भ्लादिमिर पुटिनकै शब्दमा ‘युक्रेनलाई नाजीकरणबाट मुक्त गर्न, असैनिकीकरण गर्न, तटस्थ राज्य बनाउन र रूसी महासंघको सुरक्षा चुनौतीलाई न्यून गर्न भन्दै २४ फेब्रुअरी २०२२ मा युक्रेनको विभिन्न शहरमा रूसी सेनाले ‘विशेष सैन्य अपरेसन’ अघि बढायो। खासगरी पूर्वी शहर डोनवास, खार्किभ, दक्षिणमा बन्दरगाह शहर ओदिसा, मारियोपोल, क्राइमिया, उत्तरमा बेलारूसतर्फबाट राजधानी किएभ आदि क्षेत्रबाट प्रवेश गरी मुख्य शहरहरूमा आक्रमण सुरु गरिएको थियो।
यसरी सुरु भएको रूस-युक्रेन युद्ध अहिले तीन वर्ष नजिक पुगेको छ। यस बारे विभिन्न कोणबाट टीका-टिप्पणी एवम् अड्कलबाजी हुने गरेको देखिन्छ। यद्यपि युद्धको अवस्था के छ र कसरी अगाडि बढिरहेको छ भन्ने बारे तटस्थ विवरण सार्वजनिक हुने सम्भावना अत्यन्तै न्यून छ।
धेरैलाई लाग्न सक्छ- रूस यति ठूलो देश छ, सैन्य शक्ति/प्रविधिको हिसाबले विश्वमै दोस्रो स्थानमा छ भनिन्छ। सन् १९१७ को सोभियत क्रान्ति, सन् १९३९-१९४५ को दोस्रो विश्वयुद्ध, १९४७-१९८९ सम्मको शीतयुद्ध, १९९४-१९९६ पहिलो चेचेन युद्ध र १९९९-२००९ दोस्रो चेचेन युद्ध जस्ता लामा युद्धको अनुभव पनि छ। तर, जारी युद्ध करिब तीन वर्ष नजिक पुग्दासम्म सैन्य शक्ति/प्रविधि र अर्थतन्त्रमा कमजोर युक्रेनलाई किन पराजित गर्न सकिरहेको छैन?
रूसको लड्ने सामर्थ्य कमजोर भएको हो वा उसले आफ्नो स्पेशल रिजर्भ फोर्स तथा अत्याधुनिक शस्त्र/अस्त्रको प्रयोगमा हतार नगरेको हो ? यही सन्दर्भमा रूसी सैनिकको रूपमा रूस-युक्रेन युद्धमा प्रत्यक्ष सहभागी भएर सङ्गालेका जीवन्त अनुभव यहाँहरू समक्ष साझा गरी उल्लेखित जिज्ञासाहरू मेटाउने प्रयासमा लेख केन्द्रित रहनेछ।
विशेष सैन्य अपरेसन घोषणालगत्तै सुरुको चरणमा रूसी सेनाले जुन ढंगको आक्रामक लडाइँ लडेको थियो अहिले अवस्था ठ्याक्कै त्यस्तो छैन। कारण विविध छन्। मूलतः रूसी सेना अहिले लामो युद्ध लड्ने मानसिकता साथ भौतिक, प्राविधिक तथा रणनीतिक तयारी र अभ्यासमा छ। त्यसै अनुरूप युद्धकै बीचमा पूर्वी शहर दोनवासदेखि खेरसन, खार्किभ, ओदिसा, डोनेट्स्क हुँदै लुहान्स्कसम्म करिब ११६० किमी लामो सीमा क्षेत्रमा सैन्य भौतिक पूर्वाधार तथा रक्षा कवजहरू निर्माणलाई तीव्रता दिइरहेको छ।
सैनिकलाई निरन्तर लडाइँ र ड्युटी मात्रै होइन, रोटेसनमा आराम र घर विदाको व्यवस्थापन समेत गरिरहेको छ। युद्धलाई भयङ्कर डरलाग्दो विषयको रूपमा नभई सामान्य नियमित ड्युटीको रूपमा बुझ्न र त्यही आधारमा अनुकूलित भई युद्धकै बीचमा रमाउन प्रत्येक सैनिकलाई प्रेरित गरिंदैछ। यति नगर्दा निरन्तर लामो युद्धको तनावले अधिकांश सैनिक डिप्रेसनमा जाने खतरा देखिन्थ्यो। त्यस्तो सम्भावित खतरालाई बेलैमा नियन्त्रण गर्ने अभ्यास सुरु गरिसकेको छ। उसो त विशेष सैन्य अपरेसनका कतिपय आधारभूत उद्देश्य प्राप्त भैसकेको छ भने रणनीतिक दायरा समेत परिमार्जित भैरहेको छ।
कभर फायरिङको सहारामा रेडमा जानुअघिको अन्तिम रेष्ट पोइन्टदेखि एसल्टको फायरिङ पोजिसनसम्म पुग्नु पनि कम चुनौतीपूर्ण छैन। यताबाट फायरिङ खोलेपछि युक्रेनीले पनि जवाफी कारबाही थाल्छ। सुरुमा जासुसी ड्रोनले रेक्की गर्छ। त्यसपछि क्रमशः ग्रिनेड ड्रोन, सुसाइड ड्रोन, मिनी लञ्चर ड्रोन पठाएर पोजिसन एक्सपोज भएका पोइन्टहरूलाई निशाना बनाउँछ
रूसले आफ्नो देशको रणनीतिक रक्षाको निमित्त आवश्यक (दक्षिणपूर्वी ओदिसा, दोनवास, जाप्रोझियादेखि खेरसन, खार्किभ, दोनेट्स्क हुँदै उत्तर पश्चिम लुहान्स्कसम्म) ११६० किलोमिटर लामो सीमा क्षेत्र तथा १ लाख ६७ हजार वर्ग किमि भूगोल नियन्त्रणमा लिइसकेको छ। रूसी महासंघको रक्षार्थ बफर जोनको लागि यो भूगोल पर्याप्त मान्न सकिन्छ। यद्यपि यी भूगोललाई पूर्ण नियन्त्रणमा लिने उद्देश्य सहित सबै फ्रन्टलाइनमा मोर्चा जारी छ। अहिले मूलतः नियन्त्रित भूगोलको सक्रिय रक्षा र क्रमिक विस्तारको कार्यनीति कार्यान्वयनमा छ।
रूसको चुनौती
युक्रेनी सेना चौतर्फी टनेल, ट्रेन्च, ल्याण्डमाइन सहित बलियो भूमिगत बङ्करमा स्थायी फोर्टिफिकेसन निर्माण गरेर बसिरहेको हुन्छ। एकैपटक दर्जनौं जासुसी ड्रोन, ग्रिनेड ड्रोन, सुसाइड ड्रोन, मिनी लन्चर ड्रोन परिचालन गरेर फ्रन्टलाइनको भूगोलमा निरन्तर निगरानी गरिरहेको हुन्छ। अगाडि एकल हर्कत छ भने ग्रिनेड ड्रोनले ग्रिनेड चार्ज गर्छ। मिनी सेक्सनसम्मको हर्कत छ भने दुई वटासम्म सुसाइड ड्रोन आएर ठोक्किन्छ।
त्योभन्दा ठूलो समूह र भूगोलमा प्लाटुन स्तरको हर्कत छ भने जासुसी ड्रोनले लोकेसन ट्र्याक गर्छ र त्यसको केही सेकेन्ड भित्रै, रकेट लञ्चर, क्लस्टर बम तथा मिसाइल चार्ज हुन्छ। त्यसमध्ये अमेरिकाले उपलब्ध गराएको क्लस्टर बम निकै घातक देखिएको छ। सन् २०१० मा १०० भन्दा बढी देश सम्मिलित क्लस्टर गोलाबारी सम्बन्धी अभिसन्धि पछि प्रतिबन्ध लगाइएको बम हो त्यो।
बम्बर वाहनले एउटा विन्दुबाट फायर गरेर निश्चित टार्गेटमा ड्रप भैसकेपछि पहिलो विस्फोट हुन्छ। त्यसले करिब १८/२० वर्ग मिटरको पेरीफेरीमा मार गर्छ। त्यसको ५/७ सेकेन्डमा त्यहीं एउटा बमबाट पहिलो विस्फोटसँगै २० देखि २५ वटासम्म क्लष्टर जन्मन्छ र फेरि केही सेकेन्डमा दोस्रो विस्फोट हुन्छ।
यसरी क्लष्टर जन्मेर पुन: विस्फोट हुँदा फेरि १८/२० वर्ग मिटरसम्म घातक मार गर्छ। धेरै क्षति पुर्याउँछ। यसरी नाङ्गो भूगोलमा मूभ भैरहेको प्लाटुन स्तरको एसल्ट टिमलाई जासुसी ड्रोनले ट्र्याक गरेर ५ वटा मात्रै क्लष्टर बम खसाल्यो भने प्लाटुन नै तहसनहस हुनसक्छ।
साथमा एरियल गाइडेड बम, मध्यम दूरी/भोल्युमको हाइपरसोनिक/सुपरसोनिक/क्रुज मिसाइलको घातक प्रहारलाई सामना गर्नैपर्ने चुनौती त हुन्छ नै। कतिपय अपवाद बाहेक प्रायःजसो बनिबनाउ स्थायी ब्यारेकमा बसेको युक्रेन सक्रिय हवाई सुरक्षा प्रणालीको पहुँचमा हुन्छ। तर अस्थायी बंकर/पोजिसन बनाउँदै क्रमशः लड्दै अघि बढ्दै गर्नुपर्ने अवस्थाका कारण रूससँग लडाइँ लडिरहेको भूगोलमा सशक्त हवाई प्रतिरक्षा प्रणालीको पहुँच हुँदैन।
परिणामतः युक्रेनले अत्यधिक रूपमा प्रयोग गरिरहेको मानवरहित वायुयान (युएभी ड्रोन) रूसी सेनाको लागि मुख्य चुनौती बनिरहेको देखिन्छ। फ्रन्टलाइनको गतिविधि निगरानी राख्ने, पिछा गर्ने, अवरोध/ब्लकिङ गर्ने, म्युनिसन स्टोरहरूमा आक्रमण गरेर क्षति पुर्याउने, रकेट लञ्चर, जमिनदेखि जमिनमै मिसाइल प्रहार गर्ने प्रपल्ड होइटजर, एरियल बम गाइडेड भेइकल, बमवार्ड ट्याङ्क, कम्ब्याट आर्मर भेहिकल आदिलाई विशेष निगरानी सहित युएभी ड्रोनले प्रहार गरेर क्षति पुर्याइरहेको हुन्छ।
अपरेसन सुरु गरेको ३९ दिन पुग्दा एक चौथाइ क्षेत्र क्लिन स्वीप भइसकेको छ। बाँकी क्षेत्रमा उनीहरूलाई ‘ब्लकिङ तथा इनसर्कलमेन्ट’ गरी ‘भीषण बमवार्ड, फ्लाइङ तथा अण्डर ग्राउन्ड आक्रमण’ को नयाँ युद्ध रणनीतिसँगै अपरेसन चलिरहेको छ
यसरी नाटो सैन्य गठबन्धनको विशेष डिजाइनमा हवाई प्रतिरक्षा प्रणाली सहित निर्मित निकै बलियो भूमिगत फोर्टिफिकेसनमा बसेको युक्रेनी सेनालाई खुल्ला मैदानमा ट्रेन्च खन्दै क्रलिङ गर्दै मूभ हुँदै निश्चित आर्कमा पुगेर पोजिसन लिई फायरिङ सुरु गर्ने, लड्ने, पराजित गर्ने र भूगोल नियन्त्रणमा लिने कुरा कम चुनौतीपूर्ण पक्कै छैन। यद्यपि यसरी नै लडाइँ अघि बढिरहेको छ।
कसरी लड्दैछ रूसी सेना ?
युक्रेनका ८ क्षेत्रहरू ओदिसा, जाप्रोझिया, खेरसन, डोनवास, खार्किभ, दोनेट्स्क, लुहान्स, सुमी र रसियाको क्रुस्क क्षेत्र (ओवलाष्ट) नै लडाइँको फ्रन्ट क्षेत्र हो। यी क्षेत्रमा अगाडि मूभ हुँदा सुरुमा रसियन वायुसेनाको स्पेशल कम्ब्याट फोर्सले सुखोई-२५, सुखोई-२७, सुखोई-३४, मिकोयान-२९, मिकोयान-३१, मिकोयान-३५ लगायतका लडाकु विमानबाट युक्रेनको पहिलो रक्षा पंक्ति रहेको पोष्ट वरिपरि मिनी स्कन्दर, टोच्का, ह्वासोङ, मिनी कञ्जल लगायतका छोटा दूरीका मिसाइल प्रहार गरेर पोजिसन भत्काउने प्रयास गर्छ। त्यसलगत्तै ५/७ सेकेन्ड भित्रै रसियन वायुसेनाकै बमवर्षक लडाकु हेलिकप्टर आइपुग्छ र त्यही लोकेसनमा बम प्रहार गरेर फर्किन्छ।
यतिबेलासम्म उनीहरूको पोजिसन अलिकति तहसनहस भएको हुन्छ। त्यसपछि स्थल सेनाको आर्टिलरी प्लाटुनले क्रमशः टोर्नाडो, पोलोनेज, बीएम-स्मर्च, एनपीओ स्प्लाभ होइट्जर लगायतका मल्टिपल रकेट लञ्चर तथा मोर्टार ट्याङ्कबाट सेल प्रहार गर्छ। सपोर्ट सेक्सनले एचएमजी, एनएसभी, कर्ड, आरपीके-७४, एनएसभी, एके-१२, जीएलआर एक-१६ मल्टिपल जीएलआर लगायतबाट कभर फायर सुरु गर्छ।
फायरिङ कभरको सहारामा इन्फेन्ट्री टिमको फस्ट एसल्ट आफ्नो पर्सनल आर्म्स (एके-७४/एक-१२/एके-१५/एके-१०३/एएन-९४, एईके-९७३ लगायत) त्यसको जगेडा म्यागजिन/बुलेट बक्स तथा ग्रिनेड बक्स बोकेर द्रुतगतिमा निशाना विन्दुतिर अघि बढ्छ। म्याप रिडिङमा व्रिफिङ गरिए अनुसार आ-आफ्नो आर्कमा पुगेर आफूले बोकेको सानो बेल्चाले छिटोछिटो सानो ट्रेन्च खनेर वा अघि नै बमवार्डले बनाएको खाडलमा पोजिसन लिनुपर्छ। युक्रेन वार क्षेत्र प्रायःजसो समथर भूगोल, अलिअलि भएका रूखबिरुवाहरू पनि पहिल्यै बमवार्डले नष्ट भई उजाड बनिसकेको हुन्छ। त्यस्तोमा बनिबनाउ कभर/ट्रेन्च भेटिंदैन। धेरैजसो लडाइँ लड्नैपर्ने सिमानामा जङ्गल इलाका बाहेक केही शहर वा गाउँ आसपास रहेका एकाध ब्यारेकहरू कब्जा गर्दा चाहिं बमबार्डले थिलोथिलो बनिसकेका घर/भवनका भग्नावशेषहरूमा कभर लिएर अघि बढ्न सकिन्छ।
कभर फायरिङको सहारामा रेडमा जानुअघिको अन्तिम रेष्ट पोइन्टदेखि एसल्टको फायरिङ पोजिसनसम्म पुग्नु पनि कम चुनौतीपूर्ण छैन। यताबाट फायरिङ खोलेपछि युक्रेनीले पनि जवाफी कारबाही थाल्छ। सुरुमा जासुसी ड्रोनले रेक्की गर्छ। त्यसपछि क्रमशः ग्रिनेड ड्रोन, सुसाइड ड्रोन, मिनी लञ्चर ड्रोन पठाएर पोजिसन एक्सपोज भएका पोइन्टहरूलाई निशाना बनाउँछ। जमिनदेखि जमिनमै प्रहार गर्ने छोटो दुरीको क्षेप्यास्त्र, ट्याङ्कबाट प्रहार गर्ने मोर्टार सेल, रकेट सेल, १३६ एमएम मोर्टार, गाइडेड एरियल बम आदिको वर्षा गर्छ।
यसरी दर्जनौं ड्रोनको निरन्तर निगरानी एवम् चौतर्फी बमबार्डको बीचमा कैयौं सिपाही पोजिसनमा पुग्न नपाउँदै अस्ताइसकेका हुन्छन् त कति अङ्गभङ्ग भएर छट्पटाइरहेका हुन्छन्। पहिलो एसल्ट छिन्नभिन्न भयो भने दोस्रो, तेस्रो, चौथो, पाँचौं… क्रमशः अघि बढ्छ।
कहिलेकाहीं भीषण बमवार्डले क्षतविक्षत शव नै शवको चाङ पोजिसन कभर बन्छ। यसरी केही घण्टाको भीषण बमवार्ड र फायरिङ पछि युक्रेन पक्षको फायरिङ अति न्यून हुँदै गयो भने फेरि एकपटक आर्टिलरी प्लाटुनले निर्णायक घनीभूत बमवार्ड गर्छ। लगत्तै इन्फेन्ट्री प्लाटुन कभर फायरिङसँगै बङ्कर/ब्यारेक क्लियरको टाक्स पूरा गर्न अघि बढ्छ। बंकर/ब्यारेक क्लियरेन्स पछि रूसी झण्डा फहराएर विजयको घोषणा गरिन्छ।
युक्रेनको फोर्टिफिकेसन/पोजिसन बलियो भएको कतिपय क्षेत्रमा एकपटक आक्रमण गरिसकेपछि महिनौं मोर्चाबद्ध युद्ध लडेर नतिजा निकालेको अवस्था समेत छ। त्यस्तो अवस्था बख्मुट, अभ्दियभ्का, भुग्लेदार सिटी कब्जा गर्दा देखा परेको थियो भने दक्षिणी ओवलास्ट जाप्रोझियाको एउटा मुख्य क्षेत्र रोबोटाइन सिटीमा २२ महिनादेखि लडाइँ चलिरहेको छ र अझै पूर्ण नियन्त्रणमा आइसकेको छैन।
करिब तीन वर्षदेखि जारी रूस-युक्रेन युद्ध कहिले अन्त्य हुन्छ अझै अनिश्चित छ। रसियाले निर्ममतापूर्वक विध्वंसात्मक आक्रमणको रणनीति लिएको भए युक्रेन धेरै पहिले विश्व मानचित्रमा हराइसकेको हुन्थ्यो। पश्चिमा/अमेरिकीहरूले क्रूर तानाशाहको भद्दा आरोप लगाइरहेका रसियन सेनाका सुप्रिम कमाण्डर भ्लादिमिर पुटिनको विवेकपूर्ण संयमताले मात्रै युक्रेन अझै विश्व मानचित्रमा कायम छ।
रसियन सेनाको लडाइँको तरिका पृथक् छ। एकपटक आक्रमण गरेर एकै दिनमा सिज भएन भने रिट्रिट भएर डिफेन्समा मात्रै बस्ने भन्ने हुँदैन। बरु एसल्ट टिम रोटेसन गर्ने र निरन्तर लड्ने। फस्ट एसल्ट पुगेर पोजिसन लिएको आर्कलाई खाली नगर्ने, जमेर पोजिसन लिने निरन्तर मोर्चाबद्ध लडाइँ लड्ने र नतिजा निकाल्ने। कतिपय परिस्थितिजन्य अपवाद बाहेक अहिले रूसी सेनाको लडाइँको ट्याक्टिस यस्तै यस्तै छ।
कुस्कको अवस्था
रसियन सेनाकै आधिकारिक दाबी अनुसार क्रुस्क सीमा क्षेत्रका युक्रेन समर्थक (रूसका कतिपय क्षेत्रमा युक्रेन समर्थक र युक्रेनका कतिपय क्षेत्रमा रूस समर्थक पब्लिक छन्) मानिने पब्लिकलाई प्रयोग गरेर नाटो गठबन्धन सेनाकै इन्टेलिजेन्स टिमले करिब ६ महिनादेखि रेक्की गरेर त्यो क्षेत्र नै सुरक्षा प्रबन्धमा कमजोर रहेको निष्कर्ष सहित युक्रेनी सेनाकै बर्दीमा (क्रुस्क अपरेसनमा बरामद शव तथा डकुमेन्टले प्रमाणित गर्छ) नाटो गठबन्धन सेनाले अगस्ट ६ देखि सीमापार घुसपैठ सुरु गर्यो।
पहिलो- रूसी सेनाको पूरै ध्यान युक्रेन फ्रन्टलाइनतिर केन्द्रित थियो यसरी रूसभित्र छिरेर घुसपैठ गर्छ भन्ने अनुमान नहुनु।
दोस्रो- रसियन सेनामा दुश्मनलाई जहिल्यै सानो देख्ने, कमजोर ठान्ने प्रवृत्ति।
तेस्रो- सीमा क्षेत्रका युक्रेन समर्थक पब्लिकहरू प्रति निगरानी नहुनु।
चौथो – कमजोर सञ्चार तथा हवाई प्रतिरक्षा प्रणालीको प्रयोग, जसको कारण वाकीटकीको सिस्टम नै ह्याक गरिदियो। ड्रोनको राडर सिस्टम नाकाम बनाइदियो।
पाँचौं- फितलो सीमा सुरक्षा। यावत् कमजोरी पहिचान गरेर नै नाटो गठबन्धन सेनाले क्रुस्कमा घुसपैठ गर्ने अवस्था बन्यो। ९०० प्लस वर्ग किमी भूगोल नियन्त्रणमा लिन सफल भयो। यद्यपि अहिले क्रुस्क क्षेत्रमा रूसी सेनाले ४ वटा रेजिमेन्ट (६०,००० फोर्स) तैनाथ गरेर “क्लिन स्वीप” अपरेसन सुरु गरिसकेको छ।
अपरेसन सुरु गरेको ३९ दिन पुग्दा एक चौथाइ क्षेत्र क्लिन स्वीप भइसकेको छ। बाँकी क्षेत्रमा उनीहरूलाई ‘ब्लकिङ तथा इनसर्कलमेन्ट’ गरी ‘भीषण बमवार्ड, फ्लाइङ तथा अण्डर ग्राउन्ड आक्रमण’ को नयाँ युद्ध रणनीतिसँगै अपरेसन चलिरहेको छ।
अन्त्यमा- करिब तीन वर्षदेखि जारी रूस-युक्रेन युद्ध कहिले अन्त्य हुन्छ अझै अनिश्चित छ। रसियाले निर्ममतापूर्वक विध्वंसात्मक आक्रमणको रणनीति लिएको भए युक्रेन धेरै पहिले विश्व मानचित्रमा हराइसकेको हुन्थ्यो। पश्चिमा/अमेरिकीहरूले क्रूर तानाशाहको भद्दा आरोप लगाइरहेका रसियन सेनाका सुप्रिम कमाण्डर भ्लादिमिर पुटिनको विवेकपूर्ण संयमताले मात्रै युक्रेन अझै विश्व मानचित्रमा कायम छ।
रसियन कमाण्डरहरूकै भनाइलाई आधार मान्ने हो भने गर या मरको अन्तिम अवस्था नआएसम्म पारमाणविक हतियारको प्रयोग त झनै परको विषय भयो, घातक सरमात मिसाइल तथा ३ टनको विध्वंसात्मक ग्लाइड बम समेत अहिल्यै प्रयोग नहुने अवस्था छ। १.५ टन सम्मको ग्लाइड बम चाहिं अहिले क्रुस्क क्षेत्रमा प्रयोग भैरहेको छ।
विशेष सैन्य अपरेसनको लागि अनुबन्धित ४ लाख र नियमित तर्फको २ लाख गरेर जम्मा ६ लाख सेना अहिले अपरेसनमा परिचालित छ भने बाँकी सबै सेना रिजर्भमै छ।
यसर्थ अब एकातर्फ आसन्न अमेरिकी चुनावको परिणामले धेरथोर प्रभाव पार्न सक्छ। अर्कोतर्फ जाडो यामको आगमनसँगै भीषण लडाइँको मुख्य सिजन सुरु हुँदैछ। यो सिजनमा थप क्षेत्रमा हुने सम्भावित आक्रमकसँगै लडाइँको नयाँ परिणामले आगामी ग्रीष्म यामसम्म लडाइँ अन्त्यको प्रष्ट मार्गचित्र देखिन सक्छ।