‘यदि मौरी पृथ्वीबाट लोप भयो भने मानिसको बाँच्ने समय चार वर्ष मात्र बाँकी हुनेछ’, वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको यो भनाइबाट मौरीको महत्व कति छ भन्ने थाहा हुन्छ।
मौरी, मानव र प्रकृतिबीच अनुपम सम्बन्ध छ। संसारभर २० हजारभन्दा बढी मौरीका प्रजाति छन्। नेपालमा परापूर्वकालदेखि नै परम्परागत रूपमा गरिंदै आएको छ। स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालका प्रायः सबै जिल्लामा पाइन्छ।
नेपालमा धेरै किसिमका मौरी पाइन्छन्, जसमध्ये कठ्यौरी, खागे, भीर मौरी, स्थानीय मौरी/सेराना मौरी, युरोपियन मौरी/मेलिफेरा मौरीले मह संकलन गर्छन्। नेपालमा व्यावसायिक मौरीपालन सन् १९८९ बाट सुरुवात भए तापनि सन् १९९२ मा एपिस मेलिफेरा नेपालमा भित्रिएपछि नेपालमा व्यावसायिक मौरीपालन व्यवसायले व्यापकता पाउन थालेको थियो।
महको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक छ। मौरीपालनले कृषि कुल गार्हस्थ्य उत्पादन (एजीडीपी) मा १ प्रतिशतभन्दा कम योगदान पुर्याउने भए तापनि मौरीपालनलाई उच्च मूल्य आम्दानी गर्ने कृषि गतिविधिको रूपमा पहिचान गरिएको छ।
नेपालको तराई क्षेत्रमा एपिस मेलिफेरा र पहाडी तथा उच्च पहाडी क्षेत्रमा एपिस सेरेना जातको मौरी व्यावसायिक रूपमा पालन गरिन्छ। देशभर करिब १६ हजार ५०० घरपरिवार प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा आवद्ध छन्
नेपालमा समुद्र सतहबाट ७० देखि ४२०० मिटरको उचाइसम्म मह उत्पादन गरिंदै आएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्क अनुसार प्रति घार १७.५८ केजीको औसत राष्ट्रिय मह उत्पादनका दरले नेपालमा आर्थिक वर्ष २०८०/८१ मा २ लाख ४५ हजार मौरी गोलाबाट ४ हजार ३०८ मेट्रिक टन मह उत्पादन भएको थियो भने प्रतिव्यक्ति मह उपभोग १७० ग्राम रहेको छ।
नेपालमा मुख्यतया तराई क्षेत्रमा एपिस मेलिफेरा र पहाडी तथा उच्च पहाडी क्षेत्रमा एपिस सेरेना जातको मौरी व्यावसायिक रूपमा पालन गरिन्छ। देशभर करिब १६ हजार ५०० घरपरिवार प्रत्यक्ष रूपमा मौरीपालन व्यवसायमा आवद्ध छन्।
युरोपेली प्रजातिको मेलिफेरा मौरी बढी उत्पादन (वार्षिक औसत ३० देखि ५० केजी मह प्रति घार) दिने प्रजाति हो भने स्थानीय प्रजाति सेरेनाको भने उत्पादन (वार्षिक औसत ५ देखि १५ केजी मह प्रति घार) कम हुन्छ। मुख्य रूपमा मेलिफेरा जातको मौरीबाट चिउरी, तोरी, सिसौ, रुदिलो, फापर, लिची, असारे, जामुनबाट मह काढ्ने गरिन्छ भने जंगली स्रोत कटुस, चिलाउने, टाँकी, चिउरी आदिबाट सेरेना मौरीको मह काढ्ने गरिन्छ।
नेपालमा कुल उत्पादन हुने महमध्ये करिब ६५ प्रतिशत, २८ प्रतिशत र ७ प्रतिशत उत्पादनको हिस्सा क्रमश: मेलिफेरा, सेरेना र जंगली मौरी (खागे मौरी, भीर मौरी तथा पुत्का मौरी) को रहेको छ। नेपाल जैविक विविधताको धनी राष्ट्र भएकोले यहाँको विद्यमान वनजङ्गल, खेतीप्रणाली र चरन क्षमतालाई हेर्दा करिब १० लाखसम्म मौरी गोला पालन गर्न सकिने र वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन लिन सकिन्छ।
विशेषत: झापा, सर्लाही, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, कास्की, लमजुङ, पाल्पा, दाङ, प्युठान, सुर्खेत, दार्चुला जिल्ला मौरीपालनको हिसाबले अगाडि रहेका छन्। प्रदेश अनुसार मौरीपालनको व्यावसायिकता र सम्भावना बोकेका जिल्ला निम्नानुसार छन्:
प्रदेश | जिल्ला |
कोशी | झापा, मोरङ, सुनसरी, पाँचथर, इलाम |
मधेश | सर्लाही, रौतहट, बारा |
बागमती | चितवन, मकवानपुर, धादिङ, नुवाकोट, ललितपुर, काभ्रे |
गण्डकी | कास्की, स्याङ्जा, नवलपुर, लमजुङ, बाग्लुङ, म्याग्दी, गोर्खा |
लुम्बिनी | पाल्पा, गुल्मी, दाङ, अर्घाखाँची, प्युठान, बाँके, बर्दिया, कपिलवस्तु, रोल्पा, रुकुम |
कर्णाली | सुर्खेत, जाजरकोट, जुम्ला, हुम्ला |
सुदूरपश्चिम | कैलाली, डडेल्धुरा, दार्चुला, बैतडी |
विभिन्न जिल्लाका विभिन्न ठाउँमा मौरीका उपयुक्त चरन क्षेत्रहरू छन् र प्रत्येक चरन क्षेत्रका आ-आफ्ना भार बहन क्षमता छन्। कुन चरन क्षेत्रमा कति मात्रामा मौरी गोला व्यवस्थापन गर्न सकिने हो, सो यकिन गरी मौरी गोला व्यवस्थापन गर्न सक्ने हो भने खेर गइरहेको पुष्परस तथा कुटको उचित व्यवस्थापन हुने र मौरीपालनमा टेवा समेत पुग्ने देखिन्छ।
नेपालमा वार्षिक महको माग करिब ९ हजार मेट्रिक टन रहेको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार अष्ट्रेलिया, जापान, मलेसिया, अमेरिका, यूएई लगायत देशमा नेपालबाट मह निकासी भएको छ। जसमा ५ करोड ७४ लाख रुपैयाँ (१०.८ मेट्रिक टन) आम्दानी भएको छ। प्रमुख व्यापारिक साझेदार भारत, यूएई, टर्की जस्ता देशसँग १७ करोड ६१ लाख रुपैयाँ (८०८.४ मेट्रिक टन) बराबरको मह आयात भएको छ।
नेपालको अनुपम हावापानी र वनस्पतिका कारण नेपाली मह अन्य आयातित महको तुलनामा निकै स्वादिलो र मिठो भए तापनि हाल नेपाली महले आयातित महसँग प्रतिस्पर्धा गर्न सकेको छैन। आर्थिक वर्ष २०८०/८१ मा विविध कारणले नेपाली मह करिब ३१०० मेट्रिक टनको हाराहारीमा बजारीकरण हुन नसकेको अवस्थामा नेपालका हजारौं मौरीपालकको संरक्षणको लागि २०८१ जेठ ७ गतेको विदेशी मह आयात रोक्ने निर्णय पश्चात् नेपाली महको बजारीकरण सहज भएको पाइन्छ।
हाल नेपाली बजारमा विभिन्न किसिमका आयातित मह जस्तै: डाबर हनी, पतञ्जली हनी, ज्ञान गोल्ड हनी, गण्डकी हनी, एपिस हनी विभिन्न सुपर मार्केट तथा किराना पसलमा देखिन्छन्। साथै नेपालका मौरीपालकले उत्पादन गरेर आफैं प्याकेजिङ र लेवलिङ गरेको विभिन्न स्थानीय ब्रान्डका मह पनि नेपाली मह घरहरूमा देखिन्छ।

नेपालीमा विभिन्न चरन स्रोतको एक केजी मह उत्पादन गर्न करिब ३५०-४५० रुपैयाँ लागत पर्ने र आयातित मह निकै सस्तोमा नेपाल भित्रिने हुनाले नेपाली महले आयातित महसँग प्रतिस्पर्धा गर्न नसकेको देखिन्छ। बजारको मागअनुसार लेबलिङ, प्याकेजिङ, ब्रान्डिङ सहित उपभोक्तालाई सहजै रूपमा स्वदेशी मह उपलब्ध गराउन नसक्नु एवं प्राकृतिकस्तरमा उत्पादन भएको नेपाली मह जम्छ भन्ने सन्देश मह उपभोक्ताहरू समक्ष पुर्याउन नसकिएको कारण स्वेदशी महको बजारीकरणमा चुनौती थपिएको छ।
विगत केही वर्षयता नेपाली महको बजारीकरणमा नेपाल मौरीपालक महासंघ, केन्द्रीय मौरीपालन सहकारी संस्था, व्यावसायिक किट विकास केन्द्र हरिहरभवन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मौरीपालन विकास केन्द्र लगायत विभिन्न सरोकारवाला निकाय लागिपरेको देखिन्छ। विभिन्न माध्यमबाट कसरी बजारीकरण गर्न सकिन्छ र नेपाली महलाई आम उपभोक्तासम्म पुर्याउन सकिन्छ भन्ने तरिका खोज्दै, अवलम्बन गर्दै विभिन्न कार्यक्रम गरेको पाइन्छ।
नेपाली मह प्रवर्धन गर्न काठमाडौं, भृकुटीमण्डपमा पाँचौं राष्ट्रिय मह मेला २०८१ सञ्चालन गरियो। उक्त मह मेलामा नेपाली मह उत्पादकहरूले उत्पादन गरेका विभिन्न स्रोतका मह बिक्री तथा नेपाली महको स्वाद चखाउने कार्य भएको थियो।
नेपाली क्यालेन्डर अनुसार हरेक वर्ष चैत १३ गते राष्ट्रिय मह दिवस विभिन्न जिल्लामा मनाइन्छ। नेपाली मह प्रवर्धनका साथै नेपाली महको स्वाद उपभोक्ता वर्गमा पुगोस् भन्ने सन्देश सहित यो कार्यक्रम मनाइन्छ। मौरीपालन विकास केन्द्र, भण्डाराले उक्त दिवसमा नेपाली महको अवस्था, सम्भावना तथा चुनौतीको बारेमा छलफल र अन्तरक्रिया गर्दै बाटोमा हिंड्ने यात्रुलाई मह-पानी सेवन गराई नेपाली महको प्रचारप्रसार गर्दै आइरहेको छ।
स्थानीय स्तरमा उत्पादन भएको मह जम्छ। यो महको प्राकृतिक गुण हो। उक्त मह विना प्रशोधन बजारीकरण हुँदै आएको छ। यस्तो महको गुणस्तरमा शंका गर्नु भ्रम मात्र हो भनेर विभिन्न माध्यमबाट प्रचारप्रसार भएको पाइन्छ, जसले पछिल्ला दिनमा उपभोक्ताले प्रशोधन नगरिएका मह खोज्ने गरेको भेटिन्छ।
मह उत्सव मनाउने र मह चखाउने कार्यक्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनको आयोजनामा विभिन्न सरोकारवाला निकायको सहकार्यमा मह उत्सव २०८१ सौराहामा सञ्चालन भएको थियो। जसमा उत्सवमा सहभागी भएका व्यक्तिहरूलाई विभिन्न स्रोतको महको स्वाद चखाई नेपाली महको प्रचारप्रसार गरिएको थियो।
यस्तै चितवन जिल्लाको खैरहनी महोत्सव २०८१ मा मौरीको प्रतिमा सहित मौरी परिसर नै निर्माण गरी मौरीको संरक्षण गर्नुपर्ने सन्देश र नेपाली महको प्रचारप्रसार गरेको देखिन्छ।
तसर्थ, नेपाली महको उत्पादन लागत घटाउने, मौरीजन्य उपजहरूको उत्पादन तथा उत्पादकत्व बढाउने र विदेशी बजारमा नेपाली मह भनेर ब्रान्डिङ गर्न सकेमा अन्तर्राष्ट्रिय बजारसम्म नेपाली मह पुर्याउन सकिने प्रशस्त सम्भावना देखिन्छ।
असल मौरीपालन गरी गुणस्तरीय मह उत्पादन गरी स्थानीय, प्रदेश, केन्द्रीयस्तरको भण्डारण, प्रशोधन कक्षको व्यवस्था गर्नु आवश्यक छ। साथै धेरै जनघनत्व भएको स्थानमा हनी मार्ट तथा नेपाली मह बिक्री कक्षहरू खोल्ने र राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम मार्फत नेपाली महको महत्वबारे सन्देशमूलक सूचना प्रवाह गर्ने हो भने राष्ट्रिय बजारमा नेपाली महले आफ्नो छुट्टै स्थान बनाउन सक्नेछ।
नेपाली महको दीर्घकालीन बजार व्यवस्थापनका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी, विद्यालयका बालबालिकाको खाजा लगायतमा कोटास्वरूप दैनिक राशनमा नेपाली मह समावेश गरी आन्तरिक बजार प्रवर्धन गर्न सकिन्छ। आयातित महमा भन्सार कर वृद्धि गरी नेपाली मौरीपालक किसानले उत्पादन गरेको महको लागत मूल्य बराबर बनाउन सकिएमा नेपाली मह प्रतिस्पर्धी भई मौरीपालक किसानको आर्थिक अवस्था सुधार्न सक्ने सम्भावना देखिन्छ।
(अम्गाई मौरीपालन विकास केन्द्र, भण्डारा, चितवनका प्रमुख हुन् भने डा. देवकोटा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा कार्यरत छन्।)