‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज


नेपाल रिपब्लिक मिडियाले नेपालगन्जमा आयोजना गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ विषयक कार्यक्रमका वक्ताहरूले युवाका लागि स्वदेशमै प्रशस्त सम्भावना रहेको बताएका छन्।

वक्ताहरूले युवाका लागि सम्भावनाको ढोका उघार्न स्वदेशमै उपयुक्त शिक्षा हासिल गर्ने र रोजगारी प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। त्यसका लागि राज्यको नीति, शिक्षा प्रणालीको परिवर्तन गर्नुपर्ने सुझाव उनीहरूले दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा अब विद्यार्थीलाई पढाइसँगसँगै रोजगारीका अवसर पनि सिर्जना गरिनुपर्ने आवश्यकता औंल्याए।

अधिकांश विद्यार्थी रोजगारीको अवसर खोज्दै देशबाहिर जानुपरिरहेको यथार्थ औंल्याउँदै नेपालमै अब पढाइसँगै रोजगारीको अवसर प्रदान गर्नुपर्ने धारणा राखे। यसका लागि नेपालको शिक्षा नीति, शिक्षा प्रणाली र पाठ्यक्रमलाई परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

‘नेपालको शिक्षा नीतिमा नै त्रुटि रहेजस्तो लाग्छ मलाई। विदेशमा जस्तो पढ्ने पनि काम गर्ने पनि प्रणाली नेपालमा पनि लागु गर्नुपर्छ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका कोइरालाले भने, ‘एजुकेसनलाई पढाइ र गराइमा समन्वय गरिएन भने अप्ठ्यारो अवस्था आउँछ । शिक्षाको नीति र पाठ्यक्रम परिवर्तन गर्नुपर्ने हुन्छ।’

शिक्षाको नीति र पाठ्यक्रमलाई परिवर्तन गरेर पढाइसँगै रोजगारीलाई अगाडि बढाउन सके धेरै नेपाली विद्यार्थी विदेश जानबाट रोकिने उनको विश्वास छ। अबको १० वर्षसम्म देशमा धेरै कुराको विकास हुने सम्भावना देखिएको बताए।

‘अबको १० वर्षमा हामीले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएका छौं। हामी सक्छौं भन्ने अठोटका साथ काम गर्नुपर्ने हुन्छ,’ उनले भने।

नेपालमा पर्यटन, कृषि, प्रविधिलगायत धेरै कुराले फड्को मार्ने अवस्था रहेकाले युवा जनशक्तिलाई अवसरै अवसर रहेको उनको भनाइ थियो।

‘हाम्रै छिमेकी देशमा महाकुम्भ चलिरहेको छ। धार्मिक पर्यटनबाट फाइदा हुन्छ भनेर हामीले बताउन सकेका छैनौं,’ उनले भने।

नेपालमा पनि धार्मिकसँगै पर्यटनका अन्य क्षेत्रलाई स्थापित गर्न सक्नुपर्नेमा उनले जोड दिए। प्रविधिको प्रयोगबाट नेपालीहरूले राम्रो आम्दानी गरिरहेको औल्याउँदै नेता कोइरालाले भने, ‘के हामीले नेपालगन्जमा बसेर त्यो काम गर्न सक्दैनौं र ?’

राजनीतिकर्मीका कमीकमजोरीका कारण युवा पिँढीले उनीहरूलाई विश्वास गर्न नसकेको उनले बताए। ‘हामी राजनीतिकर्मीका कमीकमजोरी पनि छन्। हामीले आशा जगाउन सकेका छैनौं। हामी जनता, युवा, विद्यार्थी, नागरिकप्रति जवाफदेही, उत्तरदायी, पारदर्शी छैनौं। त्यसैले सुशासन छैन भनेर तपाईंहरूले भनिरहनुभएको छ, म स्विकार्छु। अब हामीले बनाउनुपर्‍यो, गर्नुपर्‍यो।’

चारैतिर लथालिंग स्थितिमा रहेको अवस्थामा देशलाई बनाउने जिम्मा युवाहरूको हातमा रहेको डा. कोइरालाले जोड दिए।

‘तपाईंहरूजस्ता युवाको बलमा देश बनाउने हो। तपाईंहरू नै देश छाडेर जानुभयो भने देश कसले बनाउने ? यी सबै कुरालाई हामीले नीतिमा परिवर्तन गर्नुपर्छ। राजनीतिज्ञमा परिवर्तन आउनुपर्छ। हामीमा परिवर्तन आउनुपर्छ। तपाईंहरूमा परिवर्तन आउनुपर्छ,’ उनले भने।

‘म नागरिक म बनाउँछु नेपाल’ भन्ने सोच सबैमा जाग्नुपर्ने उनले जोड दिए। नेपालको शिक्षा नीति र पाठ्यक्रम परिवर्तन गरेर लाग्न सकियो भने देश बनाउन सकिनेमा आफूलाई विश्वास लागेको उनले बताए।

देशमा सुशासन कमजोर भएपछि त्यसले समग्र रूपमा देशलाई नै गलत बाटोमा लैजाने उनको चिन्ता छ।

‘सुशासनलाई ठिक ठाउँमा ल्याउने प्रयास गर्दैछौं। तपाईंहरूको कोसिसले सुशासन एक दिन आउँछ। तपाईंहरू नै यो देशको भविष्य हुनुहुन्छ भन्ने हामीले बुझेका छौं। तपाईंहरूलाई विश्वास दिलाउन हामीले सुशासन दिन्छौं भन्ने हो,’ डा. कोइरालाले भने, ‘तपाईंहरूले जति कुरा गरिरहनुभएको छ। त्यो सुशासनभित्र धेरै कुरा आइरहेको हुन्छ। तपाईंहरूलाई विनम्रतापूर्वक आग्रह छ– तपाईहरू उद्यमशील बन्नतिर लाग्नुपर्‍यो, सरकारले त्यसका लागि रकम दिनुपर्‍यो। युवा स्वरोजगार भनेको छ तर पैसा दिएको छैन, यसरी देश अगाडि बढ्दैन।’

नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले देश बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताइन्। ‘यो देश तपाईं–हामी युवाले नै बनाउने हो,’ उनले भनिन्, ‘हामी युवाले नै देश नबनाए कसले बनाउने ?’

राज्यले युवा जनशक्तिलाई स्वदेशमै रहने गरी नीति बनाउनुपर्नेमा उनको जोड थियो। आफू स्नातकोत्तर तह अध्ययनका सिलसिलामा केही वर्ष विदेश जानुपरेको अनुभव उनले सुनाइन्। ‘म अध्ययनका लागि मात्रै विदेश गएकी थिएँ। अध्ययन सकेपछि तुरुन्तै फर्किएँ। नेपालमै केही गर्नुपर्छ, नेपाल बनाउनुपर्छ भनेर म फर्किएकी हुँ,’ उनले भनिन्।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

नेपालमा पनि सिप र क्षमताअनुसार रोजगारी पाउने प्रशस्त सम्भावना रहेको प्रबन्ध निर्देशक ज्ञवालीले बताइन्। आजका युवाले कसैलाई गाली गरेर समय खेर फाल्नुभन्दा पनि आफूले केही गरेर देखाउनुपर्ने धारणा उनले राखिन्।

अर्को प्रसंगमा ज्ञवालीले विश्वमा जलवायु परिवर्तनमा देखिएको असरको सामना नेपालले पनि गरिरहेको भन्दै चिन्ता व्यक्त गरिन्।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

‘जलवायु परिवर्तनको असर एकदमै खतरनाक तरिकाले अगाडि बढिरहेको छ,’ उनले भनिन्, ‘जलवायु विपद्का कारण नेपाल अप्ठ्यारो अवस्थामा छ।’

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवालीले नेपालमै सम्भावना देखेर उत्साहका साथ गाउँदेखि सहरसम्मका महिला उद्यमशील बनिरहेको बताइन्।

महिलाहरू ससाना उद्योग चलाएर आत्मनिर्भर बनिरहेको सुनाउँदै उनले भनिन्, ‘जनघनत्वका हिसाबले महिलाहरूले अवसर त्यति पाएका त छैनन् तर सम्भावना यो देशमा एकदमै धेरै छ। महिला दिदीबहिनीले आ–आफ्नो क्षेत्रमा एकदमै राम्रोसँग आफ्नो उद्यमलाई अगाडि बढाएका छन्,’ नेपाल रिपब्लिक मिडिया लिमिटेडकी निर्देशकसमेत रहेकी महासंघ अध्यक्ष ज्ञवालीले भनिन्।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

महिला उद्यमीका लागि पनि आवश्यक नीति चाहिएको उनको जोड छ। ‘उहाँहरू हामी (महिला उद्यमी) लाई वित्तीय पहुँच चाहिएको छ, हामी देश बनाउन चाहन्छौं, हामी देशमै बस्न चाहन्छौं भनेर अगाडि बढ्नुभएको छ। त्यो वातावरण यी युवाहरूका आमा, दिदी, काकीहरूले बनाइरहनुभएको छ,’ उनले भनिन्।

नेपालमै पर्यटन, कृषि, प्रविधिको विकास हुँदै गएकाले सम्भावना प्रशस्त मात्रामा रहेको उनले बताइन्। महिलालाई पढाइ र गराइको अवसर सहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि प्रदान गर्न सक्नुपर्नेमा अध्यक्ष ज्ञवालीको जोड थियो।

‘हामीले कामका आधारमा महिलाले पनि अवसर पाउनुपर्‍यो भनेर जोड दिइरहेका छौं। महिलाहरू अलि पछाडि छन्। युवा बहिनीहरू हतोत्साहित नहुनुस्। आफ्नो कर्म नछाडौं,’ उनले भनिन्, ‘निश्चय पनि त्यो दिन आउँछ, समान अवसर र समान पहुँचमा हामी हुनेछौं।’

सबै महिला उद्यमी भएर सशक्तीकरणको बाटोमा अगाडि बढ्न सके त्यो नै सबभन्दा ठुलो सुख हुने अध्यक्ष ज्ञवालीको तर्क थियो ।

सिद्धार्थ गु्रप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले नेपालमै रोजगारीको प्रशस्त सम्भावना रहेको बताए। सिद्धार्थ ग्रुपले ‘पढाइ र गराइ’ लाई सँगसँगै अगाडि बढाउने नीति अगाडि सारेको उनले प्रस्ट पारे।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

‘हामी नपढ्नेलाई पनि पढ भनेर प्रोत्साहित गर्छौं। पढाइ छाडेकालाई पनि तिमी पढाइलाई निरन्तरता देऊ भनेर प्रोत्साहन दिन्छौं। काम खोज्न बाहिर जानुपर्दैन। जागिर मात्र होइन, कम्पनीमा सेयर सदस्य बन्ने पनि अवसर प्रदान गरेका छाै‌ं,’ उनले भने।

टीकापुरमा घरबाट सुरु गरिएको खाजा सेटको व्यवसाय अहिले झन्डै २५ सय जनालाई जोडेको उनले बताए।

‘म को हुँ र कहाँको हुँ भन्ने कुराको ऐना नेपालगन्ज र टीकापुरले देखाउँछन्। मैले भारतमा लामो समय जागिर गरें। मलाई अमेरिकामा पनि राम्रो जागिरको अफर थियो । तर नेपालमै केही गर्नुपर्छ भनेर निरन्तर लागेको व्यक्ति हुँ म,’ उनले भने, ‘जतिबेला मैले व्यवसाय सुरु गरें, त्यतिखेर भर्खरै नेपालमा माओवादी द्वन्द्व सुरु भएको थियो। अत्यन्तै कष्टकर समय थियो। मैले व्यवसायलाई निरन्तरता दिइरहे।’

हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको उनले सुनाए। ‘हस्पिटालिटीको गुणस्तरीय जनशक्ति अहिले नेपालमा संकटजस्तै छ।

स्वदेशी होटेलले पनि राम्रो जनशक्तिका लागि कोही आउन चाह्यो भने पढाइ र गराइको व्यवस्था गर्छौं,’ उनले भने।

‘बुहारन वाइल्डरनेस क्याम्प’का संस्थापक निर्देशक मनोज गौतमले अवसरको पहिचान गर्न सक्ने पक्कै सफल हुने बताए।

‘समस्या जति पनि छ तर अवसरको पहिचान गर्न सक्नुपर्छ,’ उनले भने, ‘हातहातमा दुनियाँ छ। सूचना, प्रविधि, ज्ञान, सिप हातहातमा छन्। त्यो कुरालाई पहिचान गर्न सक्नुपर्छ।’

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

संरक्षणका काममा आफूले बटुलेको अनुभव सुनाउँदै उनले भने, ‘मैले जंगली जनावरसँग काम गरेको छु। गिद्ध संरक्षणदेखि लिएर थुप्रै समुदायसँग काम गरेको छु। विकास भएन भनेर हामी कराइरहेका छौं तर संरक्षण र विकास ठिक उल्टा कुरा हुन्।’

नेपालमा २३ प्रतिशतभन्दा बढी भूभाग संरक्षित क्षेत्र रहेको गौतमले सुनाए। उनले भने, ‘नीति खुकुलो नहुँदा संरक्षण दुरुपयोग हुने डरले सदुपयोग गर्नबाट हामी डराइरहेको अवस्था छ। समुदायहरू संरक्षणका नाममा पीडित छन्। संरक्षण भनेको जंगली जनावर र जंगलसँग मात्र सम्बन्धित छ भन्ने भाष्य बन्यो। समुदायलाई वर्जित गर्ने काम भयो।’

उनले स्वदेशी जनशक्ति उत्पादन गरेर उनीहरूका सिपलाई सम्मान गर्न सक्नुपर्नेमा जोड दिए।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपस्थित विभिन्न कलेजका विद्यार्थीले शिक्षा नीति र पाठ्यक्रमका कमजोरीले निम्त्याएका समस्या, देशको बेरोजगारी समस्यालगायत विविध विषयमा जिज्ञासा राखेका थिए।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

उनीहरूले आफूहरूमा देशका लागि केही गर्छौ भन्ने सोच हुँदाहुँदै देशको शिक्षा नीति, पाठ्यक्रमका कारण निराश हुनुपरेको बताए।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज
‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रम प्रभावकारी रहेको भन्दै आफूहरू पनि देश बनाउने अभियानमा लाग्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरे।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

कार्यक्रममा बाँके र बर्दियाबाट प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रतिनिधिसभा र प्रदेश सभाका सांसदहरू, प्राध्यापक, कलेज सञ्चालक, नागरिक समाजका अगुवालगायत उपस्थित थिए।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

नेपाल रिपब्लिक मिडियाले सञ्चालन गरेको ‘म नागरिक म बनाउँछु नेपाल’ क्रिएटर च्याम्पियन राष्ट्र र नागरिकका लागि महत्तवपूर्ण अभियान हो।

विराटनगरबाट सुरु भएको यस वर्षको अभियानअन्तर्गत सोमबार नेपालगन्जमा कार्यक्रम भएको हो। युवाहरूले चैत १५ गतेसम्म क्रिएटर च्याम्पियन कार्यक्रम (प्रतियोगितामा) सहभागी हुन सक्नेछन्।

‘म नागरिक म बनाउँछु नेपाल’ ले उत्साहित नेपालगन्ज

क्रिएटर च्याम्पियनलाई नेपाल रिपब्लिक मिडियाले चार लाख नगद पुरस्कारसहित सम्मान गर्नेछ।

प्रकाशित: १२ फाल्गुन २०८१ २३:०४ सोमबार





Source link

Leave a Comment