प्रकाशित मिति : चैत्र २६, २०८१ मंगलबार
अमेरिकी सरकारले निजी बीमाकर्ताहरूद्वारा सञ्चालित २०२६ मेडिकेयर एडभान्टेज स्वास्थ्य योजनाहरूका लागि अन्तिम प्रतिपूर्ति दरमा औसत ५ दशमलव ०६ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ। यो वृद्धि जनवरीमा प्रस्तावित दरको दोब्बरभन्दा बढी हो। यो निर्णयले अमेरिकाका ठूला स्वास्थ्य बीमा कम्पनीहरूलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ।
अमेरिकी सरकारले ६५ वर्षभन्दा माथिका वा अशक्तता भएका व्यक्तिहरूका लागि मेडिकेयर कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा व्यवस्थापन गर्न निजी बीमाकर्ताहरूलाई प्रदान गर्ने यो दरले मासिक प्रिमियम, योजना लाभहरू र बीमाकर्ताहरूको नाफामा प्रभाव पार्छ। उच्च दरले युनाइटेडहेल्थ ग्रुप र ह्युमाना जस्ता कम्पनीहरूलाई सरकारद्वारा समर्थित मेडिकेयर र मेडिकेड योजनाहरूसँग सम्बन्धित बढ्दो चिकित्सा लागतको सामना गर्न सहयोग पुग्नेछ।
यो घोषणापछि युनाइटेडहेल्थ र एलिभन्स हेल्थका सेयरहरू बजार बन्द भएपछिको कारोबारमा करिब ६ प्रतिशतले बढेका छन् भने सीभीएस हेल्थका सेयरमा ६ दशमलव ७ प्रतिशतको वृद्धि भएको छ। त्यस्तै, ह्युमानाका सेयरहरू ११ दशमलव ५ प्रतिशतले उकालो लागेका छन् भने सिग्नाका सेयरहरू १ प्रतिशतले बढेका छन्।
विश्लेषक लान्स विल्क्सका अनुसार यो अन्तिम दरले ूट्रम्प प्रशासनको मेडिकेयर एडभान्टेज (एमए) कार्यक्रमप्रतिको समर्थनको स्पष्ट प्रमाणू देखाउँछ। मेडिकेयर र मेडिकेड सेवा केन्द्र (सिएमएस)ले पहिले २०२६ का लागि २ दशमलव २ प्रतिशत वृद्धिको प्रस्ताव गरेको थियो भने गत वर्ष २०२५ का लागि प्रतिपूर्ति दरमा ० दशमलव २ प्रतिशतको कमी घोषणा गरेको थियो।
सिएसएसका अनुसार यो दर परिवर्तनले मुख्य रूपमा बीमाकर्ताहरूको लागत वृद्धिको थप डेटालाई समेट्छ, जसमा २०२४ को चौथो त्रैमासिकसम्मको भुक्तानी डेटा समावेश छ। सीभीएसका प्रवक्ताले भने, ‘हामी सिएमएसले यो महत्त्वपूर्ण कार्यक्रमलाई समर्थन गरेकोमा उत्साहित छौं।’ उनले थपे – ‘हाल ८८ प्रतिशत मेडिकेयर एडभान्टेज सदस्यहरू सिएमएसको ४ तारा वा बढी मूल्याङ्कन प्राप्त योजनाहरूमा भर्ना भएका छन्।’
उद्योगको लबिङ समूह अमेरिकाज हेल्थ इन्स्योरेन्स प्लान्सले जनाएअनुसार बीमाकर्ताहरूले नयाँ नीतिहरूको समीक्षा गर्दै वृद्धहरूलाई स्वस्थ राख्न, हेरचाहमा रहेका कमजोरीहरू हटाउन र दीर्घकालीन रोग भएकाहरूलाई सहयोग गर्नमा ध्यान केन्द्रित गर्नेछन्। यो कदमले अमेरिकी स्वास्थ्य बीमा क्षेत्रमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।