यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी


युवा तथा अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टोलीमा सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको टोलीबाट सोमपाल कामी मात्र छन्।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली क्रिकेट टोलीले आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकपमा तेस्रोपटक भाग लिनेछ।
  • नेपालले विश्वकपमा समूह चरणका सबै खेलहरू मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ र इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
  • नेपाली टोलीमा १५ खेलाडी छन् जसमा सोमपाल कामी मात्र सन् २०१४ को पहिलो विश्वकपबाट छन् भने ९ खेलाडी दोस्रो र ५ खेलाडी पहिलोपटक विश्वकप खेल्दै छन्।

काठमाडौं । नेपाली क्रिकेट टोलीले तेस्रोपटक आईसीसी टी-२० विश्वकप खेल्दै छ । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपका लागि नेपालको १५ सदस्यीय टोली घोषणा पनि भइसकेको छ ।

युवा तथा अनुभवी खेलाडीको समिश्रण रहेको नेपाली टोलीमा सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको टोलीबाट सोमपाल कामी मात्र छन्। बाँकी खेलाडीहरू कोही पहिलोपटक अनि कोही दोस्रोपटक विश्वकप खेल्दै छन् ।

कप्तान रोहित पौडेलसहित ९ खेलाडीहरू दोस्रोपटक विश्वकप खेल्दै छन् । रोहितसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्शन झाले सन् २०२४ को विश्वकपमा खेलेका थिए ।

यस्तै पाँच खेलाडीले भने पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् । राष्ट्रिय टिममै पहिलोपटक परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव पहिलोपटक विश्वकप सहभागिता हुनेछ ।

नेपालले विश्वकपमा समूह चरणका सबै खेलहरू मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ । नेपाल इंग्ल्यान्ड, इटली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्नेछ ।

नेपाली टोलीमा रहेका १५ खेलाडीबारे आज चर्चा गर्नेछौं ।

रोहित पौडेल

रोहित पौडेलले लगातार दोस्रोपटक नेपाली टोलीको कप्तानी गर्दै टी-२० विश्वकप खेल्न लागेका छन् । रोहित गत विश्वकपमा सबैभन्दा कान्छा कप्तान समेत थिए ।

२३ वर्षीय रोहित अलराउन्डर हुन् । उनले दाँयाहाते ब्याटिङ अनि पार्ट टाइम स्पिन बलिङ गर्छन् । रोहितले सन् २०१९ जनवरीमा यूएईसँगको खेलमार्फत नेपालका लागि टी-२०आईमा डेब्यू गरेका थिए ।

त्यसयता रोहितले नेपालका लागि ७६ टी-२०आई खेलमा ८ अर्धशतकसहित १६३७ रन बनाएका छन् । उनको उच्च स्कोर ६१ रहेको छ ।

बलिङमा उनले १३ विकेट लिएका छन् । रोहितले साढे ६ को इकोनोमीमा बलिङ गर्छन् ।

रोहितले गत विश्वकपमा नेपालका लागि ३ खेलमा ३६ रन बनाएका थिए भने २ विकेट पनि लिएका थिए ।

लगातार दोस्रोपटक विश्वकपमा टिमको नेतृत्व गर्न पाउँदा रोहित उत्साहित छन् । ‘टिमका सबै खेलाडी उत्साहित छन् । टिम पनि राम्रो छ । हाम्रो तयारी पनि राम्रो भएको छ, विदेशी प्रशिक्षकहरू पनि आउनुभएको छ’ कप्तान रोहितले भनेका छन्, ‘बिल्डअप पनि राम्रो भएको छ । एक्सपोजर पनि पाइएको छ।’

कप्तान रोहितले मैदानमा ११० प्रतिशत दिएर प्रदर्शन गर्ने र नेपाली समर्थकहरूलाई खुसी प्रदान गर्ने बताएका छन् ।

दीपेन्द्रसिंह ऐरी

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

नेपाली टोलीका उपकप्तान रहेका दीपेन्द्रले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।

२६ वर्षीय दीपेन्द्र नेपालका स्टार अलराउन्डर हुन् । उनले दाँयाहाते ब्याटिङ तथा स्पीन बलिङ गर्छन् ।

दीपेन्द्रले नेपालका लागि सन् २०१८ जुलाईमा लर्ड्समा भएको नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।

आईसीसी टी-२०आई वरियतामा दोस्रो स्थानसम्म पुग्न सफल भइसकेका दीपेन्द्रले नेपालका लागि ९० खेलमा १ शतक र १० अर्धशतक सहित १९५६ रन बनाएका छन् ।

दीपेन्द्रको उच्च स्कोर ११० नटआउटको छ । उनी नेपालका लागि टी-२०आईमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत हुन् । २००० रन पूरा गर्नबाट उनी ४४ रन मात्र टाढा छन् ।

दीपेन्द्रले बलिङमा ५८ विकेट पनि लिएका छन् । ६ को इकोनोमीमा बलिङ गरेका दीपेन्द्रले २ पटक ४-विकेट प्रदर्शन गरेका छन् ।

दीपेन्द्रले नेपालका लागि विभिन्न कीर्तिमानहरू पनि बनाएका छन् । सबैभन्दा कम बलमै अर्धशतक बनाएर नतोडिने विश्व कीर्तिमान बनाएका दीपेन्द्रले एकै ओभरमा ६ छक्का समेत प्रहार गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरेका छन् ।

गत टी-२० विश्वकपमा दीपेन्द्रले ३ खेलमा ३२ रन बनाएका थिए भने बलिङमा ६ विकेट लिएका थिए ।

दीपेन्द्रले नेपालको टोली पहिलेभन्दा अनुभवी भएर आएको र त्यसले अवसरसँगै चुनौती पनि खडा गरेको बताएका छन् । ‘हामी विश्वकपमा ठूला राष्ट्रसँग खेलेका छौं, सिरिज पनि खेलिरहेका छौं, अनुभव बटुल्न धेरै मद्दत पुगेको छ’ दीपेन्द्रले भनेका छन् । दीपेन्द्रले यसपटकको विश्वकपमा सुपर ८ मा पुग्ने लक्ष्य राखेको बताएका छन् ।

सोमपाल कामी

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

सोमपाल कामी नेपालका लागि तीनवटै विश्वकप खेल्ने एकमात्र खेलाडी हुन् । यो हिसाबले उनी टिमका सबैभन्दा अनुभवी खेलाडी हुन् ।

२९ वर्षीय सोमपाल दाँयाहाते पेस बलर हुन् । उनले तल्लोक्रममा ब्याटिङबाट पनि योगदान दिन सक्छन् ।

सोमपालले सन् २०१४ को टी-२० विश्वकपअन्तर्गत हङकङसँगको खेलमा नेपालका लागि टी-२०आई डेब्यू गरे । त्यो नेपालको पहिलो टी-२०आई खेल थियो ।

सोमपालले नेपालका लागि ८६ खेलमा ८१ विकेट लिएका छन् । ७.१४ को इकोनोमीमा बलिङ गर्ने सोमपालको औसत २३ को छ ।

ब्याटिङमा सोमपालले ४० को उच्च स्कोरसहित ३६५ रन बनाएका छन् ।

सोमपालले सन् २०१४ को टी-२० विश्वकपमा ३ खेलमा ४ विकेट लिएका थिए । ब्याटिङबाट कुनै योगदान हुन सकेन ।

यस्तै सन् २०२४ को टी-२० विश्वकपमा सोमपालले ३ खेलमा ३ विकेट लिए । ब्याटिङमा ८ रन मात्र बनाएका थिए ।

सोमपालले पहिलोपटक विश्वकप खेल्दा क्षण सम्झिँदै त्यसबेला सारा विश्वलाई नेपाली क्रिकेटबारे चिनाउन महत्वपूर्ण रहेको बताए । ‘हामी पहिलोपटक विश्वकप खेलेर विश्वलाई चिनायौं नेपालमा पनि क्रिकेट हुन्छ भनेर । दोस्रोपटक चाहिँ हाम्रो कडा मेहेनतको प्रतिफल थियो, तेस्रोपटक खेल्दा चाहिँ अब यसलाई सधै निरन्तरता दिनुपर्छ भन्ने सोच नै हो’ सोमपालले नेपालबाट जानुअघि भनेका थिए ।

कुशल भुर्तेल

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

कुशल भुर्तेलले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।

२९ वर्षीय भुर्तेल दाँयाहाते ओपनिङ ब्याटर हुन् । पछिल्लो समय भुर्तेलले लेगस्पीन बलिङ समेत गर्दै आएका छन् ।

भुर्तेलले नेपालका लागि सन् २०२१ मा कीर्तिपुरमा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए । त्यसबेला उनले लगातार तीन खेलमा अर्धशतक समेत बनाएका थिए ।

भुर्तेल टप अर्डरमा खेल्दा पावरप्लेमा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनले नेपालका लागि ७० खेलमा १ शतक र १३ अर्धशतकसहित १८०७ रन बनाएका छन् ।

उनको उच्च स्कोर १०४ नटआउट रहेको छ । फिलिपिन्सविरुद्ध भुर्तेलले उक्त शतक बनाएका थिए ।

भुर्तेलले बलिङमा ३० विकेट पनि लिएका छन् ।

गत संस्करणको विश्वकपमा ३ खेलमा २४ रन बनाएका थिए भने ४ विकेट पनि लिएका थिए ।

आसिफ शेख

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

२४ वर्षीय विकेटकिपर ब्याटर आसिफ शेखले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । दाँयाहाते ब्याटिङ गर्ने आसिफले पनि टप अर्डरमा खेल्ने गर्छन् ।

आसिफले नेपालका लागि भुर्तेलसँगै डेब्यू गरेका थिए । आसिफले पनि डेब्यू सिरिजमा राम्रो लय देखाएका थिए ।

आसिफले नेपालका लागि ६८ खेलमा १० अर्धशतकसहित १६३९ रन बनाएका छन् ।

गत विश्वकपमा आसिफले ३ खेलमा ३ खेलमा ६३ रन बनाएका थिए । उक्त विश्वकपमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी आसिफ थिए ।

करण केसी

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

करण केसी पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।

३४ वर्षीय करण दाँयाहाते बलर हुन् भने उनले पनि सोमपालजस्तै तल्लोक्रममा ब्याटबाट योगदान दिन सक्छन् ।

करणले सन् २०१५ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए ।

करणले नेपालका लागि ८५ टी-२०आई खेलमा १०६ विकेट लिएका छन् । उनले ३ पटक ४-विकेट प्रदर्शन गर्दा एकपटक ५-विकेट प्रदर्शन पनि गरेका छन् ।

ब्याटिङमा करणले ४५ को उच्च स्कोरसहित ४६८ रन बनाएका छन् ।

सन् २०२४ को टी-२० विश्वकपमा करणले २ खेलमा १७ रन बनाए भने कुनै विकेट लिन सकेनन् ।

सन्दीप लामिछाने

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

सन्दीपले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । २५ वर्षीय सन्दीप दाँयाहाते लेग स्पीन बलर हुन् ।

सन्दीप नेपालका लागि टी-२०आईमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले ६७ खेलमा १२९ विकेट लिएका छन् ।

६ को इकोनोमीमा बलिङ गर्ने सन्दीपले आफ्नो करियरमा ३ पटक ४-विकेट प्रदर्शन अनि २ पटक ५-विकेट प्रदर्शन गरेका छन् । उनको बलिङ औसत पनि नेपालीमध्येकै उत्कृष्ट (१२) छ ।

गत संस्करणको टी-२० विश्वकपमा दुई मात्र खेल खेलेका सन्दीपले २ विकेट लिएका थिए ।

विश्वका धेरै फ्रेन्चाइज लिगमा खेलिसकेका सन्दीपले अन्तर्राष्ट्रिय स्तरको एक्सपोजर प्राप्त गरेका छन् ।

ललित राजवंशी

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

ललित राजवंशी नेपाली टोलीका अर्का स्पीन बलर हुन् । उनी पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।

२६ वर्षीय ललितले लेफ्ट आर्म स्पिन बलिङ गर्छन् । ललितले पनि सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत डेब्यू गरेका थिए ।

उनले नेपालका लागि ३७ खेलमा ३६ विकेट लिएका छन् । ६.३७ को इकोनोमीमा बलिङ गर्ने ललितले २१ को औसत राखेका छन् ।

गत संस्करणको टी-२०आई विश्वकपमा नेपालको टोलीमा रहेको भएपनि ललितले कुनै पनि खेल खेलेनन् ।

पछिल्लोपटक ललितले टी-२० विश्वकप छनोटअन्तर्गत सामोआसँगको खेल खेलेका थिए ।

गुल्शन झा

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

गुल्शन झा नेपाली क्रिकेट टोलीमा युवा अलराउन्डर हुन् । गुल्शनले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् ।

१९ वर्षीय गुल्शनले बाँयाहाते ब्याटिङ तथा दाँयाहाते मिडियम पेस बलिङ गर्छन् । उनले सन् २०२२ को विश्वकप छनोटअन्तर्गत फिलिपिन्ससँगको खेलमार्फत टी-२०आईमा डेब्यू गरेका थिए ।

गुल्शनले टी-२०आई क्रिकेटमा ५१ खेलमा एक अर्धशतकसहित ६२९ रन बनाएका छन् । यस्तै गुल्शनले बलिङमा २९ विकेट पनि लिएका छन् । उनको बलिङ इकोनोमी ७ को रहेको छ ।

गत संस्करणको टी-२० विश्वकपमा गुल्शनले ३ खेलमा २० रन बनाएका थिए भने १ खेलमा २ ओभर बलिङ गर्दा कुनै विकेट भने लिएनन् ।

दक्षिण अफ्रिकाविरुद्धको बहुचर्चित खेलमा नेपाललाई जितको निकै नजिक पुर्‍‍याएका गुल्शन त्यसबेला दुर्भाग्यपूर्ण रूपमा बेहोरेको १ रनको हारपछि भावुक बनेका थिए ।

सन्दीप जोरा

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

सन्दीप जोराले पनि दोस्रोपटक टी-२० विश्वकप खेल्दै छन् । २४ वर्षीय जोरा दाँयाहाते ब्याटर हुन् । उनले मिडल अर्डरमा खेल्ने गर्छन् ।

जोराले सन् २०१९ मा दुबईमा भएको यूएईसँगको खेलमार्फत नेपालका लागि डेब्यू गरेका थिए ।

जोराले नेपालका लागि ३८ खेलमा चार अर्धशतकसहित ४८९ रन बनाएका छन् ।

गत संस्करणमा जोराले १ खेल खेल्दा १ रन मात्र बनाएका थिए ।

शेर मल्ल

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

शेर मल्ल नेपाली राष्ट्रिय टोलीमा पूर्ण रूपमा नयाँ अनुहार हुन् । २३ वर्षीय शेर मिस्ट्री स्पीनर हुन् भने तल्लोक्रममा ब्याटिङको पनि क्षमता राख्छन् ।

गत संस्करणको एनपीएलमा शानदार प्रदर्शन गरेका शेरले त्यसकै आधारमा राष्ट्रिय टोलीको ढोका खोल्न सफल भएका हुन् । उनले नेपालका लागि विश्वकपमै डेब्यू गर्ने मौका बनाएका हुन् ।

पहिलो संस्करणमा पनि उपाधि विजेता टोली जनकपुर बोल्ट्सबाट खेलेका शेरले यसपटक लुम्बिनी लायन्सबाट खेलेर दोस्रोपटक उपाधि पनि जिते । उपाधि मात्रै नभएर यो सिजन गज्जबको प्रदर्शन पनि गरेका थिए ।

लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मुख्य पात्रमध्येका शेरले मिस्ट्री स्पीनमार्फत १० खेलमा १७ विकेट लिएर संयुक्त रूपमा शीर्षस्थानमा रहेका थिए ।

उनको मिस्ट्री स्पिन वाङ्खडे स्टेडियमको पिचमा सहयोगी पनि बन्न सक्छ ।

शेर मल्लले पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्न पाउनु सौभाग्य रहेको बताउँछन् । ‘देशको लागि खेल्न पाउँदा आफूलाई धेरै भाग्यमानी ठानेको छु, अब आगामी दिनका लागि मानसिक रूपमा पनि आफूलाई तयार गरिरहेको छु’ शेरले भनेका छन् ।

बसिर अहमद

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका बसिर पनि टी-२० विश्वकपमा पहिलोपटक सहभागी हुँदै छन् ।

२२ वर्षीय बसिर अलराउन्डर हुन् । बाँयाहाते स्पीन बलिङ तथा बाँयाहाते ब्याटिङ गर्छन् ।

उनले सन् २०२२ अगस्टमा भएको केन्याविरुद्धको खेलमार्फत नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।

बसिरले ७ खेलमा एक अर्धशतकसहित १२३ रन बनाएका छन् । उनको औसत ६१.५० को छ । बलिङमा २ विकेट लिएका छन् ।

बसिरले टी-२० विश्वकप छनोट नखेलेको भएपनि नेपाल प्रिमियर लिग (एनपीएल) मा गरेको प्रदर्शनबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । एनपीएलमा उनले ९ खेलमा १९१ रन बनाएका थिए ।

टिमलाई संकटबाट पार लगाउने क्षमता भएका बसिरले त्यस क्षमताअनुसारको प्रदर्शन पनि गरिसकेका छन् र मध्यक्रममा भरपर्दो ब्याटरका रूपमा आफूलाई प्रमाणित गरेका छन् ।

नेपालले हङकङमा भएको चारदेशीय टी-२० शृंखलाको फाइनलमा कुवेतविरुद्ध ९२-८ को अवस्थामा पुगेपछि बसिरले नन्दन यादवसँग मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्‍याएका थिए तर नेपाल ३ रनले पराजित हुन पुग्यो ।

आरिफ शेख

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

आरिफ शेख पहिलोपटक टी-२० विश्वकप खेल्न लागेका खेलाडीमध्येका एक हुन् । २८ वर्षीय आरिफ दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् ।

आरिफले सन् २०१८ मा लर्ड्समा भएको नेदरल्यान्ड्ससँगको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए ।

उनले नेपालका लागि टी-२०आईमा ३९ को उच्च स्कोरसहित ५५३ रन बनाएका छन् । बलिङमा आरिफले ४ विकेट मात्र लिएका छन् ।

पछिल्लो समय टी-२० क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका आरिफ विश्वकपका लागि टोलीमा परेका हुन् ।

नन्दन यादव

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

नन्दन यादव पनि पहिलोपटक टी-२० विश्वकप खेल्ने टोलीमा परेका खेलाडी हुन् ।

२५ वर्षीय नन्दन दाँयाहाते पेस बलिङ गर्छन् । यस्तै तल्लोक्रममा उनको ब्याटबाट पनि योगदानको अपेक्षा राख्न सकिन्छ ।

नन्दनले सन् २०२५ मा हङकङमा भएको चारदेशीय शृंखलाअन्तर्गत कतारसँगको खेलमार्फत टी-२०आई डेब्यू गरेका थिए ।

नन्दनले नेपालका लागि १२ टी-२०आई खेल्दा १५ विकेट लिएका छन् । ७.२९ को इकोनोमी राखेका छन् ।

नन्दनले गत वर्ष स्कटल्यान्डमा भएको टी-२०आई शृंखलामार्फत नेपाली टोलीका लागि डेब्यू गरेका थिए ।

पछिल्लोपटक नन्दनले टी-२० विश्वकप एसिया-इएपी छनोटअन्तर्गत सामोआसँगको खेल खेलेका थिए ।

लोकेश बम

यस्ता छन् टी-२० विश्वकप खेल्ने नेपालका १५ खेलाडी

लोकेश बमले पनि पहिलोपटक टी-२० विश्वकप खेल्दै छन् । २५ वर्षीय लोकेश दाँयाहाते ब्याटर हुन् । उनी नेपाली टोलीमा दोस्रो रोजाइका विकेटकिपर समेत हुन् ।

लोकेशले सन् २०२२ मा ओमानमा भएको चारदेशीय शृंखलामा यूएईविरुद्धको खेलबाट नेपालका लागि टी-२०आई डेब्यू गरेका थिए ।

उनले १८ खेलमा ३९* को उच्च स्कोरसहित १६० रन बनाएका छन् ।

पछिल्लोपटक लोकेशले टी-२० विश्वकप एसिया-इएपी छनोटअन्तर्गत सामोआसँगको खेल खेलेका थिए ।





Source link

Leave a Comment