा मिलेमा, फिल्म ब्लकबस्टर हुन्छ ।

‘पूर्णबहादुरको सारंगी’को हिसाब हेर्दा, काठमाडौंलाई मोफसलले जितेको छ । यो फिल्म गाउँका परिवार, बुढापाका सबै जना हेर्न आए । पाका मान्छे पनि फिल्म हेर्न आए, उनीहरू मोफसलमा धेरै छन् । यो कारणले हुनसक्छ जस्तो लाग्यो ।

उपत्यका बाहिर हलको संख्या धेरै भए पनि टिकटको मूल्य कम हुन्छ । मल्टिप्लेक्स कम छन्, सिंगल स्क्रिन धेरै छन् । सिंगल स्क्रिनमा त्यति ठूलो रेट हुँदैन । काठमाडौंमा ठूलो बजार छ । टिकटको रेट पनि राम्रो छ । तर पनि, दर्शक गाउँबाट ओइरिए । २०, २५ वर्षसम्म हलमा नआएका मान्छे पनि आए ।

अहिले परिवारलाई मनोरञ्जन दिने शैलीका फिल्म चलिराखेका छन् । चाहे त्यो कमेडी होस् या इमोसनल होस् । अहिले आएर ‘१२ गाउँ’ एक्सन पनि चल्यो । अहिले सोसल ड्रामा, कमेडी, एक्सन सबै खालका फिल्म चले । एक्सन फिल्मले यस्तो व्यापार गरेको त पहिलो पटक हो ।

हामीले बलिउड फिल्म पनि वितरण गर्दै आइरहेका छौं । अहिलेको व्यापार हेर्दा, बलिउड कम, घरेलु फिल्मको वितरण धेरै गर्ने सोचमा छौं हामी । किनभने, बलिउडका सबै फिल्म नेपालमा चलिराखेका छैनन् । ‘कल्की’ र ‘स्त्री २’ पछि अरू फिल्म चलेकै छैन । त्यसअघि ‘एनिमल’ चल्यो । त्यसपछि लहरै चलेनन् । अब कुन चल्ने हो, थाहा छैन । बीचमा भारतीय फिल्मको घाटा, यसले मेन्टेन गर्ने स्थिति देखेको छु ।

अब शोको कुरा, धेरै शो पाएर फिल्म चल्ने होइन । पाएको शो हाउसफुल हुनुपर्‍यो । अनि तपाईंको शो दर्शकको माग अनुसार बढ्दै जान्छ । पसल सञ्चालक पनि खाली बस्दैनन्, पसल थापेर बसेका हुन् । फिल्म चलेअनुसार शो आफैं बढाउँदै जान्छन् ।

‘पूर्णबहादुरको सारंगी’को पनि सुरुमा ५६ शो थियो । सुरुको एकदुई दिन हामीले सबै हललाई आग्रह गर्दै, थम्थम्याउँदै राखेको हो । तर, तेस्रो र चांैथो दिनपछि फिल्मले पिक गरेपछि हामीले केही गर्नैपरेन । आफैं शो बढेको हो ।

नेपाली फिल्मको व्यापार हेर्दा एकदमै आशावादी हुने ठाउँ छ । हामीले बाँडेका फिल्ममध्ये ‘पूर्णबहादुरको सारंगी’ सर्वकालीन ब्लकबस्टर भयो, ‘छक्कापञ्जा ५’ ब्लकबस्टर भयो । ‘ह्रस्व दीर्घ’ पनि राम्रो चल्नेको सूचीमा देखिन्छ । ‘गाउँ आएको बाटो’ पनि राम्रो चल्यो

हामीले फिल्म छनोट गर्दा राम्रो व्यापार, राम्रा निर्मातालाई छनोट गर्छौं । अब निर्माता पनि हेरेर मात्रै काम गर्ने । गर्छौं भन्दैमा जुन पायो त्यो नेपाली फिल्म नलिने पनि । हामी हाम्रो सम्बन्ध भएका केही निश्चित मान्छेसँग मात्र काम गर्छौं । नयाँ मेकरको नलिने पनि हैन, लिन्छौं तर अध्ययनपछि मात्रै ।

अहिले कन्टेन्ट चलिराखेको हो । स्टार भन्दैमा ‘पूर्णबहादुरको सारंगी’ मा पनि त्यस्तो स्टार देखिंदैन । स्टार भनिएकैको फिल्म पनि चलेको छैन । हामीले मेकर, कन्टेन्ट हेर्ने हो । कहिलेकाहीं हामीले अनुमान गरेको फिल्म चल्दैन, कहिले चाहिं चल्छ । पब्लिकमा गएपछि थाहा हुने हो ।

यसरी घरेलु फिल्म चलिदिए भने विदेशी फिल्म किन चाहियो र ? थिएटरलाई पुगेकै छ । तराईको जनकपुर, महेन्द्रनगर, वीरगञ्ज जस्तो ठाउँमा प्रायः नेपाली फिल्म चल्दैन । त्यहाँ नेपाली फिल्मवालाले धेरैथोरै कति हुन्छ, जति आए पनि फिल्म चलाउनुपर्‍यो । बानी लगाउनुपर्‍यो । वीरगञ्ज, जनकपुर, राजविराज, लहान जस्ता साना ठाउँ धेरै छन् ।

विराटनगरमा पहिला हिन्दी फिल्म मात्रै चल्थ्यो । अहिले हुँदाहुँदा नेपाली फिल्म पनि चल्न थाल्यो । त्यहाँ हिन्दी फिल्म नभए हुनेभयो । अब विस्तारै हामीले बानी लगाउँदै जानुपर्छ । हामीले अन्यत्र हाउसफुल भयो, जनकपुरमा चलेन भन्न हुँदैन । त्यहाँ पनि चल्न चाहिं दिनुपर्छ ।

नेपालगञ्जमा पहिला नेपाली फिल्म चल्दैनथ्यो । अहिलेको नेपाली फिल्मको मोफसलको ठूलो बजारमा आउँछ त्यो । त्यसपछि धनगढीमा नेपाली फिल्म चल्दैनथे । चलाउँदा चलाउँदा ठूलो बजार भइसक्यो । विराटनगरका हलबाट अहिले ४०–५० लाख आउँछ । वीरगञ्जमा पनि ‘पूर्णबहादुरको सारंगी’ अलिअलि मल्टीप्लेक्समा चल्यो । नाम चलेका मात्र लगाउन खोज्थे, अरू फिल्म त लाग्दै लाग्ने थिएन । त्यसबाट आउने १०–१५ हजार थियो । अहिले आएको हिसाब त भयंकर हो ।

वीरगंजमा हामीले प्रयास नगरेर हो । वीरगंज र जनकपुरमा सबै किसिमका मान्छे छन् । हेर्छन् नि फिल्म । लहानमा पनि अलिकति चल्यो । नेपाली फिल्म नचल्ने लहान जस्ता ठाउँमा पनि सारंगीले अलिकति व्यापार गर्‍या छ । हामीले निरन्तर सिनेमा दियौं भने बजारको विकास हुन्छ नि ! पोखरा, बिर्तामोड, दमक, धरान, इटहरी, बुटवल, चितवन राम्रा छन् । अहिले झन् राम्रा भएका छन् ।

अहिलेको परिस्थितिले काठमाडौंमा विदेशी फिल्म नचाहिने भइसक्यो । ‘कंगुवा’ आएन, ल्याएनन् । नल्याउँदा पनि यहाँ केही फरक परेन । हलवालाले डिमान्ड नै गरेनन् । फिल्म नभएको भए ‘कंगुवा’ भनेर हलवाला सबैले फोन गर्थे । अहिले कसैलाई मतलबै छैन ।

‘पूर्ण अकुपेन्सी’मा फिल्म चलिराख्या छ । नेपाली फिल्म चल्यो भने विकास शुल्क पनि बच्यो । १५ प्रतिशतमा साढे ७ प्रतिशत त हलको हो । उनीहरूलाई फाइदा भयो । नेपाली फिल्म चल्दा विदेशमा पैसा जान पनि रोकिन्छ, त्यो राम्रो कुरा हो ।

अहिले घरेलु फिल्म हेर्ने संस्कृति बढेको छ जस्तो लाग्छ मलाई । नेपाली फिल्मप्रति दर्शकको रुचि पनि बढेको छ । अहिले नेपाली फिल्मको अलिकति कुरा हुन थाल्या छ । बक्स अफिस ठूलो भएर मान्छेलाई रुचि पनि बढ्यो ।

यसरी राम्रो भएर फिल्म चल्न थाल्यो भने ८० प्रतिशत बजार नेपाली फिल्मले लिन्छ । यस्तै तरिकाले व्यापार गरिरहे भविष्यमा २० प्रतिशत मात्र विदेशी फिल्मको व्यापार भए पुग्छ । एउटा समयमा गएर ठूलो पर्सेन्टेज ओगट्छ नेपाली फिल्मले ।

तीन चार महिनाको व्यापार हेर्नुहुन्छ भने, घरेलु फिल्मले ८० प्रतिशत भन्दा धेरै बजार धानेको छ । ‘खुस्मा’, ‘गाउँ आएको बाटो’ जस्ता सबै फिल्मले राम्रो गरे । हिन्दी फिल्मले सीमित व्यापार गरे । प्रतिशत हेर्दा स्पष्ट हुन्छ ।

नेपाली फिल्मको व्यापार हेर्दा एकदमै आशावादी हुने ठाउँ छ । हामीले बाँडेका फिल्ममध्ये ‘पूर्णबहादुरको सारंगी’ सर्वकालीन ब्लकबस्टर भयो, ‘छक्कापञ्जा ५’ ब्लकबस्टर भयो । ‘ह्रस्व दीर्घ’ पनि राम्रो चल्नेको सूचीमा देखिन्छ । ‘गाउँ आएको बाटो’ पनि राम्रो चल्यो ।

आगामी दिनमा हामी अधिकतम नेपाली फिल्मको संख्या बढाउने तयारीमा छौं । हामी भविष्यमा फिल्म मेकिङमा पनि जान सक्छौं । राम्रा मेकरलाई हामीसँग ज्वाइन गरेर जाने योजना छ । राम्रा मेकरको जति सिनेमा आउँछन्, हामी सबै लिन्छौं । हामी उहाँहरूलाई आर्थिक रूपमा पनि मद्दत गर्छौं ।

(फिल्म वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टसँग आबद्ध राठीसँग गरिएको कुराकानीमा आधारित ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School