ताडपत्रमा पालिभाषामा लेखिएको यो सामग्री सर्वप्रथम यशोधराको माइती देवदहमा पाइएको भन्ने ऐतिहासिक अनुमान गरिएको छ र सामग्रीको नेपाली अनुवाद यहाँ हुबहु प्रस्तुत गरिएको छः
पूर्वी वातायनबाट छिरेको सूर्यकिरणले हाम्रो कक्ष उज्यालो, चहकिलो पारेको थियो। वसन्तको यो पुछारमा गर्मी चढिसकेको थियो र यसमाथि राजकुमार सिद्धार्थको छटपटीले समयको तापलाई दोब्बर गरिदिएको थियो।
चाँदीको करुवाको पानी चाँदीकै कचौरामा खन्याएर एकै सासमा खाइसकेपछि राजकुमार उज्यालो आएकैतिर गई बाहिर टाढासम्म हेरेर उभिनुभयो। फेरि बाहिर रुखमुनि पुग्नुभयो र लगत्तै फर्किनुभयो। यो ताप न कुनै आम्रवृक्षको छायामा बसेर सेलाउन सकिन्थ्यो, न त त्यो राजकुण्डमा डुबुल्की लगाएर चिस्याउन सकिने खालको थियो।
कनकमुञ्ज प्रासादलाई साँच्चिकै सुनजस्तो देखिने गरी सिँगारिएको प्रतीत हुन्थ्यो, यद्यपि सुन पनि अरू पहेँलो रङको माटोजस्तै हो भन्ने तेस्रो आँखा सिद्धार्थको निधारमा उम्रिसकेको थियो। बरु यस प्रासादका ठुलाठुला हावादार वातायनहरूबाट बाहिर हेर्दा देखिने कुमारकुण्डको सङ्लो पानीका ससाना तरंगहरू र त्यसको वरिपरि फुलिरहेका पुण्डरिक, जाति, पुष्य, शतपत्री, कुमुदिनी आदि फूलहरूको सौन्दर्य सिद्धार्थका निम्ति र मेरै निम्ति पनि महत्त्वपूर्ण थिए।
म उहाँको अनुहारमा हेर्थें– ‘घर छोड्ने अनुमति पाऊँ’ भन्न खोजेजस्तो अनुहार। उहाँ मेरो अनुहारमा हेर्नुहुन्थ्यो– ‘एक्लै कसरी दिन काटुँला’ भन्ने अनुहार।
केही दिनदेखि म उहाँलाई आफ्नो प्रासादबाहिर डुलाउँदै दरबार परिसरका विभिन्न भागहरूमा भुलाउन प्रयत्नरत थिएँ। महाराज शुद्धोदन र महारानी माता प्रजापतिको मसँगको आग्रह पनि यस्तै थियो।
‘यशोधरा, तिमी बुद्धिमती छौ, अनिन्द्य सुन्दरी छौ, तिम्रो काखमा नवजात राहुल पनि छ। तिमीले मात्र सिद्धार्थलाई दरबारमा अड्याउन सक्छ्यौ,’ उहाँहरू सम्झाइरहनुहुन्थ्यो। तर यसो भनिरहँदा म उहाँहरूभित्रको अर्को आवाज पनि सुन्थें -‘कोलिय महाराजकी सुपुत्री भई उच्चकुलमा हुर्केकी र आफैंले रोजेर विवाह गरिआएकी भएर पनि आफ्नो लोग्नेलाई प्रेमबन्धनमा अड्याउन नसक्ने तिमी कस्ती नारी हौ र?’
सिद्धार्थले दरबार छोडेको अहिले पन्ध्र दिन भइसकेको छ। मलाई लामालामा सुस्केरा आउने रोग लागेजस्तो भएको छ। बाहिर चहकिलो कडा घामको वास्ता नगरी डुलेर आएँ। तिनै ठाउँहरूमा एक्लै विक्षिप्तझैं डुल्ने गर्छु, जहाँ अघि सिद्धार्थलाई लिएर डुल्ने गर्थें। तिनै वरपिपलको छायामा बनाइएका विटपी वाटिकाहरूमा बस्ने गर्छु, जहाँ अघि दुईजना भएर बस्ने गर्थ्याैं। म आफ्नो ठाउँमा बस्छु र राजकुमार बस्ने ठाउँमा बिस्तारै छाम्छु।
तालहरू, कुण्डहरू उनै छन्। दरबारका सुन्दर भवनहरू, फूलहरू, चराहरू सबै उनै छन्, तर यिनको प्राण सिद्धार्थको पछि लागेर गइसकेको छ।
राजकुमारले कुनै दिन दरबार त्याग गर्न सक्ने आशंका महाराजलाई हाम्रो विवाहपूर्व नै थियो। राजकुमारको यही सम्भावित कदमलाई रोक्नकै निम्ति विभिन्न आकर्षक अवरोधहरू सिर्जना गर्ने शृंखलामा जोडेर यो विवाह भएको थियो भन्ने सजिलै बुझ्न सकिन्छ। अर्थात् पत्नीप्रेमको अवरोधले राजकुमारलाई गृहस्थ भई रमाउन सिकाउनेछ भन्ने महाराजको झिनो आशा थियो र अहिले राहुल जन्मिसकेपछि त्यो आशा दोब्बर बढेको थियो।
तर एउटा प्रबल धारसहितको ठुलो नदीलाई उब्जाउ फाँटमा केही बेर अलमल्याउन सके पनि त्यसको समुद्रसम्मको यात्रालाई रोक्न सकिँदैन भन्ने अनुमान सायद महाराजले गरिबक्सेको थिएन।
मैले केही बेर आफ्नो शयनकक्षको त्यही वातायननेर उभिएर हेरें, जहाँबाट त्यस रात राजकुमार र सहायक छन्नालाई पूर्वतिरको मुख्य प्रवेशद्वारतिर जाँदै गरेको थरथर कामेर हेरेकी थिएँ।
म आँखा बन्द गर्छु– राजकुमार छाया भएर मेरो निकट आउनुहुन्छ। म आँखा खोल्छु – छाया राजकुमार गएकै बाटो निस्किन्छ।
ससुरा महाराज आइबक्सिन्छ, म आँखा भगाएर निहुरिन्छु।
सासू महारानी आइबक्सिन्छ – म अभिवादनसम्म बिर्सेर झस्किन्छु।
राहुललाई रत्नाको काखमा हालिदिएर बाहिर निस्कन्छु – बाटोमा छन्ना उभिएको छ, सायद केही भन्न चाहँदो हो, म नदेखेझैं गर्छु। यहाँसम्म कि यहाँका कुकुर, बिराला, खरायो र परेवाहरूसँग समेत म साहसले कुरा गर्न सक्तिनँ। भागेजस्तै पश्चिमतिर दौडिन्छु र वाणगंगाको किनारमा पुग्छु। वाणगंगा आफ्नो सुस्केरा मलाई सुम्पेर तलतल बगिरहन्छिन्। उनका सुस्केरा बोकेर म जडवत् जमिरहन्छु।
हो, यी ठाउँहरूमा केही दिनअघिसम्म म उहाँसँगै डुलिरहन्थें। त्रयोदशीको दिनमा पनि मैले उहाँलाई डोर्याउँदै हिँडाएकी थिएँ। दरबार परिसरभित्रकै त्यो सन्ध्याविहार घाम नअस्ताउँदै सुरु भएको थियो। स्मृतिहरू मात्र घनीभूत रूपमा दोहोरिइरहन्छन्। कनकमुञ्ज प्रासादबाट निस्केर हामीले सधैंझैं वर्षा ऋतुका निम्ति बनाइएको ‘सुरम्य प्रासाद’ र हिउँदका निम्ति बनाइएको ‘रम्य प्रासाद’को निगरानी गर्यौं। परिचर–परिचारिकाहरू आफ्नो काम छोडेर हामीलाई अभिवादन गर्न आउँदा राजकुमारले हातको इसाराले रोकेर आआफ्नो काममा लागिरहन संकेत गर्नुभयो। आन्तरिक उद्यान, महारानीलाई समर्पित भवन, राजपुरोहित र ब्राह्मणसभाका निम्ति बनाइएको सभा भवन, कुलदेवमन्दिर, अतिथिगृह, भण्डारगृह आदि सबै घुम्यौं। यी भवनहरूका बाहिर कलात्मक रूपमा लगाइएका जातिपुष्प, धत्तुरिका, माधवी, वनमालिका, शतपत्री, कुमुदिनी, किंशुका, कदम्ब आदि विविध जातिका फूलहरूको सौन्दर्य हेरेर राजकुमारको मनमा दरबारप्रतिको अनुराग बढेर जाओस् भन्ने पनि मेरो आन्तरिक मनसाय हुन्थ्यो।
‘कति धेरै कुराहरूको सौन्दर्य एकै ठाउँमा छ यहाँ,’ मैले भनेथें।
‘यी सबै संरचनाहरू बन्छन् पनि र इतिहासको अल्पतम कालखण्डमा हराएर जान्छन् पनि,’ उहाँले भन्नुभयो।
‘यी फूलहरू कति सुन्दर,’ मैले वृक्षशाखाका आम्रपुष्प देखाएर भनेँ।
‘यो सौन्दर्य पनि अस्थायी हो, यशोधरा। यस सौन्दर्यको आयतन जति ठुलो हुन्छ, यसको अवसानमा हुने दुःखको गहिराइ त्यति नै ज्यादा हुन्छ,’ उहाँले भुइँमा झरेर गलिसकेको फूललाई हत्केलामा उठाएर भन्नुभयो।
‘परिवर्तन त नित्य छ, चक्रजस्तै,’ मैले भनें।
‘ठिक भन्यौ,’ उहाँले भन्नुभयो, ‘तर दुःखसुखको यस चक्रबाटै बाहिर निस्कने बाटो कता छ र?’
‘छैन कि?’ मैले शंका गरेँ।
‘यत्न एवं साधना नगरी ‘छैन’ भन्ने निर्णय निकाल्नु कमजोरी हो,’ उहाँले भन्नुभयो र मेरो हात समाउनुभयो।
‘हामीले रोहिणी नदी र देवदहसम्मको यात्रा कहिले गर्ने?’ मैले प्रसंग बदल्नु उचित छ भन्ने लागेर भनेँ। यस दरबार परिसरभित्रको सानो यात्राले मात्र म सिद्धार्थलाई अल्झाउन सक्तिनँ भन्ने लागेर पनि भनेँ होला।
‘पख,’ उहाँले भन्नुभएको थियो, ‘राहुल अलि ठुलो होस्, छन्ना र कन्थकलाई लिएर हामी लामो यात्रा गरौंला।’
‘कहाँ?’
‘देवदह मात्र किन, हामी मल्ल राज्य, साबत्थी, कोशल आदि यता पश्चिमतिर र दक्षिणपूर्वतिरका कुशिनारा, वैशालीसम्मको पनि यात्रा गर्न सक्छौं।’
‘त्यति टाढा?’
‘सकिन्छ। तर अहिले आऊ, यो छोटो भ्रमण पूरा गरौं,’ यसो भनेर उहाँले सुरक्षा पथ हुँदै आन्तरिक उद्यानको बाटो, काठ र ढुंगाले बनाइएको दरबार प्रवेशद्वार र प्राचीर देखाएर अस्तबलको बाटो मलाई फर्काउनुभयो। त्यतिबेला पूर्वतिरको मुख्य प्रवेशद्वारदेखि अस्तबल र हाम्रो अहिलेको निवास कनकमुञ्ज प्रासादसम्मको दुरी पटकपटक आँखाले नाप लिएर उहाँ के सोचिरहनुभएको थियो भन्ने कुरा म अहिले मात्र बुझ्न सक्छु।
यस्तै हुँदो रहेछ – कतिपय सन्दर्भहरू वर्तमानमा देखिन्छन् मात्र, अर्थहरू भविष्यमा खुल्छन्, अनेकौं अर्थहरूको भिड र केही सबैभन्दा बढी सम्भावना भएका अर्थहरू पनि।
घर छोड्ने रात पनि दरबारभित्र कसैलाई सुइँको थिएन। सायद महाराजकै निर्देशनमा राजकुमारका समकालीनहरू -उदयिन, देवदत्त, आनन्द, भद्द, अनुरुद्ध, किम्बिला, भद्रिका आदिले एउटा रात्रिभोज आयोजना गरेका थिए। दरबारमा उसै पनि भोज गर्ने बहानाहरू भइरहन्छन् र दरबारका त्यस्ता मैत्रीभोजहरू कहिलेकाहीं त ठुला दुर्घटना वा दुःखान्तका कारण पनि बन्न पुग्छन्।
मध्यराततिर दरबारकै नृत्यवधूहरू– मृदुला र काञ्चनाहरूले आफ्ना पारदर्शी कपडाभित्र रहेका उत्तेजक अंगहरूको उतारचढावसहित आँखा र आँखीभौं नचाउँदै मादक मुद्रासहितको उन्मत्त नृत्य सुरु गरे –
‘राजकुण्ड तलतिर शिवालिक छ माथि,
आधा रातमा किन मेरो धुकधुक गर्छ छाती,
वाणगंगा बगेजस्तै यौवन बगी जान्छ,
साँची राखे तिम्रो रूप समयले खान्छ।’
गीतमा आउने शब्दअनुरूप हात तथा आँखाको मुद्रा बनाउँदै नाचेकै समयमा मृदुलाले सिद्धार्थको मुखमा हेरेर मदिराले लट्ठिएको आँखा झिम्क्याई।
सिद्धार्थले मेरो अनुहारमा हेरेर ‘उठौं’ भन्ने इसारा गर्नुभयो, तर अलि परको कौचमा बसेर महाराजले यतैतिर हेरिबक्सेको थियो।
‘सिद्धार्थ,’ महाराजले ‘बसिरहू’ भन्ने आदेशस्वरूप आफ्नो शिर तलतिर नुगाएर संकेत गरिबक्स्यो। उसै पनि महाराजको अगाडिबाटै बिनाअनुमति बाहिर निस्कनु अवश्य पनि मर्यादाविपरीत हुन जान्थ्यो।
नृत्यवधूहरूको उत्ताउलो हुँदै गइरहेको मध्यरात्रिको नृत्यमा आफ्नो विवाहित छोरो अभिरुचिपूर्वक दर्शक बनिरहोस् भन्ने महाराजको आशय थियो। हाय विडम्बना ! म महाराजको नियति देखेर विधिको विधानमाथि खेद गरिरहेकी थिएँ।
बारम्बार खाद्य परिकारहरू बाँडिएका थिए र मदिराको खोलो बगाइएको थियो। कार्यक्रम सकिएपछि महाराज केही समय आफैं आएर राजकुमारसँगै राज होइबक्स्यो तर केही बोलिबक्सेन। कस्तो लाग्थ्यो भने उहाँको छातीभरि अटाई–नअटाई भन्नुपर्ने कुराहरू थिए तर एउटै कुरा पनि बाहिर निस्कन सकिरहेको थिएन।
रात निकै बिते पनि बाहिर पूर्णिमाको उज्यालो थियो। हामी आफ्नो कक्षमा फर्किंदा लामो पटाङ्गिनीमा राजकुमारका पाइलाहरू हलुका थिएनन्। म पनि निद्राले लट्ठिएर उहाँको पछिपछि लतारिँदै हिँडिरहेकी थिएँ। पटाङ्गिनी पार गरेपछिको पुरानो भवनमा भएका लहरै कक्षहरूमा नृत्यांगना र अभिनेत्रीहरूका लागि आरामको व्यवस्था गरिएको थियो। त्यहाँ जुन दृश्य देखिन्थ्यो त्यो वास्तवमा हेर्नलायक थिएन।
तिनैमध्ये एउटा कक्ष ह्वांगै खुला थियो र भित्र पानसको उज्यालो निभेको थिएन। चार जना तरुणीहरू नृत्यको थकान र मदिराले मस्त भएर अस्तव्यस्त अवस्थामा लडेका थिए– तकियाबाट शिर बाहिर लतारिएका, घुरिरहेका, मुखबाट र्याल काढिरहेका, दुर्गन्ध छरिरहेका र अर्धनग्न अवस्थामा रहेका तिनीहरू घिनलाग्दा र बेहोस थिए। यौवनको बास्ना र सौन्दर्य यति छिटै गन्हाउन सक्छ र कुरूप बन्न सक्छ भन्ने अनुमान मलाई पनि थिएन। कमसेकम यस्तो दृश्य सिद्धार्थको दृष्टिमा पर्नु किमार्थ उचित थिएन।
त्यसै रात सिद्धार्थले दरबार त्याग गर्नुभएको थियो। सहायक भएर उहाँलाई अनोमा नदीसम्म पुर्याउन गएको छन्ना भोलिपल्ट दुईवटा घोडा लिएर रुँदै फर्केको थियो। राजकुमारले आफूले राजगद्दीको उत्तराधिकार त्यागेको संकेतस्वरूप आफ्नो तरबार फिर्ता पठाउनुभएको थियो र राजसी एवं गृहस्थ जीवनबाट सन्यस्त भएको अर्थ दिन आफ्नो चुल्ठो काटी पठाउनुभएको थियो। त्यसबाहेक मणिमाला, मुक्तामाला, शृंमाला र बिहेमा मैले लगाइदिएको मुद्रिका पनि साथमा लिएर छन्ना फर्केको थियो। मेरो छातीमा नदेखिने पहिरो गइरहेकै थियो।
भोलिपल्ट दरबारमा हल्लीखल्ली, कानेखुसी र मेरा निम्ति सबैका आँखामा प्रश्नैप्रश्न थिए भने पर्सिपल्टबाट राजदरबार शान्त, शून्य हुँदै क्रमशः मृत अवस्थामा रूपान्तरित हुँदै थियो।
अन्तिम रातमा अरू के भएको थियो भन्ने जानकारी सिद्धार्थ र मलाई बाहेक छन्नालाई केही थियो। यद्यपि ‘यशोधरा मस्त निद्रामा रहेको बेला सिद्धार्थले गृहत्याग गरे’ भन्ने अनुमानित लोकधारणा सर्वत्र व्याप्त भइसकेको थियो र मेरा निम्ति पनि सबैभन्दा सहज धारणा यही भएको थियो किनभने वास्तविकता भन्ने साहस मसँग थिएन।
‘यशोधरा,’ हिँड्ने बेला सिद्धार्थले भन्नुभएको थियो, ‘म यस दरबारी पिँजडामा अटाउन सकिनँ। त्यति राम्रो फूलको सुकुमार सौन्दर्य त्यति छिटै सडेर जान्छ। एउटा देवदूतजस्तो शिशु संसारमा जन्म लिन्छ र छिट्टै नै दुःखका भुमरीहरूमा डुब्दै असहाय, रोगी र वृद्ध भई मृत्युको छाँगोबाट खस्छ। अनि फेरि त्यही दोहोर्याउँछ, त्यही दोहोर्याउँछ। यस्तो भयानक गोलचक्करबाट किन निस्कन खोज्दैन मानिस? यस्ता प्रश्नहरू किन उठ्दैनन्? उठे पनि किन निरुत्तर रहन्छन्? म यस्तै प्रश्नहरूले दग्ध छु भन्ने तिमीलाई थाहा छ। म शीघ्रातिशीघ्र यी प्रश्नहरूको उत्तर वा समाधान लिएर तिम्रो सामु पुनः उपस्थित हुनेछु।’
‘राजकुमार, म बिस्तारै जीवनको सबैभन्दा कठिन निर्णयका निम्ति तयार भइसकेकी छु। म तपाईंको अध्यात्म–यात्रामा तगारो बन्ने छैन, सहायक हुनेछु,’ मैले भनेँ।
मलाई के लागिसकेको थियो भने ज्ञानको तिर्खाले रातदिन छटपटिएको मानिसलाई बाँधेर राख्नु कसैका निम्ति पनि कल्याणदायी छैन र सिद्धार्थप्रति यस्तो निष्ठुर व्यवहार गर्न मैले सक्ने कुरा पनि थिएन।
‘सायद मैले तिमीलाई गृहस्थी न्याय दिन सकिनँ, सायद मैले राहुलको जिम्मेवारी लिन सकिनँ,’ राजकुमार भयानक द्वन्द्वमा घुमिरहनुभएको थियो।
‘हे राजकुमार, साहसी बन्नुहोस्,’ मैले छातीमा पत्थर राखेर भनेँ, ‘तपाईंभित्र भुमरीजस्तै घुमिरहेको द्वन्द्व मेरो पनि द्वन्द्व हो र तपाईंको ज्ञानयात्रामा म पनि अध्यात्मतः सहभागी हुनेछु। अब ढिलो नगर्नुहोस्। उज्यालो हुन केही घडी मात्र बाँकी छ। तपाईंका निम्ति आवश्यक वस्त्र एवं परिधानहरू मैले तयार गरिदिएकी छु। यहाँबाट निस्कँदा ती सबै धारण गरेरै प्रस्थान गर्नुहोस्। छन्ना बाहिर खडा छ। कन्थकको ढाडमा काठी कस्न मैले उसलाई अह्राइसकेकी छु।’
‘यशोधरा,’ उहाँ बढी केही बोल्न सक्नुभएन। उहाँका आँखामा मेरा निम्ति प्रशस्त करुणा र प्रशंसाको भाव थियो।
मलाई यही पर्याप्त थियो।
‘हो, तपाईंले मलाई विवाह गर्नुभयो, प्रेम गर्नुभयो तर प्रेम वा विवाह गरेकै कारणले तपाईंको उन्नतिका आगामी पाइलाहरूमा मैले अवरोधको सिक्री बाँध्नुपर्छ भन्ने मलाई लाग्दैन। यो तपाईंको व्यक्तिगत अधिकार पनि हो। बरु मानवकल्याणका निम्ति गरिने यस महायात्रामा मेरो सहमति पनि साथै रहोस्,’ मैले उहाँलाई बलियो तुल्याउँदै भनेँ र मेरो कक्षबाट छिटो बाहिर निस्कन अनुरोध गरेँ।
यही पूर्वतिरको वातायनछेउ उभिएर सिद्धार्थ र छन्ना एउटा–एउटा घोडा मन्दगतिमा डोर्याउँदै दरबारको मुख्य द्वारतिर गइरहेको मैले मन थामेर हेरेँ।
राहुल सुतिरहेको मेरो कक्षमा अन्धकार थियो तर मेरा अश्रुपूरित आँखामा र बाहिर सिद्धार्थ गएतिरको बाटोमा पूर्णिमाको उज्यालो थियो।
