म्याग्दीमा महावीर चुनौती



७ फागुन, बेनी । यही फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा म्याग्दीका मुख्य प्रतिस्पर्धी दल र उमेद्वारहरु आ–आफ्नै रणनीतिका साथ मतदाता आकर्षित गर्न जुटेका छन् । यसपालि महावीर पुन पनि चुनावी मैदानमा रहेकाले म्याग्दीको प्रतिस्पर्धा रोचक बनेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा एउटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (के.बी.), नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापा र स्वतन्त्र उमेद्वार महावीर पुन मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको पदबाट मनोनयन दर्ताका दिन राजीनामा दिएर पुर्ख्यौली थलोमा चुनाव लड्न आएका पुनलाई राजनीतिक दलहरुले दावी गर्दै आएको प्रभाव क्षेत्रमा भएको स्वागत सत्कारको दृष्यले तरंगित बनाएको छ ।

राष्ट्रिय राजनीतिमा सिर्जना भएको फरक परिवेश, नयाँ राजनीतिक शक्तिहरुको उदय, प्रतिस्पर्धी उमेद्वारको प्रभाव तथा सम्बद्ध राजनीतिक दल तथा उमेद्वारहरुको रणनीतिले म्याग्दीको चुनावी परिणामप्रति उत्सुकता सिर्जना भएको बेनीका धनञ्जयकुमार श्रेष्ठ बताउँछन् ।

‘विगतका चुनावमा राष्ट्रिय स्तरमा ओझेलमा पर्ने म्याग्दीको चुनावलाई यसपालि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको उमेद्वारीले चर्चामा ल्याएको छ,’ उनले भने, ‘राजनीतिक दलहरुको सांगठनिक आधार र स्वतन्त्र उमेद्वारको प्रभावका कारण यसपालि म्याग्दीको चुनावलाई रोचक बनाएको हो ।’

एमाले र जनमोर्चा बाहेकका उम्मेदवार नयाँ

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ

एमालेका श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका छवी विश्वकर्मा दोहोरिएर उमेद्वार बनेका हुन् भने बाँकी सबै पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । वि.सं. २०७४ यता यसपालि दलहरुबीच एक्लाएक्लै गठबन्धन नगरी प्रतिस्पर्धा हुन लागेको हो ।

२०७४ सालमा एमाले–माओवादी र २०७९ सालमा कांग्रेस–माओवादी सहितका दलहरुको गठबन्धन गरेर चुनाव लडेका थिए । मतदाता भेटघाट, घरदैलो र कार्यकर्ता परिचालनका साथै सामाजिक सञ्जाललाई पनि उमेद्वारहरुले चुनाव प्रचारको माध्यम बनाएका छन् ।

दुई कार्यकाल एमालेको जिल्ला अध्यक्ष र एक कार्यकाल प्रदेश सचिवालय सदस्य रहेका एमालेका उमेद्वार श्रेष्ठ हालै सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

एमाले म्याग्दीका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण सुवेदी सांगठनिक आधार, विवादरहित स्वच्छ छबी, जिल्लाको सामाजिक, राजनीतिक क्षेत्रमा निरन्तर क्रियाशील र परिचित अनुहार हुनु नै श्रेष्ठको जितको मुख्य आधार भएको बताउँछन् । ‘अघिल्लो चुनावमा एमालेविरुद्ध मोर्चाबन्दी गरेका कांग्रेस र नेकपा यसपालि एक्लाएक्लै प्रतिस्पर्धामा हुनु, सांगठनिक आधार, प्रतिबद्ध र सक्रिय कार्यकर्ता, समानुपातिक मतमा बलियो भएकाले राजनीतिक रुपमा हामीलाई सहज छ,’ सुवेदीले भने, ‘राष्ट्रियताको पक्षमा पार्टीले लिएको नीति र जिल्लाको समग्र विकासको जग बसाएको आधारमा म्याग्दीमा एमालेको जित हुन्छ ।’

२०६४ र ०५६ सालको संसदीय निर्वाचनमा पराजित भएका एमालेका उमेद्वारले १४ हजारदेखि १५ हजारको अनुपातमा मत पाएका थिए । एकल प्रतिस्पर्धाका क्रममा विगतमा आफ्नो पार्टीले प्राप्त गरेको मत बचाउन सकेमा जित निकाल्न सकिने निष्कर्षसहित एमालेले टोल र मतदाता केन्द्रित अभियान चलाएको युवा परिचालन समितिका संयोजक नारायण जिसीले बताए ।

एमालेले अध्यक्ष, उपाध्यक्षसहित आठ मध्य पाँच वटा वडा अध्यक्ष जितेको अन्नपूर्ण गाउँपालिका–८ नागीका महावीर पुन यसपटक स्वतन्त्र उमेद्वार छन् । महावीरका कारण भेगिए र जातीय नाराले प्रभावित हुने मतदाताको निर्णयले पार्न सक्ने असरलाई आँकलन गरेर एमालेले आफ्ना उमेद्वारको जन्मथलो बेनी नगरपालिकामा कार्यकर्तालाई सुक्ष्म ढंगले परिचालन गरेको नेताहरुले बताएका छन् ।

म्याग्दीमा महावीर चुनौती
नेपाली कांग्रेसका उमेद्वार कर्णबहादुर भण्डारी

नेपाली कांग्रेसका उमेद्वार कर्णबहादुर भण्डारीले चुनाव प्रचारका लागि घरदैलो, मतदाता भेटघाट, कार्यकर्ता परिचालन र सामाजिक सञ्जालको प्रयोगलाई समानान्तर हिसाबले अघि बढाएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका ५७ वर्षीय भण्डारी रघुगंगा गाउँपालिका–२ भगवतीका बासिन्दा हुन् ।

बलियो संगठन, सक्रिय कार्यकर्ता, पार्टीको आन्तरिक एकता, धेरै मतदाता भएको राखुका उम्मेद्वार र गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खमबहादुर गर्बुजाले सुरुवात गरेका विकास आयोजना कांग्रेसको जितको आधार भएको कांग्रेसका जिल्ला सचिव भरत रकालले बताए ।

‘यसअघि एमाले अनेरास्ववियुले जित्दै आएको म्याग्दी बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघले गठबन्धन नगरी एक्लै जित्नुलाई म्याग्दीमा कांग्रेसको संगठन बलियो बनेको आधार हो । कांग्रेसको महाविधेशनबाट नयाँ नेतृत्व चयन भएपछि कार्यकर्तामा उत्साह र जनतामा आशा पलाएको छ,’ रकाल भन्छन्, ‘मुद्दा, विगतमा हाम्रा जनप्रतिनिधिले गरेका काम र सक्षम उमेद्वार नै हाम्रा जितको आधार हो ।’

स्वतन्त्र उमेद्वार महावीरले एमालेको तुलनामा कांग्रेसलाई कम असर गर्ने भएकाले त्यसको फाइदा आफूहरुलाई हुने रकालको दावी छ ।

पूर्व ऊर्जा राज्यमन्त्री गर्बुजाको संघीय सरकारबाट म्याग्दीमा शुरु भएका बृहत घोप्टेखोला, चिमखोला–पिप्ले–भगवति खानेपानी योजना र चालु आर्थिक वर्षमा भित्रिएका नदी नियन्त्रण योजनाको जस कांग्रेसले लिन खोजेको छ । पालिका अध्यक्षसहित आठ मध्य पाँच वटा वडा अध्यक्ष जितेको रघुगंगा गाउँपालिकामा महावीर पुन पुग्दा भएको भव्य स्वागत सत्कारले भने कांग्रेस झस्किएको छ ।

धवलागिरी गाउँपालिका-७ धारापानीका ४७ वर्षीय अर्जुन थापालाई उमेद्वार बनाएको नेकपाले जितका लागि आफ्नो मत सुरक्षित गर्दै स्वतन्त्र र विगतमा अन्य राजनीतिक दललाई सहयोग गरेका मतदाता आकर्षित गरेर जित निकाल्ने प्रयासमा छ । टोल टोलमा उमेद्वारलाई पुर्‍याउने, घरदैलो गर्ने र कार्यकर्तालाई सुक्ष्म ढंगले परिचालन गरेको नेकपाले धवलागिरी, मालिका र मंगला गाउँपालिका तथा बेनी नगरपालिकामा चुनावी अभियान सकेर रघुगंगामा थालेको छ ।

१२ वर्षपछि नेकपाको आफ्नै उम्मेदवार

म्याग्दीमा महावीर चुनौती
नेकपाका उम्मेदवार अर्जुन थापा ।

नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका गण्डकी प्रदेश सांसद तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले फेरिएको राजनीतिक परिस्थिति अनुसार नयाँ पुस्ताका युवा उमेद्वार, राष्ट्रिय राजनीति र प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले भ्रष्टाचारको विरुद्ध तथा सुशासनको पक्षमा खेलेको भूमिका, जिल्लाको विकास निर्माणमा आफूहरुले गरेको काम, माओवादी घटकमा रहेकाहरु कार्यकर्ता फर्किएका, एकीकृत समाजवादीसँग एकता भएको र सगठनमा सुधार भएकाले जितको आधार बनेको दावी गर्छन् ।

‘राष्ट्रिय राजनीति होस् या जिल्लाको विकास निर्माणमा हाम्रो भूमिकाले कार्यकर्ताहरु उच्च मनोबलका साथ जनताकहाँ पुगेर भोट माग्ने थुप्रै आधार छन्,’ उनले भने, ‘प्रदेश सरकारबाट म्याग्दीका १० वटा प्रमुख ग्रामिण सडक स्तरोन्नति, पुराना अधुरा योजनाहरुलाई पूर्णता दिन, खानेपानी, विद्युत सुविधा विस्तार र पर्यटन पूर्वाधारको क्षेत्रमा हामीले सुरुवात गरेका कामलाई निरन्तरता दिनका लागि नेकपा आवश्यक छ ।’

पूर्व माओवादीहरु केन्द्रित भएको म्याग्दीमा नेकपाले १२ वर्षपछि आफ्नै उमेद्वार बनाउँदा कार्यकर्तामा आत्मबल बढेको, शुभचिन्तक र मतदाताहरु उत्साहित हुँदा परिणाम आफ्नो पक्षमा आउने दाबी नेकपाका नेताहरुले गरेका छन् ।

नेकपाले आफ्नो आधार क्षेत्र मान्ने ओखरबोट, भकिम्ली, सिंगामा महावीरको सक्रियताले भने चुनौती बढाएको छ । यद्यपि महावीरले एमाले–कांग्रेसको प्रभाव क्षेत्रमा पनि मत तान्दा आफूहरुलाई फाइदा पुग्ने नेकपाको विश्लेषण छ ।

वि.सं. २०७० सालको निर्वाचनको तुलनामा २०७४ र २०७९ मा माओवादीको समानुपातिक मत बढ्नु पनि म्याग्दीमा यसपालि जितको आधार भएको नेताहरु दाबी गर्छन् । तर पछिल्लो निर्वाचनको समानुपातिक मतमा एमाले भन्दा आधा कम मत रहेको नेकपालाई जितका लागि आफ्नो मत बचाएर अरुबाट थप गर्नुपर्ने चुनौती छ ।

महावीर चुनौती

म्याग्दीमा महावीर चुनौती

जिल्लाका सबै बस्तिमा पुगेर टोलटोलमा मतदाता भेटघाट गरेका स्वतन्त्र उमेद्वार महावीर पुनले सोमबारदेखि धवलागिरी गाउँपालिकाबाट दोस्रो चरणको अभियान थालेका छन् । शैक्षिक क्षेत्रका विकृति अन्त्यका लागि नीतिगत सुधार, नवप्रवर्तन, आविष्कार र आर्थिक वृद्धिको मुद्दा लिएर चुनावमा होमिएका महावीरले टोलटोलमा पुग्दा पाएको स्वागतले उत्साही भएको प्रतिक्रिया दिए ।

महावीरको चुनावी अभियानको नेतृत्व गरेका चित्र तिलिजा पुन मतदाताहरुमा महावीरप्रति देखिएको आकर्षणलाई मतपेटिकासम्म पुर्‍याउने बताउँछन् । ‘अहिलेसम्म महावीर सरको पक्षमा देखिएको माहौलबाट उत्साही छौँ,’ उनले भने, ‘यो माहोललाई मतपेटिकासम्म पुर्‍याउने वातावरण बनाउन दोस्रो चरणको अभियानमा छौँ ।’

संगठनिक आधार नहुनु र राजनीतिक दलले परिचालन गर्ने नेता कार्यकर्ताहरुको सक्रियता तथा रणनीति महावीरका लागि चुनौती हो । धवलागिरीको मुदी, मालिकाको देवीस्थान, रुम, बिम र निस्कोट, मंगलाको कुहुँ, सल्यान, हिदी, बेनीको अर्जम, सिम, भकिम्ली, थामडाडा, वाखेत, रघुगंगाको झीँ, पाखापानी, चिमखोला, ठाडाखानी, कुइनेमंगले, दग्नाम, दर्मिजा, बेगखोला र अन्नपूर्णको आठ वटै वडामा महावीरलाई स्थानीय आमा समूह, युवा क्लव र बाजा समूहले स्वागत सत्कार गरेका थिए ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले द्वन्द्वकालमा भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (धु्रव) लाई उमेद्वार बनाएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का डम्मरबहादुर सुवेदी, प्रगतिशिल लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनका भिमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजा उमेद्वार बनेका छन् । सार्वजनिक रुपमा स्वतन्त्र उमेद्वार पुनलाई सघाउने घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोकाको समेत उमेद्वारी कायमै छ ।

म्याग्दीका प्राय सबै उमेद्वारहरुले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने, ढिलासुस्ति हटाउने, कानुन, बजेट र योजनामा जिल्लावासीको भावना, माग र आवश्यकतालाई समेट्ने प्रतिबद्धता जनाएका छन् ।

मतदाता भन्छन्– विवेकसम्मत मताधिकार प्रयोग गर्छौं

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदान स्थल र १२० मतदान केन्द्र कायम छन् । जिल्लाभर ८६ हजार ३९७ जना मतदाता छन् ।

म्याग्देली मतदाताहरु सबै उमेद्वारलाई स्वागत सत्कार गर्ने अनि उनीहरुका विचार र योजना सुनेर निर्णय लिने मनस्थितिमा देखिन्छन् ।

धौलागिरि गाउँपालिका–७ धारापानीका कर्णबहादुर थापा आफ्नो मताधिकार विवेक सम्मत ढंगले प्रयोग गर्ने बताउँछन् । ‘भोट माग्न आउने सबै उमेद्वारलाई स्वागत, सम्मान गर्ने र उनीहरुका योजना सुन्ने हो,’ उनले भने, ‘मन र विश्वास जित्ने उमेद्वारले मत पाउँछ ।’

अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका खगबिर पाईजाले पनि सबै उमेद्वारको विचार सुनेर निर्णय लिने बताए ।

बेनीका लक्ष्मण शर्मा महावीर पुनको उमेद्वारीले म्याग्दीको चुनावी अंकगणितलाई आकलन गर्न नसकिने अवस्था बनाएको बताउँछन् । ‘विगतका दुई निर्वाचन परिणाम हेर्दा म्याग्दीमा एमाले–कांग्रेस नै मुख्य प्रतिस्पर्धी र नेकपा निर्णायक देखिएका थिए,’ उनले भने, ‘महावीरले कसको बढी मत काट्छन् र त्यो मतले उनी जित्छन् वा अरुको जित–हारमा भूमिका खेल्छन् भनेर आँकलन गर्न सकिने अवस्था छैन ।’





Source link

Leave a Comment