प्राणी, जीव र जगतबारेको लेखन कसरी गर्ने ? यहाँ यही प्रश्नको सेरोफेरोमा आफ्ना अनुभव एवं अनुभूति बाँड्न र साटफेर गर्न चाहन्छु । यो आख्यानको विधा हैन, तर तथ्य र वस्तुपरक वास्तविकताको व्याख्यान भने निश्चय पनि हो । त्यसकारण यस क्षेत्रमा कलम चलाउन विषयवस्तुको चयनदेखि नै चनाखो हुनु आवश्यक हुन्छ ।
हाम्रा वरिपरि अनगिन्ती विषयवस्तु र तीसँग गाँसिएका विविध सवाल (Issues) आइरहेका अनि गइरहेका हुन्छन् । समय र परिस्थितिले सिर्जेका सन्दर्भ एवं जनआवाजहरू मध्येबाट छानेर, रोजेर आफ्नो लेखनीको विषय बनाउनुपर्छ ।
यस्तो छनोटमा सञ्चारमाध्यमको पनि ठूलो भूमिका रहन्छ । त्यसका अतिरिक्त आफ्नै निकटका साथीभाइ र अन्य पाठकको चाहना र सिफारिश पनि विषय चयनको आधार बन्न सक्छ । पाठकवर्गको माग छ भने त्यसलाई विशेष प्राथमिकता दिनुपर्छ । यसमा सम्पादकहरूको सल्लाह निकै महत्वपूर्ण हुन्छ । कहिलेकाहीं आफ्नै मनमा पनि हुटहुटी उठ्छ ।
यस्तै हुटहुटीका कारण २०७१ सालको ‘हुडहुड’ नामक हुण्डरीबारे लेखें । हालै, २०७५ चैत १७ गते बारा र पर्सामा आएको हुण्डरीले अर्को हुटहुटी जन्मायो । त्यो पनि चक्रवात र यो पनि चक्रवात । हालैको चक्रवात भुइँखुट्टे थियो । भुइँखुट्टे चक्रवातलाई टोर्नाडो (Tornado) भनिन्छ । लेखनको निम्ति यो पनि एउटा नौलो विषयवस्तु बन्न पुगेको छ ।
विषयवस्तुको चयनपछि म आफ्नो लेखन कार्यलाई तीन खण्डमा छुट्याउँछु— अवधारणा, सन्दर्भ र निचोड (Concept, Context and Conclusion) ।
अवधारणा
लेखनका निम्ति चयन गरिएको विषयका सम्बन्धमा उपलब्ध धारणा र अवधारणाका कुरा; विश्वास र अन्धविश्वासका सीमारेखा; नाम र कामका सम्बन्ध; विषयवस्तु कसरी चिन्ने/चिनाउने जस्ता कुरामा सोचविचार गरिसकेपछि, त्यसलाई सहयोग पुर्याउने सूचना, पूर्वजानकारी, विवरण आदि सामग्रीको संकलनलाई अवधारणा खण्डमा राख्दछु ।
सन्दर्भ
मैले सोचेको विषय र त्यस सम्बन्धी मेरो जानकारी र सामग्री कति समय सान्दर्भिक छ भनेर हेर्ने मेरो लेखनको दोस्रो खुट्किलो हो । यसमा समय र परिस्थितिले सिर्जेका मामिला (Issues), चुनौती र अवसरका कुरा; अंक, तथ्याङ्क र मित्थ्याङ्कको विश्लेषण; सन्दर्भ सामग्रीको समीक्षा एवं रुजु गर्ने कुराहरू पनि पर्दछन् ।
निचोड
सारा समस्याको बेलिविस्तारपछि ती र तिनको समाधान, चुनौतीको सहज निकास अथवा अवसरहरूको सदुपयोग कसरी सम्भव होला भनेर आफ्नो तर्फबाट दिइने विचार तथा सुझावको सँगालोले निचोड खण्डमा स्थान पाउने गर्दछन् ।
लेखन प्रसङ्गः केही उदाहरण
१. हुडहुड र हिले वर्षाको कुराः अवधारणागत कुरा गर्दा ‘हुडहुड’ हिन्दमहासागरको अण्डमन द्वीपमा जन्मेर हिमालय हान्न आइपुग्यो । बाराको चक्रवात चितवनमा जन्मेर पर्सा हुँदै बारा हान्न पुग्यो । ती दुवै चक्रवात हुन् । एउटा आकाशे अर्को भुइँखुट्टे । यिनको निर्माण क्रम बेग्लै हुन्छ । तर यिनले गर्ने विनाशको लेखाजोखा गर्न कठिन हुन्छ । भुइँखुट्टेको त पूर्वानुमान नै गर्न सकिंदैन । अरू चक्रवात (Cyclone) को भने पूर्वानुमान हुनसक्छ ।
सन्दर्भको कुरा गर्दा हुडहुडले दक्षिणएशियालाई नै ढाक्यो तर बारा चक्रवातले बारा र पर्सा जिल्ला मात्र । भुइँखुट्टे चक्रवात (Tornado) ज्यादै शक्तिशाली हुन्छ । सबैखाले मौसमी हुण्डरीमध्ये यो सबैभन्दा विनाशकारी मानिन्छ ।
हुडहुड भनौं, बारा चक्रवात भनौं अथवा २०७५ साल असार २ गते काठमाडौं उपत्यकामा परेको हिले वर्षा तथा सन् १९९० को दशकबाट नेपालको तराईमा शुरू भएको शीतलहर— हाम्रा निम्ति नयाँ र नौला खालका प्राकृतिक प्रलय हुन् । अब तिनको पूर्वानुमान र तिनबाट बच्ने/बचाउने उपाय बेलैमा खोज्नुपर्ने बाध्यतामा हामी पुगेका छौं । पूर्वानुमान प्रविधि र सूचनाको संजाल चुस्त राख्नुपर्ने चुनौतीलाई बेलैमा सम्हाल्नुपर्छ । यस सन्दर्भमा जलवायु परिवर्तनलाई नियाल्नु समयको माग हो ।
२. पानीको प्रकृतिबारेका लेखः यहाँ अवधारणाको कुरा गर्दा पानी कस्तो वस्तु हो, ज्ञान–विज्ञानले के भन्छ ? पानी जीव र ज्यानसँग मात्र हैन, जलवायु र वातावरणसँग उत्तिकै घनिष्ठ छ भन्ने उजागर गर्यौं ।
सन्दर्भका कुरामा, पानीको उपयोग उपभोगबाट उत्पन्न समस्याका बारेमा चर्चा गर्यौं । प्रदूषणका बारेमा चर्चा उठायौं । पानीको तरल, ठोस वा वाष्पीय अवस्थाका विशेषताबारे पनि बोल्यौं ।
निचोडमा पानीको प्रकृतिबारे बुझ्नुपर्ने कुरामा जोड दियौं । पानी आफैं प्रकृति हैन तर पानीको प्रकृति हामीले बुझनुपर्ने प्रकृति हो भन्ने सन्देश दिन चाह्यौं । पानीको प्रकृतिमा विकृति ल्याउनुहुँदैन भन्नेमा जोड दियौं ।
लेखन—सामग्रीलाई अवधारणा, सन्दर्भ र निष्कर्ष (थ्री–सी) मा व्यवस्थापन गरेर लेख्न बसेपछि भने ‘थ्री–सी’ को बन्धनबाट मुक्त भएर स्वच्छन्द वहावमा नदी झैं बग्न चाहन्छु । आफूखुशी बग्ने नदीलाई नेवारीमा खुशी भनिन्छ । लेखनमा खुशी जस्तै मुक्त भएर बग्न पाएँ भने आनन्दित हुन्छु । किनभने यस्ता लेखनीहरू कुनै विधिवत् कार्यपत्र वा अनुसन्धानका शोधपत्र हैनन्; मात्र बोधपत्र हुन् ।
लेखनीमा अवलोकनको महत्व
स्थलगत अवलोकनबाट प्राप्त सामग्री मेरो लागि अमूल्य बन्ने गरेका छन् । अवलोकन (observation) भनेको हाम्रा पाँचै इन्द्रियलाई सक्रिय बनाएर आँखाले हेर्ने, कानले सुन्ने, नाकले सुँघ्ने, जिब्रोले चाख्ने र त्वचाले स्पर्श गर्ने बानी बसाल्नु हो ।
त्यसरी पाँच इन्द्रियले काम गरिसकेपछि छैटौं इन्द्रियलाई जगाएर नयाँ चेतना या नवीन चैतन्य अनुभूत गर्नु नै अवलोकनको प्राप्ति हो । घोडाघोडी तालको चलायमान जैविक विविधता, छेकम्पारको निश्चल शान्ति र बारपाकका सम्झ्ना मेरा पुराना अवलोकनका अवशेष हुन् ।
अवलोकनको पनि एउटा प्रक्रिया हुन्छ । त्यसमा सबैभन्दा पहिले एउटा परिकल्पना निर्माण हुन्छ । त्यसलाई हामी हाइपोथेसिस (Hypothesis) भन्दछौं । करीब ४०–४५ वर्ष पहिले कर्णालीको यात्रामा जाँदा मैले एउटा धारणा बोकेको थिएँ— त्यो भोकमरीको प्रदेश हो भनेर ।
त्यहाँ पुगेर आफैंले अवलोकन र अनुभव गरें अनि तिनलाई केलाएर हेरें, परीक्षण गरें । त्यसपछि मेरो पूर्वधारणा या हाइपोथेसिस परिमार्जित भयोः कर्णाली भातमरीको शिकार बनेको रहेछ, भोकमरीको हैन । त्यसपछिका दिनमा डा.अरुणा उप्रेती लगायत धेरै स्रष्टाले कर्णालीको खाद्यसंकट र खाद्यभण्डारबारे प्रकाश पारेका छन् ।
तर, मेरा अवलोकनका ती पुराना प्रक्रियालाई आजभोलि मोबाइल क्यामराको सेल्फीले निकै अल्मल्याउन थालेको छ । अहिले घोडाघोडी तालमा पुगें भने शायद त्यो माटिकोरे चरो (KingFisher) ले माछा मारेको दृश्य हेर्ने मेरो धैर्यलाई मोबाइलले बिथोलिदिन्छ ।
छेकम्पारको गहुँ र फापरका सयौं चित्र मोबाइलमा त उतार्थें होला, त्यससँगै ती खेतबालीमा लागेको मिहिनेत र पसिनालाई चाहिं भुल्थें होला । गुम्बाका भोटे काग (Raven) का बोली र आवाज टिप्न भ्याउँन्नथें होला । त्यसैले, मैले भन्नैपर्छ— अवलोकनको प्रक्रियालाई प्रविधिले विस्थापित हैन नयाँ आयाम दिन सकोस् !
सरल प्रश्नका सरल उत्तर खोज्न जटिल विश्लेषण
समय र परिस्थितिले जनमानसमा उब्जाएका सवालहरू देख्दा–सुन्दा निकै साधारण खालका लाग्ने हुन्छन् । तिनले खोजेका खास उत्तर पनि त्यस्तै सरल हुन्छन् । ‘के कर्णालीमा भोकमरी छ ?’ एउटा सरल प्रश्न । ‘हैन त्यहाँ भातमरी छ’ एउटा सरल उत्तर । तर यो प्रश्न र उत्तरको बीचमा अवलोकन र विश्लेषणको निकै ठूलो खाडल हुन्छ । त्यो पार गर्न जटिल पनि हुन्छ ।
मैले आफ्नो लेखाइ अगाडि बढाउन कवि भूपि शेरचनका केही बानीव्यहोरा अपनाउने गरेको छु । त्यो के भने, लेखनका सबै सामग्री एक दिन अगावै आफ्नो वरिपरि तैनाथ गर्ने । भूपिलाई टेबलमा सफा कागज र सर्सर लेख्ने कलम अनि उज्यालो बत्ती भए पुग्दथ्यो । तर मलाई शब्दकोश र विश्वकोश तथा विभिन्न सन्दर्भ सामग्रीहरू; तिनको अध्ययन र विश्लेषणका टिपोट आदि धेरै कुरा चाहिन्छन् ।
स्थलगत भ्रमण र अवलोकनका टिपोट तथा वर्तमानमा इन्टरनेटबाट संकलित जानकारी; पत्रपत्रिका आदि वरिपरि पल्टाएर, खोलेर राख्छु । बेलुकीको खाना र निद्रालाई झ्याप्प छोप्ने पेय पदार्थले बिहानै ब्युँझाइदिन्छ । त्यसैले म प्रायः बिहानीको सन्नाटामा कलम चलाउँछु, कम्प्युटर होइन ।
मेरो लेखनीको लक्ष्य जनचेतना जागृत गराउने र त्यसको स्तर उकास्ने हो । त्यसकारण मेरा पाठकवर्ग को हुन् र तिनका रुचि कस्ता छन् भन्नेमा मलाई घोत्लिनुपर्छ । तिनका उर्वर स्मृतिपटमा एउटा सानो ठाउँ ओगट्नु छ ।
तसर्थ पाठकवर्गले जानेबुझेका वा देखेसुनेका वा भोगेका विषयवस्तुलाई खोज्न थाल्छु । कुनै नौलो भित्तामा आफ्नो लुगा कपडा झुण्ड्याउन किलाकाँटी खोजे जस्तै अनुभव हुन्छ— कहाँ झुण्ड्याऊँ ?
चियाको चर्चा गर्दा चियाको बुटामा अल्झेको भूपिको पछ्यौरी समाउँछु, गुणकारी गिद्धको कुरा गर्दा तुलसीकृत रामायणको जटायुलाई अघि सार्दछु, नेपालबारे बोल्दा लक्ष्मीप्रसाद देवकोटालाई छुटाउन्न, जाडोको कुरा गर्दा लुग्लुग् काम्ने भीमनिधि तिवारीलाई तेर्स्याउँछु ।
यसै प्रकार साहित्य, कला, संस्कृति र भाषाको त्यान्द्रो समाउँदै आफ्ना विचार पोख्ने रहर सँगालेको हुँ । शेक्सपियरको जुलियट—विचार ‘नाममा के हुन्छ र ?’ भन्ने भनाइमा मलाई विश्वास लाग्दैन । गुलाबलाई गुलाब भनिएन भने त्यहाँ गुल अर्थात् फूल हुँदैन । नामबाट धेरै कुरा खुल्छ ।
त्यसैले मलाई नामको व्युत्पत्ति (Etymology) खोज्न साह्रै मन लाग्छ । गैंडालाई Rhino ceros, Uni cornis) भन्नासाथ नाकमा एउटा सिङ भएको जनावर भन्ने बोध हुन्छ । त्यसैगरी Dendrobium aphyllum भन्नासाथ सलहेसाको बगैंचामा नयाँ वर्षको दिन फुल्ने सुनाखरी भनेर यत्तिकै जाहेर हुन्छ ।
नाम ठूलो हुन्छ चाहे स्थानीय भाषाको वा वैज्ञानिक नामकरणको । त्यसैले नाम बिगार्नुहुँदैन । नामलाई कालले पनि खाँदैन । ‘नाम न काल खाए’ भनेर विभीषणले रावणलाई भनेका थिए रे ! सुनको लंकाका अधिनायकलाई दिएको त्यो अर्ति हिउँ र हिमाली चाँदीको नेपालका अधिनायकहरूलाई कसले सम्झाउने ? एकपछि अर्को गर्दै आफ्नै नाम बिगारिरहेका छन्, हाम्रा अधिनायकहरू । नेपालकै नाम पनि बिग्रँदो छ । यसप्रति हामी सजग हुनु छ । त्यसका लागि नेपाललाई नै बुझ्नु छ ।
डा. श्रेष्ठको पुस्तक ‘नेपाल अध्ययन (भाग ३) समाज, संस्कृति र प्रकृति’बाट)